लाग्यो ट्वीटरका
१४० शब्दभित्र मलाइ व्यक्त गर्न इच्छा लागेका कुरा अँटाएनन् । केही लेखम् भयो । केहीबेर अघि म बजारको बाटो भएर घर फिर्दै थिएँ ।२०७१ पुस ३० बुधबार, बेलुकीको ९ः४५ बजे ।
बिराटनगर बजार क्षेत्रको मेनरोडमा रहेको सत्यनारायण मन्दिर (अतिथि सदन अगाडि) अगाडिको सडकमा धेरै मान्छे बसेका छन् । यो बजार एरियाका जस्ता नलाग्ने, आगो तापेर सडकमा बसेकाहरूसँग कुरा गर्न मन लाग्यो । रोकिएँ ।
नेपाली भाषा नजानेकाहरू थिए । मैथिलीमा कुरा गरियो । सुरूमा त ठट्टा नै गरे उनीहरूले । मेरो ब्याग देखेर कोही कम्बल बाँड्न आएको ठाने रे । सीमावर्ती विहारको जोकीहाट, पलासी, बलवाबाट मकर संक्रान्तिमा माग्न आएको बताए । उनीहरूका अनुसार करीब आधा दर्जन गाउँबाट आएका । एउटाबाट कम्तीमा सयजना । मकरका दिन नगरको बजारबासीले गर्ने दानको परम्परा पुरानो हो । त्यो एक बिहान पाएको दानले ३/४ महिना पुग्छ । त्यसैले धेरै वर्षदेखि आउने गरेका । मसँग केही बृद्धाले कुरा गरे । कुराकानीको केहीबेरमा दानको पनि आस गरे । 'भोलि त तिमीहरूले पाइहाल्छौ । को हौ के हौ ? भन्ने जिज्ञासा लागेर मात्रै कुरा गरेको' भनेर टारियो ।
धेरै बृद्धबृद्धा र केटाकेटी । उनीहरूले बताएपछि मात्रै मेरो दिमागमा मकरका बिहान विराटनगर बजारको दृश्य आयो ।
त्यो बिहान यो नगरलाई माग्नेको सहर भन्दिए हुन्छ । कारण - यहाँका काली, हनुमान, शनि र सत्यनारायण मन्दिर आसपास माग्नेलाई दान दिइन्छ । ६/७ सयको हाराहारीलाई खिचडी खुवाइन्छ । नगरको यो परम्परा हेर्दा नौलो र रमाइलो पनि छ । त्यो बिहान जता हेरे नि मगन्ते देखिन्छन् ।
त्यसो त विहारका तीर्थालु वराह क्षेत्र जान्छन् । त्यहा यसरी माग्न होइन धर्म गर्न । बालाचतुर्दशीको मेला भर्नेमा उनीहरूको संख्या अत्यधिक हुन्छ । त्यसको अघिल्लो रात रानी भंसार नाकादेखि बसपार्कसम्म रातैभरि गाडी चल्छ । विराटनगरबाट वराहक्षेत्र तीर्थालु अोसार्नको भ्याइनभ्याइ चल्छ ।
यता मकरको बिहानसम्म पाहुनाले सडकमा रात गुजार्छन् । त्यसका अघिपछि फेरि यो भीड देख्न फेरि माघे संक्रान्ति नै आउनु पर्छ । यो कहिलेदेखिको चलन हो ? यकिन भन्ने कोही छैन । तर, चलेको छ । शायद यो यात्रा लाभकारी छ, त्यसैले उनीहरू चिसोमा रात काट्न तयार छन् । थाहै नपाइ फरक खालको एडभेञ्चर जिन्दगीको प्रथासँग जोडिएको छ । यहाँ जिन्दगी यसरी पनि चलेकै छ ।
No comments:
Post a Comment