तस्बिरका पछाडि त्यस्तो ठूलै भन्न पर्ने कुरो छ जस्तो लाग्दैन । तैपनि हराउला भनेर ब्लगमा जतन गर्न मन लागेर पोष्ट गरिएको हो ।
२०७१ मंसिर १२ शुक्रबार (हिजो) शम्भु पोखरेल भाइलाई भेट्न विराटनगर अस्पताल (विराट नर्सिङ होम) जाँदा पल्लो बेडमा यस्तो देखियो । जो फोटो बोल्छ ।
शम्भु अस्ति राति डेरामा लडेछन् । बंगारा भाँचिएछन् । उपचारार्थ भर्ना छन् । म पुग्दा उनी निदाइरहेका थिए । बोलाउन मन लागेन । उनको नजिकको अर्को बेडमा यी युवक सानो बच्चोको नङ काटिदिइ रहेका थिए । टाउको अलि असामान्य देखिने बच्चोको हेराइ जिज्ञासू थियो । मोबाइलले यो तस्बिर खिचें । अनि ती युवकसँग कुरा गरें । उनको घर सुनसरीको चिमडी रहेछ । काम भारतको चेन्नइमा गर्दै आएका ।
एक महिनाअघि छोरा निकै बिरामी भएको खबरपछि घर आएछन् । 'यसको निधारमा पानी जमेको छ । इलाज सुरू भयो', उनले भने, 'ठीक हुञ्जेल बस्छु ।' चारमध्ये आफूसहित दुइभाइ चेन्नईमा काम गर्न थालेको धेरै वर्ष भएको उनले बताए । 'यहाँ भनेजस्तो काम मिलेको भए टाढा जान पर्दैनथ्यो होला । के गर्ने मजबुरी छ', दुखेसो पोखे ।
उनको यो ३ महिनाको छोरोअघि ४ वर्षकी छोरी रहिछन् । 'परिवार लैजान मिल्ने जागिर छैन । त्यसैले गाउँमै छोडेको छु । बेला बेला आइरहन्छु', उनले बताए । धेरै रोइरहने, नसुत्ने गर्न थालेपछि सुरू भएको छोराको उपचारमा धेरै हैरानी खेप्नु परेको उनले सुनाए । 'यसलाइ भएको के हो भनेर जान्न नै धेरै हैरानी भयो । जहिल्यै जँचाउँदा डाक्टरले पेट दुखेको दबाइ दिएर पठाउने !', उनले भने, 'बल्ल पत्ता लाग्यो यसको निधारमा पानी जमेको कुरो ।' उपचार सुरू भएपछि केही सन्तोक लागेको उनको भनाइ थियो ।
शम्भुकी श्रीमति अाइन् । उनी ब्यूँझेछन् । म अब उनीहरूसँग कुरा गर्न थालें । केहीबेर पछि 'ल आउँदै गरौला' भनेर बिदा मागें । फिर्दा फिर्दै त्यो बच्चाको बेडमा हेरें । उसको नाम 'कृष्ण यादव' लेखेको रहेछ । बाबुको नाम नसोधे नि मलाइ त्यो शिशुको नाम थाहा भो ।
कुरो सकियो ।
No comments:
Post a Comment