Tuesday, February 9, 2010

युवा चाहना 'पावरफुल बाइक'

विराटनगर/ हावाको बेगसँग कुरा गर्ने गति । बलियो, छरितो बनोट र चाहेजस्तो रंग । युवा चाहना यस्तो छ नयाँ बाइकप्रति । विराटनगरको धरान रोडस्थित लक्ष्मी टे्रडिङ हाउसका सञ्चालक सुवास आचार्य भन्छन् 'उमेर अनुसार कस्टमरको बाइकप्रतिको हेराइ हुन्छ ।' उनका अनुसार युवा आगन्तुकको सोधखोज १५० सीसी र त्यसभन्दा बढि 'पावरफुल' बाइकमा केन्द्रित छ । हिरोहोण्डाले भर्खर बजारमा ल्याएको २२३ सीसीको करिज्मा जेडएमआर मोटरसाइकलका विषयमा युवाले धेरै चासो राखेका छन् ।
बजारमा चलेका बजाजको पल्सर,होण्डाको युनिकर्न, टीभीएसको अपाचे र यामाहाको एफ-जेड, फेजर र सुजुकीको जीएस-१५० आरलाई चूनौति दिदै हिरोहोण्डाले करिज्मालाई क्षमता थपेर बजारमा उतारेको हो ।
उक्त बाइक भारतमा बिक्री सुरु भएको दुइ महिनापछि नेपाली बजारमा आइपुगेको छ । आचार्यले माघको दोस्रो साता विराटनगरमा भएको विराट एक्स्पो व्यापार मेलालाई ध्यानमा राख्दै जेडएमआर काठमाडौं आएलगतै झिकाएका हुन् । स्प्लेन्डर मोटसाइकल हिरोहोण्डाको सबैभन्दा बढि बिक्री भएको मोडल हो । बिक्री एक करोडवटा नाघेको अवसरमा कम्पनीले निकालेको 'स्प्लेन्डर ओसिएसइ', सुपर स्प्लेण्डर,ग्ल्यामर र सीबीजेड पनि उनको शोरुममा छ ।
गच्छेअनुसारको लगानीमा चलाउन मिल्ने दुइ पाङ्ग्रे इन्जिनयुक्त सवारी राजधानीजस्तै पूर्व क्षेत्रमा पनि हरेक वर्गको अनिवार्य साधन बन्न थालेको छ । जहा सडक पुगेको छ, त्यहा मोटरसाइकल कुदेकै देखिन्छ । वर्षेनी बिक्री बढेको बजारमा बाइक रुचाउनेहरु उमेर र प्रयोगले फरक-फरक मानसिकतामा भेटिएका छन् । कम इन्धनमा बढि काम लिन सकिने, सर्भिसिङको झन्झटमा पर्न नचाहने र पछि बेच्नुपरे राम्रो मूल्य पाइयोस् भन्ने एकथरि छन् । अर्काथरी राम्रो बनोट र पावरफुल बाइक रोज्न मन पराउछन् । पावरफुल बाइक मन पराउनेमा युवा पुस्तामात्र छैनन् । उनीहरु बराबरी नै एउटा बाइक लामो समय कुदाएपछि पुरानोको तुलनामा केही शक्तिशाली सवारी गर्न चाहनेहरु पनि छन् ।
यामाहाका बाइक विक्रेता विराट अटो इन्टरप्राइजेजका विनय झा भन्छन् 'बाइकको बजारमा प्रतिष्पर्धा कडा छ । तर,कस्तो किन्ने भन्नेमा ग्राहक पहिल्यै निश्चय गरेर हिडेका हुन्छन् ।' यामाहाको १०६ सीसीको अल्बा रोज्ने र १५३ सीसीको फेजर मन पराउने ग्राहकको धारणा धेरै फरक पाएको झाको अनुभव छ । 'अहिलेको डिमाण्ड १५३ सीसीको गाडीको हो , उनले भने 'शोरुम सबैले घुम्न सम्भव होला नहोला, मेलामा धेरै भिजिटरले ब्राण्डअनुसारको फिचरबारे जानकारी पाए ।' विक्रेताका हकमा तुरुन्त अपेक्षित परिणाम आउने नदेखिएपनि जे भएपनि उपभोक्ताका लागि कुन मोटरसाइकल किन्दा ठीक हुने रहेछ भन्ने धारणा बनाउन मेला सहयोगी भएको बुझाइ व्यावसायीमा भेटियो । विराट अटोको शोरुममा अल्बा, ग्लाडिएटर,इन्टाइसर, एफ-जेड, फेजर र जीम स्कुटर छन् ।
बजाज ब्राण्डका मोटरसाइकल बेच्दै आएको सिंहल ब्रदर्सको शोरुममा विभिन्न क्षमताका पल्सर र डिस्कभरका नया मोडल छन् । बजार प्रबन्धक भुवन अधिकारी भन्छन् 'पल्सरको २२० सीसीलाई युथहरुले मनपराएका छन् ।'
बजाजले ल्याएको १०० सीसीदेखि २२० सीसीसम्मका बाइकहरुमा पल्सरमात्रै १५०,२०० र २२० सीसीमा फरक क्षमताका तीनवटा छन् । अधिकारी भन्छन् 'पावरफुल बाइक धेरै बिक्री भएको छ ।'
जापानिज कम्पनी सुजुकीका बाइकहरु बेच्दै आएको नर्वदा टे्रड कन्सर्नमा १२५ सीसीभन्दा कम क्षमताका बाइक छैनन् । नर्वदाका सञ्चालक कृष्ण पोखरेल भन्छन् 'अहिलेको बजार नै पावरफुल गाडीको हो ।' सुजुकीले ल्याएको १५० सीसीको जीएसआइ बजारमा चलेका अन्य ब्राण्डलाई चुनौति दिने मोड भएको उनले बताए । सुजुकीको एक्सेस स्कुटर पनि १२५ सीसीको छ । १ लाख ४२ हजारदेखि १ लाख ४८ हजारसम्मका बाइक राखिएको उनले बताए । युवाहरुले चासो लिएर सोध्ने गरेको उनको भनाइ छ ।
माघ ५ देखि एक साता विराटनगरको सहीद मैदानमा चलेको मेलामा अटोमोवाइलका लागि ४२ स्टल निर्धारित थियो । यिनमा मध्ये करीव एक दर्जन स्टलमा हलुका सवारी साधन थिए । मेला सकिएपछि विराटनगरमा बाइकको व्यापार बढेको छ ।

No comments: