रेलवे स्टेशनमा सधैं भेटिने दृष्टिविहीनले गाएको सुनेपछि राहीले एउटा नाटकमा प्रयोग गरेको गीत उत्तराखण्डमा कालजयी भएको छ ।
गत असार तेस्रो सातादेखि 'टिकटक' मा भाइरल कुमाउ-गढवालको गीत हो फ्वां बागा रे । साउनको महिनाभरि विरलै यस्ता दिन थिए, जुन दिन टिकटकका नेपाली प्रयोगकर्तामध्ये कसै न कसैले उक्त गीत बजाएर नाचेको संक्षिप्त भिडियो अपलोड गरेको नहोस् । संगीतलाई मानवताको भाषा भनिनु यहीँ चरितार्थ हुन्छ, भाषा नबुझेपनि धुन मन परे धेरैले सुनेकै हुन्छन् ।
कोरियन कलाकार साइको 'गङनम स्टाइल' होस् वा स्पेनिस-अमेरिकी भाषामा लुइस फोन्सी र ड्याडी यांकीले ल्याएको 'डेस्पासिटो ।' गीतहरू चर्चित हुनुका पछि संसारभरका संगीतप्रेमी भाषा होइन धुनको सम्मोहनमा परेको पुष्टि हुन्छ । यस्ता गीत जसमा कम्मर मर्काउन उपयुक्त छ, ती युट्युवमा धेरैपटक हेरिन्छन् । अब जे हेर्न र सुन्न खोजे पनि पाइन्छ भन्न सकिने अवस्था आइसकेको छ ।
भारत, उत्तराखण्डको क्यासेट कम्पनी नीलम उत्तराखण्डीले अपलोड गरेको 'फ्वां बागा रे' भिडियोविहीन छ । गीत र कलाकारका बारेमा पढ्न चाहनेका लागि अपलोडरले धेरै जानकारी दिएका छैनन् । ४ मिनेट ५६ सेकेण्डको गीत बजुञ्जेल गीतकार चन्दरसिंह राही, गायक/गायिका पप्पु कार्की र संदीप सोनूको एउटै फोटो मात्रै देख्न सकिन्छ । भिडियो नभएकाले गीतमा नाच्न चाहनेका लागि बजाएर आफ्ना भावभंगिमा आफैं तय गर्ने छुट छ । गत बुधबारसम्ममा ९३ लाख ३८ हजार भ्युज पुगेको गीत भारतको उत्तराखण्डबाट नजिक सुदूरपश्चिम र कर्णालीहुँदै विभिन्न भूभागका नेपालीको ध्यानाकर्षण गरिरहेको छ । भाषा बुझ्नेहरू गढवाली उक्त भाकाको नयाँ डीजे भर्सनमा रमाएका छन्, नबुझ्नेहरू इन्टरनेटमा अर्थ खोज्न वेबसाइटका लिंकहरूका क्लिक गरिरहेका छन् । टिकटकमा रमाउनेहरू गीत बजाएर नाच्दै छोटो भिडियो दिनदिनै अपलोड गरिरहेका छन् ।
०००
'फ्वां बागा रे' को कान्छो भर्सन युट्युवमा अपलोड हुँदा त्यसका मुख्य गायक पप्पु कार्की ३४ वर्षो उमेरमै दिवंगत भएको वर्षदिन र ७३ वर्षीय संकलक/र्सजक चन्दरसिंह राहीले भौतिक शरीर छाडेको तीन वर्ष बितिसकेको छ । गढवाली संगीतप्रेमीलाई गीतले पुनः दुवैलाई सम्झिरहन बाध्य पारेको छ । गीतमा कार्कीलाई बराबरीको साथ दिएका संदीप सोनु र कल्पना चौहान अहिले पनि उत्तराखण्डी गीत गाइरहेका छन् ।
गीतको चर्चा बढेसँगै विभिन्न अनलाइनहरूले 'फ्वां बागा रे' कसरी सिर्जना भएको हो भन्नेमा स्रष्टा चन्दरसिंह राहीले विभिन्न कार्यक्रममा बताएका प्रसंगलाई उल्लेख गरेका छन् । सन् ६०/७० को दसकमा दिल्ली-लखनउहुँदै कोटद्धारको रेल स्टेसनमा एक दृष्टिविहीनले यो गीत गाउथे । तिनको गीत सुनेकाहरूले आफूलाई त्यो रेलवे स्टेसन आउजाउ गरेको अपनत्व अनुभव गर्थे । संकलक एवं र्सजक राहीले केही वर्षअघिको एउटा अन्तर्वार्तामा भनेका छन् 'मैले उसैको मुखबाट सुनेको गीतलाई पूर्णरूप दिएको हो ।'
कुमाउ-गढवालमा त्यो समय बाघको आतंक थियो । बाघ कसरी आउँछ, त्यसबाट कसले जोगाउँछ भन्ने दृष्टिविहीनले रेलवे स्टेसनमा यात्रीलाई गीतमा सुनाउँथे । गढवाली नाटककार राजेन्द्र धष्माणाको नाटक 'अर्ध ग्रामेश्वर' मा कोटद्धार रेलवे स्टेसनको दृश्य थियो । उनले राहीसँग सल्लाह गरे, नाटकमा स्टेसन कसरी देखाउने ? त्यसको झल्को दिलाउने उक्त गीत राहीले मुम्बइमा मञ्चनका बेला प्रयोग गरे । त्यसयता सन् १९८५ देखि धेरैजनाले फ्वाँ बागा रे पटक पटक गाउँदै आएका छन् । यूट्युबमै यसका थुप्रै भर्सन भेटिन्छन् । चर्चामा आएको पप्पु, संदीप र कल्पनाद्वारा स्वरबद्ध सबैभन्दा नयाँ भर्सन हो । जसरी झलकमान गर्न्धर्वका गीत नेपालीका नयाँ पुस्ता र अरु भाषाभाषीका कलाकारले गाएका भर्सन बेला बेला यूट्युवमा अपलोड गरिरहेका छन्, त्यस्तै छन् राहीद्वारा सिर्जना र संकलन भएका लोकगीतहरू । गीतले पुनः चर्चा पाउँदै गर्दा केही गढवालीले ब्लगमा लेखेका छन् - यो गीतले त्यो रेलवे स्टेसन र जमाना याद गराउँछ ।
०००
उत्तराखण्डको लोकसंगीत जगतमा भिष्म पितामह भनिने चन्दरसिंह राही गढवालको गाउँमा जन्मिएका थिए । पहिलोपटक सन् १९६३ मार्च १३ मा अल इण्डिया रेडियोको देल्ही स्टेसनमा उनले 'पर विना की' गाए । कार्यक्रम भारतीय सैनिकका लागि थियो । उनको लोकप्रियता सन् १९७० मा एआइआरको नजिवावाद स्टेशनबाट गीत बज्न थालेपछि बढेको थियो । सन् १९८० ताका जन उनको गीत दूरदर्शनबाट प्रसारण भयो, लोकप्रियता अझ चुलियो । लोकभाका संकलन, सिर्जना र आफैं संगीत दिने उनी सरल स्वभावका थिए ।
गढवाली लवज उनको मोहक थियो । रेडियोमा गढवालीले उनको आवाज मन पराउथे । सन् १९६६ मा उनले तयार पारेको 'दिल को उमाल' चर्चित छ । उनका प्रेरणाका स्रोत थिए गढवाली कवि कन्हैयालाल दान्द्रियल । चन्दरसिंह नेगी यात्रा गरिरहने भएकाले कन्हैयालालले नै उनलाई 'राही' को उपनाम दिएका थिए ।
राही गीत संकलन गर्थे, लेख्थे, धुन बनाउँथे र गाउँथे । उनका १४० वटा अडियो एल्बम छन् । जीवनकालमा उनले भारतका विभिन्न भागमा १५ सय हाराहारी सांगीतिक कार्यक्रममा प्रस्तुति दिएका थिए । उनले किताब लेखेका छन्, सामुहिक नृत्यका लागि धुन पनि बनाएका छन् । उनी ढोल, डमरु, दौर, थाली र हुड्की जस्ता लोकबाजा पनि बजाउथे । लोक संगीतको विभिन्न आयामबारे उनका पुस्तक प्रकाशित छन् । उत्तराखण्डका विभिन्न भेगबाट उनले आफ्नो जीवनकालमा उनले करीब २५ सय हाराहारी लोकगीत संकलन गरेका थिए । युवावस्थामा कामको खोजीका लागि उनी दिल्ली पनि बसे । कमाइको बचत उनले घरपरिवार र अचल सम्पती जोड्नको साटो उत्तराखण्डी लोक संगीतमा लगाए । पैसा हुनेबित्तिकै उनी एल्बम रेकर्डिङ गर्थे ।
०००
'फ्वां बागा रे' बाट उत्तराखण्ड बाहिर पनि चर्चा पाइरहेका पप्पु भनिने प्रवेन्द्रसिंह कार्कीका स्वरबद्ध तीन दर्जन गीत कुमाउ-गढवालमा सदाबहार छन् । गायन क्षेत्रलाई निरन्तरता दिनुअघि उनले निकै संघर्ष गर्नुपरेको थियो । घरको आर्थिक अवस्था नाजुक भएका उनी सन् २००३ देखि चार वर्षनोकरीका लागि दिल्ली गएका थिए । त्यहाँ प्रिन्टिङ प्रेस र बैंकमा कार्यालय सहयोगीको काम गरेका थिए ।
पछि उत्तराखण्डको रुद्रपुर फिरेका उनी सन् २००६ को उत्तराखण्ड आइडलमा फर्स्ट रनरअप घोषित भए । त्यसपछि भने उनको सांगीतिक करिअर अघि बढ्यो । लगालग एल्बमहरू निकाले । सबैजसो हिट भए । उत्तराखण्डका विभिन्न सहरमा कन्सर्टका लागि व्यस्त भए । सानैदेखि लोकगीतको गायनमा रमाउने उनका थुप्रै गीत चर्चित छन् । नैनीताल महोत्सवमा आफ्नो प्रस्तुति दिएर चार साथीसँग हल्दवानी फिर्दै गर्दा भएको कार दुर्घटनामा सन् २०१८ जुन ९ मा उनको निधन भएको थियो । छोरा ७ वर्षीय दक्ष कार्कीले पिताको गीत आएको भिडियो पनि यूट्युवमा झपलोड भएपछि पप्पुलाई सम्झनेहरू आशावादी छन् ।
'फ्वां बागा रे' को नयाँ भर्सनमा कार्कीसँगै स्वर दिएका कल्पना चौहान र संदीप सोनु गढवाली लोक संगीतका जमेका कलाकार हुन् । मुम्बइमा जन्मे-हुर्के पनि ५२ वषीया पिताको पुख्र्यौली थलोको भाषा जान्दछिन् । गढवाली गीत नै गाउँछिन् । चौहानका पिता मुम्बइ-गढवाल समाजका अध्यक्ष थिए ।
०००
इस्ट इण्डिया कम्पनीको नामबाट भारतमा शासन गरिरहेका अंग्रेजसँगको नेपालको युद्ध स्थगन इतिहासमा सुगौली संधीका नामले हामी पढ्छौं । सन् १८१५ डिसेम्बर २ मा उक्त सन्धी हुनुअघि
हालको भारतका उत्तराञ्चलका पर्ने कुमाउ र गढवाल नेपालमै पर्थे । सन्धीपछि नेपालले काली नदि पश्चिमका कुमाउ, गढवाल, सतलज नदि पश्चिमका का“गडा लगायत तराइका केही भाग ब्रिटिस इस्ट इण्डिया कम्पनीलाई फर्कायो । उनीहरूले सन् १८६५ मा नेपाललाई हालका बाँके, वर्दिया, कैलानी र कचनपुर फिर्ता गरे । सन्धी गरेकाले नेपालले आफ्नो अधिनस्थ दुइ तिहाइ भूभाग गुमाउनु परेको थियो ।
हालको भारतका उत्तराञ्चलका पर्ने कुमाउ र गढवाल नेपालमै पर्थे । सन्धीपछि नेपालले काली नदि पश्चिमका कुमाउ, गढवाल, सतलज नदि पश्चिमका का“गडा लगायत तराइका केही भाग ब्रिटिस इस्ट इण्डिया कम्पनीलाई फर्कायो । उनीहरूले सन् १८६५ मा नेपाललाई हालका बाँके, वर्दिया, कैलानी र कचनपुर फिर्ता गरे । सन्धी गरेकाले नेपालले आफ्नो अधिनस्थ दुइ तिहाइ भूभाग गुमाउनु परेको थियो ।
राजनीतिक घटनाक्रम र शासन व्यवस्थाको फेरबदलले देशका भूगोलमा प्रभाव पारेपनि नेपालका साँध सिमाना वारिपारि परेर बसेकाहरूको पारिवारिक सम्बन्ध अझै पुरानै छ ।जसरी मिथिलाञ्चल संस्कृतिको सीमाना देशको भूगोलले छुट्याएपनि छुट्टिदैन, मेची-कोसीका जिल्लाको असम, दार्जिलिङ र सिक्किमसँगको नाता छ । त्यस्तै छ सुदूरपश्चिम र कर्णालीका जिल्लाको उत्तराञ्चलसँगको भाषिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध । मुलुकको पश्चिमी सिमाना कञ्चलपुरको नाका नाघ्नेबित्तिकै सुरु हुने उत्तराखण्डको भूगोल सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा पृथक छैन । भाषा, भेषभूषा र रहनसहन मिल्ने भएकाले उताका लोकभाकामा सुदूरपश्चिम रमाउँछ, सुदूरका गीत संगीत कुमाउ-गढवालले चिन्छ । (एजेन्सीहरूको सहयोगमा)
(कान्तिपुर, कोसेलीमा २०७६ भदौ २१ मा प्रकाशित)
No comments:
Post a Comment