नाजुक अवस्थामा रहेकाहरूका लागि झट्ट केही गर्न सकिएन भने पनि २/४ रूपैयाँ सहयोगका लागि जोसुकैका हात अघि बढ्छन् । समाज दयालु रहेको परीक्षा लिन घर-घर, सडक र धार्मिक आस्थाका केन्द्र आसपास हात फैलाएर बसेकाहरू देख्नु किन नौलो हुन्थ्यो ।
संवाददाता पुगेको पूर्वी मोरङको इटहरा सिक्किमे टोलको एउटा घरका सदस्य भने यसरी परीक्षा लिन सडक र चोकमा बसेकाहरू परेनन् । ६७ वर्षीय तुलसीराम र ४७ वर्षीया सिर्जना ढुंगानाका पाँच सन्तान सुस्तमनस्थितिका छन् । तीन छोरी, दुइ छोराको बढ्दो उमेरसँगै यी दम्पतिलाई सधैंको चिन्ता छ - 'आफूहरूलाई केही भइगए यिनको हालत के होला ?'
३६ वर्षीया निर्मला, ३४ को निर्मल, २३ को उमेश, २२ की पार्वता र २० की गोमा सबका सब आफूबारे बताउन नसक्ने छन् । देव्रे खुट्टामा चोट लागेपछि शल्यक्रियापछि हाल हिडडुल गर्न नसक्ने भएका तुलसीरामले भने 'मलाई सुगर छ । त्यहीँमाथि यस्तो चोट लाग्यो ।' उनका दुइ श्रीमतिबाट आठ सन्तान छन् । जेठीको देहान्तपछि साली सिर्जनालाई भित्र्याएका तुलसीरामका सग्ला-सबल तीन छोरीहरूले आफ्नो घरजम गरेर दर्गदिशा लागिसकेका छन् ।
'भोक लाग्यो, दिसापिसाप लाग्यो भन्न जान्दैनन्', उनले भने, 'आफ्नै घाउ कोट्याएर खान्छन् । महिनावारीहुँदाको फोहरमै खेल्छन् । बडो पीर छ ।' सन्तान सुस्तमनस्थितिका जन्मदै जाँदा ढुंगाना दम्पतिले परिवार नियोजन गर्ने, रोक्ने उपाय खोजेनन् । यसको परिणाम अहिलेको जीवन कष्टकर छ । पाँचै सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझेर सन्तुष्ट पारिदिन आमा सिर्जनालाई हम्मे परेको छ ।
'सानोछँदा एकखालको हेरविचारले हुने', उनले भनिन् 'ठूला हुँदै गएपछि सजिलो होला भन्दा अझ बढि अप्ठ्यारो छ ।' सन्तान बोल्न जान्ने, आफूलाई चाहिएका कुरा माग्न जान्ने भइदिँदा सबैलाई सजिलो हुन्छ । तर, सिर्जनाले सन्तानका दुइ भाषा बुझछिन् -'यो रिसाएको छ, उ खुसी भएको छ ।' एकैपल्ट सबैलाई ध्यान पुर्याउनुपर्दा खुसी कसरी होलान् भनेर एकनासको स्याहारका लागि समय पुग्दैन । 'कतिपल्ट हामी दुवैजना यिनीहरूले के भनेका होलान् भनेर बुझदैनौ', तुलसीरामले सुनाए ।
ढुंगाना परिवारका खबर इटहरामात्रै नभइ टाढासम्मका गाउँलेलाई थाहा छ । दुःखजिलो गरेर गुजारा चलाइरहेको परिवार खेती-किसानीमा आश्रित हो । काम गर्ने भनेका परिवारमा ढुंगाना दम्पतिमात्रै । 'घर लड्न लागेको छ, घरसँगै हाम्रै जिन्दगी पनि कतिखेर लड्छ के थाहा !', सिर्जनाले भनिन् । उनका अनुसार धेरैले धेरैथोक सहयोग गरिदिन्छौ भनेर आश्वासन दिएर पनि जान्छन् । तर, केही खानेकुरा, थोरै लताकपडाले दैनिकी धान्दैन । 'सन्तान यस्ता छन् के लाउने-नलाउने थाहा पाउँदैनन्', उनले भनिन् 'दिसापिसाब गराइदिनु-धोइदिनु पर्छ । एकछिन आँखाबाट ओझेल पर्दा नै अप्ठ्यारो छ ।'
तुलसीरामका अनुसार ढुंगाना दाजुभाइमा कहींकतै कसैलाई नदेखिएको समस्या उनलाई परेको हो । पुरै ओच्छ्यान नपरेका भएकाले सुस्तमनस्थिति सन्तानहरू सामान्य हिडडुल गर्छन् । तर, केहीमा कसैको पनि भर छैन ।
पाँच सन्तानले सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत प्रदत्त मासिक एक हजार अपांग भत्ता पाउँछन् । कहिलेकाही भेट्न आउनेले खानेकुरा ल्याइदिने गरेपछि पाँचैजनाको आसे बानी लागेको छ । केही पाइएन भने झगडा गर्छन् ।
तीन वर्षघि विराटनगरकी उद्योगी राज्यलक्ष्मी गोल्छाले बिजोग देखेर घर बनाइदिने वाचा गरिन् । 'भएको कागती फाँडियो, बाहुन ल्याएर शिलान्यास पनि गराइन', सिर्जनाले भनिन् 'त्यसपछि फर्केरै आएनन् । आस देखाएर झन बिजोग पारिन् ।'
-भीम घिमिरे/विनोद भण्डारी
(१८ पुसमा कान्तिपुरमा प्रकाशित यो समाचार संग्रहका लागि ब्लगमा पनि साभार गरि राखिएको हो । -भीम)
केही आफ्ना कुरा
उनीहरूको बसाइँ विराटनगरबाट धेर टाढा होइन । तर, खै के मेसो नमिलेर सुनेपनि जान मिलेको थिएन । विराटनगरका पत्रकार साथीहरूले धेरैपल्ट लेखेका पनि हुन् । तर, ती आमा-बाबुको व्यथा, असक्तका क्रियाकलाप मलाई चित्त बुझ्नेगरि शब्दका व्यक्त गर्नै सकेका छैनन् भन्ने भान भइरहन्थ्यो । पुस १७ मा सहकर्मी विनोद दाइ र म दुइ दिन पूर्वी मोरङ डुल्ने भनेर निस्किँयौ । पहिलो गन्तव्य थियो यिनैका घर । इटहरा बजारबाट केहीभित्र पर्ने रहेछ । चोकमा सोध्दा थाहा नहुने त मान्छे नै रहेनछन् ।
पुगियो तर, बडो सकसले हामीले यहाँ एक घण्टा बितायौ । म यस्ता धेरै घर पुगेको छु, जहाँ एकाध सुस्त मनस्थितिका बालबालिका छन् । तर, यहाँ ५ जना ! फरक हाउभाउका । कोही रूने, कोही जिस्क्याउने, कोही लडिबुडी गर्दै, कोही घरभित्र पसेर डाङ्ङडाङ्ङ डुङडुङ पार्दै । बाउ खाट नछाडेका । आमालाई तिनको स्याहारको बेफुर्सदी । अहो कति गाह्रो ।
हेरेर विनोद दाइको धेरैबेर बोलि निस्केन । मैले ती ढुंगाना बुढासँग कुरा थालेँ । बिस्तारै अलि सहज भयो । नजिकको पसलबाट ती बच्चाहरूका लागि खानेकुरा किनेर ल्याइ बाँड्न लाइयो । केही गरिदिने आस देखाइएन । पत्रकारले आश्वासन दिन पनि हुन्न । अतः आस देखाउने कुरा गरिएन । त्यहाँबाट निस्केपछि त्यो दिन निकै असहज लागिरह्यो । गएर झापाको दमकमा वास बसियो । बेलुकी त्यहीँ बसेर समाचार लेखि पठाइयो । अहिले पनि यो खबर हेर्दा उनीहरूका घर पुगेर देखेको झल्झली हुन्छ । छापिएका दिन धेरै फोन आएका थिए । सहयोग गर्ने आसा देखाएर । पछि सम्पर्क भएका छैनन् । सहयोग आयो/आएन भन्ने बुझ्नै बाकी छ । तर, उनीहरूको अवस्था बडो नाजुक हुँदै हो ।
यस्तै यस्तै
यी पनि पढ्नुस्
एउटा पौरखी दृष्टिविहीनको कथा
बाँचेकै छन् उनीहरू

No comments:
Post a Comment