हल्ला थामिएझै हुन्छ । जब माइकमा चर्को आवाज सुनिन्छ 'सावधान !', यो संक्षिप्त विश्रामको संकेत हो । पाँच मिनेट बितेको पत्तो हुँदैन, माइक फेरि गर्जन्छ 'सावधान ! गोपाल कृष्ण राधे कृष्ण ।' लावालश्करसँगै शोभायात्रा अघि बढ्छ ।
वर्षेनी कृष्णजन्माष्टमीका भोलीपल्ट विराटनगरमा गरिने राधाकृष्ण शोभायात्राका दिन पण्डित कृष्णप्रसाद गुरागाइँको गला बिग्रनु हुँदैन । माइकमा चर्को सावधानी गरेर रथ रोकिने र पुनः यात्रा अघि बढाउने जिम्मेवारी उनको हो । भन्छन् 'धेरै भयो यसरी काम सम्हालेको । यसमा धपेडी भएपनि अर्कै स्वर्गीय आनन्द पनि छ ।' रथयात्रा उपमहानगरको एकमात्र यस्तो पर्व हो, जसमा रथ हेर्न, डोरी स्पर्श गर्न र यात्राको रमाइलो मान्न उपमहनगरको मुख्य बजार क्षेत्रमा भेला हुनेको संख्या दुइ लाख नाघ्छ ।
पोखरियाबाट निस्कने रथ उपमहानगरको बजार क्षेत्रहुँदै पुनः राधाकृष्ण मन्दिर फर्कदा आठ किलोमिटरको फेरो मार्छ । यो यात्रामा रथ ४२ स्थानमा ५/५ मिनेट अडिन्छ । प्रसाद वितरण हुन्छ । पुजा चाहनेका फूलपाती रथमा चढाइन्छ । सडक र घरका अटालीभरि आँखाहरू दृश्य पच्छ्याउँछन् ।
रथयात्रालाई लामो समयदेखि हेर्दै-सघाउँदै आएका श्याम पौडेल भन्छन् 'भारतको जगन्नाथ पुरीको यात्रापछि विराटनगरको रथयात्रा हामीकहाँ सबैभन्दा धेरै मान्छे भेला हुने जात्रा भन्दा फरक पर्दैन ।' उनका अनुसार यात्राका लागि बिद्युत, टेलिफोन र केबुल टिभीका तार सम्याउनेदेखि भीड व्यवस्थापनका लागि अनुभवी प्रहरी अधिकारीको सहयोग नभइ हुँदैन । उपमहानगरले सडकका खाल्डाखुल्डी पुर्नेमा ध्यान दिन्छ । 'सबैले सहयोग गर्ने भएकै कारण यसले हामी सबै जातजाति र धर्मको साझा यात्राको रूप लिएको छ, उनले भने 'विराटनगरमा योजस्तो यात्रा गर्ने अर्को ठूलो पर्व छैन ।'
राधाकृष्ण मन्दिरमा विधिपूर्वक पुजापछि राधाकृष्णका मूर्ति रथमा राखिन्छ । अघिअघि विभिन्न प्रकारका झाँकीको एक किलोमिटर लामो लश्कर रहन्छ । मुल रथका पछिपछि सुरक्षाका सवारी रहन्छ । रथको डोरी तान्ने मुख्य जिम्मेवारी धेरैअघिबाट पूर्व क्षेत्र प्रहरी कार्यालयले सम्हाल्दै आएको छ । प्रहरी जवानहरू विशेष पोशाकमा दुइ लहर भएर डोरी तान्छन् । उनीहरूलाई सघाउन सर्वसाधारण अघि सर्छन् ।
सडकमा ठाउँठाउँ यात्राका सहभागी र दर्शनार्थीका लागि सर्बत र पानी वितरण गर्नेको जमात सक्रिय हुन्छ । पोखरियादेखि गोल्छामोड, ट्राफिकचोक र जनआन्दोलन चोकसम्म सडक खाली हुँदैन । यात्राले जब राजमार्ग छुन्छ, त्यसपछिमात्रै सहभागीको लर्कोमा केही पातलिने क्रम सुरू हुन्छ । शोभायात्रामा उपमहानगर भक्ति गीत-संगीतले गुञ्जायमान बन्छ ।
रथयात्रा समारोह समिति प्रवक्ता ओम निरौलाका अनुसार बिस १९८८ मा खट बोकेर घुमाउँदै शोभायात्राको सुरूवात गरिएको थियो । त्यो यात्रा परम्परा बिस २०२५ सालदेखि फेरियो । उनी भन्छन् 'रथ बनाइएपछि यसको स्वरूप नै फरियो, यात्रा नगरका लागि रमाइलो पर्व बन्यो ।'
१८ फीटे रथ बेलाबखत आकार र उचाइमा असजिलो झेल्दै छरितो बन्दै आएको छ । यसपटक रथको पुरै ढाचालाई फलामे बनाइएको छ । हाइड्रोलिक ब्रेक र विद्युत जेनेरेटर बढि आवाज नआउने प्रकारको व्यवस्था गरिएको छ । समारोह सदस्य स्वयम्भुनाथ कार्की भन्छन् 'हामीले योपल्ट सुरक्षित र सजिलो जसरी हुन्छ त्यो गरेका छौ । अब माइकमा गोपाल कृष्ण भन्दा पछाडिबाट जेनेटरको भटटको आवाज आउँदैन ।' पुरानो थलो छाडिगएकाहरूले उपमहानगरलाई सम्झने पर्वमा अग्रणी शोभायात्रा बर्षेनी अनुभवले खारिएको उनको भनाइ छ । दुइ महिना स्थानीय गृल उद्योगमा जिर्णोद्धारपछि फेरिएको रथ सडकमा गुडदा विराटनगरले फेरि फेरि यस्तो यात्रा भइरहोस भन्ने उनलाई लागेको छ ।
नयाँ रथलाई सडकमा ल्याउने परम्पराको सर्जक खट पनि सुरक्षित छ । नयाँ रथका अघिअघि गाडीमा खट रहन्छ । खटका पछि-पछि हिडने शोभायात्राको रथ एक दिन गुडछ, वर्षका ३ सय ६४ दिन हवाइजहाज राख्ने ह्याङ्गरजस्तो घरमा बस्छ । सोमबार फेरि उपमहानगरमा रथले मानवसागर भेला पार्दैछ । वर्षका एक दिन पुरानो सहर फेरि भक्तिमय संगीत र जय जयको हल्लाभित्र सरोवर हुनेछ ।
No comments:
Post a Comment