Monday, June 22, 2026

सुत्ने बानी, सोच्ने तरिका र रिस

रातको ११ बजे। कोठा यति शान्त छ मानौं सुई खसेको पनि सुनिन्छ। तर गौरवको दिमागमा भने विचारहरूको आँधी चलिरहेको छ। भोलि अफिसमा एउटा महत्त्वपूर्ण प्रेजेन्टेसन छ। ऊ ओछ्यानमा यताउति छटपटाइरहेको छ, घडी हेर्छ। १ बज्यो, ३ बज्यो, ४ बज्यो। अन्ततः बिहान ५ बजेतिर उसको आँखा अलिकति लाग्छ। तर ६:३० मै अलार्म बज्छ।

बिहानैदेखि गौरवको स्वभाव बदलिएको छ। चियामा चिनी केही बढी भएको भन्दै ऊ श्रीमतीसँग चिढिन्छ। बाटोमा कसैले ओभरटेक गर्दा उसको पारो तातेर आउँछ। अफिसमा एउटा सानो प्राविधिक समस्या आउँदा ऊ समाधान खोज्नुको साटो म्यानेजरसँगै बहस गर्न पुग्छ।

गौरवको यो रिस र कमजोर निर्णय क्षमताको पछाडि कुनै ठूलो मानसिक समस्या थिएन। यसको मुख्य कारण थियो, विगत केही दिनदेखिको उसको बिग्रिएको सुत्ने बानी र अपुरो निद्रा। मनोविज्ञान र न्यूरोसाइन्स (मस्तिष्क विज्ञान) ले के भन्छ भने हामी कसरी सोच्छौँ र आफ्नो भावना (विशेषगरी रिस) लाई कसरी नियन्त्रण गर्छौँ भन्ने कुराको सोझो सम्बन्ध हाम्रो ओछ्यान र निद्रासँग जोडिएको हुन्छ।

किन चाहिन्छ निद्रा ? धेरैलाई लाग्न सक्छ निद्रा भनेको शरीरलाई 'अफ' गर्ने वा निष्क्रिय बनाउने समय हो। तर वास्तवमा, हामी सुतेका बेला हाम्रो मस्तिष्क निकै सक्रिय रूपमा काम गरिरहेको हुन्छ। घरमा अग्रजहरु भनिरहेका सुनिन्छन् - 'बेलुकी छिटै सुत्नु, बिहान छिटै उठ्नु राम्रो बानी हो।' यो राम्रो मात्रै नभइ स्वस्थकर जीवन बाँच्नका लागि असल सूत्र हो। कसरी ? आउनुस् यसबारे चर्चा गरौं। 

शारीरिक रूपमा, निद्राको समयमा हाम्रो मस्तिष्कले 'ग्लिम्फ्याटिक सिस्टम' (Glymphatic System) सक्रिय पार्छ, जसले दिनभर जम्मा भएका विषाक्त पदार्थहरू (Toxins) लाई सफा गर्ने काम गर्छ। वैज्ञानिक भाषामा भन्दा यो मस्तिष्कको 'फोहोर व्यवस्थापन गर्ने' समय हो। मनोवैज्ञानिक रूपमा, निद्राले हाम्रा स्मृतिहरूलाई संगठित गर्छ र भावनाहरूलाई सन्तुलित बनाउँछ। यदि हामी पर्याप्त सुत्दैनौँ भने, मस्तिष्कको यो सफाइ र व्यवस्थापन प्रक्रिया अवरुद्ध हुन्छ।

सुत्ने बानीका आयाम र प्रकार

मनोविज्ञान र क्रोनोबायोलोजी (Chronobiology) ले मानिसको सुत्ने बानी र समयलाई दुई मुख्य भागमा वर्गीकरण गरेको छ, जसलाई 'क्रोनोटाइप्स' (Chronotypes) भनिन्छ।

  • मर्निङ लार्क (बिहानीका चरा) : जो बिहान चाँडै उठ्न रुचाउँछन् र दिनको पहिलो प्रहरमा बढी ऊर्जावान र तार्किक हुन्छन्।
  • नाइट आउल (निशाचर) : जो ढिलोसम्म जागा बस्न मन पराउँछन् र रातीको समयमा बढी रचनात्मक र सक्रिय हुन्छन्।

यी आयामहरू जेसुकै भए पनि, एक वयस्क व्यक्तिलाई दैनिक ७ देखि ९ घण्टाको गुणस्तरीय निद्रा आवश्यक पर्छ। तर, आजको डिजिटल युगमा मानिसहरू ढिलोसम्म स्क्रिन (मोबाइल, ल्यापटप) हेर्ने, अनियमित समयमा सुत्ने र कम सुत्ने बानीका सिका भएका छन्, जसले सिधै मानसिक स्वास्थ्यमा प्रहार गरिरहेको छ।

सुत्ने बानी र सोच्ने तरिका (Cognitive Thinking)

तपाईं कति र कसरी सुत्नुहुन्छ भन्ने कुराले तपाईंको सोच्ने, बुझ्ने र निर्णय लिने क्षमतालाई प्रत्यक्ष असर गर्छ। मनोविज्ञानका अनुसार निद्राको कमीले सोच्ने तरिकामा प्रभाव पार्छ।

  • निर्णय क्षमतामा ह्रास : मस्तिष्कको अघिल्लो भाग, जसलाई प्रिफ्रन्टल कोर्टेक्स (Prefrontal Cortex) भनिन्छ, त्यसले तर्क गर्ने र सही निर्णय लिने काम गर्छ। निद्रा नपुग्दा यो भाग सुस्त हुन्छ, जसका कारण मानिसले हतारमा र गलत निर्णयहरू लिन पुग्छ।

  • ध्यान केन्द्रित गर्न गाह्रो (Brain Fog) : अपुरो निद्राले गर्दा सोच्ने क्षमता धमिलो हुन्छ। कुनै नयाँ कुरा सिक्न, सम्झिन वा लामो समयसम्म ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ।

  • नकारात्मक सोचाइको चक्र : मनोविज्ञानीहरूका अनुसार, निद्रा नपुगेका व्यक्तिहरूमा 'कग्निटिभ डिस्टोर्सन' अर्थात् घटनाहरूलाई नकारात्मक रूपमा मात्र हेर्ने बानी बढेर जान्छ।

रिस र निद्राको कसिलो सम्बन्ध

हामी किन सजिलै रिसाउँछौँ जब हाम्रो निद्रा पुग्दैन ? यसको पछाडि एउटा रोचक न्यूरोलोजिकल कारण छ। हाम्रो मस्तिष्कमा 'एमिग्डाला' (Amygdala) नामक एउटा सानो भाग हुन्छ, जसलाई शरीरको 'इमोजनल कन्ट्रोल सेन्टर' वा 'खतराको घण्टी' भन्न सकिन्छ। विशेषगरी रीस, डर र छटपटी जस्ता भावनाहरू यहीँबाट पैदा हुन्छन्। 

सामान्य अवस्थामा हाम्रो तर्क गर्ने भाग (प्रिफ्रन्टल कोर्टेक्स)ले एमिग्डालालाई नियन्त्रणमा राख्छ र भन्छ - 'शान्त होऊ, यो रिस उठाउने कुरा होइन।'

मनोवैज्ञानिक तथ्य : जब हाम्रो निद्रा पुग्दैन, तब प्रिफ्रन्टल कोर्टेक्स र एमिग्डाला बीचको सम्पर्क टुट्छ। परिणामस्वरूप, एमिग्डाला अत्यधिक सक्रिय हुन्छ र मानिस ससाना कुरामा पनि रिसाइहाल्ने, आक्रामक हुने, चिढचिढापन देखाउने बन्न पुग्छ। निद्राको कमीले हाम्रो आत्म-नियन्त्रण (Self-regulation) गर्ने शक्तिलाई शून्यप्राय बनाइदिन्छ।

असल मानसिक स्वास्थ्यका लागि जग हो निद्रा 

हामी स्वस्थ खानपान र व्यायाममा त ध्यान दिन्छौँ, तर मानसिक स्वास्थ्यको सबैभन्दा ठुलो कडी 'निद्रा'लाई बेवास्ता गरिरहेका हुन्छौँ। गौरवको कथाले देखाएझैँ, हाम्रो खराब सुत्ने बानीले हाम्रो व्यावसायिक र व्यक्तिगत सम्बन्ध दुवैलाई भताभु‌ंग पार्न सक्छ।

यदि तपाईं आफ्नो सोच्ने तरिकालाई तिखो बनाउन र रिसलाई नियन्त्रणमा राख्न चाहनुहुन्छ भने, आजैदेखि आफ्नो सुत्ने बानी सुधार्नुहोस्। हरेक रात एउटै समयमा सुत्ने र बिहान एउटै समयमा उठ्ने तालिका बनाउनुहोस्, सुत्नुअघि मोबाइल फोन टाढै राख्नुहोस्। सम्झनुहोस्, एउटा शान्त र खुसी दिमागको सुरुवात ओछ्यानको राम्रो निद्राबाटै हुन्छ।

निद्रा समयको बर्बादी होइन, भोलिको ऊर्जा र सफलताका लागि गरिने सबैभन्दा उत्तम लगानी हो। उमेर अनुसार ज्यानले 'रिचार्ज'का लागि माग्ने आराम निद्राबाट प्राप्त हुन्छ। शरीर र मनलाई जीवन्त राख्ने यो प्राकृतिक उपहारलाई चिन्न सकिएन भने, हाम्रो सम्पूर्ण भौतिक र बौद्धिक उपलब्धि फगत पानीको फोका साबित हुन सक्छ। त्यसैले स्वस्थ शरीर र सबल मस्तिष्कका लागि पुरा समय निद्रालाई सबैले आआफ्नो प्राथमिकतामा राख्नु हितकर हुन्छ।

***

निदाउन छाडे के हुन्छ ?

मानिस लगातार निदाएन भने त्यसको असर केही घण्टादेखि नै देखिन थाल्छ र दिनहरू बढ्दै जाँदा यो ज्यान लिने अवस्थासम्म पुग्न सक्छ। चिकित्सा विज्ञान र मनोविज्ञानका अनुसार, निद्राको पूर्ण अभावमा मानव शरीर र मस्तिष्क क्रमिक रूपमा पतन हुन थाल्छ।

२४ घण्टा निद्रा नपर्दा (१ दिन)

एक दिन पूरा नसुत्दा मस्तिष्कको अवस्था ०.१० प्रतिशत रक्त अल्कोहल स्तर (रक्सी खाएर मात्तिएको अवस्था) जस्तै हुन्छ।

  • असर: निर्णय लिन सक्ने क्षमता घट्छ, बोली लरबरिन थाल्छ, र मानिस चिढचिढो हुन थाल्छ।

  • दृष्टि र ध्यान: आँखाको फोकस कमजोर हुन्छ र सोच्ने शक्ति सुस्त हुन्छ।

३६ घण्टा निद्रा नपर्दा (१.५ दिन)

यो अवस्थामा शरीरका भित्री प्रणालीहरू बाँच्नका लागि संघर्ष गर्न थाल्छन्।

  • हर्मोनको असन्तुलन : तनाव बढाउने हर्मोन 'कोर्टिसोल' र 'एड्रेनालिन' तीव्र रूपमा बढ्छन्।

  • माइक्रोस्लिप (Micro-sleep) : मस्तिष्कले आफूलाई जोगाउन जबरजस्ती केही सेकेन्डका लागि 'ब्ल्याक आउट' गराइदिन्छ। मानिस हिँड्दाहिँड्दै वा आँखा खुल्ला राखेरै पनि ३ देखि ३० सेकेन्डका लागि निदाउन सक्छ, जुन गाडी चलाउँदा वा मेसिनमा काम गर्दा ज्यानलेवा साबित हुन्छ।

४८ घण्टा निद्रा नपर्दा (२ दिन)

दुई दिनसम्म लगातार नसुत्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता (Immunity) ठप्प प्रायः हुन्छ।

  • भ्रम र विभ्रम (Hallucinations) : मानिसलाई त्यस्ता आवाजहरू सुन्न थाल्छन् र दृश्यहरू देखिन थाल्छन्, जुन वास्तवमै हुँदैनन्।

  • अत्यधिक थकान : शरीरले ग्लुकोजलाई ऊर्जामा बदल्न सक्दैन, जसले गर्दा मांसपेशीहरू एकदमै गल्छन्।

७२ घण्टा वा सोभन्दा बढी (३ दिनभन्दा माथि)

यो अवस्थालाई मेडिकल भाषामा 'स्लिप डिप्राइभेसन साइकोसिस' भनिन्छ।

  • पागलपनको लक्षण : मानिसले आफ्नो वास्तविक पहिचान र समयको चेत गुमाउन थाल्छ। ऊ अत्यधिक शंकालु (Paranoid) बन्छ र कसैले उसलाई मार्न खोज्दैछ कि भन्ने भ्रम पाल्न सक्छ।

  • अंगहरू फेल हुने जोखिम : रक्तचाप अनियन्त्रित हुन्छ, मुटुको धड्कन असामान्य बन्छ र मस्तिष्कले शरीरका अन्य अंगहरूलाई नियन्त्रण गर्न छोड्छ।

के मानिस निद्राकै कमीले मर्न सक्छ ? हो, वैज्ञानिक अनुसन्धान र इतिहासले देखाए अनुसार लगातार ७ देखि ११ दिनसम्म बिलकुलै ननिदाउँदा मानिसको मृत्यु हुन सक्छ। मृत्युको कारण मस्तिष्क बन्द हुनु मात्र नभई, अत्यधिक तनावका कारण मुटुको गति बन्द हुनु (Heart Failure) वा शरीरका मुख्य अंगहरूले काम गर्न छोड्नु (Multiple Organ Failure) हो।

छोटकरीमा भन्दा, खाना र पानी बिना मानिस केही हप्ता बाँच्न सक्ला, तर निद्रा बिना मानिसको मस्तिष्क र शरीर केही दिनमै पूर्ण रूपमा ध्वस्त हुन्छ। यो जानकारी दशकौँदेखि गरिएका विभिन्न वैज्ञानिक अनुसन्धान, प्रयोगशाला परीक्षण र चिकित्सा इतिहासका घटनाहरूका आधारमा प्रमाणित भएको हो। वैज्ञानिकहरूले निद्राको कमीले मानिसमा पार्ने असरबारे बुझ्न मुख्यत: तीनवटा स्रोतहरूलाई आधार बनाएका छन्।

वैज्ञानिक र चिकित्सा अनुसन्धान 

विश्वभरका प्रतिष्ठित विश्वविद्यालय र 'स्लिप ल्याब' (Sleep Labs) हरूमा मानिसहरूलाई निश्चित समयसम्म जागा राखेर तिनीहरूको मस्तिष्क र शरीरमा हुने परिवर्तनहरू मापन गरिन्छ।

  • मस्तिष्कको स्क्यान (fMRI): लगातार जागा बस्दा मस्तिष्कको 'प्रिर्फन्टल कोर्टेक्स' (तर्क गर्ने भाग) कसरी निष्क्रिय हुँदै जान्छ र 'एमिग्डाला' (डर र रीस पैदा गर्ने भाग) कसरी अनियन्त्रित रूपमा सक्रिय हुन्छ भन्ने कुरा स्क्यान गरेरै हेरिएको छ।

  • रगतको परीक्षण: नसुतेको बेला रगतमा तनाव बढाउने हर्मोन 'कोर्टिसोल' (Cortisol) र 'इन्फ्लामेटरी मार्कर' (सुजन बढाउने तत्त्व) को मात्रा तीव्र रूपमा बढेको पाइन्छ। यसका साथै, निद्राको कमीले हाम्रो शरीरमा भोक नियन्त्रण गर्ने हर्मोनहरू लेप्टिन र घ्रेलिन (Leptin & Ghrelin) को सन्तुलन पनि पूर्ण रूपमा बिगार्छ। रगतमा घ्रेलिन (भोक बढाउने हर्मोन) को मात्रा बढ्दा मानिसलाई जंख फूड र गुलियो कुरा खाने तीव्र इच्छा हुन्छ। परिणामस्वरूप, निद्रा नपुग्दा मोटोपन, मधुमेह र उच्च रक्तचाप जस्ता गम्भीर शारीरिक समस्याहरूको जोखिम कयौँ गुणा बढेर जान्छ।

ऐतिहासिक रेकर्ड 

मानिस कति दिनसम्म नसुती बस्न सक्छ भन्ने कुरा इतिहासका केही चर्चित घटना र रेकर्डहरूबाट पनि प्रमाणित भएको छ। सन् १९६४ मा १७ वर्षीय अमेरिकी छात्र रेन्डी गार्डनरले विज्ञान प्रदर्शनीका लागि लगातार ११ दिन (२६४ घण्टा) जागा बसेर विश्व कीर्तिमान बनाएका थिए। स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले उनको नजिकबाट अध्ययन गरेका थिए। चौथो-पाँचौँ दिनदेखि नै उनले आफूलाई चर्चित फुटबल खेलाडी सम्झिने (Hallucination), सडकका साइनबोर्डहरू मान्छे जस्तो देख्ने र साधारण हिसाब पनि गर्न नसक्ने (Cognitive Decline) भएका थिए। 

यो प्रयोग यति खतरनाक साबित भयो कि 'गिनीज बुक अफ वर्ल्ड रेकर्ड्स'ले मानिसको ज्यान जाने जोखिमका कारण सन् १९८० को दशकपछि यस विधामा नयाँ रेकर्ड दर्ता गर्न नै प्रतिबन्ध लगायो।

पशुहरूमा गरिएका प्रयोग

नैतिक र मानवीय कारणले मानिसलाई मर्ने अवस्थासम्म पुग्ने गरी नसुताइने हुनाले, यो सीमा पत्ता लगाउन वैज्ञानिकहरूले मुसाहरूमा प्रयोग गरेका थिए। सन् १९८० को दशकमा शिकागो विश्वविद्यालयका अनुसन्धाता एलन रेचशाफेन (Allan Rechtschaffen) ले मुसाहरूलाई लगातार नसुताउने वातावरण बनाएर प्रयोग गरे।

लगातार २ देखि ३ हप्तासम्म बिलकुलै ननिदाउँदा ती मुसाहरूको शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमता नष्ट भयो, रोग प्रतिरोधात्मक क्षमता ठप्प भयो र अन्ततः सबै मुसाहरू मरे।

यस प्रयोगले के प्रमाणित गर्‍यो भने निद्रा केवल मस्तिष्कको विश्राम मात्र होइन, बल्कि यो सम्पूर्ण जैविक प्रणालीलाई जीवित राख्ने अनिवार्य प्रक्रिया हो। मुसाहरूको पोस्टमार्टम गर्दा तिनीहरूको शरीर भित्रैबाट सुन्निएको र प्रतिरक्षा प्रणाली पूर्ण रूपमा ध्वस्त भएको पाइएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार, निद्राको चरम अभावमा शरीरले आफ्नो आन्तरिक सन्तुलन (Homeostasis) गुमाउँछ, जसले गर्दा बिनाकुनै स्पष्ट बाहिरी चोट पनि अङ्गहरूले काम गर्न छोड्छन् र मृत्यु हुन पुग्छ।

दुर्लभ रोग: 'फेटल फेमिलियल इन्सोम्निया' (FFI)

यो एउटा यस्तो दुर्लभ आनुवंशिक (Genetic) रोग हो, जसमा मानिसको मस्तिष्कको त्यो भाग (Thalamus) बिग्रिन्छ जसले निद्रालाई नियन्त्रण गर्छ। यो रोग लागेका बिरामीहरू महिनौँसम्म सुत्न सक्दैनन्। चिकित्सा इतिहासमा यस रोगका बिरामीहरूको अध्ययन गर्दा के पाइएको छ भने, लगातारको अनिद्राका कारण उनीहरूको तौल ह्वात्तै घट्छ, मानसिक सन्तुलन गुम्छ र अन्ततः केही महिनाभित्रै मृत्यु हुन्छ।

यस रोगले चिकित्सा विज्ञानलाई के बुझायो भने, जब मस्तिष्कको 'थ्यालामस' ले काम गर्न छोड्छ, तब शरीर सधैँका लागि एउटा चरम तनाव र 'हाइपर-एराउजल' (अत्यधिक उत्तेजना) को अवस्थामा रहिरहन्छ। बिरामीहरू चाहेर पनि गहिरो निद्रा (Deep Sleep) को चरणमा प्रवेश गर्न सक्दैनन्, जसले गर्दा कोशिकाहरूको मर्मत ठप्प हुन्छ। स्वायत्त स्नायु प्रणाली (Autonomic Nervous System) अनियन्त्रित हुँदा शरीरको तापक्रम, हृदयको गति र रक्तचाप खतरनाक स्तरमा पुग्छ।

त्यसैले, 'मानिस निदाएन भने के हुन्छ' भन्ने विवरण कुनै अनुमान वा अड्कलबाजी नभएर न्यूरोलोजी (मस्तिष्क विज्ञान), क्रोनोबायोलोजी र क्लिनिकल केश स्टडीहरूबाट निकालिएको अकाट्य वैज्ञानिक निष्कर्ष हो।

***

'क्षीण शरीरले मस्तिष्क पनि क्षीण बनाउँछ'

यो कालजयी भनाइ १८औँ शताब्दीका प्रसिद्ध फ्रान्सेली दार्शनिक, लेखक तथा राजनीतिक चिन्तक जीन ज्याक रुसोको हो। उनले सन् १७६२ मा प्रकाशित आफ्नो चर्चित कृति 'Emile, or On Education' मा शिक्षा, बालमनोविज्ञान र मानव विकासबारे गहिरो चर्चा गर्ने क्रममा यो धारणा अघि सारेका हुन्। पुस्तकमा उनको मूल वाक्य थियो, 'A feeble body makes a feeble mind' अर्थात् दुर्बल शरीरले मस्तिष्कलाई पनि दुर्बल बनाउँछ।

रुसोको तर्क के थियो भने बालबालिकालाई केवल चार पर्खालभित्र थुनेर, घोकन्ते र किताबी शिक्षा मात्र दिनु हुँदैन। उनीहरूलाई शारीरिक रूपमा पनि उत्तिकै सबल र ऊर्जावान बनाइनुपर्छ। उनको विचारमा शरीर र मस्तिष्क दुई अलग-अलग अस्तित्व होइनन्, बल्कि एउटै सिक्काका दुई पाटा हुन्। यदि शरीर कमजोर, रोगी, थकित र निष्क्रिय भयो भने त्यसले मानिसको मानसिक क्षमता, आत्मविश्वास, निर्णयशक्ति र स्वतन्त्र चिन्तनलाई समेत संकुचित र शिथिल बनाइदिन्छ। त्यसैले उनले बालबालिकालाई प्रकृतिसँग जोडिने, खुला आकाशमुनि खेल्ने, दौडिने, शारीरिक श्रम गर्ने र प्रत्यक्ष अनुभवबाट सिक्ने व्यावहारिक शिक्षामा विशेष जोड दिएका थिए।

रुसोको यो ऐतिहासिक दर्शन आजको आधुनिक युगमा झन् बढी सान्दर्भिक र वैज्ञानिक रूपमा अकाट्य प्रमाणित भएको छ। आधुनिक चिकित्सा विज्ञान र मनोविज्ञान दुवैले यसलाई 'माइन्ड-बडी कनेक्सन' अर्थात् शरीर र मस्तिष्कको अविभाज्य अन्तरसम्बन्धका रूपमा व्याख्या गर्छन्।

यो शृंखला विशेष गरी निद्राको सन्दर्भमा निकै रोचक र संवेदनशील देखिन्छ। जब हाम्रो निद्रा पुग्दैन, तब शारीरिक विकास र मर्मतको नियमित प्रक्रिया पूर्ण रूपमा बिग्रिन्छ। अपुरो निद्राले शरीरलाई भित्रैबाट गलाउँछ, जसको सोझो असर मस्तिष्कको रसायन र न्यूरोन्समा पर्न जान्छ। शरीर भौतिक रूपमा 'क्षीण' वा थकित हुँदा मस्तिष्कले तार्किक रूपमा सोच्ने क्षमता गुमाउँछ। परिणामस्वरूप, यसले मानिसको दैनिक बानीबेहोरामा चिडचिडापन ल्याउने, सहनशीलता घटाउने र समग्र सोचाइलाई नै नकारात्मक बनाउँदै अन्ततः व्यक्तिको मानसिक स्वास्थ्यलाई ध्वस्त पारिदिन्छ।

शारीरिक विकासको प्रक्रियामा अवरोध 

हामी गहिरो निद्रामा (Deep Sleep) हुँदा हाम्रो पिट्युटरी ग्रन्थिले ह्युमन ग्रोथ हर्मोन (Human Growth Hormone - HGH) उत्सर्जन गर्छ। यो हर्मोनले मांसपेशी र हड्डीको विकास गर्छ, दिनभरिका टुटफुट र चोटपटकलाई मर्मत (Cellular Repair) गर्छ र रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउँछ।

जब निद्रा पुग्दैन, यो मर्मत प्रक्रिया रोकिन्छ। शरीर भित्रैबाट कमजोर र 'क्षीण' हुन थाल्छ, ऊर्जाको स्तर घट्छ र पुरानो शारीरिक थकान जम्मा हुँदै जान्छ।

कमजोर शरीर र अपुरो निद्राको सोझो असर मस्तिष्कको रसायनमा पर्छ। पहिलो हो ऊर्जा संकट, मस्तिष्कलाई काम गर्न शरीरबाट निरन्तर ग्लुकोज र अक्सिजनको आवश्यकता पर्छ। शारीरिक रूपमा थकित शरीरले मस्तिष्कलाई यो ऊर्जा सही रूपमा दिन सक्दैन, जसले गर्दा सोच्ने क्षमता 'क्षीण' वा सुस्त हुन्छ।

दोस्रो हो मस्तिष्कको रसायन (Neurotransmitters) मा असन्तुलन। निद्राको कमीले मुड ठीक राख्ने रसायनहरू जस्तै सेरोटोनिन र डोपामाइनको सन्तुलन बिगार्छ।

बानीबेहोरा र सोचाइमा देखिने सोझो असर

जब शरीर र मस्तिष्क दुवै यो 'क्षणीय' अवस्थाबाट गुज्रिन्छन्, तब मानिसको व्यक्तित्वमा स्पष्ट परिवर्तन देखिन्छ।

  • सोचाइमा संकुचन (Cognitive Decline) : मानिसले नयाँ वा रचनात्मक तरिकाले सोच्न सक्दैन। उसको समस्या समाधान गर्ने क्षमता घट्छ। एउटै कुरामा अडिइरहने वा पूर्वाग्रही हुने बानी बस्छ।

  • बानीबेहोरामा आक्रामकता र चिढचिढोपन : भावनात्मक रूपमा मानिस निकै कमजोर हुन्छ। सानो तनाव वा चुनौती आउँदा पनि सम्हालिएर सामना गर्नुको साटो 'फाइट अर फ्लाइट' (आक्रमण गर्ने वा भाग्ने) मोडमा पुग्छ। जसका कारण मानिस झट्ट रिसाउने, कराउने वा अरूसँग सम्बन्ध बिगार्ने बानीको सिकार हुन्छ।

  • आलस्य र जिम्मेवारीबाट पन्छिने बानी : शारीरिक ऊर्जा नहुँदा मानिस सक्रिय कामहरूबाट टाढिन्छ, अल्छी बन्छ र आफ्नो दैनिक जिम्मेवारीहरूलाई पन्छाउन थाल्छ।

त्यसैले, जसरी एउटा कमजोर जग भएको घरमा बलियो छाना टिकिरहन सक्दैन, त्यसैगरी 'क्षणीय' वा थकित शरीरभित्र एउटा तिखो, तार्किक र शान्त मस्तिष्क रहन सक्दैन। निद्रा नै त्यो माध्यम हो जसले शरीर र मस्तिष्क दुवैलाई पुनर्जीवित राख्छ।

***

रिस किन उठ्छ ? 

रिस उठ्नु कुनै खराबी वा रोग होइन; यो हाम्रो मस्तिष्क र शरीरले आफूलाई सुरक्षित राख्नका लागि दिने एउटा प्राकृतिक र जैविक प्रतिक्रिया (Biological Response) हो। तर, यो रिस किन र कसरी पैदा हुन्छ भन्ने कुरालाई विज्ञान र मनोविज्ञानले तीनवटा मुख्य पाटोबाट हेर्छन्।

जैविक कारण : मस्तिष्कको 'सुरक्षा साइरन'

हाम्रो मस्तिष्कको भित्री भागमा एमिग्डाला (Amygdala) नामको एउटा सानो रचना हुन्छ। यसको मुख्य काम भनेको हामीलाई आउने खतराहरूबाट जोगाउनु हो।

  • जब कसैले हाम्रो आत्मसम्मानमा चोट पुर्‍याउँछ, हाम्रो बाटो छेक्छ, वा हामीलाई असुरक्षित महसुस गराउँछ, तब एमिग्डालाले तुरुन्तै खतराको संकेत दिन्छ।

  • यसले शरीरमा एड्रिनालिन (Adrenaline)कोर्टिसोल (Cortisol) जस्ता तनाव बढाउने हर्मोनहरू तीव्र रूपमा प्रवाह गराउँछ।

  • परिणामस्वरूप, मुटुको धड्कन बढ्छ, रक्तचाप माथि जान्छ र मांसपेशीहरू कसिन्छन्। शरीर 'फाइट मोड' (लड्नका लागि तयार) मा पुग्छ, जसलाई हामी रिस भन्छौँ।

मनोवैज्ञानिक कारण : अपूरा अपेक्षाहरू र असुरक्षा

मनोविज्ञानका अनुसार रिस विरलै मात्र एक्लै आउँछ। यसलाई अक्सर 'सेकेन्डरी इमोसन' (Secondary Emotion) भनिन्छ, जसको मुनि अन्य लुकेका भावनाहरू हुन्छन्:

  • अपेक्षा र वास्तविकताको द्वन्द्व : जब हामीले सोचेजस्तो वा चाहेजस्तो कुरा हुँदैन (जस्तै: ट्राफिक जाममा फस्नु, सोचेको काम बिग्रिनु), तब हाम्रो दिमागमा 'फ्रस्ट्रेसन' (निराशा) पैदा हुन्छ र त्यो रिसको रूपमा बाहिर निस्कन्छ।

  • असुरक्षा वा डर : जब मानिसले आफू कमजोर भएको वा आफ्नो नियन्त्रण गुमेको महसुस गर्छ, तब आफ्नो कमजोरी लुकाउन र आफूलाई बलियो देखाउन उसले हतियारको रूपमा रिसको सहारा लिन्छ।

  • दुखाइ वा चोट : शारीरिक वा मानसिक चोट (जस्तै: अपमान, धोका वा बेवास्ता) लाई मस्तिष्कले एउटा खतराकै रूपमा बुझ्छ र त्यसको प्रतिक्रिया रिसमार्फत दिन्छ।

वातावरणीय र बानीजन्य कारण : सिकेको व्यवहार

हामी कस्तो वातावरणमा हुर्कियौँ र बस्छौँ भन्ने कुराले पनि रिस उठ्ने प्रक्रियालाई प्रभाव पार्छ:

  • तनावपूर्ण जीवनशैली : अपुरो निद्रा, अत्यधिक कामको बोझ, वा लगातारको मानसिक तनावले मस्तिष्कको आत्म-नियन्त्रण गर्ने भाग (Prefrontal Cortex) लाई कमजोर बनाइदिन्छ। यस्तो बेला ससाना कुरामा पनि रिसको पारो तातेर आउँछ।

  • सिकेको व्यवहार : यदि सानैदेखि परिवार वा समाजमा 'रिसायो भने मात्र काम बन्छ' वा 'रिस देखाउनु नै बलियो हुनु हो' भन्ने देख्दै र सिक्दै हुर्किएको छ भने, मानिसमा छिट्टै रिसाउने बानी बस्छ।

छोटकरीमा भन्दा : रिस वास्तवमा हाम्रो मस्तिष्कले कुनै पनि अवरोध, अपमान वा खतराको सामना गर्नका लागि जुटाउने तात्कालिक ऊर्जा हो। तर, यदि मस्तिष्क थकित (जस्तै निद्राको कमीले) वा तनावमा छ भने, यसले सही र गलत खतरा छुट्याउन सक्दैन र विनाकारण वा सानो कुरामा पनि ठुलो रिस उठ्ने गर्छ।

***

निद्रा नपुग्नु र रिसाइरहनु बीच एउटा यस्तो दुष्चक्र (Vicious Cycle) चल्छ, जसले मानिसलाई शारीरिक र मानसिक रूपमा सिध्याउँछ। तपाईं जति कम सुत्नुहुन्छ, मस्तिष्कको रिस नियन्त्रण गर्ने भाग (Prefrontal Cortex) त्यति नै निष्क्रिय हुन्छ। यसको मतलब, निद्रा नपुगेको बेला रिसलाई रोक्न खोज्नु भनेको ब्रेक फेल भएको गाडी गुड्नु जस्तै हो।

निद्रा पुर्‍याउँदाका फाइदा

जब तपाईं आफ्नो शरीर र मस्तिष्कलाई चाहिने जति (७ देखि ९ घण्टा) निद्रा दिनुहुन्छ, तब जादुमयी परिवर्तनहरू हुन थाल्छन्:

  • मस्तिष्क शान्त हुन्छ : सुतेको बेला मस्तिष्कले दिनभरिका तनावका फोहोरहरू सफा गर्छ। भोलिपल्ट उठ्दा दिमाग फ्रेस र 'कूल' हुन्छ।

  • सहनशीलता बढ्छ : पर्याप्त निद्राले एमिग्डाला (मस्तिष्कको रीस केन्द्र) लाई नियन्त्रणमा राख्छ। जसका कारण हिजो जुन कुरामा ठुलो रिस उठ्थ्यो, आज त्यही कुरालाई तपाईं हाँसेर वा सहजै टार्न सक्नुहुन्छ।

  • सही निर्णय लिन सकिन्छ: रिसको झोकमा गरिएका निर्णयहरू अक्सर गलत हुन्छन्। शान्त दिमागले परिस्थितिलाई सही ढंगले विश्लेषण गर्न सक्छ।

छनोट हाम्रै हातमा 

व्यवस्थित दिनचर्या र पर्याप्त विश्रामको अभावमा मानव मस्तिष्कले आफ्नो स्वाभाविक सन्तुलन गुमाउँछ। जब दैनिक जीवनको रुटिन लथालिङ्ग हुन्छ, तब शरीरमा तनाव बढाउने हर्मोनहरू सक्रिय हुन्छन्। यसको सोझो असर मानिसको स्वभावमा देखिन थाल्छ; फलस्वरूप जो कोहीमा पनि सामान्य कुरामा चिडचिडापन बढ्ने, छिटो रिसाउने र जंगिने (झ्वाँक्किने) जस्ता नकारात्मक व्यवहारहरू प्रकट हुन थाल्छन्।

वास्तवमा, हाम्रो मानसिक शान्ति र तार्किक सोचाइको सीधा सम्बन्ध शारीरिक अवस्थासँग जोडिएको हुन्छ। थकित र ऊर्जाविहीन शरीरले भावनाहरूलाई नियन्त्रणमा राख्न सक्दैन। त्यसैले, मानव ज्यानलाई स्वस्थ, फूर्तिलो र सन्तुलित राख्नका लागि समयमै सन्तुलित आहारा, उचित आराम र पर्याप्त निद्रा अत्यावश्यक छ।

जब हामी यी आधारभूत आवश्यकतालाई बेवास्ता गर्छौं, तब हाम्रो निर्णय क्षमता र सहनशीलता क्षीण हुँदै जान्छ। जीवनलाई ऊर्जावान र व्यवहारलाई सौम्य बनाउने हो भने दैनिक रुटिनलाई व्यवस्थित गर्दै शरीर र मस्तिष्कलाई आवश्यक आराम दिनु नै एकमात्र उत्तम विकल्प हो।

हाम्रो एउटा सानो बानीले पूरै दिनको दिशा तय गर्छ। जब हामी रिसाइरहने बाटो रोज्छौँ, तब जानेर वा नजानेर शरीरलाई एउटा यस्तो भुमरीमा धकेल्छौँ जसले उच्च रक्तचाप, मुटुको गम्भीर समस्या, मानसिक तनाव र सामाजिक सम्बन्धहरूमा ह्रास मात्र निम्त्याउँछ। रिसले परिस्थितिलाई कहिल्यै सुधार्दैन, बल्कि यसले हाम्रो ऊर्जा र विवेक दुवैलाई भित्रभित्रै खोक्रो बनाउँदै लैजान्छ।

अर्कातर्फ, जब हामी पर्याप्त निद्रा पुर्‍याउने बाटो रोज्छौँ, तब जीवनमा एउटा सकारात्मक रूपान्तरण सुरु हुन्छ। यसले हाम्रो शारीरिक स्वास्थ्यलाई मात्र बलियो बनाउँदैन, सोच्ने क्षमता, कार्यक्षमता र जीवनको साँचो आनन्दलाई समेत कयौँ गुणा बढाउँछ।

त्यसैले, रिस नियन्त्रण गर्ने पहिलो, सबैभन्दा प्राकृतिक र सजिलो 'थैरेपी' नै ओछ्यानमा समयमै जाने र पर्याप्त सुत्ने हो। अपुरो निद्राले शरीर र मस्तिष्क दुवैलाई क्षीण बनाएर दिनभरि चिढचिढो भई रिसाइरहनु भन्दा राती मस्तिष्कलाई ऊर्जावान् बनाएर दिनभरि शान्त र सबल रहनु नै वास्तविक बुद्धिमानी हो। आजैबाट एउटा असल निद्रा रोजौँ, र शान्त जीवनको सुरुवात गरौँ।

No comments: