हल्ला थामिएझैं हुन्छ। जब माइकमा चर्को आवाज सुनिन्छ 'सावधान !', यो संक्षिप्त विश्रामको संकेत हो। पाँच मिनेट बितेको पत्तो हुँदैन, माइक फेरि गर्जन्छ 'सावधान ! गोपाल कृष्ण राधे कृष्ण।' लावालश्करसँगै शोभायात्रा अघि बढ्छ।
बर्सेनि कृष्णजन्माष्टमीका भोलिपल्ट विराटनगरमा गरिने राधाकृष्ण शोभायात्राका दिन पण्डित कृष्णप्रसाद गुरागाइँको गला बिग्रनु हुँदैन। माइकमा चर्को सावधानी गरेर रथ रोकिने र पुनः यात्रा अघि बढाउने जिम्मेवारी उनको हो। भन्छन् 'धेरै भयो यसरी काम सम्हालेको। यसमा धपेडी भएपनि अर्कै स्वर्गीय आनन्द पनि छ।' रथयात्रा उपमहानगरको एकमात्र यस्तो पर्व हो, जसमा रथ हेर्न, डोरी स्पर्श गर्न र यात्राको रमाइलो मान्न उपमहानगरको मुख्य बजार क्षेत्रमा भेला हुनेको संख्या दुई लाख नाघ्छ।
पोखरियाबाट निस्कने रथ नगरको बजार क्षेत्रहुँदै पुनः राधाकृष्ण मन्दिर फर्कँदा आठ किलोमिटरको फेरो मार्छ। यो यात्रामा रथ ४२ स्थानमा ५/५ मिनेट अडिन्छ। प्रसाद वितरण हुन्छ। पूजा चाहनेका फूलपाती रथमा चढाइन्छ। सडक र घरका अटालीभरि आँखाहरू दृश्य पच्छ्याउँछन्।
रथयात्रालाई लामो समयदेखि हेर्दै-सघाउँदै आएका श्याम पौडेल भन्छन् 'भारतको जगन्नाथ पुरीको यात्रापछि विराटनगरको रथयात्रा हामीकहाँ सबैभन्दा धेरै मान्छे भेला हुने जात्रा भन्दा फरक पर्दैन।' उनका अनुसार यात्राका लागि विद्युत, टेलिफोन र केबुल टीभीका तार सम्याउनेदेखि भीड व्यवस्थापनका लागि अनुभवी प्रहरी अधिकारीको सहयोग नभइ हुँदैन। उपमहानगरले सडकका खाल्डाखुल्डी पुर्नेमा ध्यान दिन्छ। 'सबैले सहयोग गर्ने भएकै कारण यसले हामी सबै जातजाति र धर्मको साझा यात्राको रूप लिएको छ,' उनले भने 'विराटनगरमा योजस्तो यात्रा गर्ने अर्को ठूलो पर्व छैन।'
राधाकृष्ण मन्दिरमा विधिपूर्वक पूजापछि राधाकृष्णका मूर्ति रथमा राखिन्छ। अघिअघि विभिन्न प्रकारका झाँकीको एक किलोमिटर लामो लश्कर रहन्छ। मूल रथका पछिपछि सुरक्षाका सवारी रहन्छ। रथको डोरी तान्ने मुख्य जिम्मेवारी धेरैअघिबाट पूर्व क्षेत्र प्रहरी कार्यालयले सम्हाल्दै आएको छ। प्रहरी जवानहरू विशेष पोसाकमा दुई लहर भएर डोरी तान्छन्। उनीहरूलाई सघाउन सर्वसाधारण अघि सर्छन्।
सडकमा ठाउँठाउँ यात्राका सहभागी र दर्शनार्थीका लागि सर्बत र पानी वितरण गर्नेको जमात सक्रिय हुन्छ। पोखरियादेखि गोल्छामोड, ट्राफिकचोक र जनआन्दोलन (महेन्द्र) चोकसम्म सडक खाली हुँदैन। यात्राले जब राजमार्ग छुन्छ, त्यसपछिमात्रै सहभागीको लर्कोमा केही पातलिने क्रम सुरू हुन्छ। शोभायात्रामा उपमहानगर भक्ति गीत-संगीतले गुञ्जायमान बन्छ।
रथयात्रा समारोह समिति प्रवक्ता ओम निरौलाका अनुसार बिसं. १९८८ मा खट बोकेर घुमाउँदै शोभायात्राको सुरूवात गरिएको थियो। त्यो यात्रा परम्परा बिसं. २०२५ सालदेखि फेरियो। उनी भन्छन् 'रथ बनाइएपछि यसको स्वरूप नै फरियो, यात्रा नगरका लागि रमाइलो पर्व बन्यो।'
१८ फीटे रथ बेलाबखत आकार र उचाइमा असजिलो झेल्दै छरितो बन्दै आएको छ। यसपटक रथको पुरै ढाचालाई फलामे बनाइएको छ। हाइड्रोलिक ब्रेक र विद्युत जेनेरेटर बढी आवाज नआउने प्रकारको व्यवस्था गरिएको छ। समारोह सदस्य स्वयम्भूनाथ कार्की भन्छन्, 'हामीले योपल्ट सुरक्षित र सजिलो जसरी हुन्छ त्यो गरेका छौँ। अब माइकमा गोपालकृष्ण भन्दा पछाडिबाट जेनेटरको भटटको आवाज आउँदैन।'
पुरानो थलो छाडिगएकाहरूले उपमहानगरलाई सम्झने पर्वमा अग्रणी शोभायात्रा बर्सेनि अनुभवले खारिएको उनको भनाइ छ। दुई महिना स्थानीय गृल उद्योगमा जीर्णोद्धारपछि फेरिएको रथ सडकमा गुडदा विराटनगरले फेरि-फेरि यस्तो यात्रा भइरहोस् भन्ने उनलाई लागेको छ।
नयाँ रथलाई सडकमा ल्याउने परम्पराको सर्जक खट पनि सुरक्षित छ । नयाँ रथका अघिअघि गाडीमा खट रहन्छ। खटका पछि-पछि हिडने शोभायात्राको रथ एक दिन गुडछ, वर्षका ३ सय ६४ दिन हवाईजहाज राख्ने ह्याङ्गरजस्तो घरमा बस्छ। सोमबार फेरि उपमहानगरमा रथले मानवसागर भेला पार्दैछ। वर्षका एक दिन पुरानो सहर फेरि भक्तिमय संगीत र जय जयको हल्लाभित्र सरोवर हुनेछ।

No comments:
Post a Comment