अघिल्लो साता विराटनगरमा भएको एउटा साहित्यिक कार्यक्रममा मैले कविहरूको जमातलाई सोधेको थिएँ- जो मान्छे सग्लो छ, हातगोडा गरिखान सक्ने छन्,आम्दानीको स्तर र परिवार राम्रो छ, परिवारका सबैले सुख दिएका छन्, त्यस्ता मान्छेले पीडाबोध कसरी गर्न सकेको हो ? लेख्न कसरी कहाँबाट त्यो पीडा ल्याउने हुन् ?
कवि मनु मञ्जिलले कलात्मक उत्तर फर्काएका थिए। भनेका थिए - 'भीमजी आफैं लेख्नुहुन्छ। कविता बुझ्नु हुन्छ। के भनिरहनु ! कवि अथवा लेखक संवेदनशील हुन्छन्। अर्काको पीडा महसुस गर्न सक्छन्। लेखाइमा तिनै कुरा सिर्जनशील भएर पोखिन्छ।'
मलाई यस्ता कुराले कहिलेकाही अचम्म लाग्छ। इम्तियाज अलीको फिल्म 'रकस्टार' मा नायकलाई कलेजको क्यान्टिनवाला पात्रले भनेको संवाद सम्झन्छु - 'कलाकार बन्न र चर्चित हुनका लागि पीडा चाहिन्छ, छ तँसँग कुनै पीडा ?'
मस्तिष्कको आदेश शरीरका अंगहरूले नमान्ने अवस्था रहेछ यो। पाँचवटा चरण देखिए। थोरै र धेरै समस्या भएका बालबालिका भएका घरमा पुगियो। कतिपय घरमा आमाबुवाको अवसानपछि ती सन्तानको अवस्था के हुने भन्नेमा ठूलो चिन्ता थियो। पक्षघातका विभिन्न अवस्थामा फिजियोथेरापीले काम गर्दो रहेछ। पूर्णतया निको नहुने भए पनि जीवन चलाउन थोरै सकस काम पार्नेगरी। कतिपयलाई फिजियोथेरापीले लाभ नहुने पनि अवस्था हुने रहेछ, मोरङको पुरा तथ्यांक पत्तो लागेन त्यसबेला। तर, यति थाहा भयो विराटनगरभित्रमात्रै मस्तिष्क पक्षघात भएका सन्तान लिएर बाँचेका घर ६५ वटा रहेछन्।
सन्तानको शारीरिक विकारहरू अभिभावकको चाहना होइन। यो दुर्घटना हो। कतिपय अवस्था आमाले गर्भवतीहुँदा नै ध्यान पुर्याउनुपर्ने रहेछ। ध्यान पुर्याउने जिम्मा आमाको मात्रै नभएर बाबु र परिवारका सबै सदस्यको हो। यति हुँदाहुँदै पनि सन्तानमा शारीरिक विकार बेलाबखत देखा परेकै हुने रहेछ। मायाका डल्लाहरूलाई बाउआमाको ज्यान छउञ्जेलमात्रै हेरचाह हुने। त्यसपछि के हुन्छ ? कसैले खोजी गरेको देख्तिन। त्यो बेला दुई सातामा म करिब डेढ दर्जन घरहरूमा पुगें। केहीका तस्बिर खिचें। धेरैसँग कुरा गरें। आफू सग्लो हुनुको महत्त्व ती घरहरुमा पुगेर अनुभव भयो।
त्यो यात्राले मलाई संसारका उत्कृष्ट र सुखी मान्छेहरुमध्ये हामी धेरै पर्ने रहेछौं भन्ने बोध गराएको छ। जसका आँखाले देख्छन्, कानले सुन्छन्, जिब्रोले स्वाद महसुस गर्छ, त्वचाले तातो-चिसो अनुभव गर्छ, खाना पचेको छ, बोल्न सकिन्छ, हातगोडा काम गर्छन्, मन मस्तिष्कले भनेका कुरा हातगोडाले मान्छन्। यदि यस्तो हो भने त्यो जस्तो भाग्यमानी अरु हुन सक्दैन।
मान्छेका आ-आफ्ना लक्ष्य हुन्छन्। असन्तोकी प्राणी जहिल्यै चलायमान रहने गुण बोकेको छ। यस्ताले जीवन पुरा अवधि बाँच्नु पर्छ। कसैले आत्महत्या गरेको खबर सुन्दा म यी कुरा सम्झन्छु । परिस्थिति सधैं एकनासको रहँदैन। चुनौती सबैका जीवनमा हुन्छन्। तिनलाई हेरौं जो आफू बाँच्नका लागि हरपल अरुको सहाराको भरमा हुन्छन्।
शारीरिक अप्ठ्याराका बाबजुद जो केही गरेर बाँचेका छन्, मलाई उनीहरु मन पर्छन्। उनीहरूका दिनचर्या उनीहरू जस्तैका लागि प्रेरक हुन्छन् भन्ने लागेर त्यस्तालाई भेट्न र उनीहरूका कुरा लेख्न मन पर्छ। त्यस्ता मान्छेहरू कविताका पीडा होइनन्। कथाका पात्र होइनन्। लेखकले सम्झेर भरेका बुट्टाभन्दा पृथक लाग्छन् त्यस्ता चरित्र। तैपनि कवि त लेख्न छाड्दैनन्। लेखकहरू काल्पनिक पात्र उभ्याएर ठेलीका ठेली आख्यान तयार पार्न सक्छन्।
संवेदनशील हुनु लेख्नेहरुका लागि एउटा गुण हो। दुर्घटनाजन्य परिस्थितिको सिकार भएर/भोगेर लेखिएका आख्यानहरू बाहेक सुखपूर्वक जीवन बिताएकाहरू पनि पीडाका कुरा लेख्न सक्छन्। बयान गरिरहेकै छन्। हाम्रा वरपर यस्ता पात्र र परिस्थिति छरपस्ट छन्।
तर जसरी हात वा खुट्टा काटिएर वा दुर्घनामा परेर ल्याइएका बिरामी देखेर डाक्टर र नर्सले नर्भस हुन पाइँदैन, लेखन्तेहरूका लागि पनि त्यस्तै हो। उनीहरुको अवस्था देखेर भावुक हुनुको साटो हामीले कसरी लेख्ने र के लेख्ने भन्नेमा बढी ध्यान पुर्याउनुपर्ने रहेछ जस्तो लाग्छ।
त्यो यात्रा सम्झदै अर्को एउटा प्रसंग आज शेयर गर्न मन लागेको छ। गत बैशाख १२ अर्थात २५ अप्रील २०१३ ।
यो दिन विराटनगरबाट करिब २५ किलोमिटर पूर्व टकुवा गाविसको यात्रामा निस्केको थिएँ। मलाई एकजना अपांग भेट्नु थियो। विराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकको भित्री पानामा एउटा श्यामश्वेत तस्बिर दुई दिनअघि हेरेको थिएँ - टकुवामा एकजना पोलियोपीडित साइकल मिस्त्रीको काम गरिरहेका।
राजन पौडेलले खिचेको तस्बिर। मैले राजनजीलाई भेटेर यी मान्छे भेटिने ठाउँका बारेमा जानकारी लिएँ। अनि यात्रामा निस्किएँ। रंगेली नाघेर अघि बढ्दा बढ्दै बाटैको बायाँ मैले मानिकचन्दलाई उनको झुप्रोभित्र काम गरिरहेको भेटें।
कम्मर मुनिको भाग सुकेको मान्छे औजार लिएर साइकल मर्मत गरिरहेको थियो। उकहाँ आउनेहरूमा मैले विश्मयको भाव देखिन। कारण- मानिकको अवस्था र क्षमताबाट उनीहरू परिचित थिए।
यस्ता धेरै घरमा पुग्दा वा मान्छे भेट्दा जस्ता कुरा मानिकमा थिएनन्। यस्तै अरुकहाँ पुग्दा उनीहरु पत्रिकामा छापिएर आए सहयोगीले दान देलान्। सरकारले सहयोग गर्ला/गरोस्। त्यसलाई बल पुग्नेगरी प्रकाशित गरिदिन आग्रह गर्छन्। धेरै अपेक्षा राख्छन्। उनीहरूभन्दा फरक भेटिए यी मिस्त्री। विराटनगर फिरेर मैले उनका बारेमा लेखें। जो यस्तो थियो -
पोलियो बिर्सँदै पौरख
टकुवा (मोरङ)- विराटनगर-रंगेली मार्गमा पर्ने टकुवा-१ को सडकमा सानो फुसको झुप्रोभित्र एउटा मिस्त्री साइकल मर्मतमा तल्लीन भेटिन्छ। कम्मर मुनिका भाग पोलियोले सुकेका मानिकचन्द ऋषिदेव हुन् यी।
३१ वर्षीय मानिकलाई पोलियोले आठ वर्षको छँदा भेटेको हो। भन्छन्, 'तीन वर्ष भयो साइकल रिपेयर गर्ने पसल खोलेर बसेको। काम गरिखान सक्ने भएको छु। यसैमा गर्व लाग्छ।' ह्वील चियरमा घरबाट आएर पसलमा बस्ने गरेका मानिकले काम गरेर परिवारको गुजारा चलाएका छन्।
'म जस्तै मान्छेहरु भिख माग्ने भएर हिडेको देख्ता दुःख लाग्छ,' उनले भने, 'सीप सिके पेसा गरेर खान सकिने रहेछ।' एक दिन गाउँकै पोखरीमा पौडी खेलेर फर्केपछि उनलाई सञ्चो भएन। बिस्तारै घुँडा सुक्दै आयो। 'डाक्टरले यसलाई पोलियो भयो, ठीक हुँदैन भने,' उनले सुनाए, 'त्यसपछि म आफ्नो खुट्टामा उभिन सक्ने भइनँ। मेरो जिन्दगी नै अपांग भयो।'
दुई भाइमा उनी कान्छा हुन्। दाजु चार महिनाअघि कामको खोजीमा पञ्जाव गएका छन्।
छिमेकी शिशुपाल राजवंशी साइकल मर्मतको काम गर्थे। उनीकहाँ आउदा-जाँदा मानिकले थोरै सीप सिके। त्यसपछि ५ किलोमिटर पश्चिम रंगेलीमा गइ अर्काकोमा चार वर्ष काम गरे। विवाह भयो। उनकी पत्नीको पनि एउटा हातको समस्या छ। सन्तान पनि भयो। त्यसपछि उनी आफैंले गाउँमै व्यवसाय थाले। 'मैले चढेको अहिलेको तेस्रो ह्वील चियर हो। परिवार पाल्न सक्नुभन्दा ठूलो काम अरु देख्तिन,' उनले भने, 'खुशी त यो लाग्छ कि म मोटरसाइकलको पनि पंचर टाल्न सक्छु।'
उनलाई बाल्यकालदेखि देखेका गाउँले सदानन्द मण्डल भन्छन् 'मानिकको आत्मविश्वास अचम्मको छ। यसले गरेर खाएको देख्छु। बजार हिँड्दा यस्तै मान्छे मागेर हिडेको देख्छु। अचम्म लाग्छ।' शारीरिक दुर्बलताभन्दा आत्मविश्वास ठूलो कुरा भएको उनले बताए।
मानिकका चार वर्ष र नौ महिनाका छोराछोरी छन्। पत्नीको हातमा खोट भएकैले जोडी लाग्न सम्भव भएको मानिकले बताए। उनले भने, 'मेरो कर्ममा पनि परिवार लेखेको रहेछ। नभए घस्रेर हिड्ने मान्छेको केको घरजम ?' मिस्त्री पेसा गरेर गुजारा चलाएका उनी पूर्वी मोरङका लागि अपांगता भएकाहरूमा पौरखीका उदाहरण हुन्।
मोरङमा अपांगता भएकाहरूको संख्या १७ हजार ५३ छ। यिनमा मानिकजस्ताको संख्या ६ हजार २९ जना छ। अपांगता भए पनि उनी जसरी पेसा गरेर जीविकोपार्जन गरि बसेकाहरु विरलै भेटिन्छन्।

No comments:
Post a Comment