Saturday, January 31, 2015

जैविक मार्गको दोहोलो

'क्या बात करते हो साब !' बेलुकीको करीब ८ बजेको हुँदो हो । ऊ केही रिसाए झै देखियो । भारतको राजस्थानमा करणीमाता मन्दिर पुगेर बिकानेरको गंगाशहरतर्फ फिर्दै गर्दाको अवस्था थियो त्यो । मन्दिरभरि मुसा थिए । अनौठो संस्कारले जोगाएर राखेपछि तिनैका कारण ख्याति आर्जेको तीर्थस्थल । ३२ किलोमिटरको दूरि । बाटोमा दुइ ठाउँ गाडीले किचेर स्याल मरेको देखेपछि हाम्रो जीपका चालकलाई मैले सोधेको थिए -'तिम्रो गाडीले पनि यसरी स्याल किचेको छ ?' सोधाइले उनी खुसी भएनन् । अलि रिसाएजस्तो गरे । भने 'हमारे यहाँ का जंगल का कानुन आप को पता नही । सरजी सलमान खान अबतक जोधपुर कोर्ट का चक्कर काट रहा है ।' गाडी चलाउँदा निकै होसियार रहनुपर्ने उनले सुनाए । 

कतै जनावर किचिएर मरेको वनकर्मीले थाहा पाए भने लाग्ने मुद्दा झन्झटिलो हुने उनको भनाइ थियो । त्यसैले वन्यजन्तु आवागमन हुने बाटोमा चालकले निकै चनाखो हुनुपर्ने प्रष्टीकरण उनले दिए । गत वर्षको हिउँद महिनाको कुरा थियो यो । त्यो रात मैले वास बस्ने ठाउँमा फर्केर बलिवुड कलाकार खानविरुद्धको मुद्दा के रहेछ भनेर गुगलमा सर्च गरि देखाएका लिंक हेरें । सन् १९९८ मा 'हम साथ साथ है' भन्ने चलचित्रको राजस्थानमा छायांकनका दौरान खानले दुइवटा चिंकारा भन्ने हरिण प्रजातिको जन्तु मारेको भन्ने मुद्दा रहेछ । चिंकारा, हामीकहाँ बर्दियाको खैरापुरामा पाइने कृष्णसारसँग मिल्दोजुल्दो प्रजातिको शाकाहारी जीव हो । भारत, पाकिस्तान र अफगानिस्थानका सुख्खा इलाकामा पाइने यो जन्तु राजस्थानका विस्नोइ समुदायको धार्मिक आस्थासँग जोडिएको रहेछ । सिकार गर्ने खानका विरुद्ध त्यही समुदायले प्रहरीमा उजुरी दिएपछि वन्यजन्तु अवैध सिकारको मुद्दा चलेको रहेछ । वन्यजन्तु संरक्षणका लागि बनाइएका कडा कानुनबाट बलिवुड नायकले लामो समय हैरानी पाएका समाचार अझै पनि सञ्चारमाध्यममा आउँछन् ।
गत महिना धनुषाको वीरेन्द्रबजारबाट इटहरीसम्म बेलुकीको यात्रा गर्दा बाटामा धेरै ठाउँ त्यसरी नै स्याल मरेको देखेपछि मैले जीप चालकलाई त्यही प्रश्न सोधेको थिएँ । उनको भावमा खासै परिवर्तन देखिएन । 'बाटामा आए मर्छन् । हाम्रोमा के सुनुवाइ छ र', उनले भनेका थिए, 'यो कुकुरजस्तै त हो । धेरै सडकमा मरेका देखिन्छन् ।' उनको उत्तरपछि मैले राजमार्गको यात्रा गर्दा विचार गरिरहेको छु- पूर्वमा कतै पनि सडकमा 'जनावर निस्कन सक्छन् । तीव्र गतिमा गाडी नकुदाउँ भन्ने सूचना छैन । वन्यजन्तु आउजाउ गर्ने बाटामा यस्तो राख्न कसले कसलाई सिकाउनु पर्ने हो ? के हामी आफ्नै बाटामा हिड्छौ ? त्यो बाटो वन्यजन्तुका लागि पनि होइनन् ? उनीहरू हिड्ने बाटो हामीले मिचेका छैनौ ?
०००
चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार जंगल क्षेत्रमा गत असोज अन्तिम साता गाडीको ठक्करबाट एउटा भाले चितुवा मारियो । सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीका अनुसार राजमार्गमा पर्ने यो क्षेत्रमा यसअघि गत जेठमा गाडीकै ठक्करबाट चारवटा हरिण मारिएका थिए । यस्तै गत मंसिर तेस्रो साता पर्वत सदरमुकाम कुश्माबजार नजिकै शिवालय-९ को चिलाउने चौतारामा बसको ठक्करबाट एउटा चितुवा मारियो ।
पुस तेस्रो साता अर्घाखाँचीको सन्धिखर्क-१० किमडाँडामा गाउँलेले एउटा चितुवालाई कुटेर मारे । घरपालुवा पशु र मान्छेकै लागि खतरा भएकाले त्यसलाई मारेको गाउँलेको भनाइ थियो । बस्तीमा पसेर घरपालुवा जन्तुसँगै मान्छेमाथि पनि आक्रमण गर्ने घटनामा चितुवाजस्ता मांसाहारी जनावर मारिएका घटना नौला हुन छाडेका छन् । सुदुर पश्चिमका केही जिल्लामा यस्ता जन्तुको निकै आतंक रहेको खबर सञ्चारमाध्यममा बराबर आउँछन् । यथार्थ तीतो छ तर, खान नपाएपछि नै उनीहरू मान्छेका बस्ती पस्ने हुन् । जंगलमै आहारा यथेष्ठ भएपनि बस्तीमा आए भने ती अपवाद हुन् । धेरै ठाउँ जंगलको आकार घट्दो मात्र छैन, जन्तुकै अस्तित्व संकटमा छ । कतै कतै बस्तीनजिक सामुदायिक वन हुर्काएकाहरूलाई पनि सास्ती बढेकै छ । आफ्नो पुरानो विचरणका क्षेत्रमा आहाराको कमी, अन्न-घरपालुवाको स्वादको रन्को र सिकारीका कारणहरूले वन्यजन्तुलाई बाहिर ल्याउँछन् ।
०००
इटहरी-उर्लावारी, धरान-तरहरा । पूर्वली यी राजमार्ग यति आनन्दका छन् कि खुला देखेर गाडीका एक्सिलेटर आफ से आफ बढाउन मन लाग्छ । गाडीहरू बतासको बेगसँग बात मार्छन् । चारकोसे वन क्षेत्र बीचैबीच भएर निस्केका यी बाटामा होस पुगेन भने दुर्घटनाले मान्छे कुरिरहेको हुन्छ ।
इटहरीका ३५ वर्षीय विष्णु अधिकारी र पछाडि बसेका ४५ वर्षीय इन्द्रबहादुर गुरूङ पूर्व हिडेका थिए । दिउँसो पौने २ बजेको समय थियो । राजमार्गमा कानेपोखरी नजिकै अचानक हरिण निकिस्यो । अधिकारीले तत्काल रोक्नै सकेनन् । दुर्घटना भयो । हरिण मर्‍यो । दुवै घाइते भएर विराटनगरको न्यूरो अस्पताल भर्ना भए । गुरूङको उपचारकै क्रममा निधन भयो । 
प्रहरीले अधिकारीविरुद्ध सवारी ज्यान मुद्दाको प्रक्रिया अघि बढायो । गत भदौ अन्तिम साताको घटना थियो यो । इलाका प्रहरी कार्यालय पथरीका असइ गोरेबहादुर सुब्बाले भने 'घटना हरिणका कारण भएपनि अधिकारीले हाँकेको सवारीमा बसेका मान्छेको ज्यान गएकाले हामीले चालकलाई कार्वाही चलाउनुको विकल्प देखिएन ।' अधिकारीको मुद्दा कहाँ पुग्यो त्यो उनले नै जान्दछन् । तर, अब फेरि यो राजमार्गमा यात्रा गर्दा उनका लागि नमिठो सम्झना मनमा बसेको छ । 
यो घटनाको एक साता नबित्दै मोरङको केरौन-५ का  ३२ वर्षीय नुमु मण्डल आफ्ना छोराछोरीसहित त्यसरी नै बयरबन-९ मा दुर्घटनामा परे । हरिण मर्‍यो । उनीसहित ११ र ३ वर्षका छोराछोरी घाइते भइ विराटनगरको न्यूरो अस्पतालमा भर्ना भए । आफ्नै खर्चमा उपचार र मोटरसाइकल मर्मत गरे ।
हरिण ठोक्किएका घटनाको फेहरिस्त लामो छ । धरान-तरहरा र इटहरी पूर्वको सडकमा सवारी ज्यानका दुर्घटनाको संख्या जति छ त्यसकै हाराहारी वन्यजन्तुका कारण हुने दुर्घटना छन् । असइ सुब्बाका भनाइमा मानवीय ज्यानमाथि संकट नभएका दुर्घटना प्रहरी रेकर्डमा दर्तामा पर्दैनन् । उनले भने 'सामान्य खालका त्यस्ता घटना भइरहने हुन् । मान्छे आफै उठेर उपचारका लागि जान्छन् । प्रहरीसँग सोध्न आउनुपर्ने केही हुन्न ।'
यी यस्ता रूट हुन् जहाँ आसपास वन्यजन्तुका लागि घोषित संरक्षित क्षेत्र छैनन् । माथि चुरे, मुन्तिरबाट झाडीबुट्यान फाँड्दै विस्तारहुँदै उक्लिँदै गरेको मानवबस्ती । मोरङका जिल्ला वन अधिकृत दीपक ज्ञवाली भन्छन् 'माथिल्लो भेगमा चरन क्षेत्र नभएकाले वन्यजन्तु आहाराको खोजीमा तल र्झछन् र, संकटमा पर्छन् ।' उनका अनुसार मोरङमा चुरे जोडिएको चारकोसेलगायत राष्ट्रिय वन क्षेत्रसँगै ९४ वटा सामुदायिक वन छन् । '६० प्रतिशत वन क्षेत्र पूर्व-पश्चिम राजमार्गभन्दा उत्तरमा पर्छन् । चारकोसेबाट ती वनहुँदै जन्तु सडकसम्म आइपुग्छन्', उनले भने, 'क्षेत्रफलका हिसाबले चारकोसे भएर ओहरदोहर गर्ने वन्यजन्तुका लागि कोसी टप्पु पर्याप्त छैन । तिनीहरूको जैविक मार्ग संरक्षणका वैकल्पिक उपाय अवलम्बन गर्न ढिलै हुँदै आएको छ ।'
०००
एक हिसाबले यो हाँस उठ्दो कुरो पनि हो, मान्छेका लागि पर्याप्त सडक बन्न नसकिरहेका बेला वन्यजन्तुको बाटो ! झापाबाट सप्तरी र उदयपुरसम्म हात्तीले दिइरहने दुःख र यसले उब्जाएको द्वन्द्वमाथि शोध गरेका अशोक राम भन्छन् 'मान्छे र वन्यजन्तुबीचको द्वन्द्वको कारण नै जैविक मार्ग अतिक्रमण हो ।' वन विज्ञान अध्ययन संस्थान पोखराका यी विद्यार्थी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अधिकृतस्तरका कर्मचारी पनि हुन् । कोसी टप्पुबाट दार्चुला सरुवा जानअघि उनले द्वन्द्वमाथिको आफ्नो अध्ययन सिध्याएका हुन् ।
'जहिल्यै सप्तरी, उदयपुर र सुनसरीका कुनै गाउँमा जंगली हात्तीका हुल आएर उपद्रो गर्‍यो भने समाचार आउँछ- कोसी टप्पुका हात्तीले क्षति पुर्‍यायो !', उनले सुनाए, 'कोसीटप्पुमा त यसरी छाडा छाड्ने हात्ती नै छैनन् । कहाँ यहाँका हात्ती त्यत्रो नदि तरितरि पारी नोक्सान गर्न पुग्नु ?' उनका अनुसार भारत, असमहुँदै झापाको सीमाना भएर चारकोसेको पुरानो जैविक मार्ग नछाड्ने हात्ती आफ्नो पूर्खा हिडेकै बाटो छाड्दैनन् । 'मान्छेको बस्ती जैविक मार्ग नाश गर्दै अघिअघि बढेको छ । द्वन्द्वको मुल कारण यही हो', उनले भने, 'हामीले वन्यजन्तुलाई कहिल्यै उसको बाटो सुरक्षित रहोस् भनिदिएनौ, उनीहरूले आफ्नो बाटो छाडेनन् ।' सन् १९९० देखि २०१३ सम्म आइपुग्दाको दुइ दसकभन्दा बढि समय पूर्वको वराहक्षेत्र, बेलबारी, लोहन्द्रा खोला, चुलाचुली, दोमुखा, सतासीधाम, सुरूङ्गा, मधुमल्ला र शनिश्चरे क्षेत्रमा बसोबास व्यापक परिवर्तन आएको अवस्था छ । दुइ/चार झुप्रामात्रै भएका बस्तीमा सयौं घर थपिएका छन् । जंगल अतिक्रमित भएर भित्रभित्र पस्दैछ । आफ्नो पुरानो जैविक रूटमा अन्न र बस्ती भेटेपछि हात्तीका हुल पनि अचम्ममा छन् । अन्नको स्वाद पाएपछि उनीहरूले जानी-नजानी दुःख दिने क्रम बाक्लिएको छ । अनेक उपाय लगाएर धपाउँदा पनि एउटा न एउटा समूहले झापादेखि उदयपुर र सप्तरीसम्मको लामो बाटो छाडेका छैनन् । 'कोसी क्षेत्रमा धेरैजसो ११ वटा जंगली हात्तीको ग्रुप ओहरदोहर गरिरहन्छ', उनले भने । 
एकजना शोधार्थीकै भर परेर वन्यजन्तुका पक्ष लिन मिल्ने अवस्था छैन । किनभने मान्छे र्सवश्रेष्ठ प्राणी हो । उसको अधिकतम हितपछि मात्रै जन्तुका कुरा आउँछन् । त्रिभुवन विश्वविद्यालयका प्राणीशास्त्रका प्राध्यापक करणबहादुर शाहका अनुसार जैविक मार्गका विषयमा नसोच्दा जनावर मान्छेका बस्तीमा पस्ने जोखिम दिनदिनै बढेका हुन् । 'मान्छेबाट जनावरलाई सधैं खतरा रहिआयो, उनीहरूको रूट अतिक्रमित हुँदा मान्छे पनि कति ठाउँ खतरामा परेको छ', उनले भने, 'जैविक मार्गमाथि अतिक्रमणको असर निकै गहिरो छ, हाम्रा जिम्मेवार निकायमा यसका लागि के गर्ने भन्ने सुझबुझ गतिलै चाहिन्छ ।' जहाँ-जहाँ जीवजन्तुका पुराना र आउजाउ भइरहने वास हुन्, त्यस्तो ठाउँ संवेदनशील मानिनु जरूरी रहेको उनले बताए । जैविक मार्ग अतिक्रमण गर्नु भनेको प्रकृतिमाथिको दोहनमा डर लाग्दो पक्ष हो । 'जहाँ जुन खाले जीवजन्तु पाइन्छन् त्यहाँको भूगोल र मौसम, जंगलको सम्बन्ध हुन्छ । प्रकृतिको एउटा खास चक्रमा उनीहरूको आफ्नो देन हुन्छ', उनले भने, 'मान्छेले त्यो क्रम रोक्दा हुने क्षति एउटा गाडी एक्सिडेन्टको जस्तो तुरून्त नदेखिएला तर, असर हुन्छ अवश्य ।'
०००
वातावरण विज्ञानमा गत वर्ष किर्तिपुरबाट स्नातकोत्तर गरेका टेकराज भट्टले 'सडक दुर्घटनामा वन्यजन्तु' माथि शोध गरे । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको २७ किलोमिटर क्षेत्रलाई स्थलगत अध्ययनका लागि छानेका उनले ३६ दिनमा भेटेका कुरा आफ्नै लागि चिन्ताको रह्यो । 'मैले स्थलगत अध्ययन गर्दा कीरा-फट्याङ्ग्रादेखि विभिन्न प्रकारका जन्तुगरि करीब १६ सय थरिका जीव दुर्घटनामा मरेको पाएँ', उनले भने, 'दुर्घटनामा मरेका चरामात्रै ८८ वटा, भ्यागुता, र्सपका प्रजाति १ सय ८८ वटा भेटेँ ।' उनका अनुसार बर्दियाको संरक्षित क्षेत्र भएर चिसापानी निस्कँदासम्म 'यहाँ बाटोमा वन्यजन्तु निस्कन सक्छन्' भन्ने जनाउ दिने चारवटा होर्डिङबोर्ड छन् । तर, गति नियन्त्रित राख्नुपर्छ वा केही किचिए तुरुन्त उठाएर उद्धार गर्नेबारे उपाय छैन । उनले भने 'निकुञ्जले पनि ठूला जनावरबाहेक सडकमा किचिएर मर्ने साना जन्तुको रेकर्ड नराख्ने रहेछ', उनले भने, 'विभिन्न प्रकारका ठूला जन्तु त्यो क्षेत्रमा दुर्घटनामा परेर मरेको घटना २०५३ देखि यता सात वर्षमा ५३ वटा रेकर्डमा भेटियो ।'
सीमित क्षेत्रकै भएपनि उनको अध्ययनले वन्यजन्तुको जैविक मार्गका संकटको अवस्था देखाउँछ । 'जति ठाउँ राजमार्ग र सहायक बाटो बनाइन्छ, त्यहाँ जीवजन्तु मुनिबाट ओहरदोहर गर्ने ठाउँ राखिदिनु पर्छ', उनले भने, 'संवेदनशील ठाउँमा सवारीको स्पीड लिमिट र सूचना बोर्ड जरुरी छ ।'
राजमार्ग क्षेत्रमा आएर जन्तुहरू पर्ने दुर्घटनाको विषय सामान्य नभएको मोरङका वन अधिकृत दीपक ज्ञवाली बताउँछन् । 'पूर्वदेखि पश्चिमसम्म जन्तु सडकमा किन आउँछन् भन्ने विषय सामान्य होइन', उनले भने, 'एकातिर चरन क्षेत्र घट्नु अर्कोतिर चोरीसिकार बढ्नुले अप्ठ्यारो छ ।' गत साता मोरङको बेलबारी रेञ्जपोष्टका वनकर्मी तीन रात चुरे क्षेत्रमा बसे । हातहतियारसहितको सिकारी टोली पसेको सूचना थियो । तर, टोलीले फेला पार्न सकेन । वन कार्यालयको सीमित टोलीले चोरी सिकार रोक्न असजिलो रहेको उनले बताए । 
०००
गत पुस २५ मा मोरङको उर्लावारीस्थित बेतिनी समुदायिक वनको संरक्षित क्षेत्र नजिकैको राष्ट्रिय वनमा एउटा जंगली हात्ती मृत भेटियो । मरेको चार/पाँच दिनपछिमात्रै थाहा भएको अनुमान गरिएको हात्ती हेर्न वनको टोली पुग्यो । सेक्टर वन कार्यालय प्रमुख एकराज दाहालले भने 'खुट्टामा गोली हानेको घाउ देखियो । तस्करले हानेको र यही चोटले केही दिनपछि मरेको हुनुपर्ने अनुमान हामीले गर्‍यौं । गोली हान्ने पत्ता लागेन । घटनाको दुइ दिनपछि नै नजिकैको सालवारीमा मृग घाइते अवस्थामा भेटियो । पुच्छर काटेको अवस्थामा भेटिएको यो जन्तुलाई मंगलवारे चौकीका असइ भीमबहादुर भुजेलको टोलीले उद्धार त गर्‍यो तर, बचाउन सकेन । 
वन उपभोक्ता समूहलाई उपचारको जिम्मा दिइएको दुइ दिनपछि त्यो मर्‍यो । पशु प्राविधिक युवराज भट्टराइका अनुसार उक्त जन्तुलाई कसैले धारिलो हतियारले आक्रमण गरेको अनुमान रह्यो । साकाहारी हरिण, चित्तल र बँदेललगायतका जन्तु समूहमा हिड्ने, ठूलो आवाजले तर्सिने र चरन क्षेत्र खोजीरहने भएकाले सधै संकटमा रहेको दाहाल बताउँछन् । 'यस्ता जन्तु घाइते भेटिँदा बचाउन सजिलो हुन्न । धेरैपल्ट मर्छन्', उनले भने, 'हामीकहाँ यस्ता जन्तु बचाउन न दक्ष मान्छे छन् न त उपचार केन्द्र ।' उनका अनुसार चरन क्षेत्रको खोजीमा हिड्ने जन्तु पूर्वी भेगमा बाघ, भालु र चितुवाजस्ता आफूमाथि आक्रमण गर्ने जनावर नभएकाले पनि चारकोसे आसपास हिड्छन् । यो रूटमा जनावरका संकट भनेकै आहारको कमी, सिकारी र सडक दुर्घटना हो ।
सेक्टर वन कार्यालयले डाँस खोलादेखि झापाली सिमाना मावासम्मको क्षेत्र हेर्छ । यो एरियामा चारकोसे वनको भुभाग ८ किलोमिटर चौडाइको छ । 'जंगलमा पाइने डाले घाँसदेखि भुइँ घाँससम्म वरपरका गाउँलेले आफ्ना लागि लैजान्छन् । केही नपाएपछि वन्यजन्तु खोज्दै बस्तीसम्म त आउने नै भए', दाहालले भने, 'त्यसपछि जनावर र मान्छेबीचको द्वन्द्व हुन्छ । द्वन्द्व घटाउने हो भने जंगली जन्तुका आहारामाथिको अतिक्रमण रोकिनुपर्छ ।' जैविक मार्गमाथिको अतिक्रमणलाई गम्भिरतापूर्वक नलिएकै कारण मान्छे र जन्तु दुवैको आफ्नै समस्या देखिएको उनले बताए ।
गत महिना एउटा मारुती भ्यानमा राखेर पथरीबाट उर्लावारीतर्फ लैजाँदै गरेको बँदेल दाहालको टोलीले बरामद गरेपछि चारजनालाई पक्राउ गरि कार्वाही चलाएको थियो । त्यसयता सेक्टर वनको सशस्त्र रक्षक टोलीले वनमा पसेर सिकारीमाथि निगरानी बढाएको उनले बताए । 'मचान राखेर रुखमा बस्ने, मुन्तिर खानेकुरा राखिदिने । जनावर आयो भने गोली हान्ने गरेको पाइयो', उनले भने, 'एक महिनामा हामीले यस्ता १२ वटा मचान भत्काइसकेका छौं ।'
सवारीलाई नियन्त्रित गतिमा चलाउन संकेत चिन्ह राख्ने र चोरीसिकार नियन्त्रण गर्ने अभियानलाई तीव्रता नदिएसम्म जैविक मार्ग सुरक्षित नहुने अवस्था छ । संरक्षित क्षत्र नभएकाले एकातिर वन्यजन्तुकै कारण हुने सडक दुर्घटनामा मानवीय क्षति भए वा चोट लागे दावी गर्ने ठाउँ छैन  अर्कातिर जीवजन्तु आफै असुरक्षित छन् । बढ्दो सहरीकरणको चापले चारकोसे वनलाई अतिक्रमण गर्दै लैजादा जंगल संरक्षणको कसिलो नीति कार्यान्वयनको आवश्यकता देखिएको छ ।
विराटनगरको स्नातकोत्तर क्याम्पसका पूर्वप्राध्यापक डा. भरतराज सुब्बा पूर्व क्षेत्रमा चरा र वन्यजन्तुको वासस्थान बिगारेको देखेर निराश छन् । 'जंगल पसेर अतिक्रमण गर्नु एउटा पुरानै रोग हो', उनले भने, 'तर, पिकनिक स्पट बनाइएका क्षेत्रमा पनि हल्ला र कृत्रिम निर्माणले वन्यजन्तुको वासमा बाधा पारेको छ ।' उनका अनुसार आहारा नपाएर नजिकका बस्तीमा पुग्नु वन्यजन्तुका बाध्यता भएपनि उनीहरूको प्राकृतिक वासमाथि नै मान्छेको प्रवेशले डराएर जतासुकै भाग्ने चलन बढेको छ । उनले भने 'प्राकृतिक वास, मार्गमा बाधा नपार्ने हो भने पनि उनीहरूको संकट केही कम हुन सक्छ ।' 

(१७ माघ २०७१ को कान्तिपुर, कोसेलीमा प्रकाशित)
http://www.ekantipur.com/kantipur/2071/10/16/full-story/339152.html

No comments: