गौरादह (झापा) - स्थानीय सहकारीका व्यवस्थापक हेमन्त कार्कीलाई कुरा गर्ने फुर्सद निकाल्न गाह्रो छ। उनलाई सहकारीले यति व्यस्त पारेको होइन। आइएमईको रेमिट्यान्स वितरण शाखाले उनको व्यस्तता बढाएको हो।झापाको दमकबाट १२ किलोमिटर पूर्व-दक्षिणस्थित गौरादहमा शाखा चलाएका उनले भने, 'महिनाको करिब चार करोडजति रेमिट्यान्स आउँछ। टार्ने पुर्याउने कामले बेफुर्सदी बनाएको हो।'
उद्योग नभएको यस क्षेत्रमा अहिले पुरानो बजारभन्दा डिपुचोक फराकिलो बजार बनेको छ। यहाँ विभिन्न संस्थासम्बद्ध पाँचवटा रेमिट्यान्स भित्र्याउने कम्पनीका शाखा छन्। दुई सहकारी, दुई निजी र एउटा सरकारी बैंक छन्। सबैमा रकम झिक्ने राख्नेको कारोबार वैदेशिक रोजगारीमा गएकाहरूले घर पठाएको रकमबाट चलेको छ।
'मैले लिएको एजेन्सीबाट मात्र ४ करोड महिनाको जान्छ,' कार्कीले भने, 'यहाँका सबैको हिसाब हेर्यो भने महिनाको १० करोड रुपैयाँ आउने रहेछ।' उनका अनुसार बैंक वित्त र सबैखालका कारोबारमा त्यसले भर गरेको छ। यहाँको बजारमा निर्माण सामग्री, कपडा, भाँडाकुँडा र खाना पकाउने ग्यासलगायतका पसल छन्।
डिपुचोकबाट गौरादहको पुरानो बजार पुगिने बाटा वरपर पक्की घर बनेका छन्। सबैजसो नयाँ घरमा पसलका लागि सटर राखिएका छन्। कतिपय नयाँ बन्दै गरेका घरछेउ पुराना काठका घर पनि छन्। पुराना घरले यो क्षेत्र फेरिनुअघि कस्तो थियो भन्ने जनाउ दिएका छन्।
यस क्षेत्रबाट विदेश जाने कति छन् भन्ने तथ्यांक कसैसँग छैन। डिपुचोकमा कपडा पसल चलाएका डिल्लीराम काफ्ले भन्छन्, 'धेरै गएका छन्। तिनकै भरले परिवर्तन भइरहेको छ भन्ने लाग्छ।' वैदेशिक रोजगारीमा जानेहरूले घरमा पठाएको रकमले जग्गामा महँगी पनि बढाएको छ। 'दुई/तीन वर्षमा बजार धेरै फेरियो। पक्की घरहरू बढे,' उनले भने।
माओवादी सशस्त्र द्वन्द्वका समयमा यहाँ रहेको नेपाल बैंकको शाखामा लुटपाट भएको थियो। घटनालगत्तै शाखा बन्द भयो। 'त्यो बेला कारोबार गर्न दमक नै धाउनुपर्थ्यो,' उनले भने, 'दमकको बैंकबाट पैसा झिक्नेको किनमेल पनि उतै चलेपछि यहाँको बजार सुकेको थियो।' चालु वर्ष नेपाल बैंकको शाखा पुनःस्थापना भयो। निजी क्षेत्रको विराटलक्ष्मी विकास बैंकले शाखा खोल्यो। कन्काई विकास बैंकले पनि एक्सटेन्सन काउन्टर राख्यो।
'सहकारीले काम चलाए पनि बैंक आएपछि बजार अलि बेग्लै हुनेरहेछ,' काफ्लेले भने, 'अहिले बजार फेरिएको छ।'
उनले भनेजस्तै उद्योगधन्दा नभए पनि यहाँको बजारमा निर्माण सामग्रीको व्यापार फस्टाएको छ। रेमिटको सेवा र नेट फोन राख्नेहरू बढेका छन्। चटपटे बेच्दै एक दशक बिताएपछि चिया-नास्ताको होटल चलाउन थालेका स्थानीय जनार्दन साहको बुझाइमा सहकारीले ऋण दिन थालेपछि व्यवसाय गर्नेलाई सजिलो भएको छ।
निर्माण सामग्रीको कारोबार गर्दै आएका झापा उद्योग वाणिज्य संघ गौरादह शाखाका अध्यक्ष अमृत कटुवाल भन्छन्, '०५८ सालमा नेपाल बैंकको शाखा यहाँबाट उठेर गएपछि कारोबार बन्दजस्तै थियो।' उनका अनुसार त्यसबेला केही वर्षअघि सुरु गरेको शुभलक्ष्मी सहकारीले सेवा दिने काम गर्यो। बैंकहरू आए पनि अहिले सहकारीको कारोबार सबैभन्दा अघि छ। 'करिब ८ करोड ऋण प्रवाह गरेको सहकारीका एक हजार जना सेयर सदस्य छन्।
'रेमिट सेवा सुरु भएपछि गाउँमा पैसा आएको छ,' उनी भन्छन्, 'बैंक र सहकारी पनि ऋण लगानी गर्न सक्ने भएका छन्।' कटुवालको बुझाइमा कृषिमा निर्भर गौरादह बजारको अवस्थामा सुधार आउनुका पछाडि सहकारी र बैंकको हात छ। उनका अनुसार यहाँ अहिले प्लटिङ गरी घडेरी बेचबिखनको काम तीव्र छ।
***
(०६६/१२/०६ कान्तिपुर दैनिकको अर्थवाणिज्य पृष्ठमा प्रकाशित)

No comments:
Post a Comment