लामा सफरमा निस्कँदा धेरै परिवार आफूलाई चाहिने खान्की बोकेर हिँडेकाहरु देखिनु नौलो छैन। यसका खास कारण छन् - आफूले लगेका खानेकुरा सफा र सन्तुलित हुन्छ। अनि बाटोमा खर्चको बचत पनि हुन्छ। यस विपरीत हतारका यात्रु धेरैले खाना बोकेर हिँड्दैनन्। 'बाटामा होटल र पसल थापेकाहरु को आउला र खाइदेला भनेर कुरिरहेका हुन्छन्, किन खाना बोकिरहने ?' भन्ने सोचाइ हुनुले पनि यस्तो भएको होला। मलाइ पनि त्यस्तै लाग्छ।
गत बिहीबार काठमाडौंबाट विराटनगर फर्कदा रात्री बसको यात्रानुभव निकै पछि फेरि नजिकबाट गर्न पाइयो। यात्रा गर्दा मेरो नियमितता समयमा टिकट लिने, सवारीको सीट र चढने ठाउँ निश्चित गर्ने भन्ने छ। तर, यो यात्रामा त्यस्तो हुन पाएन। कलंकी गएर चढे आधाभन्दा सस्तो भाडा तिरेर जान सकिन्छ भन्ने साथीहरुको सल्लाहमा यसपटकको यात्रा भयो।
हो रहेछ, अग्रिम बुकिङ गर्दा सात/आठ सय नछाडने बसका टिकट काउन्टरको नियमलाई कलंकीले मात खुवाउने रहेछ । यहाँ 'बार्गेनिङ' गर्न सक्नेहरु तीन सयमात्र तिरेर पनि यात्रा गर्न सक्ने रहेछन्।
अग्रिम बुकिङ भएका टिकट बाहेक बचेका सीटलाई गाडीलाइनका रैथानेहरुले जतिमा भएपनि गुडाउन सक्ने क्षमता राख्ने रहेछन्। शायद हवाईजहाजले पनि यही चलनलाई अपनाएको होला। बिक्री हुने टिकटमा दह्रो रकम लिने, जोगिएका भए त्यसलाइ अलि कम रकम लिएर पनि खाली जान नदिने। क्या मज्जा !
आफूले भने दाम साढे चार सयबाट घटाउन सकिएन। सीट पाइयो। गाडी गुडयो। उसले रोक्ने ठाउँहरु कस्ता हुन्छन् भन्ने अभ्यस्त यात्रुका लागि नौला थिएनन्। यद्यपि बसको लामो सफर निकै समयपछि फेरि जुरेको थियो। काठमाडौंबाट छुटने र त्यहाँ पुग्ने यात्रु बसले पुरानो बानी छाडेनन् छाडेनन्, बाटाका होटल पनि उस्तै रहेछन्।
झण्डै १५ घण्टाको यात्रामा बस १४ ठाउँ अडियो। रातीको खानाका लागि बस करिब १० बजे चितवनको रामनगरमा रोकियो। हामीले होटलको खाना खाएनौ। धेरै यात्रु उस्तै थिए। बाहिर बसेर चाउचाउ उमाल्न लगाएर खाने। हामीसँग रहेका संजीव कालाखेती भाइले खाना खाए। १२५ मा मासु-भात। हात चुठेर आएपछि उनले खानामाथि शंका गरे। खाइसकेपछि गरेको शंकाले विसञ्चो गर्छ। उनलाई खाएपछि शंका नगर्न सल्लाह दिइयो।
करिब आधा दर्जन खानाका होटल खुला देखिएका रामनगर वर्षौ पहिले देखेजस्तै रहेछ। खानाको मेलो अघि घुमेर हेर्दा होटलले घर बनाएपनि खानाको गुणस्तर र सफाइमा ध्यान खासै पुर्याएको देखिएन। यात्रुले बुझेको कुरा के हो भने बस जहाँ रोकिन्छ, त्यहाँ चालक र बस कर्मचारीले ज्वाइँलाई जस्तो सम्मान पाउछन्। भनेजस्तो खाना पाउँछन्।
हुन त बदलिँदो समयमा यो मार्केटिङकै नियम हो। यात्रु चाहिँ सिकार गर्न भेटिएको जन्तुजस्तो मानिन्छ। चलन फेरिएको रहेनछ। यात्रुहरुका अनुसार राजमार्गमा हाम्रो यात्रा पछिल्ला केही महिना दिउँसोभन्दा राती रमाइलो छ। कारण, बन्द हड्ताल र अवरोध झेल्ने समस्या रात्री यात्रामा केही कम हुन्छ। तर, यात्रुका लागि उपयुक्त खान्कीको व्यवस्था गरे आफ्नै होटल खोज्दै उनीहरु आउलान भन्ने सञ्चालकले अझै बुझेका रहेनछन्।
कोसीब्यारेज आइपुग्नुअघि करिब साढे ५ बजे बस 'बुढोको पेडा पसल' अघि रोकिएको रहेछ। सप्तरीको बरमझियाको त्यो सानो पसलमा पेडासँगै चिया-नास्ता पनि थियो। रातभरको थकानमा परेका यात्रुले ठूलो भाँडोमा उमालेको 'होलसेल' चियामा चित्त बुझाए। गाडी स्टाफका लागि सानो भाडोमा बेग्लै चिया बनाइने रहेछ।
दसकअघिका यात्राभन्दा यो यात्रामा पनि अनुभव फरक भएन। सुध्रेको छैन बाटाको खाना र होटलवालाको बानी।

2 comments:
यो यस्तै छ र यसरी नै चल्दै आइरहेको छ । दिनहुँ हजारौँ यात्रिहरु लुटिन्छन्, यिनिहरु बाट !
बाइरोडको बाटोको यात्रा संस्मरण दिनुभएछ । एक सय पच्चीस तिरेर होटेलमा खाना खानु भन्दा त बरू बोकेरै हिँडेको राम्रो हुने रहेछ ।
Post a Comment