पोखरामा घुम्नका लागि थुप्रै ठाउँहरू मध्येको एउटा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । विश्वका अग्ला शिखर, तिनको अवस्थिति, आरोहणको इतिहास, हिमाली जनजीवन र जलवायु पविर्तन बारे बुझ्न चाहनेका लागि उक्त संग्रहालयमा थुप्रै सचित्र जानकारी छन् ।
वर्षो सरदर २ लाख ५० हजार जनाले यो संग्रहालय अवलोकन गर्ने गरेका छन् । अबको केही सातापछि स्मार्टफोन बोकेर संग्रहालय प्रवेश गर्नेले भित्रका तथ्य-तथ्यांकका बारेमा बुझ्न गाइड खोजिरहनु पर्दैन । किनभने सूचनाप्रविधिका प्राध्यापक र विद्यार्थीको एउटा समुहले हेर्न-सुन्न मिल्नेगरि जानकारी दिने एप्स तयार गरेको छ ।
दक्षिण कोरियाको हाङदोङ युनिभर्सिटी र पोखरा विश्वविद्यालयको एउटा साझेदार परियोजनाले सूचनाप्रविधि सम्बद्ध प्राध्यापक र विद्यार्थीलाई सघाउन योजना अघि सारेको छ । उक्त योजनामा नेपाली प्राध्यापक र विद्यार्थीको सूचनाप्रविधि सम्बद्ध व्यवसायमा सीप अभिबृद्धिका लागि प्रस्तावहरू माग गरिएका थिए । यतिबेला म्युजियमका लागि तयार एप्समा जानकारी संग्रहको काममा जुटिरहेको समुहमा नेतृत्वकर्ता राजेन्द्रबहादुर थापा भन्छन् 'धेरै पर्यटक पुग्ने, उनीहरूको खाँचोलाई मोबाइल फोनमार्फ सम्बोधन गर्ने हामीले म्युजियमका लागि एप्स बनाउँदा उपयोगी हुने सल्लाह भयो । हाम्रो यही प्रपोजल युनिभर्सिटीले एक्सेप्ट गरेपछि काम थालेका हौं ।' एप्स बनाउन खटिनेमा पोखरा विश्वविद्यालयका अनुप आचार्य, गण्डकी कलेज अफ इञ्जिनियरिङ एण्ड साइसन्सका यी थापासँगै हरि केसी, महेश शाक्य, सुजन ताम्राकार, बीइ तेस्रो वर्षा विद्यार्थीहरू हरि लामिछाने, सूर्यमान श्रेष्ठ र शंकर आचार्य छन् । समुहले नेपाल इनोभेसन टेक्नोलोजी एण्ड इन्टरप्रीनीयरसीप सेन्टरमार्फत जुटेर काम गरिरहेको छ ।
'प्लेस्टोरबाट इन्टरनेशनल माउन्टेन म्युजियमको एप आफ्नो मोबाइलमा डाउनलोड गरेकाहरूले भित्र पसेपछि जुन जुन कक्षमा पुग्छन्, त्यसको जानकारी अडियो-भिडियोको माध्यमबाट पाउन सक्छन्,' प्रोजेक्ट लिडर थापाले भने, 'हामीले एप्स प्लेस्टोरमा राखेर ट्रायल गरिसक्यौं, अब भित्रको जानकारी अंग्रेजी र नेपाली भाषामा संग्रह गर्ने काम थालेका छौं ।' म्युजियम भित्र पसेर अवलोकनकर्ताले उक्त एप्स जुन कक्षमा पुग्छन्, त्यसको क्यूआर कोड रीडरमा देखाउने वा कोड नम्बर हेरेर हाल्नेबित्तिकै एप्सले जानकारी दिन सुरू गर्ने उनले बताए । प्रारम्भिक चरणमा एप्समा अंग्रेजी भाषामा जानकारीहरू संग्रहीत छन् । 'यो एउटा डिजिटल गाइड हो, सबैका हातमा स्मार्ट फोन छन्, त्यसको अधिकतम उपयोग पनि गर्नैपर्छ,' समुहका सदस्य अनुप आचार्य भन्छन्, 'एप्सले म्युजियमभित्र रहुञ्जेलमात्रै अधिकतम जानकारी दिन्छ । यसका लागि हामीले इन्ट्रानेटमार्फ इन्फर्मेसन फ्लो हुने व्यवस्था गरेका छौं ।'
त्यसो त पर्वतीय संग्रहालय भित्र पसेर आफूलाई बुझाउन गाइड चाहियो भन्नेका लागि तीनजना गाइड छन् । संग्रहालयका प्रमुख बलप्रसाद राइ संसार सूचना प्रविधिको द्रुतत्तर विकासमा लम्किरहेका बेला आफ्नो म्युजियमले पनि उत्साही युवाहरूको साथ पाएको बताउँछन् । 'हामीकहाँ घुम्न आउनेका फरेनरले म्युजियमका गाइड खोज्दैनन्, उनीहरू विस्तारै घुम्नछन्, लेखेका कुरा पढ्दै जान्छन्,' उनले भने, 'गाइड खोज्ने इण्डियन, नेपाली र र्सार्कका अरु कन्ट्रीका भिजिटरले हो । धेरैवटा ग्रुप एकैपटक आउँदा हाम्रा सीमित जनशक्तिले गाइड गर्न अप्ठ्यारै पनि छ ।' एप्समार्फ घुमन्तेहरूलाई आफ्नै मोबाइलबाट म्युजियम बुझ्ने सुविधा दिन सक्नु आफैंमा संग्रहालयका लागि उपलब्धि हुने उनले बताए । उनले भने 'अहिले हामी म्युजिम भित्रका जानकारी कसरी सरल भाषामा दिने भनेर लेखक, इतिहासकार र भाषाका जानकारहरूसँग वर्कसपको प्रोसेसमा छौं । उहाँहरूले तयार पारेका इन्फर्मेसन भेरिफिकेसनपछि एप्समा अपलोड हुन्छ ।' हिजोआज नै म्युजियम पस्नेले अंग्रेजीमा र थोरै जानकारी पाउने छन् । केही सातापछि भने म्युजियमका धेरै जानकारी नेपाली भाषामै उपलब्ध हुने र भिजिटरको संख्या, खाँचोअनुसार अन्य भाषामा पनि जानकारी राखिने उनले बताए ।
नेपालीलाई वयस्क प्रतिव्यक्ति ८०, विद्यार्थीलाई ४०, सार्क मुलुकबाट आउनेलाई २ सय र अन्यलाई ४ सय लिने गरेको संग्रहालय सन् २००४ बाट सञ्चालनमा आएको हो । गत वर्ष यहाँ घुम्न आउनेको संख्या २ लाख ५२ हजार रह्यो । सय रोपनी क्षेत्रफल हातामा फैलिएको संग्रहालयको मुल भवन साढे ६ रोपनीमा छ । चारवटा हल रहेको मुल भवनभित्र तीनवटामा मात्रै ११ वटा सेक्सन छन् । चौथो हलमा अस्थायी प्रकारका जानकारी संग्रहीत छन् ।
(२०७४/०९/२१ कान्तिपुर/ हेलो शुक्रवारमा प्रकाशित आफ्नै सामाग्रीमा केही जानकारी थपेर ब्लगमा साभार गरेको )
No comments:
Post a Comment