मोरङका ७ गाविस पुरै पहाडी भूगोलमा छन् । विराटनगरको भू-भाग हेरेर ती गाविसका बारे अनुमान पनि अप्ठेरो छ । २०६४ बैशाख दोस्रो साता रमितेखोला गाविस यात्राका फोटामाथि आज ध्यान गयो । त्यो यात्रा जिल्लाका घुमघाम योग्य ठाउँका बारेमा खोजीका लागि थियो ।
त्यसबेला याङशिला, पाटीगाउँ, सिंहदेवी, वारांगी, भोगटेनी, टाँडी र रमितेखोलालाई दुई साता लगाएर घुमिएको थियो । साह्रै धेर लेख्ने र लेखनयोग्य कथा टिप्ने बानी पनि परिसकेको थिएन । कति घरमा वास मागेर बसियो । मास्तिर होटल नपाइने, होम-स्टेबारे जानेकाहरू नहुने । फेरि फेरि यस्तो यात्राको रहर लागे पनि समय त्यस्तो जुरेको छैन ।
साथीहरू संजोग लुइटेल र वालकृष्ण पाण्डेसँगका ती यात्रामा धेरै फोटा खिचिएको थियो । केही सीडी खुल्दै नखुल्ने भैसकेछन् । पुराना फोटा जतन गरि राख्न पनि त अप्ठेरै छ ।
रमितेको जौबारी पाँचथरको लिम्बाबाट नजिक पर्छ । यहाँ बाह्रैमास चिसो भइरहने रहेछ । इयर-फोन लाएर एफएम सुन्दै आलु गोड्दै गरेकी यी चेलिले भन्थिन् 'यहाँ २१ वटा एफएम टिप्छ । फेरि फेरि सुन्न पाइन्छ ।' कता कताका स्टेशन होलान् त्यो सोधिएन । तर, शैली रमाइलो लागेको थियो ।
गाउँलेको खान्की सत्कार कति रमाइलो । अलि मास्तिर उक्लेपछि गाउँलेका घरमा काँसकै थाल प्रयोग गरेको देखिने । दाल पिउन र जाँड पिउन उही सिल्वरे डबका । खानाको थाल काँसका । रमितेखोलामा पहाडका बीच खाल्डोजस्तो छ । वर्षैभरि पानी रहन्छ । त्यसलाई चुलीपोखरी भन्छन् । हामी गएका बेला धेरै ठाउँ गाउँले बाटो लैजाने तरखरमा देखिएका थिए । अब त ती भेगमा पनि गाडी आउजाउ गर्दो होला ।
वास मागेको घरमा त्यो रात केटाहरू टुकीको उज्यालोमा यसरी पढ्दै थिए । अब त त्यो ठाउँमा पनि बिजुली पुग्यो होला । यिनीहरू डेढ घण्टा पैदल दूरिको स्कुल जाँदा रहेछन् । यिनका लागि डेढ घण्टा । हाम्लाई हिड्दा तीन घण्टा । मुलुकलाई पुग्ने गरि बिजुली कहिले हुने होला ? यसको उत्तर जटिल छ । केही साता अघिमात्रै भारतसँग बिजुली सम्झौता गरेको सुनियो । तर, पर्याप्त बिजुली कहिले हुन्न । हामीलाई सानैदेखि पढाइने 'नेपाल जलसम्पदामा संसारकै दोस्रो ठुलो मुलुक' झुट हो । भरपुर उपयोग कहिल्यै हुन सकेन । यसैको परिणाम हामीले खेप्ने लोडसेडिङ हुँदै हो ।
No comments:
Post a Comment