Tuesday, February 9, 2010

गोली चलाएर लुटे

विहानै फोन आयो 'मलाइ चिन्नु हुन्न होला । झट्ट आउनुपर्‍यो ।' सञ्चारकर्मीका लागि यस्ता फोन नौला होइनन् । हरेकलाइ लाग्छ उसका अघि भएका समस्या या घटना सबैभन्दा ठूला छन् । सञ्चारमाध्यमका लागि ती सेलेबर समाचार बन्न सक्छन् । यही अपेक्षाले गरिएका फोन कहिलेकाही काम लाग्ने हुन्छ ।
हिजो विहानको कुरा हो । मेरो घर भएको ठाउँबाट करीव ४ किलोमिटर पश्चिम विराटनगर-१६ दरहियामा डाकाले चौपाया लुटेछन् । गोली चलाएछन् । त्यो गाउँ पूर्व क्षेत्रीय प्रहरी कार्यालय र तालिम केन्द्रभन्दा करीव ५ सय मिटरमात्र पश्चिममा छ । शनिवार मध्यरात भएको घटनापछि एकजना गाउँले घाइते रहेछन ।
म त्यहाँ पुगे । डाकाले महेश यादव भन्नेको दुइवटा गोरु र एउटा भैसी लगेछन् । गोलीले महेशका दाजु उदीचन घाइते भएका रहेछन् । उनको दाया पाखुरामा गोली लागेको रहेछ । चोरी होला भन्ने डरले गुहालीमा सुतेका उनी गोरु फुकाएको आवाजले ब्युँझेछन् । हल्ला नगर्न दिएको चेतावनी नमान्दा लुटेरा समूहले गोली चलाएको रहेछ ।
दरहियाबाट दक्षिण बाटो नछोडी गयो भने इण्डिया पुगिन्छ । खुला सीमाना हुनु जति फाइदा छ , यसमा सुरक्षा व्यवस्था उपयुक्त नहुदा यस्ता लुटपाटका घटनाको त्रास पनि उत्तिकै छ । दुइ राउण्ड गोली चलाएपछि भएको हल्लापछि डाकाले धेरैजनाको मालवस्तु लैजान पाएनन् । तर, उनीहरुले फेरि आउने चेतावनी दिइगएको गाउँलेले बताए । सडक, फोन र बिजुली भएको यो गाउँ । गाउलेले बताए - इलाका प्रहरी रानीलाइ घटना भइरहँदा फोन गरियो । १०८ नम्बर फोन उठेन । अनि १०० डायल गरि जिल्ला प्रहरीलाइ भनेपछिमात्र घटनाको ४५ मिनेटपछि सुरक्षाकर्मी आए ।
१०८ किन उठेन भन्दै आक्रोशितलाइ मैले बताउनु पर्‍यो । त्यो एरियाको टेलिफोनको तार चोरी भएको एक हप्ता भयो । मेरो घरमा पनि ल्याण्डलाइन फोनमा त्यही कारण डायलटोन छैन । धन्य मोवाइल । बेला बेला सम्पर्क टुट्तै पनि सम्पर्क हुन्छ ।
विराटनगरको मिल्सएरिया क्षेत्र डेढ दसकअघिसम्म जस्तो थियो । अहिले छैन । यहाका १५ मध्ये १२ कारखाना बन्द छन् । मुलुककै जेठो उद्योग विराटनगर जुटमिल कहिल्यै पुन नखुल्ने गरि बन्द भएको छ । कारखाना बन्द भएपछि यस क्षेत्रमा कामको खोजी गर्नेहरु पलायन भएका छन् । त्यसैले दरहिया पनि पछि परेको छ । गाउँलेका भनाइमा वितेका १५ वर्षमा यो गाउँले यस्ता १३० वटा घटना भोगेको छ । जसमध्ये गत वर्ष नराम्रो घटना थियो । डाकाले लोग्नेलाइ बाधेर श्रीमातिलाइ उनकै अघि बलात्कार गरेका थिए ।
सीमानासँग जोडिएका नेपाली बस्तीमा सरकारले सुरक्षा व्यवस्था सुदृढ पार्नु आवश्यक छ । दरहियाजस्तै धेरै गाउँको खबर आउदैन । गाउले सहन्छन । व्यवहार चलाउँछन् । मुलुक यसरी नै चलेको छ ।

No comments: