Sunday, May 26, 2013

त्यो केटो

एउटा फोन आयो । उताबाट भनियो 'मैले मेरो छोरालाई सात वर्षदेखि सिक्रीमा बाँधेर राखेको छु । हेर्न आइदिनुस्न् ।' क्रुर खबर सुनाउने आवाज नरम र मलिन थियो । उनलाई कहाँ किन कसरी सोध्दै गएँ । उनले बताउँदै गए । तत्काल आउन नसकिने जवाफ मैले दिए । कारण, साँझ साढे चार बज्दै थियो । विराटचोक पुग्नु पर्ने । पुगेर फिरेर आउँदा त्यही दिन समाचार लेखी पठाउन सम्भव होला भन्ने लागेन । भोली आउने सहमतिमा कुरा सिध्याइयो । 
कथा यस्तो थियो- सिक्री लगाएर बाँधेर राखिएको भनिएको उनको १२ वर्षको छोरो छ । चार वर्षको उमेरदेखि उसको मानसिक सन्तुलन गुम्यो । सकेजति उपचार लाइयो । खर्च सकियो । परिवार धान्न गाह्रो भयो । सिक्री खुल्यो कि केटो वेपत्ता हुन्छ । उसलाई एकजनाले कडा निगरानीमा राख्नु पर्छ । सञ्चारमाध्यममा यस्ता खबर आइरहन्छन् । यदि उनको खबर छापिने हो भने उनका लागि उपचारमा सहयोग गर्ने दाता वा सहयोगी जुट्लान् भन्ने आशा ।  
सञ्चारमाध्यममा खबर छापिदैमा सबैले उपचार पाउलान् वा सहयोगी जुट्लान् भन्ने म पत्याउँदिन । कारण, दशक लामो पत्रकारितामा मैले यस्ता अनुभव पनि गर्न पाएको छु । खबर छापिएर मात्रै सहयोगी जुट्ने होइनन् । तर, मैले ती पितालाई निराश पार्न चाहिन । उनलाई भने 'भोली सकभर म तपाइको घर आउँछु । हेर्छु । अनिमात्र खबर लेख्छु है ।' परोपकारी कामका लागि पत्रकारिताको उपयोग बडा गजब हुन्छ । आफूले लेखेपछि ती पात्रले सहयोग पाएको खबरले अर्कै प्रकारको आनन्द दिन्छ । एउटा चलचित्र हिट हुनका लागि जसरी निर्माणमा खटिएका सबै पक्षको इमान्दार र सिर्जनशील प्रयास आवश्यक छ, उति नै अन्तिम बिन्दु रिलिजको सही समयमा पनि भर गर्छ । 
पत्रकारिताभित्र पनि अनेकन यस्ता पक्षको सही संयोजन भएमात्रै एउटा खबर तुलनात्मक रुपमा परोपकारी ठहर हुन सक्छ । मैले काम गर्ने अखबारले एकपटक हामीलाई एउटा सर्कुलर गर्‍यो -उपचारको खोजीमा र  दाता पर्खदै... जस्ता खबर आइन्दा पाठकपत्रको ठाउँमा छापिने गरि मात्रै पठाउनु । हुन पनि दिनदिनै यस्ता खबर भरमार हुन थालेपछि यो एउटा विकल्प पनि थियो । हामीले सर्कुलर फलो नगर्ने कुरा भएन । तैपनि बेलाबखत यस्ता खबर हुन्छन् जो ती पाठकपत्रको कोलमभन्दा अन्त छापिँदा प्रभावकारी हुन्छन् । हामी त्यसको अवस्था र महत्व अनुमान गरेर समाचारको आकारमा लेख्छौ । कतिपय मज्जाले छापिन्छ । मान्छेको उद्धार हुन्छ । कतिपय माघ १६ हुन्छन् । माघ १६ भनेको शहीद दिवस हो । शहीद हुन्छन् भन्न खोजेको ।
डेस्क जहिल्यै हतारमा काम गर्छ । कतिपल्ट महत्वका समाचार सम्बद्ध संवाददाताले फोन गरेर भनिदिए उचित ठाउँ पाउन योग्य बन्छ । धेरैपल्ट डेस्क आफैले त्यसको महत्व निर्धारण गर्छ । संवाददाताले सरप्राइज पाउँछन् । छापिए -फोनका फोन र खुशी । नछापिए सम्बद्ध पात्रका गुनासाका फोन ।
ती ट्राफीक हवल्दार 
परोपकारी समाचारको सन्दर्भ आउँदा जहिले पनि मेरो मगजमा ती ट्राफीक हवल्दारको चित्र आउँछ । अहिले मैले झट्ट उनको नाउँ सम्झन सकिरहेको छैन । म सुनसरीको इनरुवा बसेर रिपोर्टिङ गर्थें । २०५८ सालको कुनै महिना हो । एक हुल उनका आफन्त मेरो डेरामा आए । इनरुवा महेन्द्रचोक बसोबास रहेका ती हवल्दार राजधानीको कुनै प्रहरी अस्पतालमा उपचाररत थिए । दुवै मिर्गौला काम गर्न छाडेपछि उनी असक्त थिए । राजधानीको अस्पतालमा रहेका विरामीका कुरा इनरुवा बसेर आफन्तको भनाइलाई आधार बनाएर लेख्न उचित लागेन । मैले उनीहरुलाई काठमाडौं कार्यालयमा सम्पर्क गर्न भनें । त्यहाँका फोन नम्बर र भेटन पर्ने मान्छेबारे बताइदिएँ । उनीहरुले के गरे मेरो जानकारीमा आउन सकेन ।
उपचारमा हवल्दारलाई उनको विभागले उनले पाउने जागिरको हिसाबबाट उपचारका लागि सहयोग गरेको रहेछ । रोगका कारण जागिर गयो, उनी पुनः काममा फर्कन सक्ने अवस्था भएन । परिवारमा श्रीमति र साना दुइ छोराछोरी छन् । ती आफन्तहरु करीव आठ महिनापछि फेरि मलाई उसैगरि भेट्न आए । हवल्दारलाई घर ल्याइएछ । उनको संचयकोषको पैसा सकिएछ । धरानको वीपी प्रतिष्ठानमा सातापिच्छे डाइलासिस गराइदो रहेछ । उनीहरुले काठमाडौंमा पत्रकार भेटे अरे । तैपनि खबर छापिएन अरे । यसपटक उनीहरुले मबाट ठूलो अपेक्षा गरेका थिए ।
माओवादीको सशस्त्र द्वन्द्वको समय थियो । त्यसै पनि राज्यका सिपाहीहरूका व्यक्तिगत दुःखका खबर लोकप्रिय थिएनन् । तैपनि आस राखेकाहरुलाई पत्रकारले कसरी निराश पार्ने ? हाम्रा लागि प्रहरी हुन् , सर्वसाधारण वा द्वन्द्वरत पक्ष, सबैलाई गुणदोष केलाएर खबर हुन सक्ने कुरा खबर ल्याउनु पर्ने । उनको अवस्था बुझियो । खबर लेखियो । छापियो पनि । 
समाचारका प्रतिक्रिया मैले पाउन सकिन । अरु खबरका पछि दौड्दा दौड्दै ती हवल्दारका कुरा मगजबाट धमिला भए । भनौ, बिर्सिएछु । करीव तीन महिनापछि उनका एक आफन्तसँग भेट भयो । ती उनै थिए-जो पहिलोपटक मेरो डेरामा आएर परोपकारी खबर लेखिदिन आग्रह गरेका थिए । दोस्रो भेटमा उनले नै ती परिवारको नजिक पुर्‍याएका थिए । मैले सोधें 'ती हवल्दारको के छ खबर ?' उनले बताए । समाचार छापिए पनि कतैबाट सहयोग जुटेन । उनको देहान्त भएको एक महिना भएछ । खबर छापिएर पढ्न पाएका उनी कतैबाट सहयोग नआउँदा झनै निराश थिए रे । 
मान्छेलाई परेका आपतमा लेखिएका धेरै समाचार छन् । उनीहरुले सहयोगी हात पाएको अवस्था पनि छ । तर, मेरो बानी जस जसको उद्धार हुन्छ तिनलाई बिर्सन्छु । कारण, समाचारको उदेश्य पुरा भएपछि त्यसलाई आवश्यकताअनुसार फलोअप गर्ने हो । अन्यथा उनीहरु आफ्नो जीवन बाँच्छन् । किन हामीले बिथोल्ने - त्यो घटनाको करीव १३ वर्षपछि अर्को एउटा घटना त्यस्तै भयो ।  
विराटनगरमा एकजना पिताले पत्रकार सम्मेलन गरे । उनका तीन छोरा । तीनै भाइका मिर्गौला फेलीयर भएछन् । उपचार सुरु गर्दा गर्दै जेठो दिवंगत भएछ । कान्छोलाई आमाले दिएको एउटा मृगौला प्रत्यारोपण भएछ । माहिलालाई बुढा आफै दिन चाहन्थे । पैसा थिएन । अफिस आएर समाचार लेखियो । प्रथम पृष्ठमा एङ्करको ठाउँमा समाचार छापिएर आयो । भण्डारी परिवारले वीर अस्पतालमा उपचार चलाइरहेको थियो । राजधानीमा डेरा बसेर । मृगौला प्रत्यारोपण गरेका कान्छा पनि तंग्रिइसकेका थिएनन् । यता घरखेत बेचेर सुकुम्वासी हुने स्थिति आएको बुढाले बताएका थिए । गाउलेले उनीहरुका लागि सहयोग संकलन गरेपनि त्यो मनग्गे भएको थिएन । 
फोन आयो । नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्यालले भने 'मेरो एक जना मित्रले १० हजार उनीहरुलाई सहयोग गर्छु भन्नु भएको छ । बैंक खाता नम्बर चाहियो । उनी प्रचार चाहने मान्छे होइनन् ।' ठीकै छ सहयोगी यसरी नै भेटिने हुन् । मैले बैंक खाता र फोन नम्बर पठाइदिएँ । पैसो खातामा आइपुगेछ । दोस्रो दिन साँझ त्यसबेलाका सभासद मोती दुगडले फोन गरे । खबर पढेर आफूलाई एकदमै माया लागेको बताएका उनले सहयोगको इच्छा देखाए । मैले बुढा मान्छेलाई विराटनगर बोलाएँ । दुगडलाई उनकै भनाइअनुसार नव नेपाल निर्माण पार्टीको अफिसमा भेट गराइदिएँ । 
उपचारका सबै कागजात देखाए आफू अब हुने प्रत्यारोपणको खर्च जुटाइदिन तयार रहेको दुगडले बताए । खाँचो परेको मान्छे र दातालाई प्रत्यक्ष भेट गराइदिएपछि मेरो काम सकिएको थियो । त्यसको करीव २० दिनपछि दुगडले कोशीअञ्चल अस्पतालमा एउटा भेला बोलाए । उनको नयाँ पाटीले अस्पताल सफाइ गरे जस्तो गर्‍यो । दुगडले आफै वार्डमा गएर कुचो लाएजस्तो गरेको समाचार पत्रिकामा आयो । उनले बाहिर भेला बोलाएर टेलिभिजनकर्मीका क्यामेरा अघि आउन भण्डारी बुढालाई पनि अघि लगाए । उनको कारुणीक अवस्थाको बयान गर्दै सक्दो सहयोग छिटै दिने भाषण गरे । खुशी लाग्यो, परोपकारी समाचारले काम गरेछ भनेर ।
तर, अलिपछि बुढाका नजिक एक मित्रले सुनाए । दुगडले सहयोग गरेनछन् । धेरै कुदाएछन् । आश्वासन दिएछन् । दिन्छु भनेको कुरा दिएनछन् । खबर दुखद थियो । ज्यान जोगिएन । यस्तो परिरहन्छ । मान्छेहरु सस्तो लोकप्रियता चाहन्छन् । टिभी, रेडियो र अखबारमा आफुलाई परोपकारी भनाउन चाहने जमात ठूलो छ । गर्नेहरू प्रचार खोज्दैनन् । सहयोगको खाँचोमा रहेकाहरुको खबर लेख्नुपर्दाका तीता अनुभव करीव आधा दर्जन होलान् । ती सबै सम्झँदा कसैलाई निरीह देखाएर अरुबाट दयाको आश गर्ने खबर किन पो लेख्नु परेको होला भन्ने लागिराख्छ । तर, काम त गर्नै पर्छ । यस्ता खबर अघिपछि छन् । 
सिक्रीका कुरा 
गन्थन निकै लामो भएछ । अब फिरौं अधिकारीका छोरातिर । उनको घर पुगियो । काठको टाडे घरको बरण्डामा मास्तिर १२ वर्षको केटो एकटकले तल हेर्दै गरेको देखियो । हामी पुग्दा ऊ नाङ्गै थियो । पहेलो हाफपेन्ट भुइँमा लत्रिएको थियो । बाउसँग ऊ डराएको देखियो । आमाले माया गरेर उसलाई हाफपेन्ट लगाइदिइन । ऊ मान्छे जस्तो देखियो ।
हेर्दा ऊ आवरणले केही असामान्य छैन । तुलसीप्रसाद अधिकारी भगोडा प्रहरी रहेछन् । माओवादी द्वन्द्वको समय जागिर छाडेर भागेछन् । पहिलो सन्तानको खुशी जुम्ल्याहा छोरा । मनस्थिति बिग्रिएका छोरा प्रवीण जुम्ल्याहामध्येका जेठा रहेछन् । जुम्ल्याहा अढाइ वर्षका भएपछि तुलसी रोजगारीका लागि मलेशिया गए । चार वर्षपछि फर्कदा एउटा छोरा यस्तो अवस्थामा भेटे । तीन वर्षमा नर्सरी कक्षामा भर्ना भएका प्रवीणलाई स्कुलले सम्हाल्न नसक्ने भन्दै आमाको जिम्मा लगाएछ । पहिलो चरण लागू लागेको भनेर झारफुक । त्यसपछि डाक्टरी उपचार । तर, बालक समान्य अवस्थामा फिरेनन् । 
खुला भए भागिहाल्ने । हराइहाल्ने । खानेकुरा खोसेर खाने । कसैलाई नचिन्ने । नबोल्ने । टोक्ने चिच्याउने । यस्तो भएपछि दिनभरि बाधेर राख्न थालेको सात वर्ष भएछ । गाउँमा कार्यक्रमका लागि आएका बेला तुलसीले एमाले नेता माधवकुमार नेपाललाई काठमाडौंको मानसिक अस्पतालमा उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेछन् । सकारात्मक जवाफ दिए पनि पहल भएन । अन्ततः उनले पत्रकारलाई फोन गरे । हामी तीनजना साथीहरु उनको घर पुगेका हौं । मैले समाचार लेखें । दुइ दिन रोकियो । तेस्रो दिन काठमाण्डु पोष्टको चौथो पानामा छापियो । तुलसी अझै फोन गर्दैछन् । म भन्छु 'मैले लेखेर पठाउने हो । समाचार हाल्ने नहाल्ने निर्णय काठमाडौंमा हाम्रो डेस्कले गर्छ ।' नेपाली भाषामा समाचार छापिएर आएको छैन । हजारौं समाचारको भीडमा तुलसीजस्ता बाबुको समाचार हराउन पनि सक्छ । आउन पनि सक्छ । छापिएर आएको अंग्रेजी उनले र सहयोगीले पढेनन् शायद ।
मापदण्डको अलमल
परोपकारी पत्रकारिताभित्रका विरोधाभाससग पटक पटक साक्षात्कार हुन मिल्छ । बेला बेला म बुझदिन काठमाडौं के चाहन्छ ! ऊ जे चाहन्छ त्यही बेच्छ । हामी मुखपृष्ठमा छापिएका खबरमा प्रतिक्रिया दिन हतार गर्छौं । खबर त अरु पृष्ठका पनि प्रभावकारी नै हुन्छन् । ध्यान हट्छ कहिलेकाही त्यो मुखपृष्ठको भाषाको मापदण्ड के हो ? 
खाल्डो बाहिर सञ्चारकर्मी एउटा भावना बोकेर काम गर्दो रहेछ । पठाएको समाचार छापिएर आयो भने फेरि काममा जुट्न नया उर्जा पाएको अनुभव हुने । छापिएन भने त्यो जोश जुटाउन समय लाग्छ । एक-दुइ खबर छापिएनन् भनेर हात बाँधेर बस्ने कुरा भएन । डेस्क हेर्ने वा केन्द्रमा बसेर काम गर्नेहरु आफ्नो समाचारको महत्व र लेखाइको धारबारे छलफल चलाउन सक्छन् । उनीहरुलाई कुन खबर कसरी कुन पेजमा हाल्ने भन्ने धेरैपल्ट पहिल्यै थाहा हुन्छ । 
त्यसैले परोपकारी पत्रकारिता काठमाडौंले मात्रै गर्न सजिलो छ । बाहिरका संवाददाता दयाका पात्र बनेर काम गर्नुपर्छ । एउटा खबर सम्झन्छु - पोहोर पूर्वाञ्चल ग्रामीण विकास बैंकमा ऋणी महिलाले डेढ साता धर्ना दिए । उनीहरूले विराटनगरस्थित उक्त बैंकको केन्द्रीय कार्यालय अगाडि खाना पकाएर खाए । भूइँमै सुते । उनीहरुले आफूले लिएको ऋण मिनाहा हुनुपर्ने माग राखेका थिए । उक्त बैंकले महिलालाई व्यवसायका लागि बढिमा ३० हजारसम्म सामुहिक जमानीमा ऋण दिने काम गर्छ । 
माओवादीले सत्ता चलाएपछि कृषि विकास बैंकबाट ३० हजार मुनि ऋण लिने सबैको मिनाहा घोषणा गरेको थियो । महिलाको भनाइ थियो -हामीलाई माओवादीले ऋण तिर्न दिएनन् । भन्थे- 'तिर्नुपर्दैन । हाम्रो सत्तामा सबै मिनाहा हुन्छ ।' उनीहरुले ठाउँ ठाउँमा महिलाबाट संकलित किस्ता लुटे । शाखा सार्न बाध्य पारे । कतै कागजात नै जलाइदिए । धेरै महिलाले उनीहरुको भनाइमा लागेर ऋण तिरेनन् । बैंकले हिसाब गर्न छाडेन । ब्याजको स्याज बढ्दै गयो । अब तिर्न सजिलो रहेन । उनीहरु मिनाहाको माग राखेर आन्दोलनमा उत्रिए । मुलुक आन्दोलनको मात्र भाषा बुझछ भन्ने ठानेकाहरूलाई सरकारले साथ दिएन । बैंकले मिनाहा नहुने स्पष्ट पार्‍यो । 
साता बितेपछि खबर लेखियो । छापिएन । पछि डेस्कका एकजना मित्रले सुनाए -त्यो खबर राम्रै थियो । तर, यहाँ त्यसलाई नछाप्ने सल्लाह भयो । कारण- त्यसरी ऋण लिएर नतिर्ने । उल्टै धर्ना र आन्दोलन गर्नेका कुरा छाप्दै जाने हो भने अराजकता बढ्छ । अरु बैंकका ऋणीहरुको पनि त्यस्तो मनशायलाई बल पुग्छ । 
तर्कमा दम छ । तर, तर्कले व्यवहार चल्दैन । उनीहरुले अहिले पनि धर्ना, पत्रकार सम्मेलन गरिरहन्छन् । म कार्यक्रममै जान्न । भनिन्छ-मान्छेलाई असर परेका कुरा समाचार हुन् । समाचारमा सन्तुलन चाहिन्छ । उचित तर्क चाहिन्छ । बेला बेला बुझन गाह्रो पर्छ काठमाडौं के चाहन्छ ? 
समाचार संतुलित हुनुपर्छ । पक्ष विपक्षका भनाइ र तथ्य समेटिनु पर्छ । भाषाका मापदण्डलाई हरेकले विवेकअनुसार बल गरेकै हुन्छन् । विवेक नपुगेका ठाउँका लागि डेस्कमा दिग्गजहरू बसेकै हुन्छन् । हरेक समाचारका महत्व एउटा संवाददाताले आफ्नो सम्पादन मण्डललाई जानकारी गराइरहनु उचित हुँदैन । कारण-हरेक समाचार यस्तो उस्तो भनिरहने हो भने कतिको गरेर सक्नु ! दिनहु समाचार लेख्नेहरुले डेस्कले सोधेको वा अपुग कुरामा आएका फोनको मात्रै जवाफ दिने हो । 
कुनै समाचारका बारेमा बढि महत्व दिएर डेस्कलाई भनिरहँदा संवाददाताको व्यक्तिगत रुचीमाथि प्रश्न पनि उठ्न सक्छ । त्यसैले समाचारको महत्व र त्यसका लागि उपयुक्त स्थानको निर्णय डेस्ककै जिम्मामा छाडिनुपर्छ । तथ्यगत त्रुटी बाहेक बान्की मिलेका खबरमा पनि राजधानीको रुची कसरी ख्याल राख्ने होला ? कसरी छुट्छ । कसरी चुक्छ । अलमल हुन्छ कहिलेकाही । लाग्छ, समाचारको भाषा लेख्ने बानी पो छुटेको हो कि ! फेरि ती तुलसी अधिकारीजस्ताको फोन आउँछ । फोन आउँदै गरोस् ऊ केही दिनमा थाक्नेछ । फोन गर्न छाड्नेछ ।
थोरै अप्डेट- ३१ जेठ
सिक्रीमा बाँधेर राखिएका बालकको समाचारलाई पुनर्लेखन गरियो । यसपटक काठमाण्डु पोष्टमा छापिएभन्दा अलि धेरै सूचना समेटेर तयार पारियो । समाचार नछापिनु मेरो दोष थिएन । तर, सहयोगी हात कुरेर बसेको परिवारलाई भेटेर फिरेपछि उनीहरूका कुरा नेपाली भाषाको छापामा ल्याउन नसक्नु मैले आफ्नो दोष छैन भनेर पन्छिने मेलो गर्न मिल्ने कुरा थिएन ।

मेरो अफिसको विराटनगर व्यूरो संयोजक माधव घिमिरे र काठमाडौंको जिल्ला संयोजक खिम घलेसँग सल्लाह गरें । दुवैले समाचार नछापिनु पर्ने कारण नभएको बताएपछि पहिले पठाएकै लेखोट आउनु पर्छ भन्ने बल गरिन । नयाँ लेखियो । फेरि पठाइयो । कान्तिपुरले २६ जेठमा समाचार भित्री पृष्ठमा छाप्यो । आज म थोरै अप्डेट लेख्न बस्दा टेबलमा काठमाण्डु पोष्टको ओपएड पेज पल्टाएको छु । यसमा जगन्नाथ लामिछानेको आर्टिकल छापिएको छ । जगन्नाथजीले समटेका तथ्य बृहत छ ।
केही साताअघि युनिसेफले सार्वजनिक गरेको बालबालिका र अपांगताको प्रतिवेदनको चर्चाबाट सुरु भएको जगन्नाथजीको लेखाइले प्रवीणलाई सहयोग गरिनुपर्ने तथ्यमा बल दिएको छ । हिजो र आज मैले दुइवटा फोन कल पनि रिसिभ गर्न पाए । दुवै कलमा फोन गर्नेहरू प्रवीणको परिवारलाई सहयोग गर्न इच्छुक रहेको कुरा थियो । आज आएको फोनमा मैले फोनकर्तालाई 'सकिन्छ भने मानसिक अस्पतालमा भर्नाको व्यवस्था मिलाउँ' भन्ने आग्रह गरें ।
हामीले गर्ने योभन्दा अर्थोक के छ र ! 

1 comment:

Nirajan Thapa said...

सारै सरल अनि मर्मस्पर्शी लेख । पढ्दा पढ्दै सकिएको थाहा भएन ।