Friday, January 23, 2015

'छोराले भन्यो-आमा मरेपछिमात्रै घर आउँछु'

उनलाई महिनावारीमा अलि बढि रगत जान थाल्यो । तल्लो पेट धेरै नै दुख्न थालेपछि अस्पताल पुगेर जँचाइन । डाक्टरले औषधि लेखिदिए । खाँदै थिइन् दुख्न छाडेन । डाक्टरले अपरेसन गरेपछि मात्रै विसेक हुने बताएका थिए । 
धेरै दुख्न थालेर घरका कामकाज नै गर्न नसक्ने भएपछि मोरङको झुर्किया गाविस-७ का उदीचन्द साह र उनकी पत्नी तेतरीदेवीले सल्लाह गरे-'अब जे भएपनि अपरेसन गर्ने । यो दुखाइको निदान त्यही हो ।' खर्च थिएन । आफूले खानका कमाउने ऐलानी जमिन बेचे । २० हजार हात पर्‍यो । त्यही बोकेर साह दम्पति विराटनगर आइपुगे । 
गत साता यी दम्पतिलाई अस्पतालमा भेटियो । डाक्टर वालकृष्णले फोन गेरपछि म उनीहरूसँग कुरा गर्न त्यहाँ पुगेको थिएँ । एउटा निजीस्तरबाट सञ्चालित अस्पताल, केही मनकारीहरूले साह दम्पतिलाई सघाएको बुझियो । आज एक सातापछि उनीहरूका कुरा ब्लगमा राख्दैछु । केही कारणहरू छन् । हाम्रा 'सेल्फ सेन्सरवाला' दिमागलाई के लाग्छ भने-'कतै यो बिज्ञापन त होइन ? के भर ?' तर, ब्लगमा राखिएको डा. साह र उनको टिमलाई यस्ता विपन्नको सहयोग गर्ने जाँगर नघटोस् भनेरै हो । अर्थोक क्यै हैन ।
यी बुढाबुढीका अवस्थाका कुरा आफ्ना खाले छन् । तर, उनी निको हुने चरणमा थिइन् । अगाडिका कुरा यस्ता थिए ।
कोसीअञ्चल अस्पतालले तेतरीदेवीको पाठेघरमा पलाएको मासू काटेर फाल्न तीन महिनाअघि पालो नआउने जनाउ दियो । निजी अस्पतालको शुल्क महंगो । तैपनि दुवै सहकारी अस्पतालमा पुगे । शुक्रवार उनको शल्यक्रियाअघि डाक्टरसँग केहीबेर कुराकानीको समय मिल्यो । उनले डा. बालकृष्ण साहलाई सोधिन् 'यो अपरेसनपछि म कहिले घरभन्दा गर्न सक्ने हुन्छु -' जवाफमा डाक्टरले उनको घर र अवस्थाका बारेमा सोधे । कृषि पेशामा अडिएका दम्पति । अर्काको खेतमा जनबनी गरेर बाँचेको थाहा लाग्यो । डाक्टरले अस्पताललाई शुल्कमा केही सहुलियत गरिदिन भने । अस्पतालले लायन्स क्लवलाई खबर गर्‍यो । अन्ततः सबै खर्च छुट गरेर उपचारको प्रबन्ध मिल्यो । 
साह दम्पतिका दइ सन्तानमा छोरी बिहे भएर गइन् । छोरा पनि बिवाहपछि रंगेलीस्थित ससुरालीमै बस्छन् । 'मैले छोरालाई आमाको अवस्थाबारे फोन गरेको थिए“', शनिवार अस्पतालमा श्रीमतिलाई खाना खुवाउँदै गरेको भेटिएका उदीचन्दले भने, 'उसले भन्यो जेसुकै होस् आमा मरेपछिमात्रै घर आउछु ।' उदीचन्दका आ“खा रसाएका थिए । उनले भने 'सन्तान हुनुमात्रै ठूलो कुरा होइन रहेछ । आपतका बेला आमाबुवालाई साथ दिने भए पो सन्तान हुनुको पनि अर्थ रहन्छ ।'
शुक्रवारको शल्यक्रिया सफल रहेको डा. बालकृष्णले बताए । उनले भने 'अवस्था राम्रो छ । छिटै तेतरीदेवी घर जान सक्छिन् ।' शल्यक्रियाअघि भएको सामान्य कुराकानीले साह दम्पतिका लागि करीव ३५ हजार बराबरको उपचारमा छुट दिलाउन सक्दा उनी पनि हषिर्त छन् । उनले भने 'विरामीले आफ्नो बारेमा बताउन पाएभने हामी जसले पनि सहयोग गर्नुपर्छ । यी दम्पतिको लागि राम्रो संयोग रह्यो ।'
सोमबार घर जाने तयारीमा रहेकी तेतरीदेवीले अस्पतालको शैय्याबाटै भनिन् 'दुःखीका लागि कतै न कतै सहयोगी भेटिने रहेछन् ।' उनका लागि अस्पतालका निर्देशक विकास अधिकारीले उपचार खर्च, लीला ढुंगेलले औषधि र अजिता वरालले खाना र फलफूल खर्च दिएका छन् । उदीचन्दले अस्पतालमा शल्यक्रियाका लागि जम्मा गरेको रकम फिर्ता पाएका छन् । 

No comments: