सुनिता एक सफल सफ्टवेयर इन्जिनियर हुन्। उनले कम्पनीमा 'उत्कृष्ट कर्मचारी'को अवार्ड पाइन्। सबैले बधाई दिइरहेका छन्। तर, सुनिताको मनभित्र अर्कै कुरा खेलिरहेको छ - 'मलाई त कोडिङको यो नयाँ फिचर खासै राम्रोसँग आउँदैन, साथीहरूले सहयोग नगरेको भए म सक्ने थिइनँ। म्यानेजरले मेरो कमजोरी थाहा पाए भने मलाई आजै जागिरबाट निकाल्छन्।'
सुनितालाई आफ्नो अवार्ड योग्यताले नभई भाग्यले पाएको जस्तो लाग्छ। यही डरले उनी झन् बढी काम गर्छिन् र आफूलाई थकाउँछिन्। उनी गुज्रिरहेको अवस्थालाई मनोवैज्ञानिकहरुले 'इम्पोस्टर सिन्ड्रोम' (Imposter Syndrome) नाम दिएका छन्।
हामीमध्ये धेरैले जीवनमा कहिलेकाहीँ यस्तो अनुभव गरेका हुन्छौं -काम राम्रो भइरहेको छ, अरूले प्रशंसा गरिरहेका छन्, तर भित्र कतै एउटा आवाज आउँछ, 'म वास्तवमै यति योग्य हुँ त?' यही अदृश्य असुरक्षाको नाम हो- इम्पोस्टर सिन्ड्रोम।
यो आधुनिक समयको एक साझा मानसिक अनुभव हो, जसले सफल व्यक्तिहरूलाई समेत 'म त ठग पो हुँ कि' भन्ने भ्रममा पार्छ। हरेक व्यक्तिले आफ्नो योग्यता, क्षमताअनुसार कार्य सम्पादन गर्छ। उसको काम सफल हुनु नहुनुमा कति पटक समय उचित/अनुचितमा पनि भर गरेको हुन्छ। व्यक्ति आफ्नो क्षमता वा सिकाइले नभ्याउने ठाउँमा मद्दत लिन्छ/दिन्छ, व्यवहारमा यो सामान्य हो। आफूलाई किन कमजोर ठान्नु? तर कसैले चाहदैमा भावनात्मक आवेग हठात् घट्दैन।
इम्पोस्टर सिन्ड्रोम एउटा यस्तो मानसिक अवस्था हो जहाँ व्यक्तिले आफ्नो क्षमता, कौशल र सफलतामा शंका गर्छ। आफूले प्राप्त गरेको उपलब्धि आफ्नै मिहिनेतले नभई भाग्य, संयोग वा अरूलाई झुक्याएर पाएको हो भन्ने उसलाई लाग्छ। यस्ता व्यक्तिहरूलाई जतिसुकै प्रमाण वा प्रशंसा दिए पनि उनीहरू सधैं 'मैले त सबलाई मूर्ख बनाएको छु, कुनै दिन मेरो वास्तविकता खुल्यो भने म बर्बाद हुनेछु' भन्ने डरमा बाँच्छन्।
'इम्पोस्टर सिन्ड्रोम' शब्दावलीको सुरुवात सन् १९७८ मा भएको हो। अनुसन्धानकर्ताहरु हुन् क्लिनिकल मनोवैज्ञानिकहरू पलिन क्लान्स र सुजन इम्स। उनीहरूले १५० जना उच्च सफल महिलाहरूमाथि अध्ययन गरेका थिए। के पाए भने, ती महिलाहरू शैक्षिक र व्यावसायिक रूपमा सफल भए पनि भित्रभित्रै आफूलाई 'अयोग्य' महसुस गर्थे। सुरुमा यसलाई 'इम्पोस्टर फेनोमेनन' भनिएको थियो।
सैद्धान्तिक व्याख्या केलाउने हो भने मनोविज्ञानले यसलाई व्यक्तिको व्यक्तित्व (Personality Traits) र बाल्यकालको वातावरणसँग जोडेर हेर्ने गरेको छ। पूर्णतावाद (Perfectionism), सबै कुरा शतप्रतिशत सही हुनुपर्छ भन्ने चाहना राख्नेहरूमा यो बढी देखिन्छ। पारिवारिक प्रभाव, बाल्यकालमा 'तिमी त जन्मजात प्रतिभाशाली छौ' भनेर अत्यधिक दबाब दिइएका वा दाजुभाइ/दिदीबहिनीसँग तुलना गरिएका बालबालिकामा पछि यो समस्या देखिन सक्छ।
यति कुरा गरेपछि हामीले प्रष्ट हुनुपर्छ के यो रोग हो? के यो घातक छ? रोग होइन। इम्पोस्टर सिन्ड्रोम कुनै आधिकारिक 'मानसिक रोग' (Mental Disorder) होइन। यो एउटा 'अनुभव' वा 'अवस्था' मात्र हो। घातक पनि होइन। यो शारीरिक रूपमा घातक छैन, तर मानसिक रूपमा हानिकारक हुन सक्छ। यदि यसलाई समयमै व्यवस्थापन गरिएन भने यसले एन्जाइटी, डिप्रेसन र कामप्रतिको वितृष्णा निम्त्याउन सक्छ।
इम्पोस्टर सिन्ड्रोमको जरो प्रायः हाम्रो सोच र आत्म-मूल्यांकनमा हुन्छ। बाल्यकालमा अत्यधिक अपेक्षा राखिएको वातावरण, सधैं उत्कृष्ट हुनुपर्ने दबाब, वा अरूसँग निरन्तर तुलना गर्ने बानीले यसलाई बढावा दिन्छ। विशेषगरी नयाँ परिवेश, नयाँ जागिर, उच्च जिम्मेवारी वा सार्वजनिक भूमिकामा प्रवेश गर्दा यो भावना अझ तीव्र हुन्छ। व्यक्ति आफूलाई प्रमाणित गर्नुपर्ने दबाबमा यति अल्झिन्छ कि आफ्नै उपलब्धि देख्न छोड्छ।
यसका लक्षणहरू सूक्ष्म तर गहिरा हुन्छन्। व्यक्तिले प्रशंसा सुन्दा असहज महसुस गर्छ, सानो गल्तीलाई ठूलो असफलता जस्तो लिन्छ र प्रायः 'सबै कुरा परफेक्ट हुनुपर्छ' भन्ने सोचले थाक्छ। कतिपय अवस्थामा मानिस अत्यधिक तयारी गर्छ, भने कतिपयले असफलताको डरले काम टार्न थाल्छ। दुवै अवस्थाको जरा एउटै हो, आफ्नो क्षमतामाथि विश्वासको कमी।
तर रोचक कुरा के छ भने, इम्पोस्टर सिन्ड्रोम प्रायः त्यही व्यक्तिमा देखिन्छ, जो वास्तवमै सक्षम हुन्छ। किनकि उनीहरूले आफ्नो कामलाई गम्भीरतापूर्वक लिन्छन्, आफ्नो कमजोरी देख्छन्, र अझ राम्रो बन्न चाहन्छन्। यसैले यो समस्या होइन, बरु कहिलेकाहीँ अत्यधिक आत्म-जागरूकता को परिणाम पनि हो।
यसबाट बाहिर निस्कन पहिलो कदम भनेको यसलाई स्वीकार गर्नु हो। 'म मात्र यस्तो सोचिरहेको छैन' भन्ने बुझाइले ठूलो राहत दिन्छ। आफ्ना उपलब्धिहरू लेखेर राख्नु, सानो प्रगतिको कदर गर्नु, र अरूसँग खुलेर कुरा गर्नु उपयोगी उपायहरू हुन्। सबै कुरा जान्नैपर्छ भन्ने सोच छोडेर सिक्दैछु भन्ने दृष्टिकोण अपनाउँदा पनि मन हलुका हुन्छ।
अन्ततः, इम्पोस्टर सिन्ड्रोमले एउटा महत्वपूर्ण कुरा सम्झाउँछ, हामी आफ्नै सफलताका सबैभन्दा कठोर आलोचक हुन्छौँ। तर सफलता सधैं पूर्णता होइन, प्रगति हो। आफूलाई नक्कली ठान्ने त्यो आवाज साँचो होइन, त्यो केवल हाम्रो डरको प्रतिध्वनि हो।
थाहा पाउने कसरी?
यदि तपाईंमा निम्न लक्षण छन् भने इम्पोस्टर सिन्ड्रोम भएको हुन सक्छ :
आफ्नो सफलतालाई 'भाग्य' वा 'संयोग' मान्नु।
सानो गल्ती हुँदा पनि आफूलाई पूर्ण रूपमा असफल ठान्नु।
अरूको प्रशंसा स्वीकार गर्न गाह्रो हुनु।
आफ्नो कामको गुणस्तरप्रति सधैं डराउनु।
धेरै मिहिनेत गर्नु (ओभर-वर्किङ) ताकि कसैले 'अयोग्य' नभनोस्।
- भावना व्यक्त गर्ने : आफ्नो मनको डर भरपर्दो साथी वा मेन्टरसँग बाँड्नुहोस्। कुरा गरेपछि थाहा हुन्छ कि अरू धेरै सफल व्यक्तिले पनि यस्तै महसुस गर्छन्।
- तथ्य हेर्ने (Facts vs Feelings) : 'मलाई लाग्छ म अयोग्य छु' भन्ने कुरा भावना हो। तर 'मैले यो प्रोजेक्ट सफलतापूर्वक सकेको छु' भन्ने कुरा तथ्य हो। तथ्यमा ध्यान दिनुहोस्।
- असफलतालाई स्वीकार्ने : गल्ती गर्नु भनेको अयोग्य हुनु होइन, सिक्ने प्रक्रिया हो भन्ने बुझ्नुहोस्।
- तुलना गर्न छोड्ने : अरूको बाहिरी सफलतासँग आफ्नो भित्री डरलाई तुलना नगर्नुस्।
- व्यावसायिक परामर्श : यदि यसले गर्दा दैनिक जीवनमा गाह्रो भइरहेको छ भने मनोवैज्ञानिकसँग परामर्श (Counseling) लिनु उपयुक्त हुन्छ।
इम्पोस्टर सिन्ड्रोमले हामीलाई विनम्र त बनाउन सक्छ, तर यसले हाम्रो खुसी र आत्मविश्वास खोस्नु अघि नै यसलाई चिन्नु जरुरी छ।
***
इम्पोस्टर सिन्ड्रोमलाई गहिराइबाट बुझ्न मनोविज्ञानका केही स्थापित सिद्धान्त र मोडेलहरूले मद्दत गर्छन्। यसले कसरी हाम्रो मस्तिष्कलाई भ्रमित पार्छ भन्ने कुरा बुझ्न पाँच मनोवैज्ञानिक पक्षहरू महत्त्वपूर्ण छन् :
१. डनिङ-क्रुगर प्रभाव (Dunning-Kruger Effect) सँगको सम्बन्ध
यो एउटा रोचक मनोवैज्ञानिक तथ्य हो। डनिङ-क्रुगर प्रभावले भन्छ कि थोरै जान्ने मानिसमा धेरै आत्मविश्वास हुन्छ, तर जो व्यक्ति वास्तवमै विशेषज्ञ वा दक्ष हुन्छ, उसले आफ्नो क्षमतालाई कम आकलन गर्छ।
तर्क : दक्ष व्यक्तिलाई लाग्छ कि "मैले जानेको कुरा त सजिलो छ, अरू सबैले पनि यो जान्दछन् होला।" यही कारणले उनीहरू आफ्नो विशिष्टता देख्न सक्दैनन् र आफूलाई औसत ठान्छन्।
२. क्लान्सको इम्पोस्टर साइकल (The Clance Imposter Cycle)
डा. पलिन क्लान्सले यसलाई एउटा चक्रको रूपमा व्याख्या गरेकी छन्। यो चक्र यसरी चल्छ :
- कार्य (Task) : कुनै नयाँ जिम्मेवारी वा काम आउँछ।
- चिन्ता (Anxiety) : व्यक्ति डराउँछ र दुईवटा बाटो रोज्छ, अत्यधिक तयारी वा ढिलासुस्ती गर्छ।
- सफलता (Success) : काम सफल हुन्छ र प्रशंसा पाइन्छ।
- छुट (Discounting) : लाग्छ सफलता अत्यधिक मिहिनेतले आयो, (जुन सधैं सम्भव छैन) वा 'भाग्य' ले आयो।
- पुनरावृत्ति : अर्को पटक फेरि त्यस्तै डर पैदा हुन्छ र यो चक्र चलिरहन्छ।
३. भ्यालेरी यङका ५ प्रकारका 'इम्पोस्टर'
मनोवैज्ञानिक भ्यालेरी यङले इम्पोस्टर सिन्ड्रोम महसुस गर्ने मानिसहरूलाई पाँच वर्गमा विभाजन गरेकी छन् :
पूर्णतावादी (The Perfectionist) : ९९% काम ठिक भए पनि १% को गल्तीमा पछुताउने।
सुपरह्युमन (The Superhuman) : आफूलाई सक्षम साबित गर्न अरूभन्दा धेरैबेर काम गर्ने।
प्राकृतिक प्रतिभावान (The Natural Genius) : कुनै कुरा पहिलो प्रयासमै सजिलै भएन भने आफूलाई अयोग्य ठान्ने।
एक्लो योद्धा (The Soloist) : कसैको मद्दत माग्नुलाई कमजोरी ठान्ने र एक्लै गर्न खोज्ने।
विज्ञ (The Expert) : जति पढे पनि वा जाने पनि 'मैले अझै पर्याप्त जानेको छैन' भन्ने डर पाल्ने।
४. एट्रिब्युसन थ्योरी (Attribution Theory)
यो सिद्धान्तले मानिसले आफ्नो सफलताको श्रेय कसलाई दिन्छ भन्ने व्याख्या गर्छ। इम्पोस्टर सिन्ड्रोम भएका मानिसहरूमा 'बाहिरी एट्रिब्युसन' (External Attribution) बढी हुन्छ।
सफलता : भाग्यले भयो, समय सही थियो, मलाई दया गरेर दिएका हुन्।
असफलता: म मूर्ख भएर बिग्रियो, मेरो क्षमता नै छैन।
अर्थात्, उनीहरू राम्रो हुँदा परिस्थितिलाई र नराम्रो हुँदा आफूलाई दोष दिन्छन्।
५. संज्ञानात्मक विसंगति (Cognitive Dissonance)
जब संसारले तपाईंलाई सफल र योग्य देख्छ तर तपाईंको आफ्नै मनले तपाईंलाई कमजोर देख्छ, तब मस्तिष्कमा एउटा ठुलो द्वन्द्व पैदा हुन्छ। यसलाई 'कोग्निटिभ डिसोनेन्स' भनिन्छ। यो मानसिक द्वन्द्वबाट बच्न मानिसले या त सफलतालाई अस्वीकार गर्छ या त झन् धेरै काम गरेर त्यो डरलाई दबाउन खोज्छ।
मनोविज्ञानका यी व्याख्याहरूले यो स्पष्ट पार्छन् कि इम्पोस्टर सिन्ड्रोम क्षमताको कमी होइन, बरु क्षमतालाई हेर्ने दृष्टिकोणको भ्रम मात्र हो। आफ्नो उपलब्धिलाई वस्तुगत रूपमा (Objectively) मूल्यांकन गर्न सिक्नु नै यसको उत्तम समाधान हो।
***
१. आफ्नै सफलता स्वीकार गर्न गाह्रो लाग्छ?
यो त भाग्यले भयो' भन्ने सोच आउँछ
आफ्नो मेहनतलाई कम आँक्नुहुन्छ
२. सधैं ‘फसिन्छु’ भन्ने डर?
'एक दिन सबैले मेरो कमजोरी देख्छन्' भन्ने चिन्ता
जिम्मेवारी बढ्दा झन् असुरक्षा बढ्नु
३. प्रशंसा पाउँदा असहज?
धन्यवाद दिनुको सट्टा कारण खोज्नु
'यो त केही पनि होइन' भनेर टार्नु
४. पूर्णतावाद वा टार्ने बानी?
सानो गल्ती पनि अस्वीकार्य लाग्नु
धेरै तयारी गर्ने वा डरले काम नै ढिलाइ गर्ने
५. अरूसँग निरन्तर तुलना?
'अरू मभन्दा धेरै योग्य छन्' भन्ने भावना
आफू सधैं कम ठान्ने

No comments:
Post a Comment