सिक्लेसको दुरी भन्नका लागि पोखराबाट सडकमार्ग ४० किमिमात्रै हो । तर, बाटो हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुन्छ
। अघिल्लोपल्ट जाँदाको समय वर्षाको थियो । पोखराको काहुँखोलाबाट चढेको बसले निकै
दु:ख दिएको सम्झना छँदै थियो । त्योबेला सुदूरपश्चिमसँगै मुलुकका विभिन्न भागका
पहाडी बाटामा बस दुर्घटना भएका थिए, त्यसैले प्रहरीले बसमाथि निगरानी बढाएको थियो
। ३५ जनाभन्दा यात्रु चढ्न नपाउने । त्यस दिन हामीसँगै बसमा ५० जनाभन्दा धेरै
थियौं ।
केही यात्रु उत्रिएर पैदल अघि लागे ।
प्रहरीको चेक प्वाइन्ट छलेर बस अघि बढेपछि चढे । भित्र कोचाकोच, छतमा पनि
उक्लिनेहरू थिए । बाटामा धेरै ठाउँ उकालोमा बस अघि बढ्न नसक्दा हामी धेरैजना
उत्रिँदै, बस ठेल्दै गर्दै पुगेका थियौं ।
नेपालकै सबैभन्दा कम उचाइको भूभागमा अवस्थित हिमताल 'कफूचे' (कपूचे) अवलोकनको त्यो यात्राबारे मैले ब्लगमै पनि लेखिसकेको छु ।
योपल्ट २०७३ पुस १८ सोमबारको यात्रा
त्यस्तो सकसको थिएन । कारण - जानका लागि सानो जिपमा मिलेको थियो । सिक्लेसका अगुवा
मनबहादुर गुरुङ दाइले किन जानुपर्ने भन्ने कारण प्रष्ट थिएन । गाउँमा कुनै समारोह
थियो, त्यसैले उनले जानैपर्छ भनेर १५ दिन अघिदेखि नै आग्रह गर्दै फोन गरेकाले
'हुँदैन, समय छैन' भन्न सकिएन । मलाइ पनि पोखराको कोठा र अफिसको दैनिकीबाट एक दिन
भएपनि बाहिर निस्केर सास फेर्न मन लागेको थियो । बिहान ८ बजे काहुँखोला बसपार्कबाट
निस्किएपछि ११ बजे सिक्लेस पुगियो ।
***
पुग्दा घाम लागेको थियो । हावा चिसो थियो
। बेला बेला घाम देखिँदै, बादलमा छेलिँदै पानीले पनि सिमसिम गर्दै थियो । लमजुङ
हिमालको काखमा रहेको यो गाउँ जहिल्यै चिसै हुने हो तर, अघिल्लो दिन उच्च पहाडी
क्षेत्रमा हिमपात भएको खबर थियो । त्यसको असर टरिसकेको थिएन ।
ढुंगा र जस्तापाताका छाना भएका गुजमुज्ज
घरको बाक्लो बस्ती । ९० प्रतिशतको बोलिचालीको भाषा गुरुङ । अघिपछि आउँदा पनि
यहाँको आतिथ्य गजबकै हो । यसपटक पुगेपछि मात्रै कारण बुझियो – त्यो पर्यटकीय गुरुङ
गाउँमा यूके बस्ने एकजना लाहुरेले स्वागतद्वार बनाएका रहेछन् । दुई छोरी, एक
छोराका पिता कोलप्रसाद गुरूङ । जसले आफ्नी आमाको ८४ वर्ष पुगेको अवसर पारेर पक्की गेट बनाएका रहेछन् । त्यसको
उद्घाटनका लागि आमालाई २० वर्षपछि पुर्ख्यौली थलो टेकाउँदै थिए । भोजसहितको समारोह आयोजनाले गाउँले खुसी थिए ।
पञ्चेबाजा, फूलमाला, अबिरसहित स्वागतको तयारी थियो ।
रिबन काट्ने र शिलालेख अनावरणको तयारीमा गाउँलेसँगै मनबहादुर
दाइ व्यस्त थिए । पोखराबाट लैजाने भनिए पनि अरू सञ्चारकर्मी आएका थिएनन् । मेसो के
मिलेन वा ल्याउने योजना स्थगनबारे मलाइ थाहा भएन ।
मलाइ लिन पठाइएको गाडीमा कोलप्रसादकी श्रीमती,
छोरा र एकजना आफन्त पनि थिए। उनीहरू हेलिकप्टर उत्रने स्थानमा प्रतीक्षार्थ उभिए। म भने नजिकैको चियापसलमा पुगेँ। बाहिरको चिसो हावा मुटु कमाउने भएको थियो।
***
स्वास्थ्य चौकी अगाडिको पाखामा दिउँसो डेढ
बजे धुलो उडाउँदै हेलिकप्टर ल्याण्ड भयो। कोलप्रसाद, आमा बिपी गुरुङ,
१९ र १४ वर्षीया दुई छोरीसँगै उत्रिए। गाउँलेले धुमधाम स्वागत गरे। भीड समारोहस्थलमा
आयो। एकातर्फ बिपी र उनका दिवंगत श्रीमान शमशेर गुरुङको तथा अर्कातिर तीन
सन्तानसँगै कोलप्रसाद परिवारका तस्बिर पनि राखिएको गाउँको गेटको उद्घाटन भयो।
सिक्लेस गाउँ पार्चे गाविसमा पर्छ। र,
सिक्लेस भनिने बस्तीमा पार्चेका चार/पाँचवटा वडा पर्छन्। कार्यक्रममा भने
पार्चेमात्रै नभइ आसपास गाउँका गुरुङ समुदायको पनि उल्लेख्य सहभागिता थियो।
गाउँको स्कुलका छात्रछात्रा र शिक्षक पनि कोलप्रसादको परिवारलाई स्वागत गर्न आएका
थिए। फूलमाला, दहीमा मुछेको सेतो टीका, अबिरको स्वागत थापेपछि लाहुरेको परिवारले
गेट उद्घाटन गर्यो।
***
कोलप्रसादको परिवार गाउँका बाक्ला
बस्तीभित्रको ढुंगे बाटो छिचोल्दै पुरानो एउटा घर अगाडि आएर अडियो। चौरासी
वर्षीया आमाले आँगन, ढोका र भित्र पसेर चुला ढोगिन। त्यो उनीहरूको पुरानो घर थियो। कोलप्रसादले मलाइ आफ्नो कहानी बताए।
पिता बेलायती सेनामा थिए। सेवानिवृत्त
भएर गाउँ फर्किएको छोटो समयमै बिते। शमशेर-बिपी गुरुङको सन्तान ढिलो भएको थियो।
कोलप्रसाद डेढ वर्षको छँदा शमशेरको निधन भएको थियो। स्कुले पढाइ अलि ढिला भयो। १०
कक्षाको टेस्ट परीक्षा दिएर छाती नाप्न उभिएका कोलप्रसाद भर्ती भइहाले। एसएलसी
दिन पाएनन्। भर्तीमा छँदै पोखरामा पनि घर बनाए। बिहे गरे। पत्नीको हङकङ आइडी
थियो। सन् २००३ मा रिटायर्ड भएर हङकङ बस्ने योजना बन्यो। पोखराको घरमा एक्लै परेकी
आमालाई पनि उतै लगे। जेठी छोरी जन्मिएपछि भने उनलाई हङकङभन्दा बेलायतको बसाइ ठीक
होला भन्ने विचार आयो।
उताका लागि आवेदन भरे। बस्न पाउने भएपछि
सपरिवार सरे। एउटा सेक्युरिटी गार्डको कम्पनी स्थापनाको तयारीमा रहेकाहरूसँग
सम्पर्क भयो। उनले तिनका लागि अपरेसन म्यानेजरको काम सम्हाले। पहिलो वर्ष नै
कम्पनीले अपेक्षाभन्दा बढी नाफा कमायो। शेयर हाल्ने विचार गरेका कोलप्रसाद राम्रो
तलबमा जागिरे नै बनेर बस्न बाध्य भए।
'मलाइ जागिर भनेर कडिकडाउ छैन,' उनले
सुनाए, 'खुसीको जागिर हो। मन लागेका बेला बिदा लिन पाउँछु। तलब आकर्षक छ।'
आमाको ८४ मा केही नौलो काम गर्ने, सन्तानलाई गाउँको घर टेकाउने, आमालाई पनि गाउँ र
आफन्त भेटाउने इच्छाले आजको दिनसम्म आइपुगेको उनले बताए। कान्छी छोरी र छोरा
नेपाली बोल्दैनन्। 'हामी रहरले, बाध्यताले विदेशिएकाको सन्तानले अब हाम्रा भाषा
बिर्सने अवस्था छ,' उनले भने, 'बाउबाजेको थलो पनि देखाइएन भने हामी कहाँबाट आएका
हौं, इतिहाँस के हो भन्ने बिर्सन्छन् भन्ने लाग्छ।' यसैका लागि पनि सपरिवार गाउँ
घुम्न आएको उनले बताए। अघिल्लोपटक छोराछोरीमात्रै पठाउँदा नेपालमा जारी इन्धन
संकट र लोडसेडिङले परेको नराम्रो छाप यसपटक मेटिएको उनले सुनाए।
१५ लाख लागतमा गाउँमा गेट बनाइदिन आफूले प्रस्ताव गर्दा गाउँले खुसी भएको पनि उनले बताए। 'मैले डिजाइन हेरेँ, पैसा पठाइदिएँ,' उनले भने, 'बनाउने सबै काम साथीभाइले गरेका हुन्।'
घरभित्र पसेर अगेना छेउ बसेको गुरुङ
परिवारमध्येका नयाँ पुस्ता नौलो मानिरहेका थिए। पुराना पुस्ताको आँखामा आँसू टिलपिलाएको
देखिन्थ्यो। भित्र धुवाँ मडारिएकाले नयाँ पुस्ता धेरैबेर बसेनन्। आमा निकैबेर
बसिरहिन। घर अलि टाढाका आफन्तलाई रेखदेख गरिदिने सर्तमा सितैंमा बस्नका लागि
दिइएको रहेछ।
***
घरबाट अघि बढेको हुल गैरीथरे समाजघर पुगेर
सभामा परिणत भयो। त्यहाँ गाउँका सबैजसो विकासनिर्माण र सामुदायिक काममा
कोलप्रसादको योगदानको चर्चा भयो। बोल्नेहरू सबैजसोले काममा खातिर जहाँ पुगे पनि
आफ्नो थलो नबिर्सन आग्रह गरे।
सिक्लेसका सम्पन्नमध्ये अधिकांशको पोखरामा
पनि घर छ। कोलप्रसादले तीमध्येका धेरै परिवारलाई दुई बस रिजर्भ गरि गाउँ लगेका
थिए। कार्यक्रममा बोल्ने पालो सकिएपछि आमा समूहहरूले ल्याएका कोसेली खाने मेलो
सुरू भयो। समाजघरको पछाडिको भान्सामा खाना पकाउन १०/१२ जना खटिएका थिए। भान्साको
र्याकमा देखिएका ठूल्ठुला सिङ भएका खसीका दुइटा टाउकाले तरकारीमा पाकेको थोक
प्रस्टै बुझिन्थ्यो। ग्यालनमा घरेलु मदिरा र बजारबाट लगिएका बियर र ह्विस्कीका
कार्टुन पनि खुल्न सुरू भए।
साँझ ५ बजे खानाको थाल हातमा आइपुग्दा
त्यो बिहानको हो वा बेलुकीको छाक भन्नेमा चाहिँ दुविधा भयो। खानापछि नाचगान सुरू
भयो। पालैपालो गुरुङ र नेपाली भाषाका लोकभाका घन्किए। नाच्ने नाचिरहे। आयोजक र
खायोजक सबै नाचे। कोलप्रसादले गुरुङ समाजका आमा र दिदीबहिनी समूहलाई पालैपालो नगद
सहयोग हस्तान्तरण गरे। नाचगान चलिरहँदा राति साढे १० बजेपछि म भने सुत्न गएँ।
बिहान उठेपछि थाहा भयो, रंगारंग कार्यक्रम १ बजेसम्म चलेछ।
***
दोस्रो दिन बिहान गाउँ घुम्ने काम भयो।
पार्चे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) भित्र पर्छ। यहाँ एक्यापको
कार्यालय र गुरुङ संग्रहालय पनि छ। एक्यापका सिक्लेस एकाइ प्रमुख नरेन्द्र
लामासँग अघिल्लै दिन भेट र चिनजान भएको थियो।
मनबहादुर दाइले बिहानको चियामा लामाजीको
अफिस हाता पुर्याए। बसियो, कुराकानी भयो। एक्याप हातामा चियाका बुटा लगाइएका
छन्। सानो ठाउँमा भएपनि बोटहरू सजावटका हिसाबले राम्रा देखिन्छन्।
बिदाइ अघि पनि समाजघरको भेला अघिल्लै दिन
जस्तो थियो। दोस्रो दिनको भोजका साक्षी र्याकमा थिएनन् तर, कटाइ दुइटै भन्ने
सुन्न मिल्यो। थालमा हालेको खानाको बाफ छँदाछँदै नसिध्याए सेलाइजाने। दोस्रो दिन
भने अघिल्लो रात जसरी मदिराको खान्की थिएन। गाउँलेहरूले पोखरा बसेका आफन्तका लागि
तरकारीको कोसेली ल्याइरहेको देखियो। बिहानको खानाको कार्यक्रम सकिएपछि भीड आआफ्नो
गाडीतर्फ लाग्यो। गाउँलेले आँखा भिजाउँदै बिदाइ गरे।
No comments:
Post a Comment