Sunday, September 22, 2013

उसले पेस्तोल किन देखायो ?

इलामबाट काठ ल्याएर सुनसरी-मोरङमा सप्लाई गर्ने मान्छे । ५ ट्रक काठ ल्याएर सुनसरीको नर्सिङमा रहेको स-मिललाई दिए । मैले नौ लाख पाउनु पर्ने । मलाई चार लाख मात्रै दिएर अरु पछि दिने बताइयो । पैसा पाइएन, बरु तीनजना एकाबिहानै मेरो घरमा आए । एउटा बाटो देखाउन भनेर आएको केटा थियो, जसको बाउसँग मैले पैसा पाउनु पर्ने थियो । दुइ जनाले आफूलाई 'प्रहरी' बताए । उनीहरू सादा पोशाकमा थिए ।  बेलबारी थानामा बोलाइएको छ भने । मैले पत्याइन । 'पुलिस भए प्रमाण के ? कसरी पत्याउनु ?' भन्दा एउटाले कम्मरमा भिरेको पेस्तोल देखायो र, भन्यो 'यो हेर्नुस । पत्याउनुस हामी प्रहरी नै हो ।'
घरबाट निस्किएर नजिकको चौकीमा गएँ । त्यहाँका सइलाई भने 'पुलिस भन्छन् । मलाई लैजान आएका रे । हुन होइनन एकपल्ट बुझिदिनुस ।' सइले बेलवारी थानामा फोन लायो । आएका दुइजना प्रहरी नै रहेछन् । अनि थाना गइयो । दुवै पक्ष राखेर मलाई कागज गराइयो । मैले उल्टै ५ लाख तिर्नु पर्ने । त्यो दिन फिरियो ।
मैले करकापविरुद्ध जिल्ला अदालतमा मुद्दाको निवेदन हालें । पछि फेरि मलाई बोलाइयो । थानाले भन्यो 'प्रशासनमा निवेदन परेको छ रे । दुवै पक्ष उतै जानुस ।'
प्रशासनमा आएपछि पनि कुरा मिलेन । हामीले दुइपटक कागज गरिसकेका थियौं । अदालतले म्याद दिएको थियो । कुरा अदालतमा पुगेकाले दुवै पक्षले अब उतै गएर आ-आफ्नो कुरा राख्नुपर्ने भनाई सहायक सिडिओको थियो । तर, पत्रकारजी, तपाइले मेरो कुरा छापिदिनुस् । उसले किन मकहाँ पेस्तोल लिएर आयो । परिचय माग्दा किन पेस्तोल देखायो ?
००० 
अफिसमा दुइजना आएका थिए । अलि अग्लो मान्छेको कुरा यस्तो थियो, जो माथि उल्लेख छ । उसले पहिले अफिसको सबैभन्दा ठूलो मान्छे खोजेको थियो । ठूलो मान्छे आइपुग्न केही समय लाग्छ भनेपछि उसले आफ्ना कुरा सुनाएको थियो । एउटा प्रेस विज्ञप्ति पनि दियो । त्यसका उही व्योहोरा थियो, जो उसले भनेको थियो । 
लेनदेनका यस्ता विवादलाई समाचार बनाउनु अघि सम्बद्ध दुवै पक्षको कुरा सुन्न जरुरी हुने । थाना र सहायक सिडिओसग सोध्नै पर्ने प्रक्रियाका कुरा मैले बताउँदा ऊ सन्तुष्ट देखिएन । 
ऊ छिटो समाचार छापिएको हेर्न चाहन्थ्यो । उसका कुरा मात्रैले समाचार बन्थेन । आफूले बताएका प्रक्रिया पुरा नगरी समाचार लेख्न नसक्ने मैले बताएँ । उसले आफ्नो फोन नम्बर दियो । तर, दोस्रो पक्षको नम्बर थाहा नभएको भनेर पन्छियो । घटना पनि एक महिना अघिको थियो । उसले भनेको थानाबाट इन्चार्ज सरुवा भइसकेका थिए । अब उसको केस जसलाई थाहा थियो, उसलाई कसैगरि सम्पर्क गर्न जरुरी देखियो । 
उसले हतार गर्‍यो । धरान र अन्यत्रबाट स्थानीय अखबारमा उसका समाचार छापिइसकेको बतायो । र, आफ्ना कुरा पत्याएर एकतर्फी भएपनि जसरी हुन्छ तुरुन्त समाचार आउनु पर्नेमा उसको जोड थियो । आफ्ना कुरा सुनाएपछि मैले पुरा गर्नुपर्ने प्रक्रियाबारे ऊ निष्पिmक्री थियो । ऊ त्यसका लागि सहयोग गर्न तयार थिएन । नरम भएर उसका कुरा सुन्दै जाँदा उसले मलाइ नै यस्तो कुरा गर्न थाल्यो, मानौ मैले उसको ऋण खाएको छु । मैले कुनै पनि हालतमा उसका कुरा पत्याएर लेख्नैपर्छ । मैले मानिन । 
०००
मेरो मूल्यवान एक घण्टा नाश गरेपछि उसले भन्यो 'मैले फोटोकपी गर्न पाइन । मेरो प्रेसविज्ञप्ति यहाँ कपी गरेर राख्नुस् । यो मलाई दिनुस् । एउटामात्रै छ । मलाई चाहिन्छ । कुरा सुनिहाल्नु भो । यही आधारमा तपाइको समाचार भइहाल्छ नि ।' मलाई लाग्दैथ्यो 'कतै यो मान्छे खुस्केको छ होइन !' तर, उसका सबै कुरा होस कै भान हुन्थे । समाचार कर्ममा यस्ता मान्छे भेटिनु नौलो पटक्कै होइन । तर, यो मान्छेले धेरै किचकिच गरिरहेको छ । मलाई कतिखेर जाओस् जस्तो हुन थालिसकेको थियो ।
अफिसमा फोटोकपी मेशिन छैन । फोटोकपी गर्न डेढकिलोमिटर पर पुग्नुपर्छ । ऊ फोटोकपी गरेर ल्याइदिने मुडमा पनि थिएन । उसको विज्ञप्ति फिर्ता नदिइ सुख थिएन ।
मैले भने 'तपाइका विषयको समाचार खोज्न र लेख्नका लागि पहिलो आधार तपाइको विज्ञप्ति, दोस्रो कुराकानी, तेस्रो सम्बद्ध सबै पक्षको कुरा बुझनु र चौथो प्रशासनमा भएका कुरा जिम्मेवार मान्छेबाट सुन्नु हो । विज्ञप्ति लैजानु हुन्छ भने लैजानुस् । पछि जहिले आउनु हुन्छ तहिले समाचार लेखौला ।' उसले आफ्नै मात्र कुरा गर्‍यो । भन्यो 'तपाइलाई मैले यत्रा कुरा भनिसकें अरु के आधार चाहियो ? मलाई किन घरमा आएर पेस्तोल देखाइयो ? चित्त नबुझेको कुरा यही हो । खै विज्ञप्ति दिनुस् ।'
०००
अन्ततः ऊ सँगै आएको अर्को युवकले उपाय सुझायो । विज्ञप्ति इटहरी पुगेर इमेल गरिदिने । उसले मेरो भिजिटिङ कार्ड माग्यो । मैले दिएँ । दुइ घण्टाभित्र विज्ञप्ति इमेलमा पठाइदिने भनेर निस्केको मान्छेको न फोन आयो, न त इमेल । चार दिन अघिको कुरा थियो ।
मेरो कार्यकक्षबाट निस्कने बेलामा दुवैले समाचार जसरी पनि कान्तिपुरमै आउनुपर्छ भननेमा जोड दिएका थिए । लोकल अखबारले लेखेकोभन्दा बढि बल पुग्ने दुवैको तर्क थियो । उसको फोन नम्बर मैले त्यो विज्ञप्तिको कागजमै टिपेको थिए । विज्ञप्ति फिर्ता दिदा मलाई उसको नम्बर मेरो डायरीमा टिप्न जाँगर चलेन । कारण, उसले मलाई लामो चाट्यो । उस्तै भए कपाल सकिएर टाउको चिल्लो तालुमा परिणत हुने गरि । 
व्यक्तिगत लेनदेनका मामिला उति चाख लाग्दा समाचार बन्न गाह्रो छ । प्रमाण नभएका घटनामा एक पक्ष लाग्न पनि बेठीक हो । फेरि उसले त्यो व्यक्तिको न नम्बर दियो, नत क्लियर ठेगाना । उनीहरू गए । अरु कामको चापले त्यो घटनाबाट मेरो पनि ध्यान हट्यो । 
०००
हिजो विहान ८ बजे सहायक सिडिओ र म एउटा कार्यक्रममा सँगै पर्‍यौं । मैले त्यो मान्छे सम्झें । अनि सोधें 'वास्तवमा भएको के हो ?' सहायक सिडिओलाई त्यो विज्ञप्ति निकाल्ने मान्छेमाथि नै शंका रहेछ । उनले भने 'लेनदेनको मामिला हो । अदालत पुगेपछिका कुरा हामीले छिनोफानो गर्न नमिल्ने भएकाले उतै जाओ भनियो । त्यो मान्छे नै शंकास्पद लाग्यो ।'
थानामा दुइपटक कागज भएको रहेछ । काठ लेनदेन गर्दा कुनै भरपाइ गरिएको देखिएन । कागज गर्दा दुवै पक्ष मिलेर थाना गएको बुझियो । कसैले कसैलाई करकाप नगरेको बुझियो । दुवै आएर हामी कागज गर्छौ भनेपछि थानाले सहजीकरण मात्रै गरिदिएको भन्ने मैले बुझें । अहिले उसले 'त्यो सादा पोशाकमा आएको पुलिसले मलाइ किन पेस्तोल देखायो भनेर हिडदैछ रे ।
सहायक सिडिओका उपरोक्त भनाइपछि समाचार लेख्न हतार नगरेर ठीकै गरियो कि भन्ने लाग्यो । अदालत पुगेर विचाराधीन मुद्दालाई प्रभाव पर्ने गरि हतारमा लेख्नु उचित पनि थिएन । तर, एउटा कुरा हरदम सम्झना भइरहेको छ - प्रहरीले परिचय दिने तरिका पक्कै बेठीक थियो ।

Sunday, June 2, 2013

कहाँबाट आउँछ पीडा ?

अघिल्लो साता विराटनगरमा भएको एउटा साहित्यिक कार्यक्रममा मैले कविहरूको जमातलाई सोधेको थिए- जो मान्छे सग्लो छ । हातगोडा गरि खान सक्ने छन् । आम्दानीको स्तर र परिवार राम्रो छ । परिवारका सबैले सुख दिएका छन् । त्यस्ता मान्छेले पीडाबोध कसरी गर्न सकेको हो ? लेख्न कसरी कहाँबाट त्यो पीडा ल्याउने हुन् ?
कवि मनु मञ्जिलले कलात्मक उत्तर फर्काएका थिए । भनेका थिए 'भीमजी आफैं लेख्नु हुन्छ । कविता बुझनु हुन्छ । के भनिरहनु ! कवि अथवा लेखक संवेदनशील हुन्छन् । अर्काको पीडा महसुस गर्न सक्छन् । लेखाइमा तिनै कुरा सिर्जनशील भएर पोखिन्छ ।' मलाई यस्ता कुराले कहिलेकाही अचम्म लाग्छ । इम्तियाज अलीको हिन्दी चलचित्र 'रकस्टार' मा नायकलाई कलेजको क्यान्टिनवाला पात्रले भनेको संवाद सम्झन्छु - चर्चित हुनका लागि पीडा चाहिन्छ, छ तँसँग कुनै पीडा ? 
पोहोर यो बेला म मस्तिष्क पक्षघात पीडित घरहरूले खेपेको पीडालाई कथाको आकार दिन दुइ साता हिडेको थिए । त्यो यात्राले मलाई यस्ता घरहरूमा पुर्‍याएको थियो, जहाँ पीडाका विकराल रुपसँग दैनिकी जुधिरहेका थिए । मस्तिष्क पक्षघातका विभिन्न अवस्था हुँदा रहेछन् । यसबाट पीडित सन्तान भए आमाबाबुको दैनिकी निकै कष्टकर हुने रहेछ । मस्तिष्कको आदेश शरीरका अंगहरूले नमान्ने अवस्था रहेछ यो । पाँचवटा चरण देखिए । थोरै र धेरै समस्या भएका बालबालिका भएका घरमा पुगियो । कतिपय घरमा आमाबुवाको अवसानपछि ती सन्तानको अवस्था के हुने भन्नेमा ठूलो चिन्ता थियो । पक्षघातका विभिन्न अवस्थामा फिजियोथेरापीले काम गर्दो रहेछ । पूर्णतया निको नहुने भएपनि जीवन चलाउन थोरै सकस काम पार्ने गरि । कतिपयलाई फिजियोथेरापीले लाभ नहुने पनि अवस्था हुने रहेछ,  मोरङको पुरा तथ्यांक पत्तो लागेन त्यसबेला तर, यति थाहा भयो विराटनगरभित्रमात्रै मस्तिष्क पक्षघात भएका सन्तान लिएर बाँचेका घर ६५ वटा रहेछन् । 
सन्तानको शारीरिक विकारहरू अभिभावकको चाहना होइन । यो दुर्घटना हो । कतिपय अवस्था आमाले गर्भवतीहुँदा नै ध्यान पुर्‍याउनु पर्ने रहेछ । ध्यान पुर्‍याउने जिम्मा आमाको मात्रै नभएर बाबु र परिवारका सबै सदस्यको हो । यति हुँदाहुँदै पनि सन्तानमा शारीरिक विकार बेलाबखत देखा परेकै हुने रहेछ । मायाका डल्लाहरूलाई बाउआमाको ज्यान छउञ्जेलमात्रै हेरचाह हुने । त्यसपछि के हुन्छ ? कसैले खोजी गरेको देख्तिन । त्यो बेला दुइ सातामा म करीव डेढ दर्जन घरहरूमा पुगें । केहीका तस्बिर खिचें । धेरैसँग कुरा गरें । आफू सग्लो हुनुको महत्व ती घरहरुमा पुगेर अनुभव भयो । 
त्यो यात्राले मलाई संसारका उत्कृष्ट र सुखी मान्छेहरुमध्ये हामी धेरै पर्ने रहेछौ भन्ने बोध गराएको छ । जसका आँखाले देख्छन् । कानले सुन्छ । जिब्रोले स्वाद महसुस गर्छ । त्वचाले तातो-चिसो अनुभव गर्छ । खाना पचेको छ । बोल्न सकिन्छ । हातगोडा काम गर्छन् । मन मस्तिष्कले भनेका कुरा हातगोडाले मान्छन् । यदि यस्तो हो भने त्यो जस्तो भाग्यमानी अरु हुन सक्दैन । 
मान्छेका आ-आफ्ना लक्ष्य हुन्छन् । असन्तोकी प्राणी जहिल्यै चलायमान रहने गुण बोकेको छ । यस्ताले जीवन पुरा अवधि बाँच्नु पर्छ । कसैले आत्महत्या गरेको खबर सुन्दा म यी कुरा सम्झन्छु । परिस्थिति सधै एकनासको रहँदैन । चुनौति सबैका जीवनमा हुन्छन् । तिनलाई हेरौं जो आफू बाँच्नका लागि हरपल अरुको सहाराको भरमा हुन्छन् ।
शारीरिक अप्ठ्याराका बाबजुद जो केही गरेर बाँचेका छन्, मलाई उनीहरु मन पर्छन् । उनीहरूका दिनचर्या उनीहरू जस्तैका लागि प्रेरक हुन्छन् भन्ने लागेर त्यस्तालाई भेट्न र उनीहरूका कुरा लेख्न मन पर्छ । त्यस्ता मान्छेहरू कविताका पीडा होइनन् । कथाका पात्र होइनन् । लेखकले सम्झेर भरेका बुट्टाभन्दा पृथक लाग्छन् त्यस्ता चरित्र ।  तैपनि कवि त लेख्न छाड्दैनन् । लेखकहरू काल्पनिक पात्र उभ्याएर ठेलीका ठेली आख्यान तयार पार्न सक्छन् । संवेदनशील हुनु लेख्नेहरुका लागि एउटा गुण हो । दुर्घटनाजन्य परिस्थितिको सिकार भएर/भोगेर लेखिएका आख्यानहरू बाहेक  सुखपूर्वक जीवन बिताएकाहरू पनि पीडाका कुरा लेख्न सक्छन् । बयान गरिरहेकै छन् । हाम्रा वरपर यस्ता पात्र र परिस्थिति छरपस्ट छन् ।
 तर, जसरी हात वा खुट्टा काटिएर वा दुर्घनामा परेर ल्याइएका विरामी देखेर डाक्टर र नर्सले नर्भस हुन पाइँदैन, लेखन्तेहरूका लागि पनि त्यस्तै हो । उनीहरुको अवस्था देखेर भावुक हुनुको साटो हामीले कसरी लेख्ने र के लेख्ने भननेमा बढि ध्यान पुर्‍याउनु पर्ने रहेछ जस्तो लाग्छ । 
त्यो यात्रा सम्झदै अर्को एउटा प्रसङ्ग आज शेयर गर्न मन लागेको छ । गत बैशाख १२ अर्थात  २५ अप्रील २०१३ । 
यो दिन विराटनगरबाट करीव २५ किलोमिटर पूर्व टकुवा गाविसको यात्रामा निस्केको थिएँ । मलाई एकजना अपांग भेट्नु थियो । विराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकको भित्री पानामा एउटा श्यामश्वेत तस्बिर दुइ दिनअघि हेरेको थिए । टकुवामा एकजना पोलियो पीडित साइकल मिस्त्रीको काम गरिरहेका । राजन पौडेलले खिचेको तस्बिर । मैले राजनजीलाई भेटेर यी मान्छे भेटिने ठाउँका बारेमा जानकारी लिएँ । अनि यात्रामा निस्किएँ । रंगेली नाघेर अघि बढ्दा बढ्दै बाटैको बाया मैले मानिकचन्दलाई उनको झुप्रोभित्र काम गरिरहेको भेटें । कम्मर मुनिको भाग सुकेको मान्छे औजार लिएर साइकल मर्मत गरिरहेको थियो । उकहाँ आउनेहरूमा मैले विश्मयको भाव देखिन । कारण- मानिकको अवस्था र क्षमताबाट उनीहरू परिचित थिए । 
यस्ता धेरै घरमा पुग्दा वा मान्छे भेट्दा जस्ता कुरा मानिकमा थिएनन् । यस्तै अरुकहाँ पुग्दा उनीहरु पत्रिकामा छापिएर आए सहयोगीले दान देलान् । सरकारले सहयोग गर्ला/गरोस् । त्यसलाई बल पुग्ने गरि प्रकाशित गरिदिन आग्रह गर्छन् । धेरै अपेक्षा राख्छन् । उनीहरूभन्दा फरक भेटिए यी मिस्त्री । विराटनगर फिरेर मैले उनका बारेमा लेखें । जो यस्तो थियो -

पोलियो बिर्सदै पौरख

टकुवा (मोरङ)- विराटनगर-रंगेली मार्गमा पर्ने टकुवा-१ को सडकमा सानो फुसको झुप्रोभित्र एउटा मिस्त्री साइकल मर्मतमा तल्लीन भेटिन्छ । कम्मर मुनिका भाग पोलियोले सुकेका मानिकचन्द ऋषिदेव हुन् यी । 
३१ वर्षीय मानिकलाई पोलियोले आठ वर्षको छँदा भेटेको हो । भन्छन् 'तीन वर्ष भयो साइकल रिपेयर गर्ने पसल खोलेर बसेको । काम गरि खानसक्ने भएको छु । यसैमा गर्व लाग्छ ।' ह्वील चियरमा घरबाट आएर पसलमा बस्ने गरेका मानिकले काम गरेर परिवारको गुजारा चलाएका छन् । 'म जस्तै मान्छेहरु भिख माग्ने भएर हिडेको देख्ता दुःख लाग्छ', उनले भने,  'सीप सिके पेशा गरेर खान सकिने रहेछ ।' एक दिन गाउँकै पोखरीमा पौडी खेलेर फर्केपछि उनलाई सञ्चो भएन । बिस्तारै घुँडा सुक्दै आयो । 'डाक्टरले यसलाई पोलियो भयो, ठीक हुँदैन भने,' उनले सुनाए 'त्यसपछि म आफ्नो खुट्टामा उभिन सक्ने भइनँ । मेरो जिन्दगी नै अपांग भयो ।' दुइ भाइमा उनी कान्छा हुन् । दाजु चार महिनाअघि कामको खोजीमा पञ्जाव गएका छन् । 
छिमेकी शिशुपाल राजवंशी साइकल मर्मतको काम गर्थे । उनीकहाँ आउदा-जादा मानिकले थोरै सीप सिके । त्यसपछि ५ किलोमिटर पश्चिम रंगेलीमा गइ अर्काकोमा चार वर्ष काम गरे । विवाह भयो । उनकी पत्नीको पनि एउटा हातको समस्या छ । सन्तान पनि भयो । त्यसपछि उनी आफैले गाउँमै व्यवसाय थाले । 'मैले चढेको अहिलेको तेस्रो ह्वील चियर हो । परिवार पाल्न सक्नु भन्दा ठूलो काम अरु देख्तिन', उनले भने, 'खुशी त यो लाग्छ कि म मोटरसाइकलको पनि पंचर टाल्न सक्छु ।'  
उनलाई बाल्यकालदेखि देखेका गाउँले सदानन्द मण्डल भन्छन् 'मानिकको आत्मविश्वास अचम्मको छ । यसले गरेर खाएको देख्छु । बजार हिड्दा यस्तै मान्छे मागेर हिडेको देख्छु । अचम्म लाग्छ ।' शारीरिक दुर्बलताभन्दा आत्मविश्वास ठूलो कुरा भएको उनले बताए ।
मानिकका चार वर्ष र नौ महिनाका छोराछोरी छन् । पत्नीको हातमा खोट भएकैले जोडी लाग्न सम्भव भएको मानिकले बताए । उनले भने 'मेरो कर्ममा पनि परिवार  लेखेको रहेछ । नभए घस्रेर हिड्ने मान्छेको केको घरजम ?' मिस्त्री पेशा गरेर गुजारा चलाएका उनी पूर्वी मोरङका लागि अपांगता भएकाहरूमा पौरखीका उदाहरण हुन् । 
मोरङमा अपांगता भएकाहरूको संख्या १७ हजार ५३ छ । यिनमा मानिकजस्ताको संख्या ६ हजार २९ जना छ । अपांगता भएपनि उनी जसरी पेशा गरेर जीविकोपार्जन गरि बसेकाहरु विरलै भेटिन्छन् ।

Sunday, May 26, 2013

त्यो केटो

एउटा फोन आयो । उताबाट भनियो 'मैले मेरो छोरालाई सात वर्षदेखि सिक्रीमा बाँधेर राखेको छु । हेर्न आइदिनुस्न् ।' क्रुर खबर सुनाउने आवाज नरम र मलिन थियो । उनलाई कहाँ किन कसरी सोध्दै गएँ । उनले बताउँदै गए । तत्काल आउन नसकिने जवाफ मैले दिए । कारण, साँझ साढे चार बज्दै थियो । विराटचोक पुग्नु पर्ने । पुगेर फिरेर आउँदा त्यही दिन समाचार लेखी पठाउन सम्भव होला भन्ने लागेन । भोली आउने सहमतिमा कुरा सिध्याइयो । 
कथा यस्तो थियो- सिक्री लगाएर बाँधेर राखिएको भनिएको उनको १२ वर्षको छोरो छ । चार वर्षको उमेरदेखि उसको मानसिक सन्तुलन गुम्यो । सकेजति उपचार लाइयो । खर्च सकियो । परिवार धान्न गाह्रो भयो । सिक्री खुल्यो कि केटो वेपत्ता हुन्छ । उसलाई एकजनाले कडा निगरानीमा राख्नु पर्छ । सञ्चारमाध्यममा यस्ता खबर आइरहन्छन् । यदि उनको खबर छापिने हो भने उनका लागि उपचारमा सहयोग गर्ने दाता वा सहयोगी जुट्लान् भन्ने आशा ।  
सञ्चारमाध्यममा खबर छापिदैमा सबैले उपचार पाउलान् वा सहयोगी जुट्लान् भन्ने म पत्याउँदिन । कारण, दशक लामो पत्रकारितामा मैले यस्ता अनुभव पनि गर्न पाएको छु । खबर छापिएर मात्रै सहयोगी जुट्ने होइनन् । तर, मैले ती पितालाई निराश पार्न चाहिन । उनलाई भने 'भोली सकभर म तपाइको घर आउँछु । हेर्छु । अनिमात्र खबर लेख्छु है ।' परोपकारी कामका लागि पत्रकारिताको उपयोग बडा गजब हुन्छ । आफूले लेखेपछि ती पात्रले सहयोग पाएको खबरले अर्कै प्रकारको आनन्द दिन्छ । एउटा चलचित्र हिट हुनका लागि जसरी निर्माणमा खटिएका सबै पक्षको इमान्दार र सिर्जनशील प्रयास आवश्यक छ, उति नै अन्तिम बिन्दु रिलिजको सही समयमा पनि भर गर्छ । 
पत्रकारिताभित्र पनि अनेकन यस्ता पक्षको सही संयोजन भएमात्रै एउटा खबर तुलनात्मक रुपमा परोपकारी ठहर हुन सक्छ । मैले काम गर्ने अखबारले एकपटक हामीलाई एउटा सर्कुलर गर्‍यो -उपचारको खोजीमा र  दाता पर्खदै... जस्ता खबर आइन्दा पाठकपत्रको ठाउँमा छापिने गरि मात्रै पठाउनु । हुन पनि दिनदिनै यस्ता खबर भरमार हुन थालेपछि यो एउटा विकल्प पनि थियो । हामीले सर्कुलर फलो नगर्ने कुरा भएन । तैपनि बेलाबखत यस्ता खबर हुन्छन् जो ती पाठकपत्रको कोलमभन्दा अन्त छापिँदा प्रभावकारी हुन्छन् । हामी त्यसको अवस्था र महत्व अनुमान गरेर समाचारको आकारमा लेख्छौ । कतिपय मज्जाले छापिन्छ । मान्छेको उद्धार हुन्छ । कतिपय माघ १६ हुन्छन् । माघ १६ भनेको शहीद दिवस हो । शहीद हुन्छन् भन्न खोजेको ।
डेस्क जहिल्यै हतारमा काम गर्छ । कतिपल्ट महत्वका समाचार सम्बद्ध संवाददाताले फोन गरेर भनिदिए उचित ठाउँ पाउन योग्य बन्छ । धेरैपल्ट डेस्क आफैले त्यसको महत्व निर्धारण गर्छ । संवाददाताले सरप्राइज पाउँछन् । छापिए -फोनका फोन र खुशी । नछापिए सम्बद्ध पात्रका गुनासाका फोन ।
ती ट्राफीक हवल्दार 
परोपकारी समाचारको सन्दर्भ आउँदा जहिले पनि मेरो मगजमा ती ट्राफीक हवल्दारको चित्र आउँछ । अहिले मैले झट्ट उनको नाउँ सम्झन सकिरहेको छैन । म सुनसरीको इनरुवा बसेर रिपोर्टिङ गर्थें । २०५८ सालको कुनै महिना हो । एक हुल उनका आफन्त मेरो डेरामा आए । इनरुवा महेन्द्रचोक बसोबास रहेका ती हवल्दार राजधानीको कुनै प्रहरी अस्पतालमा उपचाररत थिए । दुवै मिर्गौला काम गर्न छाडेपछि उनी असक्त थिए । राजधानीको अस्पतालमा रहेका विरामीका कुरा इनरुवा बसेर आफन्तको भनाइलाई आधार बनाएर लेख्न उचित लागेन । मैले उनीहरुलाई काठमाडौं कार्यालयमा सम्पर्क गर्न भनें । त्यहाँका फोन नम्बर र भेटन पर्ने मान्छेबारे बताइदिएँ । उनीहरुले के गरे मेरो जानकारीमा आउन सकेन ।
उपचारमा हवल्दारलाई उनको विभागले उनले पाउने जागिरको हिसाबबाट उपचारका लागि सहयोग गरेको रहेछ । रोगका कारण जागिर गयो, उनी पुनः काममा फर्कन सक्ने अवस्था भएन । परिवारमा श्रीमति र साना दुइ छोराछोरी छन् । ती आफन्तहरु करीव आठ महिनापछि फेरि मलाई उसैगरि भेट्न आए । हवल्दारलाई घर ल्याइएछ । उनको संचयकोषको पैसा सकिएछ । धरानको वीपी प्रतिष्ठानमा सातापिच्छे डाइलासिस गराइदो रहेछ । उनीहरुले काठमाडौंमा पत्रकार भेटे अरे । तैपनि खबर छापिएन अरे । यसपटक उनीहरुले मबाट ठूलो अपेक्षा गरेका थिए ।
माओवादीको सशस्त्र द्वन्द्वको समय थियो । त्यसै पनि राज्यका सिपाहीहरूका व्यक्तिगत दुःखका खबर लोकप्रिय थिएनन् । तैपनि आस राखेकाहरुलाई पत्रकारले कसरी निराश पार्ने ? हाम्रा लागि प्रहरी हुन् , सर्वसाधारण वा द्वन्द्वरत पक्ष, सबैलाई गुणदोष केलाएर खबर हुन सक्ने कुरा खबर ल्याउनु पर्ने । उनको अवस्था बुझियो । खबर लेखियो । छापियो पनि । 
समाचारका प्रतिक्रिया मैले पाउन सकिन । अरु खबरका पछि दौड्दा दौड्दै ती हवल्दारका कुरा मगजबाट धमिला भए । भनौ, बिर्सिएछु । करीव तीन महिनापछि उनका एक आफन्तसँग भेट भयो । ती उनै थिए-जो पहिलोपटक मेरो डेरामा आएर परोपकारी खबर लेखिदिन आग्रह गरेका थिए । दोस्रो भेटमा उनले नै ती परिवारको नजिक पुर्‍याएका थिए । मैले सोधें 'ती हवल्दारको के छ खबर ?' उनले बताए । समाचार छापिए पनि कतैबाट सहयोग जुटेन । उनको देहान्त भएको एक महिना भएछ । खबर छापिएर पढ्न पाएका उनी कतैबाट सहयोग नआउँदा झनै निराश थिए रे । 
मान्छेलाई परेका आपतमा लेखिएका धेरै समाचार छन् । उनीहरुले सहयोगी हात पाएको अवस्था पनि छ । तर, मेरो बानी जस जसको उद्धार हुन्छ तिनलाई बिर्सन्छु । कारण, समाचारको उदेश्य पुरा भएपछि त्यसलाई आवश्यकताअनुसार फलोअप गर्ने हो । अन्यथा उनीहरु आफ्नो जीवन बाँच्छन् । किन हामीले बिथोल्ने - त्यो घटनाको करीव १३ वर्षपछि अर्को एउटा घटना त्यस्तै भयो ।  
विराटनगरमा एकजना पिताले पत्रकार सम्मेलन गरे । उनका तीन छोरा । तीनै भाइका मिर्गौला फेलीयर भएछन् । उपचार सुरु गर्दा गर्दै जेठो दिवंगत भएछ । कान्छोलाई आमाले दिएको एउटा मृगौला प्रत्यारोपण भएछ । माहिलालाई बुढा आफै दिन चाहन्थे । पैसा थिएन । अफिस आएर समाचार लेखियो । प्रथम पृष्ठमा एङ्करको ठाउँमा समाचार छापिएर आयो । भण्डारी परिवारले वीर अस्पतालमा उपचार चलाइरहेको थियो । राजधानीमा डेरा बसेर । मृगौला प्रत्यारोपण गरेका कान्छा पनि तंग्रिइसकेका थिएनन् । यता घरखेत बेचेर सुकुम्वासी हुने स्थिति आएको बुढाले बताएका थिए । गाउलेले उनीहरुका लागि सहयोग संकलन गरेपनि त्यो मनग्गे भएको थिएन । 
फोन आयो । नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्यालले भने 'मेरो एक जना मित्रले १० हजार उनीहरुलाई सहयोग गर्छु भन्नु भएको छ । बैंक खाता नम्बर चाहियो । उनी प्रचार चाहने मान्छे होइनन् ।' ठीकै छ सहयोगी यसरी नै भेटिने हुन् । मैले बैंक खाता र फोन नम्बर पठाइदिएँ । पैसो खातामा आइपुगेछ । दोस्रो दिन साँझ त्यसबेलाका सभासद मोती दुगडले फोन गरे । खबर पढेर आफूलाई एकदमै माया लागेको बताएका उनले सहयोगको इच्छा देखाए । मैले बुढा मान्छेलाई विराटनगर बोलाएँ । दुगडलाई उनकै भनाइअनुसार नव नेपाल निर्माण पार्टीको अफिसमा भेट गराइदिएँ । 
उपचारका सबै कागजात देखाए आफू अब हुने प्रत्यारोपणको खर्च जुटाइदिन तयार रहेको दुगडले बताए । खाँचो परेको मान्छे र दातालाई प्रत्यक्ष भेट गराइदिएपछि मेरो काम सकिएको थियो । त्यसको करीव २० दिनपछि दुगडले कोशीअञ्चल अस्पतालमा एउटा भेला बोलाए । उनको नयाँ पाटीले अस्पताल सफाइ गरे जस्तो गर्‍यो । दुगडले आफै वार्डमा गएर कुचो लाएजस्तो गरेको समाचार पत्रिकामा आयो । उनले बाहिर भेला बोलाएर टेलिभिजनकर्मीका क्यामेरा अघि आउन भण्डारी बुढालाई पनि अघि लगाए । उनको कारुणीक अवस्थाको बयान गर्दै सक्दो सहयोग छिटै दिने भाषण गरे । खुशी लाग्यो, परोपकारी समाचारले काम गरेछ भनेर ।
तर, अलिपछि बुढाका नजिक एक मित्रले सुनाए । दुगडले सहयोग गरेनछन् । धेरै कुदाएछन् । आश्वासन दिएछन् । दिन्छु भनेको कुरा दिएनछन् । खबर दुखद थियो । ज्यान जोगिएन । यस्तो परिरहन्छ । मान्छेहरु सस्तो लोकप्रियता चाहन्छन् । टिभी, रेडियो र अखबारमा आफुलाई परोपकारी भनाउन चाहने जमात ठूलो छ । गर्नेहरू प्रचार खोज्दैनन् । सहयोगको खाँचोमा रहेकाहरुको खबर लेख्नुपर्दाका तीता अनुभव करीव आधा दर्जन होलान् । ती सबै सम्झँदा कसैलाई निरीह देखाएर अरुबाट दयाको आश गर्ने खबर किन पो लेख्नु परेको होला भन्ने लागिराख्छ । तर, काम त गर्नै पर्छ । यस्ता खबर अघिपछि छन् । 
सिक्रीका कुरा 
गन्थन निकै लामो भएछ । अब फिरौं अधिकारीका छोरातिर । उनको घर पुगियो । काठको टाडे घरको बरण्डामा मास्तिर १२ वर्षको केटो एकटकले तल हेर्दै गरेको देखियो । हामी पुग्दा ऊ नाङ्गै थियो । पहेलो हाफपेन्ट भुइँमा लत्रिएको थियो । बाउसँग ऊ डराएको देखियो । आमाले माया गरेर उसलाई हाफपेन्ट लगाइदिइन । ऊ मान्छे जस्तो देखियो ।
हेर्दा ऊ आवरणले केही असामान्य छैन । तुलसीप्रसाद अधिकारी भगोडा प्रहरी रहेछन् । माओवादी द्वन्द्वको समय जागिर छाडेर भागेछन् । पहिलो सन्तानको खुशी जुम्ल्याहा छोरा । मनस्थिति बिग्रिएका छोरा प्रवीण जुम्ल्याहामध्येका जेठा रहेछन् । जुम्ल्याहा अढाइ वर्षका भएपछि तुलसी रोजगारीका लागि मलेशिया गए । चार वर्षपछि फर्कदा एउटा छोरा यस्तो अवस्थामा भेटे । तीन वर्षमा नर्सरी कक्षामा भर्ना भएका प्रवीणलाई स्कुलले सम्हाल्न नसक्ने भन्दै आमाको जिम्मा लगाएछ । पहिलो चरण लागू लागेको भनेर झारफुक । त्यसपछि डाक्टरी उपचार । तर, बालक समान्य अवस्थामा फिरेनन् । 
खुला भए भागिहाल्ने । हराइहाल्ने । खानेकुरा खोसेर खाने । कसैलाई नचिन्ने । नबोल्ने । टोक्ने चिच्याउने । यस्तो भएपछि दिनभरि बाधेर राख्न थालेको सात वर्ष भएछ । गाउँमा कार्यक्रमका लागि आएका बेला तुलसीले एमाले नेता माधवकुमार नेपाललाई काठमाडौंको मानसिक अस्पतालमा उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेछन् । सकारात्मक जवाफ दिए पनि पहल भएन । अन्ततः उनले पत्रकारलाई फोन गरे । हामी तीनजना साथीहरु उनको घर पुगेका हौं । मैले समाचार लेखें । दुइ दिन रोकियो । तेस्रो दिन काठमाण्डु पोष्टको चौथो पानामा छापियो । तुलसी अझै फोन गर्दैछन् । म भन्छु 'मैले लेखेर पठाउने हो । समाचार हाल्ने नहाल्ने निर्णय काठमाडौंमा हाम्रो डेस्कले गर्छ ।' नेपाली भाषामा समाचार छापिएर आएको छैन । हजारौं समाचारको भीडमा तुलसीजस्ता बाबुको समाचार हराउन पनि सक्छ । आउन पनि सक्छ । छापिएर आएको अंग्रेजी उनले र सहयोगीले पढेनन् शायद ।
मापदण्डको अलमल
परोपकारी पत्रकारिताभित्रका विरोधाभाससग पटक पटक साक्षात्कार हुन मिल्छ । बेला बेला म बुझदिन काठमाडौं के चाहन्छ ! ऊ जे चाहन्छ त्यही बेच्छ । हामी मुखपृष्ठमा छापिएका खबरमा प्रतिक्रिया दिन हतार गर्छौं । खबर त अरु पृष्ठका पनि प्रभावकारी नै हुन्छन् । ध्यान हट्छ कहिलेकाही त्यो मुखपृष्ठको भाषाको मापदण्ड के हो ? 
खाल्डो बाहिर सञ्चारकर्मी एउटा भावना बोकेर काम गर्दो रहेछ । पठाएको समाचार छापिएर आयो भने फेरि काममा जुट्न नया उर्जा पाएको अनुभव हुने । छापिएन भने त्यो जोश जुटाउन समय लाग्छ । एक-दुइ खबर छापिएनन् भनेर हात बाँधेर बस्ने कुरा भएन । डेस्क हेर्ने वा केन्द्रमा बसेर काम गर्नेहरु आफ्नो समाचारको महत्व र लेखाइको धारबारे छलफल चलाउन सक्छन् । उनीहरुलाई कुन खबर कसरी कुन पेजमा हाल्ने भन्ने धेरैपल्ट पहिल्यै थाहा हुन्छ । 
त्यसैले परोपकारी पत्रकारिता काठमाडौंले मात्रै गर्न सजिलो छ । बाहिरका संवाददाता दयाका पात्र बनेर काम गर्नुपर्छ । एउटा खबर सम्झन्छु - पोहोर पूर्वाञ्चल ग्रामीण विकास बैंकमा ऋणी महिलाले डेढ साता धर्ना दिए । उनीहरूले विराटनगरस्थित उक्त बैंकको केन्द्रीय कार्यालय अगाडि खाना पकाएर खाए । भूइँमै सुते । उनीहरुले आफूले लिएको ऋण मिनाहा हुनुपर्ने माग राखेका थिए । उक्त बैंकले महिलालाई व्यवसायका लागि बढिमा ३० हजारसम्म सामुहिक जमानीमा ऋण दिने काम गर्छ । 
माओवादीले सत्ता चलाएपछि कृषि विकास बैंकबाट ३० हजार मुनि ऋण लिने सबैको मिनाहा घोषणा गरेको थियो । महिलाको भनाइ थियो -हामीलाई माओवादीले ऋण तिर्न दिएनन् । भन्थे- 'तिर्नुपर्दैन । हाम्रो सत्तामा सबै मिनाहा हुन्छ ।' उनीहरुले ठाउँ ठाउँमा महिलाबाट संकलित किस्ता लुटे । शाखा सार्न बाध्य पारे । कतै कागजात नै जलाइदिए । धेरै महिलाले उनीहरुको भनाइमा लागेर ऋण तिरेनन् । बैंकले हिसाब गर्न छाडेन । ब्याजको स्याज बढ्दै गयो । अब तिर्न सजिलो रहेन । उनीहरु मिनाहाको माग राखेर आन्दोलनमा उत्रिए । मुलुक आन्दोलनको मात्र भाषा बुझछ भन्ने ठानेकाहरूलाई सरकारले साथ दिएन । बैंकले मिनाहा नहुने स्पष्ट पार्‍यो । 
साता बितेपछि खबर लेखियो । छापिएन । पछि डेस्कका एकजना मित्रले सुनाए -त्यो खबर राम्रै थियो । तर, यहाँ त्यसलाई नछाप्ने सल्लाह भयो । कारण- त्यसरी ऋण लिएर नतिर्ने । उल्टै धर्ना र आन्दोलन गर्नेका कुरा छाप्दै जाने हो भने अराजकता बढ्छ । अरु बैंकका ऋणीहरुको पनि त्यस्तो मनशायलाई बल पुग्छ । 
तर्कमा दम छ । तर, तर्कले व्यवहार चल्दैन । उनीहरुले अहिले पनि धर्ना, पत्रकार सम्मेलन गरिरहन्छन् । म कार्यक्रममै जान्न । भनिन्छ-मान्छेलाई असर परेका कुरा समाचार हुन् । समाचारमा सन्तुलन चाहिन्छ । उचित तर्क चाहिन्छ । बेला बेला बुझन गाह्रो पर्छ काठमाडौं के चाहन्छ ? 
समाचार संतुलित हुनुपर्छ । पक्ष विपक्षका भनाइ र तथ्य समेटिनु पर्छ । भाषाका मापदण्डलाई हरेकले विवेकअनुसार बल गरेकै हुन्छन् । विवेक नपुगेका ठाउँका लागि डेस्कमा दिग्गजहरू बसेकै हुन्छन् । हरेक समाचारका महत्व एउटा संवाददाताले आफ्नो सम्पादन मण्डललाई जानकारी गराइरहनु उचित हुँदैन । कारण-हरेक समाचार यस्तो उस्तो भनिरहने हो भने कतिको गरेर सक्नु ! दिनहु समाचार लेख्नेहरुले डेस्कले सोधेको वा अपुग कुरामा आएका फोनको मात्रै जवाफ दिने हो । 
कुनै समाचारका बारेमा बढि महत्व दिएर डेस्कलाई भनिरहँदा संवाददाताको व्यक्तिगत रुचीमाथि प्रश्न पनि उठ्न सक्छ । त्यसैले समाचारको महत्व र त्यसका लागि उपयुक्त स्थानको निर्णय डेस्ककै जिम्मामा छाडिनुपर्छ । तथ्यगत त्रुटी बाहेक बान्की मिलेका खबरमा पनि राजधानीको रुची कसरी ख्याल राख्ने होला ? कसरी छुट्छ । कसरी चुक्छ । अलमल हुन्छ कहिलेकाही । लाग्छ, समाचारको भाषा लेख्ने बानी पो छुटेको हो कि ! फेरि ती तुलसी अधिकारीजस्ताको फोन आउँछ । फोन आउँदै गरोस् ऊ केही दिनमा थाक्नेछ । फोन गर्न छाड्नेछ ।
थोरै अप्डेट- ३१ जेठ
सिक्रीमा बाँधेर राखिएका बालकको समाचारलाई पुनर्लेखन गरियो । यसपटक काठमाण्डु पोष्टमा छापिएभन्दा अलि धेरै सूचना समेटेर तयार पारियो । समाचार नछापिनु मेरो दोष थिएन । तर, सहयोगी हात कुरेर बसेको परिवारलाई भेटेर फिरेपछि उनीहरूका कुरा नेपाली भाषाको छापामा ल्याउन नसक्नु मैले आफ्नो दोष छैन भनेर पन्छिने मेलो गर्न मिल्ने कुरा थिएन ।

मेरो अफिसको विराटनगर व्यूरो संयोजक माधव घिमिरे र काठमाडौंको जिल्ला संयोजक खिम घलेसँग सल्लाह गरें । दुवैले समाचार नछापिनु पर्ने कारण नभएको बताएपछि पहिले पठाएकै लेखोट आउनु पर्छ भन्ने बल गरिन । नयाँ लेखियो । फेरि पठाइयो । कान्तिपुरले २६ जेठमा समाचार भित्री पृष्ठमा छाप्यो । आज म थोरै अप्डेट लेख्न बस्दा टेबलमा काठमाण्डु पोष्टको ओपएड पेज पल्टाएको छु । यसमा जगन्नाथ लामिछानेको आर्टिकल छापिएको छ । जगन्नाथजीले समटेका तथ्य बृहत छ ।
केही साताअघि युनिसेफले सार्वजनिक गरेको बालबालिका र अपांगताको प्रतिवेदनको चर्चाबाट सुरु भएको जगन्नाथजीको लेखाइले प्रवीणलाई सहयोग गरिनुपर्ने तथ्यमा बल दिएको छ । हिजो र आज मैले दुइवटा फोन कल पनि रिसिभ गर्न पाए । दुवै कलमा फोन गर्नेहरू प्रवीणको परिवारलाई सहयोग गर्न इच्छुक रहेको कुरा थियो । आज आएको फोनमा मैले फोनकर्तालाई 'सकिन्छ भने मानसिक अस्पतालमा भर्नाको व्यवस्था मिलाउँ' भन्ने आग्रह गरें ।
हामीले गर्ने योभन्दा अर्थोक के छ र ! 

Friday, May 24, 2013

Mentally ill boy chained for seven yrs

Twelve-year-old Prabin Adhikari of Indrapur VDC-3 in the district has been confined in his house ever since he started suffering from mental illness seven years ago.
According to Prabin’s mother Susmita, he started showing odd behaviour when he was just four. She said teachers at a school in which Prabin was enrolled advised her to keep him at home as it was difficult to deal with his odd behaviour in the school.
Prabin is one of the twin sons born to Susmita and her husband Tulasi. Another son Prawesh, however, is healthy. Tulasi went to Malaysia when the twin sons were around three years old and healthy. “When I returned home four years later, I found Prabin in such state,” Tulasi said, adding that they were forced to tie his feet with chains after he started running amok.
Susmita said she took Prabin to a witch doctor for treatment on the advice of local people before visiting various hospitals in Nepal and India. She, however, said all her efforts to treat Prabin went in vain. Tulasi said it is really difficult to support his family as he cannot go to work because of his responsibility to look after his ailing son.

Published @ The Kathmandu Post Daily on: 2013-05-24 

Thursday, May 23, 2013

त्यो स्कुलमा पुग्दा

अघिल्लो साँझ विनोद भण्डारी दाइले सुनाएका के थिए, पुग्न रहर लागिहाल्यो । एउटा मात्रै विद्यार्थी भएको स्कुल । चारजना शिक्षक छन् । ती विद्यार्थीलाई लिन पुर्‍याउन चारजना साथी आउजाउ गर्छन् । हामी विहान ८ बजे मोटरसाइकलमा विराटनगरबाट डंग्राहाका लागि निस्कियौं । 
दुहवीनजिक  नेमुवा चोकबाट पूर्व-उत्तर भएर पुगिने ठाउँ रहेछ । बाटामा हामीले एउटा मावि स्कुल भेट्यौ, जहाबाट सजिलो बाटो थाहा लाग्यो । हामी त्यो गाउँ पुग्यौं । स्कुलका अवस्था समाचारमा आइहाले । ती गन्थन गर्नु छैन । मलाई लेख्न मन लागेका कुरा ती छन् जो समाचारमा आएनन् । 
 हामी डंग्राहा गाविस-४ को पञ्चायत प्राविको प्रसङ्गमा छौ । हामी पुग्दा साँढे नौ बजेको थियो । अरु स्कुलका केटाकेटी हतारमा लम्किरहेका थिए । नजिकको बोर्डिङ स्कुलमा आफ्ना नानीहरु पुर्‍याउन आमा-बालाई भएको हतार पनि देखियो । धेरैले हात समातेर हिड्दै , केही साइकलमा र फाट्टफु्ट्ट मोटरसाइकलमा नानी पुर्‍याउनेहरु देखिए । पञ्चायत प्रावि रहेको ठाउँ चौरस्ता चोक रहेछ । त्यहाँ एउटा ट्युवेल थियो । तीनजना केटीहरु लुगा धुँदै गरेका देखिए । हामीले सरहरु आउने समय सोध्यौ । कोइराला थरका सर १० बजे, प्रधानाध्यापक सर धेरैजसो नआउने, आइहाले १२-१ बजे आउने जानकारी मिल्यो । हामी चोकको घुम्ती पसलमा बस्यौं । पसले पनि शायद नानीहरु स्कुल पुर्‍याउन गएका थिए । किनकि बन्द थियो । त्यसको फलैंचामा बसियो । भेटिएका मान्छेसग गफ गरियो । यतिकैमा उनीहरुले खेल्दै गरेको एउटा फुचे देखाए र, भने 'ऊ यही हो यो स्कुलको विद्यार्थी । यहाको व्यवस्थापन समिति अध्यक्षको छोरा हो ।' 
हामीले राहुल ठाकुरलाई बोलायौ । उसलाई सोधेपछि थाहा भयो, २ जना सर, २ जना मिस छन् स्कुलमा कार्यरत । एकजना सर आउछन् । एकजना मिस सुत्केरी छिन् । हामी उसलाई घर देखा भाइ भन्दै पछि लाग्यौ । ५/७ घरको गल्ली बाटो भएर उसले आफ्नो घर पुर्‍यायो । त्यहा उसका पिताजी भेटिएनन् । राहुलका काकाले भने 'दाजु विहेमा उर्लावारी जानु भएको छ । बन्दले फर्कन पाउनु भएन ।' हामीले उनको मोवाइल नम्बर माग्यौं र, फेरि स्कुल तिरै लाग्यौ । चोकमा पुगेर फेरि स्थानीयसग कुरा गर्दै गर्दा राहुल स्कुले पोशाकमा किताव लिएर आए । 
केहीबेरमा शिक्षक जीवनाथ कोइराला आइपुगे । उनको घर छिमेकी गाविस दुलारीमा रहेछ । त्यहाबाट चप्पल पड्काउदै साइकल चलाउदै आएका उनलाई एकजना स्थानीय बुढाले फलैचामा बस्न आग्रह गरे । कोइराला सरले राहुललाई भने 'जा मिसलाई बोलाएर ल्या ।' विनोददाईलाई किताव दिएर ऊ बोलाउन गयो । बुढाले हाम्रा बारेमा भनिदिएपछि उनले स्कुलमै गएर बसौं भने । केहीबेरको कुराकानीपछि उतै लागियो ।
स्कुलका भवनहरु पक्की रहेछन् । टीनको छानो । कक्षा कोठा खुलै थिए । अफिसकोठाको ढोकामा ताला लागेको थियो । उनले राहुल आइपुगे । भने 'मिस हुनुहुन्न ।' सरले फेरि भने 'दौडेर जा । मिसको बाट चाबी लिएर आइज ।' राहुल फेरि गए । हामी बाहिरै उभिएर कुरा गर्‍यौं । राहल आए । अफिस कोठा खोलिदिए । सरले आफ्नै दुखेसो पोखे ।
गाउलेको भनाइमा गुरुहरुले स्कुल नियमित नआउने भएकाले बच्चाहरु अन्यत्रका स्कुलमा राख्नु परेको थियो । सरको भनाइमा स्थानीयले साथ नदिएको गुनासो थियो । 
राहुल ठाकुरको ५ कक्षाको रजिस्टरमा ६ जनाको नाम थियो । तर, उपस्थितिमा राहुलमात्रै हाजिर देखिए । १ देखि ५ सम्म नै रजिस्टरका नामहरु केलाउदा ४६ जनाको नाम भेटियो । तर, उपस्थिति एक्लो ठाकुर । अफिसमा कक्षाका किताबहरु असरल्ल देखिए । 
जीवनाथले १७ वर्ष भएछ त्यो स्कुल पढाउन थालेको । उनी सरुवा चाहदा रहेछन् । विद्यार्थी नआएर स्कुलको दुरावस्था भएको चार वर्ष भएछ । विद्यालय व्यवस्थापन समिति गठन गर्दा नियम छ - पदाधिकारीका नानीहरु सोही स्कुलका विद्यार्थी हुनुपर्छ । तर, एकजना अध्यक्षबाहेक कसैका पनि नानीहरु आउदा रहेनछन् । हेर्ने र कडाइ गर्ने पनि कोही रहेनछ । 
सामुदायिक स्कुलका शिक्षकको तलब नियमित छ । सरकारद्धारा प्रदान गरिएको किताब र छात्रवृत्ति नियमित आएको रहेछ । तर, छात्रवृत्ति वितरणका बेला भीड हुने रहेछ । शिक्षक र स्थानीयको भनाइमा परस्पर एकअर्कालाई दोष देखाउने नियत देखियो । यति राम्रो स्कुललाई कसैले माया गरे जस्तो देखिएन ।
सरकारी स्कुललाई हिजोआज सामुदायिक विद्यालय भन्ने गरिएको छ । मोरङमा ६५ गाविस र विराटनगर उपमहानगरपालिका छ । यिनमा ५ सय ६२ वटा यस्ता स्कुल छन् । पञ्चायत प्रावि जस्तै अवस्था र रमिते खोला गाविसको मिक्लाजुङ प्राविको पनि छ । मिक्लाजुङ प्राविमा दुइ विद्यार्थी र तीन शिक्षक छन् । यस्ता स्कुललाई अन्यत्रको स्कुलमा गाभ्नुको विकल्प छैन । तैपनि चलेकै छन् । 

***  
२८ बैशाख शनिवार कान्तिपुरमा छापिएको समाचार यस्तो थियो 

सिंगो विद्यालयका एक्ला विद्यार्थी

डंग्राहा,( मोरङ) - विराटनगरबाट करिब १० किलोमिटर उत्तर डंग्राहा गाविस ४ मा चार सय घरले भरिएको बस्ती । बीचमा ५ कक्षासम्म पढाइ हुने भौतिक पूर्वाधारसम्पन्न सामुदायिक विद्यालय । यहाँ बालविकास केन्द्रकी सहयोगीसहित चार जना शिक्षक कार्यरत छन् । घना बस्ती बीचको स्कुलमा विद्यार्थी संख्या कति होला ? लख काटौं ५०, सय या डेढ सय । यो पञ्चायत प्रावि नामको स्कुलमा एक जनामात्रै विद्यार्थी पढ्छन् । उनी हुन् राहुल ठाकुर । कक्षा ५, रोल नम्बर १ । उनी विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष ठाकुरका छोरा । समिति नौ सदस्यीय छ । उनीहरूले आफ्ना बालबालिका आफ्नै जिम्मेवारीको विद्यालयमा पढाउनुपर्ने प्रावधान छ । 
समितिकै आठ सदस्यले भने अर्कै विद्यालयमा भर्ना गरेका छन् । यो विद्यालयको कक्षा १ देखि ४ सम्म एक जना पनि विद्यार्थी छैनन् । यसैको नाममा एउटा बालविकास केन्द्र पनि छ । त्यसका लागि सहयोगी शिक्षिकाको छुट्टै व्यवस्था । तर केन्द्रमा एक जना पनि बालबालिका छैनन् । यो स्कुलभन्दा डेढ किलोमिटर पूर्व अर्को सामुदायिक विद्यालय सर्वहितैशी निमाविमा करिब दुई सय बालबालिका पढ्छन् । उत्तरतर्फको लक्ष्मी मावि, सुप्रभात बोर्डिङ स्कुल र पश्चिमको नारायण माविमा पनि विद्यार्थी खचाखच छन् । ती विद्यार्थी यही बाक्लो बस्तीका घरका सदस्य हुन् । 
'आँगनमै भएको स्कुलमा सरमिस रेगुलर आउँदैनन् । पढाउँदैनन् । त्यसैले केटाकेटी अर्कोमा सारियो,' स्थानीयवासी आशाराम विश्वासले भने, 'पढाइदिने भए पो यहाँ राख्नु । यहाँबाट ५ पास गर्ने बच्चाले अआइई पनि जान्दैन ।' उनका अनुसार पढाइ गुणस्तरीय नभएका कारण सबै अभिभावकले आफ्ना नानीहरू आँगनको स्कुल छाडेर अन्यत्र पढ्न पठाउने गरेका हुन् । 'पोहोर मेरा दुई बच्चाले यो स्कुलबाट ५ पास गरे । उनीहरूलाई अर्को स्कुलले ६ मा भर्ना लिन मानेन । नाम पनि राम्रोसँग लेख्न नजानेपछि २ मा मात्र भर्ना लियो,' अभिभावक जीतनारायण माझीले भने, 'हेडसरलाई गुनासो गरेको उल्टै आइलागे ।' त्यो घटनापछि पनि धेरैजसो अभिभावकले आफ्ना नानीहरू पञ्चायत प्राविबाट हटाई अरूमा पठाएको उनले बताए ।
उनीहरूका अनुसार प्रअ पुरुषोत्तम चौधरी सातामा एक दिनमात्र विद्यालय आउँछन् । कहिलेकाहीं त १५ दिनमा मात्र देखिन्छन् । 'उनलाई स्कुल र यहाँ भर्ना गरिएका बच्चाको भविष्यप्रति कत्ति पनि चिन्ता भएको हामीले पाएनौं,' अर्का अभिभावक नागिन चौधरी भन्छन्, 'उनी आएका दिन पनि दिउँसो हाजिर गरेर हिँडिहाल्छन् । बाँकी शिक्षक पनि जाडोमा दिनभरि घाम ताप्छन्, गर्मीमा रूखको छहरीमा शितल खाएर घर र्फकन्छन् ।'
प्रअ चौधरीको भने आफ्नै तर्क छ । उनी भन्छन्, 'विद्यार्थी नै नआएपछि हामीले के गर्ने ?' शुक्रबार छिमेकी गाविस हात्तीमुडामा शिक्षक संघको गाउँ एकाइ गठन गर्न व्यस्त रहेका उनले भने, 'विद्यार्थी नै नभएपछि विद्यालय बसिरहनुपर्ने अवस्था छैन । त्यसैले हाजिर गरेर पेसागत संगठनको काममा हिँडेको हुँ ।' दुई/दुईपटक घरदैलो कार्यक्रम गर्दा पनि अभिभावकले आफ्ना नानीहरू विद्यालय नपठाएको उनले बताए । उनका अनुसार गत वर्ष पनि यस्तै अवस्था थियो । 'पढाउँदै नपढाइ तलबमात्र खाएको एक वर्ष भइसक्यो । अब त तलब खान पनि लाज लाग्न थाल्यो,' उनले भने । स्थानीय अभिभावकको असहयोगले विद्यालय विद्यार्थीविहीन भएको दाबी उनले गरे ।
पाँच कक्षासम्मको उक्त स्कुलमा एकमात्र विद्यार्थी भए पनि चौधरीले ४० जनाको नाममा पाठ्यपुस्तक लगेका छन् । गत वर्षको विद्यार्थी सख्याका आधारमा पुस्तक लगिएको हो । 'पोहोर ४० जना भर्ना भएका थिए । तर वर्षभरि चार जना पनि पढ्न आएनन् । यसपालि पनि त्यही भयो', उनले भने, 'छात्रवृत्तिको रकम विद्यालयको बैंक खातामै छ ।'

  

Saturday, March 30, 2013

एउटा सुन्दर निशाचर


बाँसको अग्लो अस्थायी भर्‍याङ लगाएर सजावटको काम भइरहेको थियो । निकै अग्लो टुँडालमा हात पुर्‍याएका एकजना कामदार हतार-हतार ओर्लिए । उनले हल्ला गरे, 'साँप छ माथि साँप छ ।' सर्प घर र भवनका कुनाकाप्चामै भेटिने हुन् । अझ तराईमा गोमन नै धेरै फेला पर्छ । एकैछिनमा हल्लीखल्ली भएर काम नै रोकिने अवस्था आयो । राष्ट्रपति भएपछि रामवरण यादवको पहिलो विराटनगर भ्रमण हुँदै थियो । उनलाई सम्मान गर्न मोरङ व्यापार संघले वीरेन्द्र सभागृहमा कार्यक्रम राखेको थियो ।
पर्सिको कार्यक्रमका लागि मजदुरहरू युद्धस्तरमा खटिएका थिए । सर्पको भयले काम थामिएपछि त्यसबेलाका प्रहरी हवल्दार प्रेम विष्टलाई फोन आयो । रानीस्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयबाट उनी केहीबेरमै आइपुगे । भर्‍याङ चढे । छेउछाउ मान्छेको उपस्थिति थाहा पाएपछि भित्रका ती 'अञ्जान' जीव कराए, - 'फ्वाँ फ्वाँ...' उनी डराएनन् । हात हाले र, झिके- ती सर्प होइनन्, अनौठा जीवका बचरा थिए ।

तल झरेपछि त्यसलाई राखेर तस्बिर खिच्ने काम भयो । २४ कात्तिक २०६८ को घटना थियो यो । अब प्रेमलाई दुविधा भयो- चल्ला त्यही गुँडमा राखिदिने कि, के गर्ने ? उनले घर लिएर आए । यी 'बार्न अउल' भनिने गोठे लाटोकोसेराका बचरा थिए । सायद दुई महिना उमेरका हुँदा हुन् । 'मैले तिनलाई बचाउन सकिनँ,' विष्ट भन्छन्, 'बिरामी परेजस्ता भए । भेटेनेरीका मान्छेलाई सोधेर ओखतीमुलो पनि गरी हेरें । तर, पालैपालो मरे ।' विष्ट लाटोकोसेरोबारेका जानकार होइनन् । प्रहरी सेवामा रहँदा सर्प समात्ने कलाले उनलाई निडर र अर्काका लागि सहयोगी व्यक्तित्व बनाएको छ । जागिरे जीवनको अवकाशपछि अहिले सानो संस्था दर्ता गरी उनी सर्पकै लागि काम गर्छन् । कसैका घर-बारीमा सर्प देखिए उनको फोन बज्छ । गएर समात्छन् अनि सुरक्षित ठाउँमा लगेर छाडिदिन्छन् । 'मैले त्यसरी लाटोकोसेरो ल्याउनु हुँदैनथ्यो होला,' उनी सम्झन्छन्, 'त्यसलाई कुखुराको मासु त खान दिएकै हो ।'

***

भक्तपुरको ख्वप कलेजका वातावरण विज्ञान प्राध्यापन प्रमुख कमलराज गोसाईलाई रुची लाग्ने विषय लाटोकोसेराको जीवनशैली हो । पढाउनेबाहेकका फुर्सद उनी नोटबुक र क्यामेरा बोकेर गुँड खोज्दै हिँड्छन् । स्नातकोत्तर तहको पढाइ सिध्याउने बेला दुई वर्षअघि उनले मान्छे र त्यो निशाचरको द्वन्द्वलाई नजिकबाट अध्ययन गर्न पाए । 'बिजुलीको तारमा स्पोटेड उल (कोचलगाँडे लाटोकोसेरो) बसेको थियो, म त्यसको फोटो खिच्दै थिएँ,' उनी भन्छन्, 'मेरो रुचि देखेर गाउँलेले एउटा लाटोकोसेरोले दुःख दिएपछि मारेर फालिदिएको बताए । म त्यो चोक र घरमा पुगें ।' 

भक्तपुरको चोछेस्थित एउटा पुरानो घरमा चारवटा बचरासहित गोठेको वास थियो । आवाज सुन्दा र अनुहार हेर्दा त्रास उत्पन्न हुने त्यो जीव मान्छे आउजाउ गर्दा 'स्वाँ स्वाँ फ्वाँ फ्वाँ' गर्थयो । 'एक दिन मान्छेका बच्चालाई झम्ट्यो भनेर माउ बाहिर निस्किएका बेला चल्ला सबै मारेर चोकमा फालिदिएछन्,' उनले भने, 'अनि घरबेटीले त्यसले गुँड लगाएका ठाउँ पनि टालेछन् ।' तर, त्यसले सजिलै त्यो घर छाडेन । ती घरका मान्छेहरू सिकार गरेर फाल्ने मुसा र त्यसले उकेलेका फोहोरले दुर्गन्ध फैलिएको बताउँथे । गोसाई भन्छन्, 'त्यसले फेरि पटक-पटक गुँड लगाउन खोजेछ ।' तर, घरबेटीले पुनर्बासको प्रयासमा त्यसलाई सफल हुनै दिएनन् । स्नातकोत्तर सिध्याएर आफैं पढेको कलेजमा प्राध्यापन थालेका उनले अझै यस्तो अध्ययन छाडेका छैनन् ।

'त्यसले परेवा सिकार गर्ने अनि जीउ खाएर टाउको फालिदिने गर्‍यो भनेर गाउँले भन्थे,' उनले भने, 'अझै त्यो एरियामा जाँदा-आउँदा बार्न अउल कराइरहेको सुनिन्छ ।' कमलका अनुसार अहिले पनि उनले भक्तपुर नगरपालिकाका २० स्थानमा यस्ता निशाचरको गुँड गणना गरेका छन् । बासका लागि अलि फराकिलो टोड्को, पुराना घर, अग्ला टुँडाल र छतको शीत छेल्न बनाइने सिलिङ लाटोकोसेरोको यो प्रजातिले बासस्थानका लागि छनोट गर्ने ठाउँ हो । 'साँझ पर्न सुरु भएपछि निस्कन्छ, करिब साढे आठ/नौ बजेसम्म आहारा खोजिसकेर गुँडमा र्फकन्छ,' उनले आनीबानी बताए, 'यसले वर्षमा दुईपल्ट फुल पार्छ । चारदेखि पाँचवटा चल्ला हुर्काउँछ ।'

यसले सिकारमा मन पराउने आहारा मुसा, खरायो, साना लोखर्के आदि हुन् । चराविद्हरूका अनुसार यसका भाले-पोथीले एक वर्षमा सरदर १ हजार ३ सय मुसा सिकार गर्छन् । जब गुँडमा पाँचवटा बचरा हुन्छन्, त्यो बेला चार महिनाको अवधिमा एक जोडीले तीन हजारवटा मुसा खाने गर्छन् । अन्न खाएर नास पार्ने मुसा सफायामा सघाउने भएकाले यो पन्छीलाई 'किसानको साथी' पनि भनिन्छ । 
साना-साना सरिसृप, चरा, चमेरा र कीरा-फट्याङ्ग्रालाई पनि यिनले आहारा बनाउँछन् । खेतबारी र घाँसे मैदानमा यसले सिकार खोज्छन् । सिकारलाई सिङ्गै निल्ने यो पन्छीले पच्न असजिलो भएका आहारा उकेलेर फाल्छन् । आवाज सुन्दा उस्तै मान्छे तर्सिने भए पनि यसको सुनौलो घेरावाल अनुहार अरू प्रजातिभन्दा निकै आकर्षक हुन्छ । मान्छेका जस्तै अगाडि फर्किएका आकर्षक आँखा भएको यो पन्छीले हेर्दा आँखा घुमाउँदैन । मुन्टो नै घुमाउँछ । अरू लाटोकोसेरो जसरी कराउँदैन, बरु यसले घुरेको आवाज आउँछ । यसका धेरै जोडी एकल परिवारमा बसेका भेटिन्छन् । तर, कतै-कतै चराविद्हरूले गोठे लाटोकोसेरोलाई ठूलो समूहमा बसेको पनि भेटेका छन् । 
अन्टार्टिका महादेशमा बाहेक संसारका सबै भूभागमा यो पन्छी पाइने विभिन्न वेभसाइटमा उल्लेख छन् । अमेरिकामा दुई सयवटा वन्यजन्तु पुनस्र्थापना केन्द्र छन्, जसमा लाटोकोसेरोको पनि उद्धार, उपचार र पुनस्र्थापना गरिन्छ । 
***
०६७ चैत ७ गते पोखरा-१३ का राजु आचार्यको फेसबुक भित्तोमा बधाई दिनेको ओइरो लाग्यो । लाटोकोसेराको अध्ययन र संरक्षणमा विशेष योगदान पुर्‍याएबापत उनलाई अमेरिकाको हस्टन नेचर सेन्टरले 'वल्र्ड उल हल अफ फेम स्पेसल अवार्ड' प्रदान गरेको थियो । अमेरिकाको मिनेसोटामा आयोजित अन्तर्राष्ट्रिय लाटोकोसेरा मेलाको अवसर पारेर उनलाई अवार्ड दिइएको थियो ।  
सेन्टरले बर्सेनि लाटोकोसरो मेला गर्दै र यसको अध्ययन तथा संरक्षणमा काम गर्नेलाई हौस्याउन पुरस्कृत गर्दै आएको छ । उक्त अवार्ड पाउने उनी पहिलो एसियाली हुन् । उनको नेतृत्वमा 'प्रकृतिका साथीहरू'ले स्वयंसेवी संस्थाको रूपमा लाटोकोसेरा र मानिसको जीवनबारे अध्ययन गदै आएको छ । उनको समूहले मनाङ र मुस्ताङमा पाइने लाटोकोसेराको जीवनशैली अध्ययन गरिसकेको छ । अवार्ड पाए पनि आचार्यको टिमका काम गराइ फेरिएको छैन । काठमाडौंको बाफलमा सानो कार्यालय खोलेर बसेका प्रकृतिका साथीहरू चेतनामूलक कार्यक्रम लिएर कहिले मनाङ पुग्छन् कहिले चितवन । चितवनको मंगलापुर गाविसमा पर्ने शरणपुरमा गत फागुन तेस्रो साता तीनदिने 'लाटोकोसेरो तथा हुचिल महोत्सव' गरेका आचार्य भन्छन् 'हामीकहाँ जीवजन्तुलाई चाहिने पूर्वाधारमा सरकारी निकाय चनाखो छैन ।' विभिन्न मुलुकले चराका लागि अस्पताल खोलेको सुने पनि नेपालमा सुरु गर्न कतैबाट पहल नभएको उनको गुनासो छ ।

निशाचरको अध्ययनमै १३ वर्ष बिताइसकेका उनी भन्छन्, 'नेपालमा हालसम्म २१ प्रजाति देखिएको रेकर्ड छ । सरकारले संकटापन्न मानेको छैन ।' तर, पन्छी संरक्षण संघले तीन वर्षअघि नै निकालेको सूचीमा लाटोकोसेरोका आठ प्रजाति संकटमा रहेको उल्लेख छ । उक्त सूचीमा बार्न अउल भनिने गोठे लाटोकोसेरोको पनि नाम छ । पर्यावरणीय चक्रमा रात्रि विचरण गर्ने पन्छीहरू वातावरण शुद्धीकरणका सहयोगी हुन् । 

चरा र वन्यजन्तुको अध्ययन-संरक्षणमा लागिपरेकाहरूको अवस्था हामीकहाँ दातृकै भरमा निर्भर छ । सम्बद्ध दाताहरू विभिन्न विषयका गतिविधिका लागि संस्था, व्यक्ति र थेसिसका लागि अनुसन्धानमा लागेकाहरूलाई बजेट दिन्छन् । त्यस्ता बजेट हात परे काम गर्ने, अन्यथा कुरा मात्रै बढी गर्ने बानी यी क्षेत्रका अनुभवीहरूको छ । आचार्य भन्छन्, 'कतैबाट सानो पनि फन्ड जुटाउन सकियो भने काम हुन्छ । नभए व्यक्तिगत वा संस्थागत लगानी गरेर काम गर्ने बानी-हैसियत नेपालीले बनाउन सकेको देखिँदैन ।'

***
 लाटोकोसेरोको पहिचान नेपालमा सन् १८२९ मै भएको एकथरी चराविद्हरू मान्छन् । तत्कालीन इस्ट इन्डिया कम्पनीका काठमाडौंका लागि आवासीय प्रतिनधि ब्राइड हड्सनले खोजी गरेको नेपालका संकटापन्न चरासम्बन्धी एउटा प्रकाशोन्मुख पुस्तकमा उल्लेख छ । आचार्य भन्छन्, 'यस्तो तथ्यांक पत्याउन सजिलो होइन । तर, हडसनले नेपालमा पाइने जीवजन्तुका बारेमा निकै खोजी गरेका रहेछन् ।'
समुद्र सतहदेखि १ हजार ३ सय २० मिटरका भूभागको रैथाने यो सुन्दर लाटोकोसेरो धेरैपटक तस्करीमा लगिँदै गर्दा बरामद भएका घटना पनि छन् । चल्ला ल्याएर मान्छेले हुर्काएपछि उनीहरूले राम्ररी उड्न र सिकार गर्न नसक्ने हुन्छन् । 'त्यस्ता पन्छी बरामद हुँदा राख्ने ठाउँ र तरिका जिल्ला वन र निकुञ्जका मान्छेलाई थाहा हुँदैन,' उनले भने, 'बनमा लगेर छाडिदिनुभन्दा केही समय राखेर मात्रै उड्न दिनु उचित हुन्छ ।'
इन्टरनेटको विश्वज्ञान कोष विकिपेडियामा बार्न अउलबारेमा विभिन्न तथ्य राखिएका छन् । निशाचरलाई दन्त्य कथासँग जोडेर गरिने वर्णनले यो लाटोकोसेरोलाई तर्साउने चरो भनिए पनि अहिले युरोप-अमेरिकामा शुभसूचक मानेर संरक्षण थालिएका छन् । जन्मको दुई वर्षसम्म धेरै जोखिममा रहने यो पन्छीका हरेक तीन जोडीमध्येका एउटाले मात्रै चल्ला हुर्काउन सक्षम हुन्छन् । ठूला सर्प र बिरालाले यसका बचरा सिकार गर्छन् ।
उड्दा-उड्दै सिकार गर्न सक्ने क्रियाशील लाटोकोसेरोको यो प्रजाति सेतो अनुहारमा सुनौलो घेरा भएकाले संरक्षण र अध्ययनमा लागेकाहरूका लागि अहिले पर्यावरण चक्रमा सुन्दर चराका रूपमा दरिएको छ ।
(२०६९ चैत १७ शनिवार कान्तिपुर कोसेलीको पृष्ठ २ मा प्रकाशित )

Saturday, February 16, 2013

गल्याङबाट चापाकोट


'दुर्घटना आफैं भोगेर सिक्ने पाठ होइन,' मुग्लिनबाट पोखरा जाँदा बाटामा कतै ठड्याइएको बोर्डमा पढेका यी वाक्यले गन्तव्य नआउन्जेल मगजमा फन्को मार्‍यो । स्टेरिङ आफ्नो नियन्त्रणमा भए सावधानीका यस्ता वाक्य सम्झँदै सवारीको गति र आफ्नो मति सुधार गर्न हुन्थ्यो । चालक कस्ता मुडमा छन् भन्ने थाहै थिएन । कारण, खुला आकाशको मुन्तिर, जगेडा टायरमाथि हुटमा हाम्रो सिट जो पर्‍यो ।  
 ***
२२ माघ सोमबार बेलुकी गोरखाको ताक्लुङ गाविसमा पर्ने अर्चले-ठेउवाटारबाट झोलुङ्गेपुल तरेर कुरिनघाट हुँदै मोटरसाइकलमा पोखरा आइपुग्दा बेलुकी साढे ११ बजेको थियो । ठाउँ-ठाउँ नियन्त्रित गतिमा सवारी चलाउन आह्वान गर्दै राखिएका सूचक पढ्दै आइयो । 'स्याङ्जामा घुमाउरो मोडहरू धेरै छन् । त्यता जाने हो भने बाइकमा नजानु । गाडीमै जानु,' राम्चेको भीरमा अफिसको गाडी पल्टिँदा घाइते भएर उपचाररत मेरा गाउँले दाइ गौतम योञ्जनले अघिल्लो साता भनेका थिए, 'सर्टकट टर्निङमा बानी नपरेकाले त्यता ड्राइभिङ नगरेकै राम्रो ।' दाइ पोखरास्थित बागलुङ बसपार्कनजिकको सहारा अस्पतालमा भर्ती रहेको थाहा पाएर म भेट्न पुगेको थिए । अहिले उनी स्वस्थ हुने क्रममा छन् ।

उनीसहित पाँचजना सवार पिकअप गाडी घुमाउरो मोडमा दुर्घटना भएको रहेछ । घटना सुनाउँदै उनले भनेका थिए, 'गाडी भीरबाट लडेर रूखमा अल्भिmएछ । मलाई त्यहीँ अल्झेको ठाउँबाट गाउँलेले तानेर झारेका रे ।' क्षति पुग्ने सवारी दुर्घटनाजस्तो आवरणमा पनि पि्रय हुँदैन । दाइको सल्लाह मानियो । मंगलबार स्याङ्जा जानुपर्दा सार्वजनिक सेवाकै सवारीको यात्रा जिन्दावाद ।
***
रत्नराज्य क्याम्पसमा पत्रकारिताको स्नातकोत्तर तहका विद्यार्थी अजय बुढाथोकी र म २४ माघ बुधबार साँझ स्याङ्जाको गल्याङबाट चापाकोटको यात्रामा थियौं । यात्राको विषय थियो- कुलोसँग जोडिएको जीवन । हामी पोखराबाट मंगलबार दिउँसो ७८ किलोमिटरको यात्रापछि गल्याङ पुगेका थियौं । 

स्याङ्जालीका लागि सुख दुःखसँग जोडिएको आँधीखोला धेरैले सुनेको नाम हो । चर्चित लोकभाका 'आँधीखोला उर्लेर आयो, आउने थिन मायाले बोलायो...' सुनेकाहरूले स्याङ्जाको यात्रा नगरे पनि खोलाको नाम सुनेकै हुनुपर्छ । पुतलीबजार, वालिङ होस् वा गल्याङ, सबैका छेउ भएर यो खोला यात्रारत छ । 
गल्याङमा आँधीखोलाको धेरै पानी दुई प्रकारले उपयोग हुन्छ । एउटा बुटबल पावर कम्पनीले विद्युत् उत्पादनका लागि, दोस्रो किसानले खेतीमा । हाम्रो अहिलेको चासोको विषय दोस्रो हो । खोलाबाट ल्याइएको पानीको तीन भागमध्ये दुई विद्युत् र एक भाग सिँचाइमा उपयोग गरिएको छ । सिँचाइको व्यवस्थापन गर्दै आएको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था -आक्वा) का कार्यालय व्यवस्थापक खगेन्द्र भट्टराईले भने, 'नौला मान्छे छक्क पर्छन् हामीकहाँ अचम्मको भूमिसुधार कार्यक्रम छ । हुनेहरूबाट लिएर नहुनेलाई जग्गा दिने ।'  
उनले भनेकै 'अचम्म'लाई नजिकबाट बुझ्नैका लागि हामी गल्याङ पुगेका थियौ । कार्यान्वयनमा रहने जटिलता र इमाजदारी अभावको पाटो एकछिन बिर्सने हो भने भूमिसुधारका कदमको अन्तर्निहित उद्देश्य धेरै भएकाहरूबाट केही नभएकाहरूलाई थात-बास दिलाउने भन्ने हो । यस्ता कार्यक्रम धेरै आए पनि भूमिहीन समाप्त भएका छैनन् ।  
अब गल्याङ सन्दर्भमा फिरौं- आक्वाले आफंैमा गरेको प्रयोग कुनै क्रान्तिकारी कदमभन्दा कम रहेनछ । विसं २०४१ मा निर्माण भएको बनाउँदाताका श्रमदान गर्नेलाई संस्थाले पानी उपयोग अधिकारको सेयर प्रमाणपत्र दिएको रहेछ । अध्यक्ष अर्जुन श्रेष्ठले बताए 'यो योजना नर्वेको आर्थिक/प्राविधिक सहयोगमा युनाइटेड मिसन टु नेपालले कार्यान्वन गर्‍यो । हामी गाउँलेले श्रमदान गर्‍यौं । भूमिसुधारको सिद्धान्त कसरी-कसरी सबैलाई मन परेर पारित भयो । कतिलाई सुरुमा नियम सम्झाउन गाह्रो पनि भयो ।' बढी जमिन भएका सेयर सदस्यले आफ्नो जग्गा संस्थालाई दिने र संस्थाले ती जमिन भूमिहीन सदस्यलाई किस्ताबन्दीमा तिर्नेगरी उपलब्ध गराउने नियम कार्यान्वयन गरियो ।
'त्यो बेला यहाँका जग्गाको उतिसारो भाउ थिएन । एउटा परिवारमा १० सदस्य छन् भने तिनलाई वर्षको तीन बाली उब्जनी गरे सात रोपनी माटोले पुग्छ भन्ने हिसाब आयो,' उनले भने, 'त्यहीअनुसार बढी जमिनमध्येको १० प्रतिशत रोपनीको ३/४ हजारका दरले धनीबाट लिँदै भूमिहीनलाई बाँडियो । पाउनेले खेती गर्दै संस्थालाई किस्ता तिर्दै गए ।'
स्याङ्जाको जगत्रदेवी, तुलसीभञ्ज्याङ र पाल्पाको हुँगी गाविस सिँचाइको कमान्ड एरिया रहेको संस्थाले २५ हजार सेयर प्रमाणपत्र तयार पार्‍यो । ४५ सय सेयर आफैंमा राखेको संस्थासँग प्राप्त जमिनमध्ये पानीको सेयर भएका ७१ भूमिहीनले माटो पाए । राजधानीमा बस्ने तर, स्याङ्जामा जग्गा भएका एकाध प्रभावशालीबाट भने संस्थाले जमिन पाउन सकेन । २०४७/४८ देखि थालिएको अभियान ५ वर्षसम्म कार्यान्यवन हुँदा करिब २ सय ३० रोपनी जमिन धनीहरूले संस्थालाई दिए । पहाड, खोला-नाला र उब्जनी नहुने २०/२५ रोपनीबाहेक सबै भूमिहीनमा वितरण भइसकेको रहेछ । २ रोपनी १० आना पाएका जगत्रदेवी-६ का जोतबहादुर कामी, ४ रोपनी २ आना पाउने तुलसीभञ्ज्याङ-४ दिमिकका बुद्धबहादुर जिटी र २ रोपनी २ आना पाउने पाल्पाको हुँगी-२ की खगीसरा गुरुङ ७१ परिवारमध्येका केही प्रतिनिधि नाम हुन् । 
आँधीखोलाभन्दा ठूलो सिँचाइ प्रणाली चापाकोटमा पनि रहेको जानकारी भट्टराईले दिए । उनले भने, 'यहाँको सिस्टम हेरेपछि तपाईंहरू चापाकोट पनि पुगेको राम्रो । त्यहाँ हाम्रोभन्दा ठूलो योजना छ ।' उनले यति भनेपछि हामी त्यसतर्फ पनि जान लालायित भयौं । आखिर के छ त्यस्तो चापाकोटमा ?

***
गल्याङबाट पोखरा र बुटवल जाने बाटोबाहेक अर्को रुट चापाकोटका लागि थियो । हामी दिउँसो करिब अढाइ बजे त्यसतर्फ जान चोकमा आइपुग्यौं । लामो प्रतीक्षापछि एउटा जिप आयो । मैलो सेतो लुगाजस्तो रंगको लु१प १४७३ नम्बरको महिन्द्रा जिप । दिनभरिमा आधा दर्जन जिप र तीनवटा बस चल्ने बाटामा एउटामात्रै जिपले गुड्ने दुस्साहस गरेको थियो । अघिल्लो दिनदेखि परेको हिउँदे झरीले हिलाम्य बनाएको बाटामा जिपको टायर घिस्याउने जोसलाई दुस्साहस नै भनेको ठीक होला । साँझ सवा ६ बजे हुटमै पनि बसेर जान तयार भइयो । दह्रा र जवानका लागि यही आसन उपयुक्त थियो । अजयले गाडी आइनपुग्दै भनेका थिए 'धेरै मान्छे छन् । भित्र सिट पाइँदैन होला । गाडी आउनेबित्तिकै हुटमा चढ्नुपर्छ ।' 

उनले भनेजस्तै भयो । सडकमा उभिन दिक्क भएर सिमसिमे पानी छेल्न धेरै यात्रु वरपरका पसलमा बसेका रहेछन् । चिसोसँगै कुहिरो लाग्न सुरु भएको छ । पानी मध्यम गतिले पर्दै छ । यात्रुका हूल कमिलाको गोलो जसरी गाडीमा झुम्मियो । म पछाडि बस्न खोजें । त्यहाँ पहिल्यै बसेर आएका दुई-दुई टाउकाले एकै स्वर बोल्यो, 'यो सिट रिजब हो । हाम्रा मान्छे छन् ।' अब गाडीको छतमा चढ्नुको विकल्प थिएन । त्यहाँ पनि बस्न नपाइएलाजस्तो भयो । 
हामीसँग छाता वा रेनकोट थिएन । मैले ल्यापटप र क्यामेरा बोकेको ब्याग पानी नछेल्ने थियो । आफ्नोभन्दा यी साधनको चिन्ता । त्यसैले मलाई छतमा बस्न मन थिएन । सार्वजनिक यातायातको सवारी, त्यसमाथि पनि विपद्का बेलाको साधन । रोजीछाडी कसले गर्न दिने ? छतमा चढियो । मैले एक घन्टाअघि त्यो ठाउँको एउटा पसलबाट ऊनीका दुइटा टोपी किनेको थिएँ । अजयले बोलेको पुग्ने अवस्थामा चिसोबाट बच्न मद्दत गर्छ भन्ने हेतुले । गाडीअघि बढ्नै लाग्दा बाटामा ती पसले साहुनी देखिइन् । म हुटबाटै चिच्याएँ, 'ए दिदी, मेरो ब्याग अट्ने प्लास्टिकका झोला भए दिनुस्न् । यसमा भिज्न नहुने सामान छन् ।' ठूला झोला नभएको प्रस्टीकरणसहित उनले स-साना दुइटा प्लास्टिक तुरुन्तै ल्याएर दिइन् ।  
एउटाले ल्यापटप र अर्कोले क्यामेरा पोको पार्न पुग्यो । मैले लगाएको छालाको ज्याकेट दिउँसैदेखि भिजेको थियो भने छालाकै जुत्ता पनि पानीले ढाडिएको थियो । गाडी अघि बढ्यो । मैले टाउको गणना गरें । हुटमा १३ जना रहेछौं । सिमसिमे पानी थामिएको छैन । अँध्यारो बढ्दो छ । भीरको बाटो गाडी अघि बढ्दै लर्‍याङबर्‍याङ गर्छ । म एउटा हातले हुटको फलामे पाइप र अर्को हातले आफ्नो ब्याग समात्छु । 

*** 
गाडी कुर्ने क्रममा चिनजान भएका भारतको पटनाका हीरा कुमाल र नेपालगन्जबाट घर जान आएका स्याङ्जा रत्नपुरका राजेन्द्र डोटल हुटमा सँगै परे । साथमा चापाकोटका हुमबहादुर विश्वकर्मासँग पनि चिनजान भयो । कतारमा ६ वर्ष काम गरेर फर्किएका हुमबहादुर आएको १० दिन भएको रहेछ । 'कम्पनी नै बन्द भएर पो । ममात्रै हो र ३६ जनाको जागिर गयो,' उनले सुनाए, 'फेरि जान्छु । यहाँ बसेर के गर्नु ? त्यहाँ महिनाको ३६ हजार हुन्थ्यो । यहाँ ३६ पैसा पनि नाइँ ।'    

वालिङ र चापाकोटमा ठेकेदारसँग मिलेर निर्माणाधीन घरका काठ र पक्की जोडाइको काम गर्दै आएका कुमाल गाडी नपाए वालिङ र्फकने सुनाइरहेका थिए । तर, गाडी पाएपछि उनलाई फोन आइरहेको थियो । उनी रिसाउँदै उत्तर दिँदै थिए, 'गाडी मे बानी । आ रहल बा ।'
एकजना चिनजानको मान्छेमार्फत नेपालमा काम गर्न आएपछि कहिल्यै खाली बस्नु नपरेको अनुभव सुनाएका कुमालले भने 'यहाँ धेरै घर बन्दै छन् । काम गर्न सिपालु मान्छे रहेनछन् । एउटाको काम सक्तासक्तै अर्को कन्ट्रयाक्ट पाइहालिन्छ ।' थोरै कुरा गरेर कुमालले मोबाइलमा गीत बजाए । इयरफोन जोडेर कानमा घुसारे । चुप्प लागे । उकालो-ओह्रालो हिलाम्य बाटोमा बेला-बेला टायरको छाप भएको रुटबाट जिप बहकिन्थ्यो । मानौं मदिराले लठ्ठ मान्छे सोझो हिँड्न सकेको छैन । मुन्टो घुमाएर जिपको हेडलाइटको प्रकाशले देखिने बाटो हेर्दा लाग्थ्यो, 'अहिल्यै लडिन्छ, भरे लडिन्छ । बाँचिँदैन होला ।' विश्वकर्माले भने, 'यो त बाटो धेरै राम्रो भएको हो । बिहान यही गाडीमा म घरबाट आएको बडो गाह्रोले गल्याङ लगेको हो । अरूले आज हिँड्न हिम्मत गरेनन् ।'
गाडी रोकियो । कन्डक्टर बनेर हिँडेका गाडीधनी नारायण खनाल चिच्याए, 'लौ माथिका सबै उत्रनुस् । यो उकालोपछि चढ्नुहोला ।' उत्रेर झन्डै डेढ सय मिटर हिलोमा हिँडियो । हलुका वषर्ा जारी छ । चिप्लो बाटोमा सबैका टर्चलाइटले काम पाएको थियो । 
टर्चको प्रकाश परेपछि बाटामा एउटा बोर्ड पढ्न पाइयो- खुला दिसामुक्त वडा । हुटबाट उत्रिएर पैदल हिँडेमध्येका एक अधवैंशे बोले, 'खै कसले लाउँछ र यस्ता बोर्ड लाउँछन् । मुक्त हो भने बाटामा सार्वजनिक शौचालय बनाउनु नि । मान्छेका ट्वाइलेट छिरे हपार्छन् । लु जा म त बाटामै सु गरिदिन्छु ।' उनलाई कसैले जवाफ दिएन । बरु 'सु' गर्न आधा दर्जन पुरुष यात्रुले साथ दिए ।
जिप चढेको एक किलोमिटर नपुग्दै खनाल फेरि उत्रिए र भने, 'लौ गाडी फँस्यो । सबै मिलेर ठेलौं ।' सडकमा परेको खाडलमा परेको जिप निस्कन सकेन । निस्कने प्रयासमा वातावरण डढेको टायरको गन्धमय बन्यो । आखिर सबै यात्रुले ओर्लेर ठेलेपछि बल्ल निस्कियो ।

***
गल्याङबाट चापाकोटको सडक दूरी २७ किलोमिटर हो । वषर्ामा यहाँको बाटो हेर्दा तिहारका देउसेले भन्ने गरेको 'रातोमाटो चिप्लो बाटो, आयौं हामी लड्दै पड्दै' यहाँ सार्थक देखिन्थ्यो । २०५२/५३ देखि यो रुटमा गाडी चल्न थाले पनि सडक सुधार कछुवा गतिमा रहेछ । बाटामा पर्ने चार खोलामध्ये बुङ्दीमा मात्रै सानो पुल छ । त्योबाहेक ढाडे, जोई र छिपे खोला धेरै पानी नआएसम्म गाडी मजाले वारपार गर्दा रहेछन् । पाल्पा सिमानाको स्याङ्जाली गाविस रत्नपुरसम्म पुग्नका लागि यो बाटोमा यात्रा गर्ने धेरै हुँदा रहेछन् । 'धेरै दुःख पानी परेका बेला मात्रै हो,' कुमालले बताए, 'गल्याङ नआई वालिङबाट पनि सोझै चापाकोट पुग्न सकिन्छ । तर, त्यो बाटो पानी परेका बेला गाडी कुद्दैनन् ।'

पहिलो, दोस्रो र तेस्रोपटकसम्म गाडीले हुटबाट उत्रन लगाएर हिँड्न र ठेल्न लगाएका पालोहरूमा यात्रु अभ्यस्त थिए । अजय र मैले पनि यो उपक्रममा साथ दिँदै अघि बढ्यौं । विपरीत दिशाबाट आएको ३०४६ नम्बरको जिपबाट चालक विनय विकले हाम्रा चालक अशोक कुमाललाई कराए, 'हुटका सबै मान्छे ठाउँ-ठाउँमा ओराल्दै लैजा है । नभए उत्तानो होलास्, सबै चित खालान् ।' कुमालले के भने हामीले स्पष्ट सुनेनौं । तर, विकको भनाइले यात्रा धेरै जोखिमको रहेछ भन्ने लाग्यो । त्यसपछि जिपले रोक्यो भने हामी माथिबाट कराउँथ्यौं, 'ओ गुरु ! हामी उत्रिनुपर्ने हो ?' कुनै ठाउँ उनी 'हो हो' भन्थे । कतै गाडीको करतल ध्वनिले बोले-बोलेनन् थाहा हुँदैनथ्यो । 
बजार क्षेत्रमा गाडीका हर्न, इन्जिन, बल परेका साइलेन्सरका आवाज र नाक पोल्ने धूवाँको सामना गर्नुपर्दा प्रतिक्रिया जनाइहाल्ने बानीको यहाँ सेखी झरेको थियो । मनमा लागिरहेथ्यो, 'जसरी होस् जति समय लगाएर होस् सुरक्षित पुर्‍याओस् । जान बची तो लाखों पाए ।' चढेको साढे ४ घन्टापछि राति १०:४५ बजे चापाकोटको बजार आइपुग्दा बल्ल मन शान्त भयो । उत्रेपछि थाहा पाइयो, बजारका सबै होटल-पसल बन्द भएको करिब तीन घन्टा भइसकेको छ । अब बास खोज्ने कसरी ? भोक पनि लागेको छ ।
अलमलमा रहेकै बेला हुटका सहयात्री डोटेल देखिए । उनले भने, 'अब तपाईंहरूले यहाँ बास पाउनुहुन्न । हिँड्नुस् बरु मेरै घर जाउँ । घन्चमञ्च बसौंला ।' उनको घर चापाकोटबाट पूर्व रत्नपुरमा रहेछ । चिप्लो बाटो र निकै तल ओर्लेर एउटा खोला तरेर जानुपर्ने । करिब आधा घन्टाको बाटो । उनको प्रस्ताव स्वीकार गर्नुको विकल्प पनि थिएन । झरीमा रुभmदै टर्च बालेर अजय र म उनका पछि लाग्यौं ।

(कान्तिपुर कोसेलीमा प्रकाशित २०६९ फाल्गुन ५ )

Monday, February 11, 2013

एउटा राम-कहानी


वाल्मीकिको रामायणमा सबै पात्र सबलांग छन् । वीरता, कौशल, प्रेम, भ्रातृत्व, कपट, अपहरण र राजपाठका विषयभित्र विभिन्न पात्र-परिस्थिति जेलिएको कथामा रामलाई दुःख पाएपनि सग्ला, धीर-वीर र मर्यादापुरुषोतम वर्णन गरिएको छ । तिनै रामायणका कथाबाट प्रेरित पुराना पुस्ताले छोराहरूका नाम राम राखेका हुँदा हुन् । प्राथमिक कक्षाका किताबमा अझै वाक्य पढ्न पाइन्छ- राम घर जान्छ । राम भात खान्छ । सजिलो नाम राम । 
कास्की जिल्लाको यात्राताका यो साता पोखराबाट करीव १२ किलोमिटर पश्चिम-उत्तर चिया घुम्तीमा एउटा राम भेटिए । यिनको कहानी हामीले पढ्दै-सुन्दै र अहिलेका बच्चा पुस्ताले कार्टुन च्यानलमा हेर्ने रामायणसँग तुलना गर्न मिल्दैन । तर, इच्छाशक्तिको भरमा जीवनको गाडी गुडाइरहेका यी पात्र मलाइ गजब लाग्यो ।

भीरकटेरोको घुम्तीमा आइपुगेको भरिया घुम्तीको पसलअघिल्तिर टक्क अडियो । पक्की कुलोको डीलैमा भारी बिसायो । टुक-टुक लठ्ठी बजाउदै कुनाको टेबलमा पुग्यो । बेञ्चमा बस्यो । र, साहुनीसग नास्ता माग्यो । चिउरा, ब्रोइलरको मासूसँगै एक गिलास मदिरा आइपुग्यो । मैलो ढाका टोपीले पसिना पुछयो । 
गिलास सुरुप्प पारेर नास्ता कपाकप खान थालेको केहीबेरपछि उसले थाहा पायो । एउटा आगन्तुक उसलाई हेरिरहेछ । 'लामो बाटो गलिन्छ । यो गिलासले दुखाइ बिर्साउछ', थोरै संकोच माने झै ऊ बोल्यो, 'नौलो मान्छेका अगाडि मैले खान हुँदैनथ्यो कि ! खाइहालियो । कस्तो अप्ठ्यारो ?' संवाददाताले उसका लागि न केही गरेको थियो, न त त्यसअघि भेट र चिनजान नै थियो । आफ्नै बलले गरिखाने व्यक्तिले संकोच मान्नुको कुनै खास अर्थ थिएन । चिनजान नै नभएको मान्छेका अगाडि आफ्ना रुटीन व्यर्थै किन बिथोलिन दिनु ?
०००
रामप्रसाद भण्डारी, वर्ष ४५ । नाम ठीकै हो । कदकाठी र अनुहारले उनको उमेर ५० नाघिसकेको भान गराउँथ्यो । उनले बोकेका भारीमा ब्रोइलर कुखुराका अण्डा रहेछन् । साहुनीले आफूलाई चाहिएको अण्डा राखिन् र, नास्ताको पैसा काटेर बाँकी उनका हात लाइदिइन् । हत्केलामा राखेर नोटका आकार अनुमान गरेपछि कति कतिका नोट हुन् भन्दै उनले मनैले चिनें र बोले- आज मेरो मापक (नाप्ने यन्त्र) छुटेछ । लौ हेर्नुस् यी पाँच सय, एक सय र पाँचका नोट हुन् नि ।' स्पर्शले उनको दृष्टिको काम गरेको देख्न पाउनु मेरा लागि एउटा अचम्म नै थियो ।
लाचोक गाविसको भीरकटेरो पोखरा-बाग्लुङ राजमार्गमा पर्ने हेम्जाको मिलन चोकदेखि ६ किलोमिटर उत्तरमा पर्छ । ओह्रालो बाटो मर्दी खोलाको पुल तरेपछि उकालिन्छ । बाटाबाट मर्दी दोभान अत्यास लाग्दो देखिन्छ । पुल पुग्नअघि एकातिर भीर, अर्कातिर पहरो । मुल पलाएर चिसो भइरहने बाटामा चिप्लिए टेक्ने-समाउने आड छैनन् । स्थानीयका शब्दमा कहाली लाग्दो भीरका बावजुद यो विकट होइन । दशकअघि बल्ल बाटो बन्यो । अहिले गाडी आउजाउ गर्छ ।
घाचोक-३ लम्सालथर टोलका भण्डारीलाई पसले साहुनी पार्वती अधिकारीले डेढ दशक अघिदेखि देखेकी हुन् । 'पहिले भारी बोक्थे, अहिले अण्डा बोक्छन्' उनले भनिन् 'खोइ यिनले आँखा देख्तैनन् भन्ने त लाग्दै लाग्दैन । सबै थाहा पाउँछन् ।' भीरकटेरोबाट भण्डारीले घर पुग्न दुइ/तीनवटा भीर छिचोलेर चार किलोमिटर घुम्ती र एउटा खोला पार गर्नुपर्छ ।   
०००
साताका प्रायः चार दिन झिसमिसेमै सुरु हुने उनको पैदल यात्रा झमक्क साँझ परेपछि थामिन्छ । हातमा सेतो छडी र ढाडमा डोकोजस्तो बनाइएको क्रेट राख्ने फलामे ढाचा बोकेर विहानै घरबाट निस्कने उनी अण्डा लिन पोखराको सिम्पाने आइपुग्छन् । ढाडमा भारी लगाएपछि बाटामा बेच्दै-बेच्दै घर पुग्दा रात छिप्पिसकेको हुन्छ । 'देख्नै नपाएपछि के रात के दिन', उनी भन्छन् 'कहिले सबै बिक्छ । बेलैमा घर पुग्छु । कहिले थोरै बिक्छ ढिलो पनि हुन्छ ।' 
रामका भाइ छन् । लक्ष्मण नामका । जुम्ल्याहा जन्मेकाले दुइको नाम यस्तो राखियो । 'त्यो अलि बाहिर फेर हिडेर म जसरी काम गर्न हिम्मत गर्दैन । अनि मभन्दा अलि लुते छ', उनले भने, 'म अलि तगडा छु । काम गरि खाको ज्यान । उमेरभन्दा अलि बुढो पो देखिन्छु कि क्या हो ?'
राम-लक्ष्मण १० वर्षको हुदा बुवा दिवंगत भए । दुइ दिदीमध्येकी सानी चाहि बोल्न र सुन्न नसक्ने । 'घरमा कहिलेकाही भीखमाङने आएका बेला आमा रुनु हुन्थ्यो,' रसाएर पोखिएका आँखा पुछ्दै उनले भने 'मेरा सन्तान पनि यसरी नै माङ्ने त हुने होलान नि भन्नुहुन्थ्यो । भएको दिइ पठाउनुहुन्थ्यो । हजूर ! म माङ्ने चाहि बनिनँ, गरिखाएको छु ।' राम-लक्ष्मण जन्मदै दृष्टिविहीन होइनन् । बाल्यकालका केही बर्ष विद्यालय पनि भर्ना भएका दुइ भाइको बिस्तारै दृष्टिशक्ति घट्दै आयो । लक्ष्मण कक्षा ३ बाट उक्लन सकेनन् । राम ७ कक्षापछि नसक्ने भए । 'के थोक हो भनेर मजाले खुट्याउन नसके पनि पछिसम्म आँखाले थोरै उज्यालो र अँध्यारो अनुभव गर्थ्यो', उनी भन्छन् 'अब त आँखाको भर छैन । भर पर्ने भनेको नाक, कान र हात-गोडा हुन् ।' 
०००
नजिकको ठूलो शहर पोखरा । गाउलाई शहर जोड्ने मोटरबाटो बनिसकेको थिएन । भरिया गाउमा सामान लैजान्थे । दुइ दाजुभाइले अस्पतालमा आँखा देखाएका पनि हुन् । चिकित्सकले ज्योति फर्कन नसक्ने बताए । हातमा सेतो छडी आइपुग्यो । रामले भारी बोक्न थाले । 'देख्नेहरूका बराबरी त के हुन्थ्यो, तैपनि भारी बोक्दा आम्दानी हुन्थ्यो',उनी भन्छन् 'तर, मलाई जहिल्यै राम्रो इलाज भए फेरि देख्न सकिन्छ भन्ने लागि राख्थ्यो ।' उनको अपेक्षा पुरा भएनन् । भण्डारी परिवारकी जेठी छोरी अर्थात् राम-लक्ष्मणकी ठुल्दिदी फरक थिइन् । उनलाई घरजम समस्या भएन । उनैका श्रीमान (भिनाजु) ले रामको विवाहका लागि पहल गरे । 
२० वर्षका भएपछि छिमेक गाउँ लाचोकका अधिकारीकी छोरीसग उनको जोडी लाग्यो । 'ऊ देख्छे, बोल्न-सुन्न सक्दिन, म देख्तिन तर, सुन्छु-बोल्छु', उनले भने, 'जीवन जसरी चलायो त्यसरी चल्दो रहेछ । हाम्रो छोरी जन्मिइ भने दुःख पाउँछे भन्ने लागिराख्थ्यो । धन्य  छोरी भइन ।' दुइ भाइ छोरा भए । 
अहिले उनका ज्योति भएर साथ दिनुपर्ने १९ र २३ वर्ष उमेरका दुवै छोरालाई आँखाकै समस्या छ । घरजम गरिदिएका जेठा छोराका दुइ छोरी छन् । 'जेठोले मजस्तै देख्तैन, कान्छाको आँखा पनि अहिले धमिलो भएर आएको छ', उनले भने, 'भाई बेग्लै बस्छ । बुहारीको बोली लटलट छ । उनीहरूका सन्तानमा ७ वर्षको छोराले बोलेको बुझिदैन । ४ वर्षकी उसकी छोरी पनि त्यस्तै छे ।' 
०००
आफ्नो कहानी भन्दाभन्दै राम मौन हुन्छन् । निकैबेरपछि बोल्छन् 'खै, भाग्य पनि कस्तो कस्तो लेख्छ विधिले ।' २०५० देखि भरियाको दैनिकी गुजारेका रामको पेशा २०५६ मा मोटरबाटो बनेपछि खोसियो । केही वर्ष गाउँमै उनले उद्यमको पेशा गरि हेरे । 'अन्धालाई कुनै तालिममा सहभागी नगराउने रहेछन्', उनले भने 'मैले बल गरेरै मुडा बुन्ने, मैनबत्ती बनाउने तालिम लिए । काम पनि गरि हेरें । म राम्रो बुन्छु मुडा ।' 
फरक क्षमता भएकाहरूका बारेमा सोधीखोजी गर्न आएकाहरू रामलाई खोज्छन् । उनले आफ्नो गाउँमा अपांग कति छन् भनेर सूची पनि तयार पारेका छन् । भन्छन् '१ सय २० जना अपांग छन् घाचोकमा । तिनमा दृष्टिहीनको संख्या १० छ ।'
घरेलु उद्यमले गुजारा गाह्रो भएपछि उनले चार वर्ष अघिदेखि भरियास्वरुपको अर्को काम थाले- अण्डा व्यापार । पोखराको सिम्पानेस्थित सरोज भट्टराइ फ्रेश हाउसबाट उनी खरिद गर्छन् । बेच्दै-बेच्दै उकालो-ओह्रालो १६ किलोमिटरको बाटो छिचोल्छन् । 'एकपल्ट म गण्डकीमा खसें, झण्डै बगायो', उनी विगत सम्झन्छन् 'एकपल्ट लस्ती खोलाको फलामे पुलबाट भारीसँगै झरे । आधाभन्दा बढि अण्डा फुटेछन् । कसैले विचरा भनेनन् ।' कसैले विचरा नभन्दा काम गर्ने इच्छाशक्ति दृढ हुने उनको अनुभव छ । डोकोमा बोकेर बेच्न हिडदा धेरै फुट्न थालेपछि उनलाई थाहा भयो -'फलामे क्यारियर बनाएर बोक्नुपर्ने रहेछ ।'
उनले बेच्न थालेभन्दा अहिले अण्डाको मूल्य थोक खरिदमै बढेको छ । एक सीटमा १० वटा हुन्छन् । सिम्पानेबाट घाचोकसम्म पुग्दा दिनभरिमा २१ सीट बिक्री भए नाफा ४ सय २० रूपैयाँ । 'विहान भात खाइँदैन, १ सय २० नास्तामा खर्च हुन्छ, बेलुका भात खान घर पुगिहाल्छु', उनी भन्छन् 'तपाइ आँखा चिम्म गर्नुस् । भारी बोकेर अलिकति हिडिहेर्नुस् । सक्नुहुन्छ ? मैले सकेको छु, जिन्दगी चलाउँदा जसरी पनि चल्दो रहेछ ।' आखाको ज्योति नभएकाहरूले बाँच्नका लागि इच्छाशक्ति मजबुत पार्नुपर्ने बताएका उनको घडी बोल्यो 'टू ओ क्लक ।' पसलबाट उठे । भारी बोके र, अघि बढ्दै आवाज लगाए- 'अण्डा राख्नुहुन्छ अण्डा ?'
(२० माघ २०६९ मा कान्तिपुरको कोसेलीमा प्रकाशित) 

Friday, January 4, 2013

नावालक र नियति


भिभावकलाई केही भइहाले बच्चाहरूको बिजोक हुन्छ । यस्ता घटना देख्न सुन्न नपरोस भन्दाभन्दै पनि नजिकबाट हेर्न र कुरा गर्नै पर्ने बाध्यता आइलाग्छन् । सञ्चारकर्मीका जीवनमा यो स्वभाविक पनि हो । हरेक खबरका पछि कारण हुन्छन् । सधै 'ब्याड न्युज इज गुड न्युज' भन्ने मलाइ लाग्दैन । त्यसैले तटस्थ विषयहरूको खोजी मेरा लागि मनलाग्दा काम हुन् । अधिकांश ब्याड न्युज अखबारका लागि गुड न्युज हुन्छ । तर, लेख्नुको ध्येय समाचार छाप्नु मात्र हुदैन । 
त्यसका कारकहरूको निदान र वर्तमान समस्याको सरल समाधान खोज्न सम्बद्ध सबैको ध्यान जाओस् भन्ने उदेश्य रहन्छ । हिजो विहीवार बन्धु पोखरेल भाइले सप्तरीको महुलीमा मारिएका दम्पतिका छोराछोरी विराटनगरको मधुमारामा ल्याइएको सुनाए । भेट्न जान मन लाग्यो । पुगियो र उनीहरूसँगका कुरा लेखियो । डम्बर र कौशल्या भट्टराइका हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरूको अवसानपछि तीन सन्तानको भविष्य अन्यौलमा छ । सानो केटो बडो मजाले बोल्दो रहेछ । मीठो कुरा गर्दो रहेछ । टाठा केटाकेटी । माया लाग्दा अनुहार । डम्बरका ८६ वर्षीय पिताजी जीवितै रहेछन् । माहिलो दिल्ली जाने भनेर हराएको, कान्छाको छोरा बुहारी नै मारिएको घटनाले उनी शोकमग्न भेटिए । समाचार कान्तिपुरले आज ५ नम्बर पानामा छापेको छ । यो यस्तो छ .....

'गरिबीले छोरा-बुहारीको ज्यान गयो'

विराटनगर, पुस २० - तीन अबोधका त्रसित आँखाहरूमा आँसु सुकिसकेको छैन । तैपनि कर्म चलाउनैपर्ने संस्कार । कुशको जनै लगाइदिई १३ वर्षका जेठा छोरा दीपेशलाई किरियामा राखिएको छ ।
आमा-बुवालाई कोसी किनारमा सेलाइएपछि बडाबुवाको गौशालामा ल्याइएका ११ वर्षीया दीपिका र सात वर्षका दीपेश अझै स्कुले पोसाकमै छन् । गत सोमबार राति सप्तरीको महुली खोला किनारमा पर्ने जन्डौल ८ मा अज्ञात समूहले डम्बर भट्टराई र पत्नी कौशल्याको हत्या गरेको थियो । घटनापछि उनीहरूका तीन सन्तान विराटनगरको मधुमारा बस्ने बडीबुवा भक्तिप्रसाद भट्टराईले आफूकहाँ ल्याएका छन् । भक्तिप्रसाद र डम्बर दाजुभाइका छोरा हुन् । 'घटना भैगो । ठूलो छोरोको व्रतबन्ध पनि भएको थिएन,' भक्तिप्रसादले भने, 'कुशको जनै बनाएर विधि गरी किरियामा बसाएका छौं ।'
बालबालिकाको भविष्यको चिन्ता पनि थपिएको छ । घटनापछि महुली खोला किनारको बस्तीका चार घर विस्थापित भएको र दोषी पत्ता लगाउन माग भइरहेको समाचार आइरहँदा भक्तिप्रसादलाई 'नानीहरू एउटा-एउटा पढाइदिने,' आश्वासनका फोन कलहरू आइरहेका थिए । उनी मधुमारामा करिब दर्जन गाई पालेर दूध र मल बेच्ने गौशाला चलाउँछन् । अहिले नाबालकहरूको अस्थायी बास गौशालाकै एउटा कोठामा भएको छ । घटनाको रातका बारेमा बताउँदै अबोधहरू भावुक हुन्छन् । स्थानीय नहरको पक्की पाले घरसँगै डम्बरको घर थियो । त्यो रात छोराछोरीलाई पाले घरमा सुताएर भट्टराई दम्पती गोठमा सुतेका थिए । 'गाई बाछा चोरले लगिदेला भनेर गोठमा सुत्नुभएको थियो,' दीपेशले भने, 'एक हूल मान्छे आए । हाम्रो आँगनमा बलेको बत्ती फुटाए । हामी सुतेको कोठाको चुकुल बाहिरबाट लगाइदिए ।' उनीहरूले समात्दा भाग्न खोजेका डम्बरलाई कुट्दै आँगनमा लछारपछार पारे । 'गुहार' भन्दै चिच्याउन थालेकी कौशल्याको घाँटीमा गम्छा बेरेर लडाए । 'बत्ती फुटाएपछि बाहिर अँध्यारो थियो, तैपनि दुलोबाट भाइ र मैले चिहायौं,' उनले भने, 'उल्टा बाँध उल्टा भनेको सुनेँ ।' दुवैको हत्यापछि अबोधहरू भएको कोठाको चुकुल खोलिदिएर हत्याराको समूह हिँडेको थियो । अबोधहरू धेरै बेर त्रासले बाहिर निस्कन सकेनन् ।
भट्टराई परिवारमाथिको यो दोस्रो आक्रमण थियो । दुई वर्षअघि लुटेराको एउटा समूहले दुवैलाई आक्रमण गरी मोबाइल र नगद लुटी लगेका थिए । जाँदाजाँदै उनीहरूले 'फेरि आउँछौं' भन्दै गएका थिए । त्यस बेला डम्बरको अनुहार र कौशल्याको हातमा गहिरो चोट लागेको थियो । भक्तिसँगै रहेका डम्बरका ८६ वषर्ीय पिता पशुपति भट्टराई भन्छन्, 'यो गरिबीले गरेको हत्या हो । गरिबलाई जहाँ गए पनि सुख छैन ।' उनका अनुसार खोटाङको बतासेबाट झरेर झापाको दमक पुगेको परिवारमा जग्गा अधिग्रहणले गरिबीको रेखा कोर्‍यो । पाँच दशकअघि हिमालयन टी स्टेट बनाउन तत्कालीन अञ्चलाधीशले 'पछि मुआब्जा दिलाइदिने' भन्दै १३ बिघा जमिन अधिग्रहणमा पारेर विस्थापित गराए । 'हामीले जमिन पाएनौं, बसाइँ हिँड्दै छोराहरू कता कता पुगे । जेठो काठमाडौं लागे । माहिला 'काम गर्न दिल्ली जान्छु' भनेर हिँडेपछि फर्किएनन् । कान्छा डम्बर सप्तरीको जन्डौलमा जंगल छेउ बस्न पुगे,' पशुपतिले भने । वृद्धावस्थामा नातिनातिनाको बिजोक असह्य भइरहेको उनले बताए । डम्बर र कौशल्याको किरियापछि सन्तानको के हुने भन्ने टुंगो छैन । भक्तिप्रसाद भन्छन्, 'आफ्ना रगत हुन् । त्यसै कसैलाई जिम्मा लगाउने कुरा आउँदैन ।'