Sunday, January 7, 2018

पर्वतीय संग्रहालय घुम्न सहयोगी एप्स

पोखरामा घुम्नका लागि थुप्रै ठाउँहरू मध्येको एउटा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । विश्वका अग्ला शिखर, तिनको अवस्थिति, आरोहणको इतिहास, हिमाली जनजीवन र जलवायु पविर्तन बारे बुझ्न चाहनेका लागि उक्त संग्रहालयमा थुप्रै सचित्र जानकारी छन् ।
वर्षो सरदर २ लाख ५० हजार जनाले यो संग्रहालय अवलोकन गर्ने गरेका छन् । अबको केही सातापछि स्मार्टफोन बोकेर संग्रहालय प्रवेश गर्नेले भित्रका तथ्य-तथ्यांकका बारेमा बुझ्न गाइड खोजिरहनु पर्दैन । किनभने सूचनाप्रविधिका प्राध्यापक र विद्यार्थीको एउटा समुहले हेर्न-सुन्न मिल्नेगरि जानकारी दिने एप्स तयार गरेको छ ।  
दक्षिण कोरियाको हाङदोङ युनिभर्सिटी र पोखरा विश्वविद्यालयको एउटा साझेदार परियोजनाले सूचनाप्रविधि सम्बद्ध प्राध्यापक र विद्यार्थीलाई सघाउन योजना अघि सारेको छ । उक्त योजनामा नेपाली प्राध्यापक र विद्यार्थीको सूचनाप्रविधि सम्बद्ध व्यवसायमा सीप अभिबृद्धिका लागि प्रस्तावहरू माग गरिएका थिए । यतिबेला म्युजियमका लागि तयार एप्समा जानकारी संग्रहको काममा जुटिरहेको समुहमा नेतृत्वकर्ता राजेन्द्रबहादुर थापा भन्छन् 'धेरै पर्यटक पुग्ने, उनीहरूको खाँचोलाई मोबाइल फोनमार्फ सम्बोधन गर्ने हामीले म्युजियमका लागि एप्स बनाउँदा उपयोगी हुने सल्लाह भयो । हाम्रो यही प्रपोजल युनिभर्सिटीले एक्सेप्ट गरेपछि काम थालेका हौं ।' एप्स बनाउन खटिनेमा पोखरा विश्वविद्यालयका अनुप आचार्य, गण्डकी कलेज अफ इञ्जिनियरिङ एण्ड साइसन्सका यी थापासँगै हरि केसी, महेश शाक्य, सुजन ताम्राकार, बीइ तेस्रो वर्षा विद्यार्थीहरू हरि लामिछाने, सूर्यमान श्रेष्ठ र शंकर आचार्य छन् । समुहले नेपाल इनोभेसन टेक्नोलोजी एण्ड इन्टरप्रीनीयरसीप सेन्टरमार्फत  जुटेर काम गरिरहेको छ । 
'प्लेस्टोरबाट इन्टरनेशनल माउन्टेन म्युजियमको एप आफ्नो मोबाइलमा डाउनलोड गरेकाहरूले भित्र पसेपछि जुन जुन कक्षमा पुग्छन्, त्यसको जानकारी अडियो-भिडियोको माध्यमबाट पाउन सक्छन्,' प्रोजेक्ट लिडर थापाले भने, 'हामीले एप्स प्लेस्टोरमा राखेर ट्रायल गरिसक्यौं, अब भित्रको जानकारी अंग्रेजी र नेपाली भाषामा संग्रह गर्ने काम थालेका छौं ।' म्युजियम भित्र पसेर अवलोकनकर्ताले उक्त एप्स जुन कक्षमा पुग्छन्, त्यसको क्यूआर कोड रीडरमा देखाउने वा कोड नम्बर हेरेर हाल्नेबित्तिकै एप्सले जानकारी दिन सुरू गर्ने उनले बताए । प्रारम्भिक चरणमा एप्समा अंग्रेजी भाषामा जानकारीहरू संग्रहीत छन् । 'यो एउटा डिजिटल गाइड हो, सबैका हातमा स्मार्ट फोन छन्, त्यसको अधिकतम उपयोग पनि गर्नैपर्छ,' समुहका सदस्य अनुप आचार्य भन्छन्, 'एप्सले म्युजियमभित्र रहुञ्जेलमात्रै अधिकतम जानकारी दिन्छ । यसका लागि हामीले इन्ट्रानेटमार्फ इन्फर्मेसन फ्लो हुने व्यवस्था गरेका छौं ।' 
त्यसो त पर्वतीय संग्रहालय भित्र पसेर आफूलाई बुझाउन गाइड चाहियो भन्नेका लागि तीनजना गाइड छन् । संग्रहालयका प्रमुख बलप्रसाद राइ संसार सूचना प्रविधिको द्रुतत्तर विकासमा लम्किरहेका बेला आफ्नो म्युजियमले पनि उत्साही युवाहरूको साथ पाएको बताउँछन् । 'हामीकहाँ घुम्न आउनेका फरेनरले म्युजियमका गाइड खोज्दैनन्, उनीहरू विस्तारै घुम्नछन्, लेखेका कुरा पढ्दै जान्छन्,' उनले भने, 'गाइड खोज्ने इण्डियन, नेपाली र र्सार्कका अरु कन्ट्रीका भिजिटरले हो । धेरैवटा ग्रुप एकैपटक आउँदा हाम्रा सीमित जनशक्तिले गाइड गर्न अप्ठ्यारै पनि छ ।' एप्समार्फ घुमन्तेहरूलाई आफ्नै मोबाइलबाट म्युजियम बुझ्ने सुविधा दिन सक्नु आफैंमा संग्रहालयका लागि उपलब्धि हुने उनले बताए । उनले भने 'अहिले हामी म्युजिम भित्रका जानकारी कसरी सरल भाषामा दिने भनेर लेखक, इतिहासकार र भाषाका जानकारहरूसँग वर्कसपको प्रोसेसमा छौं । उहाँहरूले तयार पारेका इन्फर्मेसन भेरिफिकेसनपछि एप्समा अपलोड हुन्छ ।' हिजोआज नै म्युजियम पस्नेले अंग्रेजीमा र थोरै जानकारी पाउने छन् । केही सातापछि भने म्युजियमका धेरै जानकारी नेपाली भाषामै उपलब्ध हुने र भिजिटरको संख्या, खाँचोअनुसार अन्य भाषामा पनि जानकारी राखिने उनले बताए ।  

नेपालीलाई वयस्क प्रतिव्यक्ति ८०, विद्यार्थीलाई ४०, सार्क मुलुकबाट आउनेलाई २ सय र अन्यलाई ४ सय लिने गरेको संग्रहालय सन् २००४ बाट सञ्चालनमा आएको हो । गत वर्ष यहाँ घुम्न आउनेको संख्या २ लाख ५२ हजार रह्यो । सय रोपनी क्षेत्रफल हातामा फैलिएको संग्रहालयको मुल भवन साढे ६ रोपनीमा छ । चारवटा हल रहेको मुल भवनभित्र तीनवटामा मात्रै ११ वटा सेक्सन छन् । चौथो हलमा अस्थायी प्रकारका जानकारी संग्रहीत छन् ।

(२०७४/०९/२१ कान्तिपुर/ हेलो शुक्रवारमा प्रकाशित आफ्नै सामाग्रीमा केही जानकारी थपेर ब्लगमा साभार गरेको )

चराका कुरा के लेख्ने ?

गत महिना राजधानीमा एउटा कार्यक्रम मैले सञ्चालन गरेँ । कुरा किताबको थियो । अरू विधा भए के कसो हो तर, किताब पनि 'लाटोकोसेरो' को । त्यो भेलाका लागि म २४ घण्टा राजधानीमा थिएँ । शुक्रवार बेलुकी ९ बजे चढेको बसले मित्र राजु आचार्य र मलाइ कलंकीमा बिहान कसरी ४ बजे उतारेको थियो । 
कार्यक्रम 'लाटोकोसेरो की बाठोकोसेरो' किताब विमोचनको थियो । डा. हेमसागर बराल र गुरु करणबहादुर शाहले किताब बिमोचन गर्नुभयो । कार्यक्रमपछिको चियापान  बसाइँमा प्राध्यापक शाहले मलाइ २/३ पल्ट नै 'भाइले लेख्न छाड्नु हुँदैन । लेख्नुस् । लेखीरहनुस्' भनिरहनु भयो । यस्ता उर्जा दिने प्रेरक मनुवासँगका बसाइँ आनन्दका हुन्छन् । लेख्न नछाडौं भइरहन्छ । तर, सजिलो छ र चराका कुरा लेख्न ! 
हामी अखबारी मजदुरलाई बिकाउ कुरा जहिल्यै 'राजनीति' रहिआएको छ । तै फरक विषयहरूमा लेख्दालेख्दै पनि चराका कुरा सजिलै सूचना पाइनेमा पर्दैन । वन, वातावरण, जैविक विविधता र चराका कुरा अखबारका नियमित पाठकका लागि नयाँ खुराकी हो । दिनु पर्छ । तर, सही सूचना जुटाउन समय लाग्छ । पोखरा बसाइँमा जैविक विविधतामा रूचि भएका र यही विषय पढ्ने-पढाउनेका जमातले पनि हौस्याउँछ । तर, म हिजोआज विषय हराएजस्तो भएको छु । 
चराका कुरा लेख्न फोटो राम्रो हुनुपर्छ । फोटा खिचेपछि जे खिचियो, त्यसका बारे बुझेकालाई भेटेर-सोधेर जानकारी जुटाउनुपर्छ । मसँग केही विषय छन् तर, 'अन्डर कन्स्ट्रक्सन ।' पत्रकारिता यस्तो पेशा हो जहाँ आफूले कलेजमा जुन विषय पढियो, त्यही विषयले पनि काम गर्न सघाउँछ । तर, धेरथोर लेख्नु सबैथोकका बारेमा पर्छ । राजधानी बाहिर रहेर  सञ्चारमाध्यममा काम गर्नेले 'म यो जान्दिन' भन्न पाउँदैन । अत: विषय चयन गरेर म केही चिजबिज तयार त पार्दैछु । तर, भन्न सक्दिन पुरापुर पढ्न हुने कहिले बनाउन सक्छु । 
भूगोलअनुसार पाइने चराका प्रजाति फरक छन् । तर, अन्नपूर्ण संरक्षण क्षेत्र यो मामिलामा धेरैथोक खोज्न र खिच्न-लेख्न सकिनेमा पर्छ । विषय भेटिन्छन् । तिनका पछि लाग्ने समय पर्याप्त छैन । तैपनि रूचिले डोर्‍याएको मान्छे क्यामेरालाई साथी बनाएर हिडेकै छ । 

के लेख्ने ?
चराका कुरा थुप्रै छन् । कहाँ केके पाइन्छन्, तिनको जीवनचक्रदेखि अहिलेका अवस्थासम्म विषयलाई रोचक बनाउनु आफ्नै रुचि र खोजीमा निर्भर छ । पहाडी बस्तीमा जाँदा दिनदिनै बन्दै गरेका पक्की घर, होटल, रिसोर्ट देख्दा अब गौ‌‌थलीले गुँड कहाँ लगाउँदा हुन् । यही विषय हुन सक्छ । हामीले आफ्ना बास बनाउँदा आफ्ना लागि बनाएका छौं । मान्छेकै आडमा बास लिने पंछीका प्रजाति थुप्रै छन् । कोही घरमै आएर बस्छन्, कोही बस्ती वरपर बस्न रुचाउँछन् । 
घडेरी बनाउने, जग्गा सम्याउने गरेको देख्न पाउनु सहज छ । रुखपात मासिएका छन् । घर फलेको फलेकै छन् । मान्छेले आफ्नो बास बढाएको बढाएकै छ । हामीले देख्दै आएका धाद्रा, धाप, वर्षैभरि चिस्यान रहने क्षेत्र पुरिएर तिनमा पनि घर फलेका छन् । ती क्षेत्रका जीवजन्तु बाटो लागे हुनन् ।
घरआँगनमा भँगेरा आउँछन् भने ती कहाँ बस्छन्, कसरी बस्छन्, के खान्छन् । आफैंमा यो विषय छ । सफासुग्घर चाहने मनुवा पंछीका बिष्टा सफा झेल्न रुचिकर मान्दैन । त्यसैले गुँड लगाएर फोहोर झार्ने प्राणीले उकहाँ आश्रय लिन खोजे धपाउँछ । 
विषय छरपस्ट छन् । तिनलाई पठनीय बनाउनु लेख्ने स्वयंको जिम्मेवारी पनि हो भन्ने लाग्छ । चराका बारेमा लेख्दै गर्दा 'मलाइ चरा मन पर्दैन' भन्ने मान्छे मैले भेटेको छैन । बरू माइण्ड नगर्नुस् है भनेर  'त्यसको फ्राइ कति मिठो हुन्थ्यो होला' भन्नेलाई बराबर भेटिन्छ । 
चराहरू आकारमा जति साना हुन्छन्, तिनीहरूको गुँड उति नै मिहिनेत गरेर बनाएको देख्न पाइन्छ । जस्तो की फिस्टा, कालेबुंगे, तोप चरा । ठूला आकारका चराका गुँड नियालेर हेर्दा तिनलाई बनाइदिनु पर्छ की के हो जस्तो हुन्छन् । जस्तो की काग, ढुकुर, बकुल्ला, गरुड, चील, गिद्ध आदिका गुँड । झिक्रामिक्रा बटुलेर बनाइएका गुँडमध्ये हामीले सजिलै देख्न सक्ने भनेको बकुल्ला र ढुकुरका गुँड हुन् । आकाशमा निकै माथिसम्म उडान भर्नेहरू गुँड लगाउन पनि अग्ला ठाउँ रोज्छन् । जहाँ मान्छे सजिलै पुग्दैनन् । 
भूइँ-भूइँ र झाडी-बुट्यानमा सजिलै देख्न सकिने पंछीका गुँड हाम्रै वरपर हुन्छन् । 
प्रकृतिले आआफ्नै प्रकारले गरिदिएको जीवनचक्रमा पंछी स्वार्थ राख्दैनन् । बरू हामी आस राख्छौं । तर, हामी न तिनको बास राख्छौं न त तिनलाई आफ्ना कारणले पर्ने बाधामा गम्भिरता । 
पहिले पहिले केके धेरै देखिन्थे/देखिँदैनथे, अनि अहिलेको अवस्था के हो बाट पनि विषय सुरु हुन सक्छ । बालीविरूवामा चलाउने विषादिले पनि तिनलाई असर पारेकै छ । चितवनका केही रिसोर्टमा देख्न पाइने रमाइलो दृष्य के हो भने पाकेका फलफूल बोटैमा छाडिदिनु । यस्तो गरे चरा आउँछन् । तिनीहरूले सजिलै आहारा पाउँछन् । हामी सजिलै फोटो खिच्न सक्छौं । 
केही चराचुरूंगीलाई हाम्रो बाली चक्रको प्रभाव परेको छ । वर्षभरि लगाइने बालीमा केके हटे, केके थपिए । त्यसबाट पनि विषय भेट्न सकिन्छ । चराले मन पराउने बाली घटे की घटेनन् ! पोखरामा फेवातालको पश्चिमी क्षेत्र पामेमा 'कुर्मा' आएर बस्न थालेको करीब एक दसक भएछ । दुइ वर्षअघि मैले सजिलै तिनका हुल देख्न पाएको हो । तर, हिजोआज त्यहाँ खेती गर्नेभन्दा रेस्टुरा र रिसोर्ट फलाउने धेरै भए । कुर्माले धान खाइदिन्छ । किसानले मन पराउँदैनन् । पहिले पहिले त्यो क्षेत्रमा कुर्मा मारेका घटना अहिले पनि सुन्न पाइन्छ ।  
पोखरामै मैले हिड्दा-डुल्दा देखेको विषयमा भँगेरा र डाङ्ग्रे (सारौं/रुप्पी) पनि छन् । भँगेराका दुइ प्रजाति रूख भँगेरा र घर भँगेरा एउटै हुलमा देखिन्छन् । अनि जंगल मैना भनिने वनरूपी र कमन मैना भनि डाङ्ग्रे पनि सँगै घुमेका देखिन्छन् ।
पोखरामा रहेर तालका कुरा गर्दा अतिक्रमणको ब्यथा चर्को छ । मान्छेहरू तालको पानी मुनिको जमिनका लालपुर्जा हातमा लिएर बसेका छन् । फेवातालमा पानी उम्रँदैन । पश्चिममा अँधेरी, हर्पन र नगर क्षेत्रभित्र बुलौंदी र फिर्के खोला मुल स्रोत हुन् । हिउँदमा पानी थोरै रहने भएपनि चारैवटा खोलाले फेवातालको पानीलाई भरथेग गरेका छन् । नगरको घना बस्तीभित्र भएर बग्ने फिर्के र बुलौंदी नालामा परिणत भइसकेका छन् । यी दुइ खोलाले तालमा ढलसहितको फोहर पुर्‍याउँछन् ।
पोखरा महानगरपालिकाले आव २०७४/७५ देखि फिर्केलाई संरक्षण गर्ने भन्दै योजना अघि सारेेको छ । तर, यसको कार्यान्वयन जटिल छ । कारण- खोलाको मापदण्ड मिचेर डीलै-डील बस्ती बसेको छ । अग्ला अग्ला घरहरूको साँधमा फिर्के धेरै ठाउँ सहजै देखिँदैन । ती घरहरू भत्काएर फिर्केलाई पुरानै अवस्थामा सुरक्षित पार्ने योजना प्रभावकारी रूपमा बढाउन स्थानीय सरकारलाई धेरै वर्ष लाग्न सक्छ । पोखरा महानगर बन्दा गाभिएको लेखनाथ क्षेत्रमा पनि बेगनासहितका आठवटा ताल छन् । जहाँ जहाँ जलाशय, खोलानाला र जंगल छन्, त्यहाँ चरा छन् । तुलनात्मक रूपमा पुरानो पोखराभन्दा नयाँ पोखरा भन्न मिल्ने लेखनाथ क्षेत्रमा धेरै चरा छन् ।
लेखनाथ क्षेत्र धेरै पोखरेलीको खेती गर्ने कामत थियो । कालान्तरमा यहाँ पनि अव्यवस्थित बसोबास तीव्र भइसकेको छ । जहाँ खेती हुन्छ, त्यहाँ कीरा-फट्यांग्रा र मुसा हुन्छन् । तिनलाई आहारा बनाउने चराका थुप्रै प्रजाति पनि हुन्छन् ।  पोखराको पछिल्लो अभ्यास परम्परागत तवरको खेतीभन्दा अन्य व्यवसाय छ । बोरामा चामल-दाल आइपुग्छ, तेल आउँछ । दूधको माग डेरीले पुरा गरिरहेकै छन् । त्यसैले खेतीका तुलनामा जमिन टुक्रयाएर घडेरीमा बेच्दा राम्रो घर, गाडी र विलासी आवश्यकताको सहज पूर्ति भइरहेको सहरले देखेको छ । खेतमा काम गर्न मजदुर, बिउ-मल र भित्र्याउन पर्ने लागत, समय र श्रमको हिसाब निकाल्दा जग्गा दलाल घडेरी किनबेचमा उत्साहित छन् ।
यसले परम्परागत कृषि प्रणालीमा असर पारेको छ । जसको असर वातावरणमा परेको छ । चराचुरुंगी र अन्य जीवमा परेको छ । यस्तो अवस्था एक्लो पोखरा उपत्यकाको मात्रै होइन । पटक पटक व्यवस्था फेरिएपनि कुनै पनि सरकारले बसोबास, उद्योग र खेती गर्ने क्षेत्र निर्धारण गरेन । जसले गर्दा मनलाग्दी जतासुकै छ ।

को ठूलो, कसका आवश्यकता महान
केही वर्षअघि मैले 'चमेरो बिचरो' लेख्दा सुरुवातमा एउटा व्यवसायीको प्रसंग उल्लेख गरेको थिएँ । विराटनगरका ती व्यवसायीले जहाँ आफ्नो व्यवसायिक प्रतिष्ठानका लागि भवन बनाएका थिए, त्यहाँ कुनै जमानामा वरको ठूलो रूख थियो । चार मान्छे उभिएर अंगालो हाल्दा पनि नसकिने गोलाइ थियो त्यो बरको रूखको । काटियो, घर उभियो ।
बर छउञ्जेल त्यहाँ झुण्ड झुण्ड चमेरा बस्थे । दिउँसो त्यो बरको रूख भएको बाटो हिड्दा अनौठो लाग्थ्यो । बासस्थान विनास भो, झुण्ड तितरबितर भयो । ती व्यापारीले भनेका थिए-बजारभित्र महंगो मूल्यको जग्गा चमेरा बस्छन् भनेर कसरी छाड्ने ? हामीले गरिखानु परेन ?' उनको तर्क नाजायज लागेको होइन । तर, हामी जहाँ जहाँ पुगौं, खेती हुने वा बाँझो जमिनका कुरा छाडौं । डाँडा, खोला धाप, पैनी, वन बुट्यान जे भएनि ती निजीकरण भए/भइरहेका छन् ।
मान्छेलाई घर चाहिएको छ । घर भएर पुगेन थुप्रै सम्पती चाहिएको छ । आफ्ना लागि मात्रै चाहिएको छ । मान्छेकै इच्छा सर्वोपरि भइरहँदा प्रकृतिमा रहेका अरू जीवको वासस्थान विनास गम्भिरताको विषय मानिन्न । उनीहरू कहाँ जालान् ?    
पर्यटकीय नगरी पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । अँ पोखराको कुरा गर्दा यहाँ कसैले पनि त्यो विमानस्थलका विरूद्ध बोल्नुहुँदैन भन्ने जमातको जगजगी छ । जसले बोल्छ, त्यो पोखराको विकासको शत्रुमा दरिन्छ । विमानस्थल चाहिन्छ भनेर जग्गा छुट्याएको पाँच दसकपछि पनि योजना सरकारले सजिलै अगाडि बढाएको होइन । धेरै दिन आन्दोलन र धर्ना भए । विकासप्रेमी भनिएका अगुवाहरू यतिबेला 'हामीले गर्दा' भनेर भन्न छुटाउँदैनन् । अबको चार वर्षपछि विमानस्थल तयार भइसक्ला, विदेश आउजाउ गर्ने जहाज चढ्न पोखरेलीले काठमाडौंको जमिन टेक्न नपर्ला । योजनाकारका सुकिला कुरा रमाइला छन् । विमानस्थलले पोखराको विकासमा क्रान्ति ल्याएको छ । होटल-रेस्टुरेन्ट र अरू व्यवसायमा भविष्य देखाएको छ । पोखरामा लगानी आएको छ ।
यी गन्थनको अर्को एउटा पाटो चासोको छ, जो निकै कमले कुरा गर्छन् । विमानस्थलका लागि भनिएको जमिन वर्षौदेखि खाली थियो । त्यो वस्तुभाउको चरन क्षेत्रमात्रै थिएन, पोखरामा बिभिन्न प्रजातिका गिद्ध सजिलै हेर्न पाइने ठाउँ थियो । घाँसे मैदानमा पाइने चराका थुप्रै प्रजाति त्यहाँ जाँदा सजिलै हेर्न सकिन्थ्यो । यतिबेला निर्माण धमाधम छ । त्यो क्षेत्रमा चौपाया हुल्न पाइँदैन । चराचुरुंगीले विकल्प खोजी सके हुनन् ।
दक्षिण एशियामा नौ प्रजाति गिद्ध पाइन्छन् । पोखरा उपत्यकामा मात्रै आठ प्रजाति हेर्न सकिन्थ्यो । जहाँ हाम्रो कृषि प्रणाली फेरिएर खेती गर्ने क्षेत्र घट्यो, त्यहीँ खेती भइरहेका ठाउँमा पनि किटनासकको उपयोग बढेको छ । ट्याक्टर र मिनीटिलरले जोते पुग्ने भएपछि गोरू पाल्ने झन्झट पनि रहेन । खेतमा पहिले पहिले जसरी मुसा लाग्दैनन् । जहाँ लाग्छन्, त्यो क्षेत्रमा पनि निकै कम भइसकेको छ ।
मुसा लाटोकोसेरो र चीलका बिभिन्न प्रजातिको मुख्य आहारा हो । गिद्धले सिकार गर्दैन । मरेर फालिएका सिनो खान्छ । चौपाया पाल्न घट्यो । जहाँ जहाँ पालिन्छन्, त्यहाँ मरेका जन्तु बाहिर त्यसै फालिँदैनन् । पुरिन्छ, गाडिन्छ । सन् २०१५ सम्म गरपालुवा पशुलाई दर्द निवारकका रूपमा प्रयोगमा रहेको 'डाइक्लोफेनेक' को विषाक्त असरले थुप्रै गिद्ध मासिए । पछि त्यसको प्रयोगमा सरकारले बन्देज गरेपनि गिद्धका लागि हितकर वातावरणीय चक्र नै फेरिएको छ । गुँड लगाउन अग्ला रूख त मासिए नै, आहारा पनि नपाउने भएपछि गिद्ध अबका वर्ष झन दुर्लभ हुँदै जाने अवस्था छ ।


पछि लेख्छु ....................आजलाई यति