Monday, July 3, 2017

बसबाट फोहोर कता फाल्ने ?

पाल्पाको बर्तुङबाट पोखराको बसयात्रामा मैले गत साता झ्यालबाट मिल्काइदिऊँ जस्तोजस्तो लागेको पानीको खाली बोतल फालिनँ । सहचालकलाई सोधेँ, ‘भाइ यो कता फाल्ने ?’ उनले सिटमाथिको सामान राख्ने ठाउँ (लगेज र्‍याक) देखाए, त्यसमै राख्न इसारा गरे । त्यसै गरेर गाडीले खाना खान गल्याङ रोकेपछि सोधें, ‘त्यस्तो प्लास्टिक बोतल कहाँ फाल्नुहुन्छ ?’ उनले हाँसेर टारे । भने, ‘के ठट्टा गर्नुहुन्छ ! त्यस्तो जाबो चीज फाल्न जता मन लाग्यो त्यतै नि । कल्ले पो सोध्छ ।’ 
सामान्यतया यो ठूलो कुरा होइन । तर, दिनमा हजारौं सवारीसाधन गुड्छन् । लाखौं लिटर पानी खपत हुन्छ । अनि धेरै प्लास्टिकका बोतल मिल्काउने बेला हामी गाडी स्टाफलाई सोध्दैनौं । गाडीहरूले पनि भित्रै डस्टबिनव्यवस्था गरेर यात्रुका खानेकुराका खाली प्याकेट, फलफूलका बोक्रा र पानीका बोतल भेला पार्दै तह लाउने चलन बसेकै छैन । 
गत मंसिरको अन्तिम साता सञ्चारमाध्यमहरूले बसबाट बाहिर फोहोर फाले जरिवाना हुनेखबर प्राथमिकतासाथ दिएका थिए । सभ्य व्यवहारका लागि राम्रो मानिएको उक्त खबरमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरिसकेको उल्लेख थियो । गत पुसदेखि लागू हुने भनिएको उक्त नियमअनुसार सबै यात्रुवाहक सवारीसाधनले भित्रै डस्टबिनव्यवस्था गर्ने र पहिलो चरणमा सहचालकमार्फत यात्रुलाई बाहिर फोहोर नफाल्न सचेत पारिने भनिएको थियो । अभियानका रूपमा सुरु गरिने भनिएको नियम उल्लंघन गरी बाहिर फोहोर फाल्नेलाई पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गर्न सकिने खबरमा उल्लेख थियो ।
राजधानीबाट मुलुकभर लागू हुने भनिएको खबर आयो । त्यसको फलोअप हरायो । हाम्रो व्यवहार जस्तो थियो, त्यस्तै छ । सरसफाइका लागि लागू गर्न कुनै भार नपर्ने यो नियमबारे चासो बोलेको देखिँदैन । सवारीसाधनले डस्टबिनव्यवस्था गरी संकलन हुने फोहोर कुनै निश्चित स्थानमा लगेर तह लगाउन नसक्ने पनि होइनन् । यात्रुले पनि बाहिर नफाल्नुस्, ऊ त्यो भाँडोमा हाल्नुस्भनिदिए प्रतिवाद गर्नुपर्ने पनि कारण हुँदैन । लोकप्रिय लाग्ने अभियान घोषणामा रमाउनेहरूले अनुगमन गरे निश्चय पनि यो व्यवहारमा लागू हुने नै छ । 
लामो दूरिका सवारीसाधनले बीच बाटोमा कतै रोकेर यात्रुलाई दिसापिसाब गराउने चलन पनि हट्न सकेको होइन । त्यसमाथि खानेकुराका प्याकेट र पानीका बोतल जथाभावी फाल्न हुँदैन कसरी भन्लान् । सरसफाइका लागि हेर्दासुन्दा सामान्य लाग्ने यो चलन बसाउन तामझामका साथ मन्त्री, सरकारी अधिकारी वा यातायात व्यवसायीमजदुरका अगुवाले उद्घाटन गरिरहनु अवश्य पर्दैन ।
प्लास्टिक र कागज पुनप्र्रयोग हुनसक्छन् । फलफूलका बोक्रा सड्ने भएकाले निश्चित स्थानमा तह लगाउन सकिन्छ । पुनप्र्रयोग हुनसक्ने वस्तु सहरबजारमा संकलकहरू दिनरात खोजी हिँडेका छन् । सवारी आउजाउ गरिरहने चोकचौरस्ता र बसपार्कहरूमा सवारीसाधनले आºना डस्टबिनखन्याउन मिल्ने व्यवस्थाका लागि स्थानीय तहले पहल गर्नसक्छ । फोहोर बाहिर नमिल्काऊँ भनेर यात्रुलाई यातायातकर्मीले अनुरोध गरेमात्रै पनि पुग्छ । बढ्दो सहरीकरणसँगै यतिबेला गाउँहरू बजारमा रूपान्तर भइरहेका छन् । सबैजसो ठाउँमा सवारी आवागमन भई नै रहेको छ । जहाँजहाँ यात्रु लिएर सवारी पुग्छन्, त्यहाँ प्याकेटका खानेकुरा र पानीका बोतल पुगेकै छन् । तर, वस्तु उपभोगपछि फालिने चीजबिजका लागि निश्चित स्थान तोकेर राख्ने चलन सुरु हुन सकेको छैन । 
गाडी रोकिने ठाउँहरू र बसपार्कहरूमा सार्वजनिक शौचालयको प्रबन्ध हुनुपर्छ । शौचालय भएका स्थानमा सरसफाइ नियमित हुनुपर्छ । सवारीसाधनले रोकेर बीच बाटामा कतै त्यस्तो व्यवहार नगर्न/नगराउन सामान्यरूपमा सचेत गराउन जरुरी छ । लामो तथा छोटो दूरीका सवारी आउजाउ भइरहने क्षेत्रमा सार्वजनिक शौचालयमै मलमूत्र त्याग गर्न लगाउने चलन बसाउन कुनै ठूलो आन्दोलन पनि खाँचो हुने कुरा होइन । 
एक महिनामात्रै यो विषयमा सरकारको सम्बद्ध निकाय, यातायातकर्मी र यात्रुले सचेत भइदिए हाम्रो व्यवहार बस्छ । यतिबेला सार्वजनिक सवारीभित्र धूमपान गरेको भेटिँदैन । कसैले भित्र धूमपान गरे यातायातकर्मी र अन्य यात्रुले पनि नगर्नुस्भनेकै देख्न पाइन्छ । एक दशकअघिसम्म यात्रामा सवारीसाधनभित्रै धूमपान गर्नेहरू भेटिन्थे । त्यो व्यवहार अहिले परिवर्तन भएको छ भने फोहोर निश्चित स्थानमा तह लगाउने बानी पनि बसाउन सकिन्छ । कुनै ठूलो जरिवानाको त्रास देखाएर नियम लागू गर्नु/गराउनुको साटो सामान्य प्रयासबाट यो अपनाउन सकिने व्यवहार हो । 

(१६ असार २०७४, कान्तिपुर दैनिकको विविधा पृष्ठमा प्रकाशित)




Saturday, July 1, 2017

जाने बाटो

के तपाइँले सेकुवा खानुभएको छ ?
धत्तेरी
पहिले जान्नुपर्ने कुरा बुझ्दै नबुझी सोधिएछ
हजुर शाकाहरी की मांसाहारी ?
मांस भक्षण नगर्ने तर, कुखुराको अण्डाहारी
वा पानीफल उचितको तर्क गर्ने माछाहारी ?
भैगो, आउनुस् मुल प्रश्नमा फर्कम्
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?

घाटका कोइला सेकुवा पोल्न प्रयोग
त्यो राजधानीको खबर थियो
सुन्नु-पढ्नु भएको हुनुपर्छ
हामी यतिबेला रामघाटमा छौं
रामघाटको पनि तुलसी तारिणी घाटमा छौं
हाम्लाई त्यो आर्यघाटको कोइला के मतलब
राजधानीको सेकुवा के मतलब भन्न सक्नुहुन्छ
भन्नुस् भन्नुस् भने हुन्छ
तर, म फेरि सोध्छु
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?

उ त्यहाँ सेतीको पानी नजिकै मुर्दा पोलेको देख्नुभो ?
त्यहीँ पर्तिर तातो घामको फिक्री नगरी बालुवा चालेको देख्नुभो ?
खसी, कुखुराका मासु र मान्छे पोल्दाको गन्धमा
मेरा नाकले पटक्कै विभेद खुट्याउँदैन
तपाइँ सक्नुहुन्छ की
म परिस्थितिले बनाउने सेकुवाको कुरा गर्दिन
त्यो अमुर्त  सेकुवा
अँ गन्धमा विभेदका कुरा गर्दै थिएँ
खसी, कुखुरो, मान्छे
के पोलिँदै के सेकाइँदै हो !
म चिन्दिन
नरिसाउनु होला फेरि सोधेँ है
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?

रामघाटको बाटो आर्यघाटको बाटो
भन्नेहरू भन्लान् स्वर्ग पुगिन्छ
हामी आधुनिक युगका मान्छे नदेख्ने कुरा कसरी गर्नु
अनुभव लिन नपाइने कुरा कसरी गर्नु
घाटको बाटो वास्तवमा स्वर्ग होइन सेकुवा बन्न पुग्ने हो
हामी पशुपंछीको सेकुवा बनाउँछौं
समयले हाम्रो सेकुवा बनाउँछ
सेकुवा खानु र बन्नुको नियति निश्चित छ
भागेर कहाँ जानुहुन्छ ?
अब म सोध्दिन
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?

सबै इच्छा, आका‌क्षा र बाध्यता बिसाएर
जानुपर्ने बाटो सेकुवा नै भएर जान्छ
मलाइ त गाड्छन्
मलाइ बगाउँछन्
मलाइ पोल्दैनन् भन्नुहोला
म सेकुवा हुँदिन भन्नेहरू पनि हुनुहोला
ठीकै छ
कफी सम्झनुस् कोल्ड कफी
तातोमात्रै होइन चिसो पनि पाइन्छ
दौडधूपको दैनिकीबाट बाहिर निस्केर
जिन्दगीको म्याराथनमा ट्रयाक छाडेर जान्छु भन्दा
हाम्रा बाटोहरू घाट भएरै निस्केका छन्
महत्वाकांक्षाको फेर समात्दै जुन गोरेटो जान्छु भनौं
लोभ, मोह, घृणा छाडेँ अब सन्त बन्छु भनौं
हामी दुनियाँलाई पटकपटक ढाँट्न सक्छौं
ढाँट्न नसक्ने घाटलाई मात्रै हो
बिश्रामको यात्रा जहाँबाट सुरू हुन्छ
आउनुस् चुनढुंगा मिसिएर बगेको सेती हेरौं
किनारमा बल्दै गरेको चिता हेरौं ।

१७ असार २०७४
रामघाट, पोखरा
(घाटमै बसेर लेखेर घाटमै अक्षरयात्राको १४३ औं श्रृंखलामा वाचन गरेको कविता )



Sunday, February 26, 2017

वसन्त केशव पराजुली - वचनको साङ्लोभित्र

आमाबुवाका कुरा कति मान्ने - तन, मन धन दिनुपर्ने कामका लागि अझ कसमै खुवाए सन्तानले गर्ने कि नगर्ने ? अरूका लागि दुविधाका विषय होलान् तर, पोखरा बृद्धाश्रमका अध्यक्ष ७८ वर्षीय वसन्तकेशव पराजुलीका लागि ढुंगामा लेखिएका अक्षर जतिकै छन् । 
उनको दिनरात ४८ बृद्धबृद्धा र कर्मचारीसहित ६० जना आश्रित आश्रमलाई सक्षम बनाउने कोशिशमै बितेका छन् । पोखराका शैक्षिक संस्थाहरूको स्थापनाका लागि सक्रिय केही थोरै नाममध्ये छुटाउनै नमिल्ने नाम हो ऋषिकेशव पराजुलीको । कांग्रेसी राजनीतिकै खातिर उनले केही वर्ष निर्वासित जीवन पनि गुजारे । कांग्रेसको दिन फर्किएपछि भने उनले पार्टीबाट केही लाभ लिएनन् । कुनै सरकारी ओहदाको मोह राखेनन् ।
उनैका जेठा छोरा हुन् बसन्त । बाबुभन्दा राजनीतिक विचारमा फरक । उर्जाशील उमेर शिक्षण पेशामा गुजारेपछि अवकाशको जीवन बसन्तलाई आफ्नै सुरले जिउने ध्याउन्ती थियो । पञ्चायतकालमा अभिभावकको निर्वासित जीवनलाई उनले फरक पाठ सिकाएको थियो । 'मलाइ लाग्थ्यो, राजनीति मैले जाने बाटो होइन', उनले भने, 'त्यसैले मैले कहिल्यै राजनीति गरिँन । तर, त्यसको छर्कोबाट मुक्ति पनि मिलेन । कतै न कतै खरो भएर बोल्दा पनि फरक अर्थ निकाल्ने रहेछन् ।' 
२९ वर्ष प्राध्यापन पेशामा उनले ६ ठाउँ पढाए । तीन ठाउँ प्रधानाध्यापकको जिम्मेवारीमा रहे । अवकाशपछि उनले २०५२ मा सेवानिवृत्त शिक्षकको संगठन बनाए । आफू अध्यक्ष भए । हकहितको कुरा गर्नु राजनीति नै भन्ने बुझियो । २०१४, २०३६ र २०३८ का विद्यार्थी र शिक्षक संघर्षका दौरान तीनपटक थुनामा पनि परे । पढाउने पेशाअघि उनले २०१२ देखि तीन वर्ष किराना पसल पनि गरि हेरे । २०१५ देखि नेपाल एयरलाइन्सको एउटा एउटा एजेन्सीमा भैरहवा र जनकपुर पुगी जागिरे भएर अढाइ वर्ष बिताए ।
'५२ सालमा बुवाले मेरो एउटा कुरा मान भनेर वाचा गराउनु भयो', उनले भने, 'त्यो वाचा यो पोखरा बृद्धाश्रम चलाउने भन्ने थियो ।' बृद्धबृद्धाले परिवारबाट परित्यक्त जीवन बिताउने क्रम सुरू हुनुलाई बुवाले दूरदृष्टिबाट देखेको उनले बताए । बाबुले दिएको २६ हजार ७ सय रूपैयाँबाट पोखरा-१७ सीतापाइलामा आश्रम सुरू गर्दा यसको दीर्घकालीन सञ्चालनको कुनै योजना थिएन । सञ्चालक समितिका अध्यक्ष रहेका उनका पिताजी २०५३ मा ७९ वर्षमा उमेरमा दिवंगत भए । जिम्मेवारी पुरै काँधमा आयो । 'मैले सुरूमै भनेको थिएँ, आश्रम आफ्नो खुट्टामा उभिने भएपछि मैले स्वतन्त्र हुन पाउनुपर्छ', उनले सुनाए, 'अहिलेको उपक्रम यही छ कहिले आश्रम सक्षम होला भन्ने ।'
आफूले धर्मकर्मको मार्गमा हिड्न स्वतन्त्र हुन पाउनुपर्छ । तीर्थाटनका लागि समय मिल्नुपर्छ । 'तर, म वचनले बाँधिएको छु', उनले भने, 'यो आश्रममा आश्रित बढेका छन् । भवन बनाउन थालियो । पुगनपुगकै चिन्तामा दिन जान्छ ।' बसन्तकेशव नेतृत्वको आश्रम पोखरेलीका लागि अहिले नौलो तीर्थ भएको छ । जन्म दिन, दिवंगतका पूण्यतिथिका दिन यहा“ आउने, भेला भएर आश्रतिलाई खाना खुवाउने, दान दिने चलन बसेको छ । 
आफ्नो घर, परिवारलाई समय नदिएर बसन्तले बृद्धाश्रममा बाबुलाई दिएको वचनको मान राखेका छन् । यहाँ सबै आश्रित उमेरका ६० वसन्त नाघेकाहरू छन् । आधा दर्जन असी नाघेकाहरू पनि छन् । खानपान, रोगव्याधि र उनीहरूको सजिलो बसाइँको व्यवस्थापन सजिलो छैन । 'मैले आफ्नो घरपरिवारलाई समय नदिएर आश्रमलाई दिएको छु', उनले भने, 'यो एउटा तपस्याकर्मभन्दा कम छैन । तपस्याकर्म कहिल्यै सजिलो हुँदैन भन्ने पनि थाहा छ ।' सानो झुप्रो, पाँच बृद्धबृद्धाबाट थालेको आश्रम अहिले करीब डेढ करोडको भौतिक संरचना भएको बनेको छ । यद्यपि निर्माणका काम अझै जारी छन् । अब केही स्वास्थ्यकर्मीको ध्यान यहाँ पुगेकाले आश्रितको सञ्चो-बिसञ्चो १५/१५ दिनमा चेकजाँचको व्यवस्था मिलेको छ । दान दिन आउनेका मायाले मात्रै यहाँको दैनिकीलाई खर्च यथेष्ट छैन । उनले भने 'सुरूमा दुइ सहयोगीले भवन बनाउन सघाए, पछि गायक कर्ण दासले २ महिनाका लागि बुढाबुढीको खानेकुरामा सहयोग गरिदिएर सजिलो बाटो खुलेको थियो । अझै पनि जहाँ जहाँ सकिन्छ हात फैलाएर माग्दै यहाँ ल्याउँछु । सुनेर मन पग्लिएकाहरूले विदेश पुगेर पनि सम्झेका छन् ।'
बाबुको एउटा वचनको मानका खातिर आफ्नो जीवनको अवकाशको समय आफूजस्तै बृद्धबृद्धाका बीच बिताउनु अब भने बन्धन जस्तो नलाग्ने उनले सुनाए । 'यो आश्रम कुन दिन आफै दिनदिनैको खर्च धान्ने होला भन्नेमात्रै ध्याउन्ती छ', उनले भने, 'खासमा बृद्धबृद्धा आफ्नै परिवारका बीच आफूले आर्जेको घरमै बाँचेको राम्रो भन्ने लाग्छ । तर, जसका लागि त्यस्तो सम्भव भएन, उनीहरूलाई यो ठाउँ जहिल्यै आश्रय दिनसक्ने भइरहनु पर्छ ।'
(नेपाल म्यागजिनको  'जीवनका रंग 'स्तम्भमा ०७२ मा प्रकाशित लेखोट संग्रहका लागि ब्लगमा राखिएको)

Wednesday, February 22, 2017

मुस्ताङसम्मै मोटरमा सरर ...

विराटनगरबाट आफ्नै जिप लिएर मुक्तिनाथसम्मको यात्रामा निस्केका जयेश बोहोराले पोखरा आइपुगुञ्जेल पनि इन्टरनेटमा हिमालपारिको जिल्लाको सडकमार्गको अवस्था 'सर्च' गरिरहेका थिए । पोखरा बस्ने साथीभाइसँग पनि आफ्नै गाडी जान सजिलो-अप्ठ्यारो बारे जानकारी लिइरहे ।
बेनीबाट घाँसा, मार्फा, जोमसोम र त्यहाँबाट मुक्तिनाथ अनि छुक्साङ पुगेर आनन्दले दुर्इ रातको बसाइँपछि पोखरा फिरेका उनले भने 'अब मेरा साथीहरू धेरैजना यताको यात्रामा आउने छन् ।' यही यात्रामै रहेका विराटनगरका सुकुमार सेनले पनि कोलकातामा रहेका भाञ्जालाई मुस्ताङ आउजाउका फोटा 'ह्वाट्स एप' पठाए । 'मैले अब भाञ्जालाई घुमाउन नल्याइ नहुने भयो,' उनले भने, 'यति सजिलो यात्रा होला भन्ने सोचेकै थिइँन ।'


यतिबेला मुस्ताङ उक्लने सिजन होइन । तर, यात्रुको चाप भने घटेको छैन । यो जिल्ला प्रवेश गर्दाको पहिलो गन्तव्य घाँसामा प्रहरी चौकीले आउने सवारीको रेकर्ड राख्छ । चौकी इञ्चार्ज योगेन्द्र यादवका अनुसार सार्वजनिकभन्दा निजी सवारी आगमनको दर निकै उच्च छ । 'सिजनमा सरदर महिनाको बस, ट्रक, ट्याक्टर र साना गाडी १५ सय जति र मोटरसाइकल दुइ हजारवटा जति मुस्ताङ आउँछन्,' उनले भने, 'भिरालो बाटो भएपनि यहाँ दुर्घटना नहुनु चाहि अचम्म लाग्दो छ ।' उनका अनुसार गत असोज र कात्तिकमा घाँसा भएर मुस्ताङ पुगेका गाडीहरूमा बस ६३४, जिप-कार १७१३, ट्रक १७९ र ट्याक्टरको संख्या ९९ वटा रह्यो । यो अवधिमा पुगेका मोटरसाइकलको संख्या ६०३५ रहेको रेकर्ड छ । 'इन्ट्री गराएर मात्रै जाने भएकाले हामीले कुनै गाडी नफर्के वा केही सामान हराए खोजी गर्छौ,' उनले भने, 'मुस्ताङ घुम्न आउनेहरू नेपालको अरु ठाउँ यसरी भीड भएर जाँदैनन् होला ।' सडक सहज भएकै कारण हिमाल पारिको जिल्ला हेर्न रहर लाग्नेहरू आउने गरेको उनले बताए ।
कोवाङ-६ का अशोक गौचन गोठभरि खच्चड पाल्थे । यिनै खच्चडलाई पोखराबाट सामान बोकाएर जोमसोम ल्याउँथे । 'पोखरा ओहोरदोहोर गर्न महिना दिन बिताउनु पर्थ्यो,' ६० वर्षपार गरेका गौचन अतित सम्झँदै भन्छन्, 'यति छिटै जोमसोममा मोटर आउला भन्ने मैले सोचेकै थिइँन ।' २०४९ सालतिर बागलुङमा मोटर चल्यो । २०५२ देखि बेनीबाटै बस चल्न सुरु भयो । 'पछि महिनाभरिको पोखरा आउजाउ सात दिनमै भ्याउन थालियो,' उनले भने, 'हिंड्दा-हिड्दै हाम्रो जीवन बित्यो तर, अब सुविधा देख्न पाइयो ।' ०६३ सालपछि जोमसोमसम्म नै मोटर चल्न थालेपछि खच्चड पाल्न छाडिएको उनले सुनाए । 'अब त मुस्ताङीको लाइफस्टाइलमै ठूलो परिवर्तन आइसक्यो, पोखराबाट खच्चडमा सामान बोकाएर ल्याएको सम्झिँदा-सुनाउँदा एकादेशको कथा जस्तै लाग्छ,' उनले भने ।
सडकले नेपालीको पहुँच चीनको सिमाना कोरला नाकामा सोझै जोडिदिएको छ । नवलपरासीको गैंडाकोटदेखि कोरलासम्म ४ सय ३५ किमी कालीगण्डकी कारिडोरको यो उत्तर-दक्षिण राजमार्गले जोमसोम बजार मुग्लिन जस्तै खाना खाने केन्द्र बन्न पुगेको छ । पोखराबाट बिहानै निस्केको मोटर बाटोमा अवरोध भएन भने दिउँसै जोमसोममा खाजा खान आइपुग्छ । 
यहाँको सडक निर्माणको इतिहासमा नेपाली सेनाको ठूलो भुमिका छ । कुनै समय बेनीदेखि जोमसोम सडक खन्न सरकार पनि तयार थिएन । यो खण्डमा ठूला पहराले कामदारलाई निकै जोखिम थियो । तर, देशमा सशस्त्र द्वन्द्व चर्कंदै गर्दाको समय सेनाले जोमसोम सडक खन्ने जिम्मा लियो । ५ वर्ष लगातार मिहिनेतले बेनीदेखि जोमसोम ट्रयाक खोल्न सफल भयो । २०६३ बैशाखमा गणतन्त्र घोषणा भयो, यही महिनादेखि जामसोममा सेनाले मोटर बाटो बनाएरै छाड्यो । 
'जोमसोम, लोमान्थाङ, कोरलामा मोटर चलेको देख्दा एउटा सपनाको क्षण जस्तै लाग्छ,' धौलागिरि बोर्डिङ स्कुलका प्रिन्सिपल तथा पूर्व सांसद चन्द्रबहादुर गुरुङ भन्छन्, 'अब मुस्ताङ र पोखरामा कुनै भिन्नता रहेन । ६० सालसम्म यहाँको जनजीवन निकै फरक थियो, वर्ष लाग्दा पनि घर छोड्नुपर्ने, हिउँदमा पनि घर बस्न नसकिने । खच्चडलाई भारी बोकाएर परिवारसहित खुला चौरमा बसिन्थ्यो ।' हिउँदको चिसो र वर्षाको पानी छल्ने मेसोमा आम्दानी पनि गर्न खच्चडलाई सामान बोकाएर सपरिवार हिंडेर बेंसी झर्नुपर्ने बाध्यता अब हटेको उनले बताए । ४० साल अघिको त्यस्तो थियो । पछि यहाँको जनजीवनमा केही परिवर्तन आयो । वर्षायाममा घरमै बस्ने, हिउँद लागेपछि पोखरातिर झर्ने । तर, अहिले यो पनि बदलिएर यहाँका स्थानीय वर्षभरि नै घरमा बस्ने क्रम बढेको उनले सुनाए ।  
अहिले म्याग्दीको गलेश्वरदेखि कोरलासम्म कच्ची सडक छ । अबको ५ वर्ष भित्र जोमसोमसम्म कालोपत्रे सडक बन्ने निश्चित भएको छ । बागलुङ मालढुंगा-गैंडाकोट र बेनी-कोरला दुइ भागमा बिभाजन गरेर निर्माण सुरु गरिएको सडक बिभागले जनाएको छ । कच्ची सडकमै भएपनि जोमसोमदेखि काठमाडौंसम्म रात्री बस संचालन भइसकेको छ ।
सडकलाई स्तरोन्नति गर्न गैंडाकोटदेखि कोरलासम्म ४ सय ३५ किमी सडक निर्माणमा पछिल्ला सरकारले निकै प्राथमिकता दिएका छन् । सडक विभागले जोमसोम-कोरला सडकलाई उच्च प्राथमिकता दिएको छ । यो सडकको निर्माण दुइ बर्ष भित्रै सकिने विभागले जनाएको छ । यसका लागि विभागले मंसिरदेखि जोमसोम बजारमा कालीगण्डकी करिडोर कार्यालय संचालनसँगै बेनी-जोमसोम र तेस्रो चरणमा मालढुंगा-गैंडाकोट सडकको निर्माण पुरा गर्न सरकारले योजना ल्याएको छ ।
 उत्तर-दक्षिण राजमार्ग आयोजनाका निर्देशक गोपालप्रसाद सिग्देल भन्छन्, यो उच्च प्राथमिकतामा परेको उत्तर-दक्षिण मार्ग हो ।' जोमसोमदेखि कोरलासम्मको १ सय १० किमी सडक खन्न २ अर्ब ५० करोड विनियोजन भइसकेको छ । विनियोजित बजेटअन्तर्गत यो वर्ष ३९ करोड निकासा भइसकेको छ । बेनी-जोमसोम ७६ किमी सडक पुरै कालोपत्रे गर्न अब काम सुरु हुने विभागले जनाएको छ । कालीगण्डकी करिडोर सडकमा कोरलादेखि गैंडाकोटसम्मका मुस्ताङ, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा र नवलपरासी जिल्ला पर्छन् । यो सडकले नवलपरासीको तर्राई क्षेत्रबाट सोझै चीनको कोरला सिमानासम्म जोड्ने छ । उत्तर-दक्षिणको यो सडक गैंडाकोट-मालढुंगा २ सय ३५, मालढुंगा-वेनी १४, वेनी-जोमसोम ७६ र जोमसोम-कोरला १ सय १० किमी छ । ४ सय ३५ किमी लामो यो सडक मुलुकको उत्तर-दक्षिण जोड्ने सबैभन्दा छोटो राजमार्ग हो ।
कुनै समय थियो, राजधानीबाट मुस्ताङ आउँदा कम्तीमा सातादिनको भ्रमण तालिका चाहिन्थ्यो । पोखरासम्म आउन सुविधा थियो तर, मुस्ताङ पुग्न ठूलो सकस । गत माघदेखि जोमसोम-काठमाडौं रात्रीबस संचालनले मुस्ताङको यात्रा सहज बनाइदिएको छ । पोखराबाट जोमसोम पुग्न बसमा एक हजार भाडा तिरे विहान चढेर साँझ उत्रन सकिने भएको छ । बस संचालनले काठमाडौंबाट एकै रातमा जोमसोम आउन पाइन्छ । पोखरा र बेनीबाट मिनीबस तथा जीप परिवर्तन गर्नुपर्ने झन्झट रात्री बस संचालनले अन्त्य गरिदिएको छ ।  
गत वर्षसम्म 'सिण्डकेट'ले बदनाम बेनी-जोमसोम सडकमा अहिले कुनै पनि सवारीसाधनलाई रोकछेक छैन । यात्रुहरू आफ्नो सुविधाअनुसारको सवारीसाधन लिएर आउजाउ गर्न सक्छन् । सिण्डिकेट पूर्णरुपमा हटेपछि यो रुटमा सवारी संञ्चालन खुला प्रतिष्पर्धामा भइरहेको छ । यहाँ मुस्ताङ, म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका समेत सातवटा ब्यवसायी समितिहरूले सार्वजनिक यातायातको सेवा  दिइरहेका छन् ।
'सिण्डिकेट छैन । सबैका गाडी कम्पिटिसनमा चलेका छन्,' म्याग्दी बस तथा जीप ब्यवसायी समिति कोषाध्यक्ष मोहन केसीले भने, 'मौसमी ब्यवसाय भएकोले सजिलो-अप्ठ्यारोमा जनतालाई बोक्ने हामी मात्र हौं ।' मापदण्ड पुरा नभएकोले सडक विभागले हिउँदे अस्थायी 'रुट' कायम भएको छ । रुट कायम भएपछि बेनी-जोमसोम सडकमा पोखराको पृथ्वीराजमार्ग, मुस्ताङका दुइ समिति, म्याग्दीका तीन र बागलुङका एक बस ब्यवसायी समितिका सवारीसाधनले यात्रु बोक्ने गरेका छन । बेनीबाहेक बागलुङ, पोखरा र काठमाडांैबाट जोमसोमका लागि सोझै गाडी पाइन्छ । आन्तरिक यात्रु बोक्न छुट्टै स्थानीय सवारीसाधन पनि चल्ने गरेका छन् । 
'बेनी-जोमसोम सडकमा हल्ला जस्तो अवरोध छैन । सडक पहिलेभन्दा धेरै सुध्रिएको रहेछ,' काठमाडौंको कोटेश्वरका तीर्थयात्रु बोकेर आएको बा३ख ४८३४ नम्बर बसका चालक नारायण कार्कीले भने, 'आफ्नो गाडी कन्डिसनमा छ भने मुस्ताङ आउन सजिलै लाग्यो ।' मुस्ताङमा मंसिर, पुस, माघमा हिउँ पर्ने र असार, साउन, भदौ र असोज वर्षाले सडक अवरुद्ध पार्ने भएकाले फागुनदेखि जेठका चार र कात्तिकको महिना बेनी-जोमसोम सडकमा सवारी चाप रहन्छ ।  
देशभरबाट बौद्ध तथा हिन्दुको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न आन्तरिक पर्यटक आउने क्रम गत वर्षाबाट निकै बढेको छ । सडकको अवस्था स्तरोन्नति भएकाले छोटो समय र न्युन खर्चमा हिमालपारीको जिल्ला सहजै पुग्न सकिने भएपछि आन्तरीक पर्यटकको ओइरो लाग्ने गरेको हो ।

(भीम घिमिरे, विनोद त्रिपाठी र घनश्याम खड्काको ७ फागुन २०७३ मा कान्तिपुर दैनिकमा प्रकाशित रिपोर्ट) 

Thursday, February 2, 2017

पोखरेली फुटबल पर्वको डेढ दसक

माघको दोस्रो साता पोखरेली खेलप्रेमीका लागि वर्षेनी चल्ने पर्व जस्तै हुन्छ आहा-रारा गोल्डकप फुटबल । दिउँसो २ बजे मैदान धुइरिने, आ-आफूले पक्ष लिएका टिमका लागि हौसला बढाउने र खेलको मजा लिने क्रम चल्छ । 

मुलुकका अन्य शहरको दाँजोमा पोखरेलीलाई खेलकुदको पूर्वाधारमा सजिलो छ । यसको कारण एउटै ठूलो मैदान हो, जहाँ फुटबलका लागि मात्रै नभइ क्रिकेट, भलिबल, बास्केटबल, लन-टेनिस, आर्चरीका लागि छुट्टाछुट्टै ठाउँसँगै 'इनडोर' खेलहरूका लागि कभर्ड हल पनि छ । १४ करोड ३२ लाखको लागतमा 'इनडोर' खेलकै लागि अर्को ठूलो बहुदेश्यीय भवन निर्माणाधीन छ । 
सेती नदीको किनार रंगशालाका लागि २०३९ सालमा चार सय १७ रोपनी जग्गा अधिग्रहण भएको थियो । त्यसको अर्को वर्ष फुटबलका लागि मैदान तयार पारियो । प्यारापिट निर्माण भयो । २०५९ मा खेलप्रेमीकै सक्रियतामा मैदान तारबार गरिएको थियो । 
'फुटबलको जमाना फेरिएकै हो, पहिले एक्लाएक्लै रहरले खेलिने खेललाई सहाराले वर्षोनी प्रतियोगिता गर्न थालेपछि व्यविस्थत भएको हो,' पुराना फुटबल खेलाडी एवं सहारा क्लवका सल्लाहकार शम्भु कार्कीले भने, 'हामीले २४/२५ सालतिर खेल्दा न कोच हुन्थे, न राम्रो जर्सी न बुट ।' तीसको दसकसम्म पोखरामा फुटबल खेल्नेहरूले आफ्ना लागि चाहिने सामान र तालिमको व्यवस्था नै नभएको उनले बताए । 'पछि बिस्तारै टोल र क्लवहरूले फुटबल आयोजना गर्ने चलन बढ्यो,', उनले भने, 'सहारा क्लव गठन भएपछि मात्रै पोखरामा फुटबल खेलको आयोजना व्यवस्थित र गतिविधि नियमित भएको हो ।' 
सहारा क्लवको आयोजनामा वर्षेनी हुने आहा-रारा गोल्डकप फुटबलको यसपटकको १५ औं संस्करण सुरू हुनु दुइ दिनअघिको पत्रकार सम्मेलनमा उद्योगी सूर्ययबहादुर केसी अलि भावुक देखिएका थिए । पोखराका पूर्वमेयर तथा रारा र आहा चाउचाउको उत्पादक कम्पनी हिम श्री फुड्सका सञ्चालक केसी प्रतियोगिताको सुरुवातदेखिका मुख्य प्रायोजक हुन् । 'म मरेपनि मेरो परिवारले सकेसम्म यो प्रतियोगितालाई पछिसम्म प्रायोजक गरिरहने छ,' उनले भने, 'हामी सबै उद्यमीले खेलकुदलाई सघाएमात्रै समाजका लागि काम गरेको ठहर्छ ।' 
सहारा क्लवको इतिहास खोतल्दा स्मारिकाहरूमा रमाइला प्रसंग छन् । २०५० अघिसम्म पोखरामा खेलकुदका आयोजनाहरू हुँदै आएपनि ती निरन्तर हुन गाह्रो परिरहेको थियो । फुटबल रुचाउने एउटा जमातलाई अग्रजहरूले हौस्याए । टिम बन्यो । फुटबल खेल्न र सामाजिक काममा अगुवाइ लिन अघि सरेको समुहले बसपार्कमा शौचालय बनाउन पहल गर्‍यो । सहारा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली भन्छन् 'हाम्रो टिम कोकाकोला कपको क्वाटर फाइनलमा पुगेको थियो । त्यही जोशलाई आफैं फुटबल टुनामेन्ट किन नगराउने भन्ने सल्लाह भयो ।' २०५७ मा जिल्लाका क्लवस्तरीय प्रतियोगिता आयोजना गरेको क्लवले २०५८ मा क्याराभान गोल्डकपको आयोजना गर्‍यो । त्यसको अर्को वर्षदेखि नै आहा गोल्डकपका नामबाट वर्षोनी प्रतियोगिता आयोजनाको सिलसिला सुरू भयो । फुटबल आयोजना र प्रशिक्षणको कामलाई व्यवस्थित बनाएको सहारालाई स्थानीय र विदेशिएका पोखरेलीले सहयोग गर्ने क्रम सुरू भयो ।
'खासमा बलियो टिम बनाउनका लागि व्यवस्थित क्लव, नियमित अभ्यास र खटेर खेल्ने खेलाडी चाहिने महसुस भयो,' उनले भने, 'त्यसपछि आफ्नै टिमका लागि खेलाडी उत्पादन गर्न एउटा एकेडेमी चाहिन्छ भन्ने सल्लाह भयो ।' ०६१ देखि एकेडेमी सञ्चालन थालेको सहाराले पोखराको दोबिल्लामा २६ रोपनी जग्गा खरिद गर्‍यो । एकेडेमीको सुरुवाती चरणमा खेलाडी घरैबाट धाएर प्रशिक्षणका लागि जान्थे । 'एउटा अनुभव के भयो भने सम्पन्न घरका छोराहरू पढाइ बिग्रियो भनेर बहानाबाजी गरेर ट्रेनिङमा आउन छाड्ने, गरिब घरकाहरू बुट र प्याड आफैंले किन्न नसकेर बीचैमा छाड्ने,' पूर्वअध्यक्ष थकालीले भने, 'हामीले घरघर गएर कारण बुझेपछि अब गरिब घरका २० जना छोराहरू ल्याउने, उनीहरूलाई खानबस्न, पढ्न दिएर फुटबलको तालिम दिने, आठ/दसजना प्रोफेसनल खेलाडी टिममा लिने सल्लाह गर्‍यौं ।' यही सल्लाहपछि क्लवले एकेडेमीलाई व्यवस्थित रूपमा चलाउन सकेको उनले बताए ।
हाल दोबिल्लास्थित सहारा एकेडेमीमा १६ जिल्लाका २८ बालकहरू छन् । उनीहरूलाई आवासीय सुविधासहित शिक्षा र फुटबलको दीक्षा दिइएको छ । क्लबमा सुरूदेखि नै सक्रिय फोटोपत्रकार सुदर्शन रञ्जित भन्छन् 'सहारा क्लब यसका पदाधिकारीको मात्रै होइन, पोखरेलीको सम्पती हो । सबैको माया र सहयोग पाएकाले नै यो टिकेको छ ।' एकेडेमी दिगो र दीर्घकालसम्म निर्वाध सञ्चालनका लागि सहाराले अक्षयकोष जुटाउने अभियान चलाएको छ । उक्त कोषमा बचतसँगै खेलप्रेमीले वर्षेनी आफूले सकेको रकम योगदान गरेका छन् ।
क्लवले वर्षेनी आयोजना गर्ने आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीको खर्चका लागि मुख्य स्रोत रहिआएको छ । त्यसो त पोखराभित्र आयोजना गरिने फुटबलका प्रतियोगिताहरू दर्जन हाराहारी छन् । तर, सबै प्रतियोगितामध्ये भव्य र प्रतिष्ठित भने सहाराकै आयोजना मानिन्छ । पोखरा रंगशालामा र्सवाधिक दर्शक भित्र्याउने सहारा क्लव नै हो ।      
पश्चिमाञ्चल खेलकूद विकास समिति अध्यक्ष खगराज पौडेलले भने, 'पोखरेलीको खेलप्रतिको लगावलाई सहाराले संगठित आकार दिएको छ ।' विदेशमा रहेका नेपाली र पोखरेलीको सहयोग हेर्दा देशका अरु शहरका क्लवले खेलका लागि यस्तो संगठित आकार बनाउन सकेको उदाहरण नपाइने उनले बताए ।
सहाराले क्याराभानको नामबाट पहिलो प्रतियोगिता गर्दा विजेताका लागि ५० हजार नगद पुरस्कार राखेको थियो । यतिबेला त्यो राशि ५ लाख पुर्‍याइएको छ । 'आयोजना सहाराले गरेको देखिएकोमात्रै हो, यो सबै पोखरेलीको आयोजना हो । हामी स्वयंसेवकमात्रै हौं,' क्लव अध्यक्ष वीरभद्र आचार्यले भने, 'फुटबल सबैको रोजाइको खेल हो । जसले जहाँ इमानदारीपूर्वक आयोजनाको प्रयास गर्छन् तिनलाई कसले नसघाउला जस्तो लाग्छ ।' सहारामा खेलप्रेमी र खेलका लागि चिन्ता गर्नेहरूको विचार मिलेको उनले बताए । 'हामीले संगठित हिसाबले आफ्ना प्रयास गरेका हौं, सरकारको मुखमात्रै ताकेर हामीले आफूले गर्नसक्ने कोशिश छाड्न भएन,' उनले भने, 'पहिलो, दोस्रो, तेस्रो गर्दै १५ वर्ष बित्यो । अब त हाम्रो टुनामेन्ट गराउने सिस्टम पनि बस्यो । सबैको माया र सहयोगले यो सम्भव भएको हो ।'

आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताका फाइनलहरू

     क्रस          वर्ष              टिम                             गोल 
  1.         २०५९     पुलिस क्लव-फ्रेण्ड्स             १-०
  2.         २०६०     एमएमसी- पुलिस                ३-१
  3.        २०६१      एमएमसी-पुलिस                 ३-२
  4.        २०६२      अफ्रीकन युनाइटेड-पुलिस    २-०
  5.        २०६३      थ्रीस्टार-एमएमसी               १-१ (४-३)
  6.        २०६४      पुलिस-एपीएफ                    २-०
  7.       २०६५       पुलिस-त्रिभुवन आर्मी           ५-०
  8.       २०६६       पुलिस-आर्मी                       १-०
  9.       २०६७       थ्रीस्टार-एमएमसी               १-०
  10.       २०६८       एमएमसी-जावलाखेल युथ   २-०
  11.       २०६९       सहारा-थ्रीस्टार                     ०-१
  12.       २०७०       एमएमसी-सहारा                 ०-१
  13.       २०७१       एमएमसी-थ्रीस्टार              ०-१ 
  14.       २०७२       आर्मी- एमएमसी                ०-१
  15.       २०७३       एमएमसी- सहारा               १-०

तस्बिरमा पहिलो प्रतियोगिता (माथि) र सहारा आयोजनाको क्याराभान कपको एउटा खेल । 
तस्बिर सौजन्य : सुदर्शन रञ्जित

(८ माघ २०७३ मा कान्तिपुरको खेलकुद पृष्ठमा प्रकाशित । सामान्य अप्डेटपछि ब्लगमा जतन गरिएको)

कामले सिकाउँछ काम

महिनाको बचत २० रूपैयाँ । हेर्दा-सुन्दा यति पैसाले के नै आउँछ भन्ने लाग्न सक्छ । तर, जीवनोपयोगी कृषि समुहमा आबद्ध महिलाका लागि मासिक बचतले थुप्रै काम गरेको छ ।'बचतको कारण हामी आमा दिदी बहिनीको भेटघाट हुन्छ,' अध्यक्ष गुमा पौडेल भन्छिन् 'कृषि विकाससँग कार्यक्रम माग्न सक्ने भएका छौं ।' ३२ सदस्यले गर्ने बचत आठ हजार पाँच सय रूपैयाँ पुगेको छ । समुहलाई सामुदायिक वन उपभोक्ता समुहले पनि सघाएको उनले बताइन ।

'गाउँमा १३ वटा सामुदायिक वनका उपभोक्ता समिति छन्,' उनले भनिन्, 'पहिले पहिले छलफलमा जान धक मान्ने आमा दिदीबैनी अब निर्धक्क आफ्ना कुरा राख्नसक्नु हुन्छ ।' वन समुहका कार्यसमितिमा रहने महिलाहरू पनि अधिकांश आफ्ना टोलका आमा, कृषि, वातावरण समुह र टोल संगठनमा आवद्ध रहेकाले नेतृत्वको अभ्यास निरन्तर रहेको उनले बताइन ।
फेवातालको पश्चिम-उत्तरमा अवस्थित कास्कीको ढिकुरपोखरी पोखरा-बागलुङ राजमार्गमा पर्ने गाविस हो । यहाँका बासिन्दाको मुख्य बजार पोखरा र हेम्जा हो भने उच्चशिक्षाका लागि उपमहानगरसम्म गाडीमा आउजाउ सजिलो नै छ । गाउँका कृषि उपज बिक्रीका लागि पोखरा नै पुग्छ भने उताबाट चाहिने सामान गाउँले लिइ आउँछन् । फेवातालमा मिसिने खोलाहरू ढिकुरपोखरी र भदौरेतामागी भएर बगेका छन् । फेवामा पुग्ने पानी ढिकुरपोखरीको वन क्षेत्र हुँदै जाने भएकाले सामुदायिक वन उपभोक्ता समुहहरू पनि अधिकार र चेतनाको क्रियाकलापमा सक्रिय छन् । यसको प्रत्यक्ष असर महिला समुहहरूमा परेको छ । १० हजार ८६ जनसंख्या रहेको गाविसमा महिला संख्या चार हजार आठ सय ६३ छ । 
यहाँ महिलामात्रै मिलेर चलाएको एउटा सहकारी पनि छ । शेयर पूँजीमात्रै एक करोड १९ लाख पुर्‍याएको दिगो महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष सगुन गुरूङ भन्छिन् 'सानो समुह थियो, हामीले ५८ सालदेखि त्यसलाई सहकारी बनाएका हौं ।' नौ सय ९३ सदस्य पुगेको सहकारीले गर्ने कर्जा लगानी कृषिमा आधारीत काममै रहेको उनले बताइन । 'महिला महिलामात्रै के पो गर्न सकौंला जस्तो लाग्थ्यो तर, कामले काम सिकाउने रहेछ,' उनले भनिन्, 'अहिले त हाम्रो सहकारीकै कार्यसमितिको चुनाव पनि गाविस वा नगरपालिकाको चुनावभन्दा कम हुँदैन ।' समुहहरूमा कार्यसमितिमा बस्न अनुरोध गर्दै हिड्नुपर्ने जमाना गएको उनले बताइन । 'महिलाले बोल्न जानेका छन्, आफ्नो गाउँका लागि गाविस र जिल्लासँग योजना माग्न पनि जानेका छन्,' उनले भनिन्, 'यसो हेर्दा त्यस्तो ठूलो के नै पो परिवर्तन आयोजस्तो लाग्छ तर, हाम्रो गाविसमा समुहले गर्दा महिलाको चेतनास्तर निकै बढ्यो ।'
सामाजिक परिचालक संगीता भण्डारीका अनुसार परिवारका सदस्यमध्ये अधिकांशको एक/एकजना घरघरै विदेशिएका भएपनि महिला संगठीत छन् । 'वनको बेग्लै, कृषिको बेग्लै अनि स्वास्थ्यको पनि वडापिच्छे ३०/३० जना सदस्य रहेका समुहहरू छन्,' उनले भनिन्, 'गाविसस्तरीय महिला सञ्जाल पनि छ ।' विभिन्न समय गैरसरकारी संस्थाहरूले आवधिक कार्यक्रम सञ्चालन गरेपनि अधिकांश महिला समुह आफैंमा आत्मनिर्भर रहेको उनले बताइन । 
'ठूला कुरा के गर्नु, हाम्रा समुह तरकारीखेती, बाख्रापालन आदिका पनि धेरै छन्,' गाविसस्तरीय महिला सञ्जालकी सदस्यसचिव चन्द्रा अधिकारीले भनिन्, 'जसलेसुकै गाविसमा कार्यक्रम ल्याओस् महिला समुहको सहभागिता भएन भने सफल नहुने अवस्था छ ।' सञ्जालले लघुउद्यमका तालिमहरू पनि सञ्चालन गरेर ब्युटीपार्लर, सिलाइकटाइ र बुट्टा भर्ने कामलाई व्यवसायका रूपमा थाल्न सघाएको उनले बताइन । 'महिला संगठीत त भएका छौं तर, हामीलाई चाहिने योजनामा जिविस र सांसदलाई अझै दबाब दिन सकेका छैनौं जस्तो लाग्छ,' उनले भनिन्, 'गाविसका योजनामा महिलाका लागि केके पार्ने र केके परे भन्नेमा बहस चाहि गर्न थालेका छौं ।' श्रीमान-श्रीमती घरैमा भएकाहरूमध्ये अधिकांशले कृषिमा आधारीत उद्यम गरेपनि श्रीमान विदेश गएका कतिपय महिलामा उद्यम नगर्ने बानी विकास भएको उनले बताइन । 'ढाँट्नु किन छ र, श्रीमान विदेश गएका परिवारमा महिला बजार सरेर डेरा बस्ने, छोराछोरी उतै पढाउने, आफू इलम नगर्ने बानी पनि बढ्दो छ,' उनले भनिन्, 'हामी जति गाउँ छाड्न नसकेर बसेका छौं, धेरैले समुहमा बचत, आम्दानी हुने कृषिको काम र महिला स्वास्थ्यका कुरामा सकेको गरेका छौं ।'
भकरजुङ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद पौडेल समुहमा आबद्धमध्येका विपन्न परिवारका लागि सहुलियत ऋणको व्यवस्था गरेको बताउँछन् । 'सहकारी र महिला समुहका आआफ्ना गतिविधि छन्,' उनले भने, 'हामीले वन समुहबाट पनि विपन्नलाई सहुलियत कृषि कर्जा दिन्छौं । कारोबार गर्न, ऋण तिन र समुहमा छलफल गर्न थालेपछि चेतनास्तर बढ्नु स्वभाविकै पनि हो ।' वडा नागरिक मञ्च र गाविसस्तरीय सञ्जालमा पनि महिला सहभागिताले योजनाहरूको निगरानी गर्न सजिलो रहेको उनले बताए । भकरजुङले चोरीसिकार नियन्त्रणका लागि गठन गरेको इकाइमा नेतृत्व महिलालाई दिइएको छ । इकाइ सदस्य पार्वती पौडेल भन्छिन् 'नौजनामध्ये हामी महिला सातजना छौं । हामीले राम्रो काम गर्‍यौं भनेर पुरस्कृत पनि हुन पाइयो ।' गाविस सचिव स्थानेश्वर ढुंगाना महिला समुहहरूको सक्रियताकै कारण गाउँमा आएका योजनाको कार्यान्वयन प्रभावकारी भएको बताउँछन् ।

(१९ माघ २०७३, कान्तिपुरको चितवन संस्करण पृष्ठमा प्रकाशित)

Sunday, January 8, 2017

सिक्लेसको त्यो दोस्रो यात्रा

सिक्लेसको दुरि भन्नका लागि पोखराबाट सडकमार्ग ४० किमीमात्रै हो । तर, बाटो हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुन्छ । अघिल्लोपल्ट जाँदाको समय वर्षाको थियो । पोखराको काहुखोलाबाट चढेको बसले निकै दु:ख दिएको सम्झना छँदै थियो । त्योबेला सुदुरपश्चिमसँगै मुलुकका बिभिन्न भागका पहाडी बाटामा बस दुर्घटना भएका थिए, त्यसैले प्रहरीले बसमाथि निगरानी बढाएको थियो । ३५ जनाभन्दा यात्रु चढ्न नपाउने । त्यस दिन हामीसँगै बसमा ५० जनाभन्दा धेरै थियौं ।  
केही यात्रु उत्रिएर पैदल अगि लागे । प्रहरीको चेक प्वाइन्ट छलेर बस अघि बढेपछि चढे । भित्र कोचाकोच, छतमा पनि उक्लिनेहरू थिए । बाटामा धेरै ठाउँ उकालोमा बस अघि बढ्न नसक्दा हामी धेरैजना उत्रिँदै, बस ठेल्दै गर्दै पुगेका थियौं ।
नेपालकै सबैभन्दा कम उचाइको भूभागमा अवस्थित हिमताल 'कफूचे' (कपूचे) अवलोकनको त्यो यात्राबारे मैले ब्लगमै पनि लेखिसकेको छु ।
योपल्ट २०७३ पुस १८ सोमबारको यात्रा त्यस्तो सकसको थिएन । कारण- जानका लागि सानो जिपमा मिलेको थियो । सिक्लेसका अगुवा मनबहादुर गुरुङ दाइले किन जानुपर्ने भन्ने कारण प्रष्ट थिएन । गाउँमा कुनै समारोह थियो, त्यसैले उनले जानैपर्छ भनेर १५ दिन अघिदेखि नै आग्रह गर्दै फोन गरेकाले 'हुँदैन, समय छैन' भन्न सकिएन । मलाइ पनि पोखराको कोठा र अफिसको दैनिकीबाट एक दिन भएपनि बाहिर निस्केर सास फेर्न मन लागेको थियो । बिहान ८ बजे काहुँखोला बसपार्कबाट निस्किएपछि ११ बजे सिक्लेस पुगियो ।
***
पुग्दा घाम लागेको थियो । हावा चिसो थियो । बेला बेला घाम देखिँदै, बादलमा छेलिँदै पानीले पनि सिमसिम गर्दै थियो । लमजुङ हिमालको काखमा रहेको यो गाउँ जहिल्यै चिसै हुने हो तर, अघिल्लो दिन उच्च पहाडी क्षेत्रमा हिमपात भएको खबर थियो । त्यसको असर टरिसकेको थिएन ।
ढुंगा र जस्तापाताका छाना भएका गुजमुज्ज घरको बाक्लो बस्ती । ९० प्रतिशतको बोलिचालीको भाषा गुरुङ । अघिपछि आउँदा पनि यहाँको आतिथ्य गजबकै हो । यसपटक पुगेपछि मात्रै कारण बुझियो – त्यो पर्यटकीय गुरुङ गाउँमा यूके बस्ने एकजना लाहुरेले स्वागत द्धार बनाएका रहेछन् । दुइ छोरी, एक छोराका पिता, तिनले आमाको ८४ वर्ष पुगेको अवसर पारेर पक्की गेट बनाएका । त्यसको उद्घाटनका लागि आमालाई २० वर्षपछि पुर्ख्यौली थलो टेकाउँदै । गाउँले खुसी थिए । पञ्चेबाजा, फूलमाला, अबिरसहित स्वागतको तयारी थियो ।
रिबन काट्ने र  शीलालेख अनावरणको तयारीमा गाउँलेसँगै मनबहादुर दाइ व्यस्त थिए । पोखराबाट लैजाने भनिएपनि अरू सञ्चारकर्मी आएका थिएनन् । मेसो के मिलेन वा ल्याउने योजना स्थगनबारे मलाइ थाहा भएन ।
मलाइ पठाएको गाडीमा कोलप्रसादकी श्रीमती, छोरा र एकजना आफन्त पनि थिए । उनीहरू हेलिकप्टर उत्रने स्थानमा प्रतिक्षार्थ उभिए । म भने नजिकैको चियापसलमा पुगेँ । बाहिरको चिसो हावा मुटु कमाउने भएको थियो ।
***
स्वास्थ्य चौकी अगाडिको पाखामा दिउँसो डेढ बजे धूलो उडाउँदै हेलिकप्टर ल्याण्ड भयो । कोलप्रसाद ८४ वर्षीया आमा बिपी गुरुङ, १९ र १४ वर्षीया दुइ छोरीसँगै उत्रिए । गाउँलेले धुमधाम स्वागत गरे । भीड समारोहस्थलमा आयो । एकातर्फ बिपी र उनका दिवंगत श्रीमान समसेर गुरुङको तथा अर्कातिर तीन सन्तानसँगै कोलप्रसाद परिवारका तस्बिर पनि राखिएको गाउँको गेटको उद्घाटन भयो ।
सिक्लेस गाउँ पार्चे गाविसमा पर्छ । र, सिक्लेस भनिने बस्तीमा पार्चेका चार/पाँचवटा वडा पर्छन् । कार्यक्रममा भने पार्चेमात्रै नभइ आसपास गाउँका गुरुङ समुदायको पनि उल्लेख्य सहभागिता थियो । गाउँको स्कुलका छात्रछात्रा र शिक्षक पनि कोलप्रसादको परिवारलाई स्वागत गर्न आएका थिए । फूलमाला, दहीमा मुछेको सेतो टीका, अबिरको स्वागत थापेपछि लाहुरेको परिवारले गेट उद्घाटन गर्‍यो ।
***
कोलप्रसादको परिवार गाउँका बाक्ला बस्तीभित्रको ढुंगे बाटो छिचोल्दै पुरानो एउटा घर अगाडि आएर अडियो । चौरासी वर्षीया आमाले आँगन, ढोका र भित्र पसेर चुला ढोगिन । त्यो उनीहरूको पुरानो घर थियो । कोलप्रसादले मलाइ आफ्नो कहानी बताए ।
पिता बेलायती सेनामा थिए । सेवानिवृत्त भएर गाउँ फर्किएको छोटो समयमै बिते । समसेर-बिपी गुरुङको सन्तान ढिलो भएको थियो । कोलप्रसाद डेढ वर्षको छँदा समसेरको निधन भएको थियो । स्कुले पढा अलि ढिला भयो । १० कक्षाको टेस्ट परीक्षा दिएर छाती नाप्न उभिएका कोलप्रसाद भर्ती भइहाले । एसएलसी दिन पाएनन् । भर्तीमा छँदै पोखरामा पनि घर बनाए । बिहे गरे । पत्नीको हङकङ आइडी थियो । सन् २००३ मा रिटायर्ड भएर हङकङ बस्ने योजना बन्यो । पोखराको घरमा एक्लै परेकी आमालाई पनि उतै लगे । जेठी छोरी जन्मिएपछि भने उनलाई हङकङभन्दा बेलायतको बसाइँ ठीक होला भन्ने बिचार आयो ।
उताका लागि आवेदन भरे । बस्न पाउने भएपछि सपरिवार सरे । एउटा सेक्युरिटी गार्डको कम्पनी स्थापनाको तयारीमा रहेकाहरूसँग सम्पर्क भयो । उनले तिनका लागि अपरेसन म्यानेजरको काम सम्हाले । पहिलो वर्ष नै कम्पनीले अपेक्षाभन्दा बढि नाफा कमायो । शेयर हाल्ने बिचार गरेका कोलप्रसाद राम्रो तलबमा जागिरे नै बनेर बस्न बाध्य भए ।
'मलाइ जागिर भनेर कडिकडाउ छैन,' उनले सुनाए, 'खुसीको जागिर हो । मन लागेका बेला विदा लिन पाउँछु । तलब आकर्षक छ ।' आमाको ८४ मा केही नौलो काम गर्ने, सन्तानलाई गाउँको घर टेकाउने, आमालाई पनि गाउँ र आफन्त भेटाउने इच्छाले आजको दिनसम्म आइपुगेको उनले बताए । कान्छी छोरी र छोरा नेपाली बोल्दैनन् । 'हामी रहरले, बाध्यताले विदेशिएकाको सन्तानले अब हाम्रा भाषा बिर्सने अवस्था छ', उनले भने, 'बाउबाजेको थलो पनि देखाइएन भने हामी कहाँबाट आएका हौं, इतिहाँस के हो भन्ने बिर्सन्छन् भन्ने लाग्छ ।' यसैका लागि पनि सपरिवार गाउँ घुम्न आएको उनले बताए । अघिल्लोपटक छोराछोरीमात्रै पठाउँदा नेपालमा जारी इन्धन संकट र लोडसेडिङले परेको नराम्रो छाप यसपटक मेटिएको उनले सुनाए ।
१५ लाख लागतमा गाउँमा गेट बनाइदिन आफूले प्रस्ताव गर्दा गाउँले खुसी भएको पनि उनले बताए । 'मैले डिजाइन हेरेँ, पैसा पठाइदिएँ,' उनले भने, 'बनाउने सबै काम साथीभाइले गरेका हुन् ।' 
घरभित्र पसेर अगेना छेउ बसेको गुरुङ परिवारमध्येका नयाँ पुस्ता नौलो मानिरहेका थिए । पुराना पुस्ताको आँखामा आँसू टिलपिलाएको देखिन्थ्यो । भित्र धुवाँ मडारिएकाले नयाँ पुस्ता धेरैबेर बसेनन् । आमा निकैबेर बसिरहिन । घर अलि टाढाका आफन्तलाई रेखदेख गरिदिने शर्तमा सितैंमा बस्नका लागि दिइएको रहेछ ।
***
घरबाट अघि बढेको हुल गैरीथरे समाजघर पुगेर सभामा परिणत भयो । त्यहाँ गाउँका सबैजसो विकासनिर्माण र सामुदायिक काममा कोलप्रसादको योगदानको चर्चा भयो । बोल्नेहरू सबैजसोले काममा खातिर जहाँ पुगेपनि आफ्नो थलो नबिर्सन आग्रह गरे ।
सिक्लेसका सम्पन्नमध्ये अधिकांशको पोखरामा पनि घर छ । कोलप्रसादले तीमध्येका धेरै परिवारलाई दुइ बस रिजर्भ गरि गाउँ लगेका थिए । कार्यक्रममा बोल्ने पालो सकिएपछि आमा समुहहरूले ल्याएका कोसेली खाने मेलो सुरू भयो । समाजघरको पछाडिको भान्सामा खाना पकाउन १०/१२ जना खटिएका थिए । भान्साको र्‍याकमा देखीएका ठूल्ठुला सिङ भएका खसीका दुइटा टाउकाले तरकारीमा पाकेको थोक प्रस्टै बुझिन्थ्यो । ग्यालनमा घरेलु मदिरा र बजारबाट लगिएका बियर र ह्विस्कीका कार्टुन पनि खुल्न सुरू भए ।
साँझ ५ बजे खानाको थाल हातमा आइपुग्दा त्यो बिहानको हो वा बेलुकीको छाक भन्नेमा चाहि दुविधा भयो । खानापछि नाचगान सुरू भयो । पालैपालो गुरुङ र नेपाली भाषाका लोकभाका घन्किए । नाच्ने नाचिरहे । आयोजक र खायोजक सबै नाचे । कोलप्रसादले गुरुङ समाजका आमा र दिदी बहिनी समुहलाई पालैपालो नगद सहयोग हस्तान्तरण गरे । नाचगान चलिरहँदा राति साढे १० बजेपछि म भने सुत्न गएँ । बिहान उठेपछि थाहा भयो, रंगारंग कार्यक्रम १ बजेसम्म चलेछ ।
***
दोस्रो दिन बिहान गाउँ घुम्ने काम भयो । पार्चे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) भित्र पर्छ । यहाँ एक्यापको कार्यालय र गुरुङ संग्रहालय पनि छ । एक्यापका सिक्लेस एकाइ प्रमुख नरेन्द्र लामासँग अघिल्लै दिन भेट र चिनजान भएको थियो ।
मनबहादुर दाइले बिहानको चियामा लामाजीको अफिस हाता पुर्‍याए । बसियो, कुराकानी भयो । एक्याप हातामा चियाका बुटा लगाइएका छन् । सानो ठाउँमा भएपनि बोटहरू सजावटका हिसाबले राम्रा देखिन्छन् ।

विदाइ अघि पनि समाजघरको भेला अघिल्लै दिन जस्तो थियो । दोस्रो दिनको भोजका साक्षी र्‍याकमा थिएनन् तर, कटाइ दुइटै भन्ने सुन्न मिल्यो । थालमा हालेको खानाको बाफ छँदाछँदै नसिध्याए सेलाइजाने । दोस्रो दिन भने अघिल्लो रात जसरी मदिराको खान्की थिएन । गाउँलेहरूले पोखरा बसेका आफन्तका लागि तरकारीको कोसेली ल्याइरहेको देखियो । बिहानको खानाको कार्यक्रम सकिएपछि भीड आआफ्नो गाडीतर्फ लाग्यो । गाउँलेले आँखा भिजाउँदै विदाइ गरे ।