बेगनासतालमा महिला डुंगाचालक पुरूष बराबरी नै काम गर्छन् । यो पेशामा कुनै विभेद नभएको उनीहरूको अनुभव छ । धेरैले आफूले बहना खियाउने पेशा थामेर घरका अरू सदस्यलाई वैकल्पिक पेशाको बाटो खोज्न सघाएका छन् ।
लेखनाथ (कास्की)- 'मलाई थाहा थिएन आधा घण्टा पुग्यो/पुगेन', उनले भनिन् 'भित्तामा लगेर डुंगा ठोक्काएँ । पसिनाले निथ्रुक्क भिजेकी थिएँ ।' लेखनाथस्थित बेगनासतालमा आइतवार स्थानीय माया पाण्डेले एक दशकअघिको आफ्नो पहिलो व्यवसायिक डुंगाचालनका दिनको अनुभव सुनाइन । चितवनको माडीबाट विवाह गरेर यहाँ आइपुगेकी उनका लागि तालको पानीसँग डुंगामा बहनाको चाल मिलाउन निकै समय लाग्यो । '१५ मिनेट मात्रै भएको रहेछ तर, पेसेन्जर भाइले फेरि घुमाइदिन्छु भन्दा पर्दैन भने', उनले भनिन् 'पहिलो दिनको अनुभव त जीवनमै नबिर्सिने छ ।'
२०६१ देखि डुंगा चलाउन थालेकी उनले अहिले श्रीमान शिवप्रसादलाई तालबाट सडकको पालो दिएकी छन् । 'हामी भदौमा ट्याक्सी किन्यौं', उनले भनिन् 'उहाँ (श्रीमान) गाडी चलाउनु हुन्छ । म डुंगा ।' चार छोरीका अभिभावक पाण्डे दम्पतिमा श्रीमान/श्रीमति नै आआफ्नो जिम्मेवारीको काममा जुटेका छन् । महिलाका लागि बढि शारीरिक श्रम पर्ने काम भएपनि बेगनासमा मायाजस्ता तीन दर्जन महिना डुंगामा बहना खियाउन तल्लिन भेटिन्छन् ।
'गरिखान्छु भन्दा कुनै विभेद नभएकैले हामी महिलालाई यहाँ अलि सजिलो भएको हो', अर्की डुंगाचालक शारदारानाभाट भन्छिन्, 'हामीले काम महिलाको हो कि पुरूषको भनेर छुट्टयाउँदैनौ । जसको पालो परेको छ उसले गर्छ । उसलाई सहयोग चाहियो, सबै जुट्छौं ।' रानाभाट बेगनास डुंगा सञ्चालन समितिकी कोषाध्यक्षसमेत हुन् । उनको अनुभवमा यहाँ दुइ प्रकारका चेलीबेटी डुंगाचालकको पेशा गरिरहेका छन् । यहीँ आसपास हुर्केबढेका र अन्तबाट विवाह भइआएर श्रीमानको पेशालाई विस्तारै आफूले भर दिएकाहरू हुन् । 'यहाँ हुर्केकाहरूले त सजिलै गर्न सक्ने नै भए, बाहिरबाट आएकाले पनि बिस्तारै यो कामलाई सिकेर गरिखाएका छन्', उनले भनिन् 'केही अप्ठ्यारो छ भने फरर अंग्रेजी बोल्न नजान्नु मात्रै हो । पानीसँग पौठेजोरी खेल्न त गरिखानका लागि हात हालेपछि गर्नैपर्छ ।'
कास्की जिल्लाको लेखनाथ नगरपालिकामा पर्ने बेगनासताल पोखराको फेवाका तुलनामा भीड निकै कम हुनेमा पर्छ । फेवाको भीडबाट अलि खुला र छुट्टै विचरणको मन भएकाहरू यहाँ आइपुग्छन् । र, डुंगा सयर गर्छन् । जहाँ फेवामा थोरै समय बिताएकाहरू होलान्, यहाँ भने उनीहरू ४/५ घण्टा बिताउँछन् ।
समिति उपाध्यक्ष विश्वनाथ कँडेलका अनुसार यहाँ २ सय ५७ वटा डुंगा छन् । 'एकै दिन सबैका डुंगाले पालो पाउने होइनन् । मान्छेको भीड आएअनुसारको पालो पर्छ', उनले भने, 'जसजसको पालो पर्छ उसलाई बोलाएर समितिले पठाउँछ ।' डुंगाचालक महिला/पुरूष विभेद छैन । पालोअनुसार जानेहरू जो कसैलाई तालका बीचमा पुगेर हावा चल्यो, अप्ठ्यारो भयो भने तत्काल उद्धारका लागि सबै जुट्ने उनले बताए । 'अहिले केही घर यस्ता छन् जहाँ महिला यहाँ डुंगा चलाउँछन्, लोग्नेमान्छे अरु पेशामा वा विदेश गएका पनि छन्', उनले भने, 'यसो हेर्दा महिलाचालकलाई यहाँको वातावरणले इज्जतसाथ पेशा गरेर खानसक्ने बनाएको छ ।' २०३५ सालदेखि तालको पानीमा बहना खियाएर हातमा ठेला पारेका उनको अनुभवमा पछिल्लोसमय नयाँ छोरा/छोरी पुस्ताभन्दा गृहणीले डुंगाचालकको कामलाई थामिदिन थालेका छन् । 'यहाँ थोरै अप्ठेरो विदेशी आउँदा उनीहरूको भाषा बोल्न नजानेर हुन्छ । तर, काम गरिखाने मामिलामा महिला जुझारु छन्', उनले भने, 'पहिले पहिले निकै कममात्र महिला थिए । अब पो बढ्दै छन् ।'
समुद्र सतहको ६ सय ८० मिटर उचाइमा अवस्थित बेगनासतालको ३ सय २३ हेक्टर क्षेत्रफलमध्ये ३ सय ९ हेक्टरमा पानीले ओगटेको छ । साढे १० मिटर गहिराइ भएको यो तालमा धेरै चल्ने भनेका चालकसहित ५ जना बस्ने क्षमताका डुंगा हुन् । यी साना डुंगा तराइका सालका काठ ल्याएर बनाउँदा एउटाको सरदर खर्च ८० देखि ९० हजार रूपैयाँसम्म पर्छ । रंगाउनका लागि समितिले पेन्ट्स् कम्पनीसँग सम्झौता गरेकाले सितैंमा उपलब्ध छ । समितिले इजाजत दिएकोबाहेक नयाँ नम्बरको डुंगा हाल्न पाइँदैन । एउटा डुंगाको आयू २५ वर्ष हाराहारी हुने चालक बताउँछन् । त्यसपछि त्यही नम्बरका नयाँ बनाएर खियाउने काममा हालिन्छ । मर्मत र रंगरोगनको काम पुरूषले नै गर्छन ।
'हामीले अहिले ८ जना बस्न मिल्ने चारवटा ठुला पाइडलवाला डुंगा पनि ल्याएका छौं', समिति उपाध्यक्ष कँडेलले भने, 'यहाँ करीव ७०/८० जना डुंगाधनी छन् । समितिमा मिलेर चलाएका छौ ।' यहाँ लागिपरेका धेरै परिवारको मुल पेशा कृषि र व्यापार भएकाले डुंगा खियाउने काम वैकल्पिक पेशाको रूपमा रहेको उनले बताए । लेखनाथ ११ भन्ज्याङका बलराम तिवारीले भने 'डुंगामा पालो पर्खेरमात्रै घर चल्दैन । त्यसैले खेतीपाती गर्नैपर्छ ।' डुंगा चलाउनेहरूले पारिवारिक समन्वय बिना यो पेशामा टिकिरहन नसक्ने देखिएको उनले बताए । 'घरपरिवारको साथ भएन भने लोग्नेमान्छे एक्लैले के पो गर्न सक्छन् र !', उनले भने, 'त्यसैले हामी आफूजसरी नै डुंगा चलाउने चेलीबेटीलाई आदर र सहयोग गर्छौ । जे गर्यो त्यही व्यवहार आफूले पनि त पाउने हो ।'
(२०७१ फाल्गुन १८ मा कान्तिपुर दैनिकमा 'डुंगा खियाउँदै ...' शिर्षकमा प्रकाशित)
No comments:
Post a Comment