'ओहो ! कस्तो ठट्टा गरेको ! हद भयो !' धेरैजनाले खित्का छाडेका बेला कोही यसो भन्दै रिसाए के गर्नु हुन्छ ? मानिस सामाजिक प्राणी हो, सम्बन्धलाई सहज, रमाइलो र जीवन्त बनाउन ख्याल–ठट्टा गर्नुपर्छ भनेर सुख पाइँदैन। कहाँ, कुन सन्दर्भ, प्रसंग र जमातका बीच ठट्टा गरियो भन्नेले धेरै फरक पार्छ।
सामान्य ठानेका ख्याल–ठट्टा कहिले स्वस्थ हास्य रहन्छ र कहिले अरूलाई चोट पुर्याउने व्यवहारमा बदलिन्छ। ठट्टा कसैमाथि लक्षित भए उसले कसरी लिन्छ भन्ने कुरा गम्भीर हो। कतिले हाँसेर टार्छन्, कतिलाई त्यही काँडाजसरी बिझ्छ, जसले सम्बन्ध बिगार्छ। शत्रुता बढाउँछ, कटुता बढाउँछ।
मनोविज्ञानका विभिन्न सिद्धान्तहरूले यस्ता व्यवहारका सन्तुलन बुझ्न मद्दत गर्छन्। पहिलो, सुपेरियोरिटी थ्यौरीका अनुसार मानिस अरूलाई कमजोर, मुर्ख वा तल देखाएर हाँस्न खोज्छ। यस्तो ठट्टा गर्ने व्यक्तिलाई क्षणिक सन्तुष्टि मिल्न सक्छ, तर यसले सम्बन्धमा असमानता र अपमानको भावना सिर्जना गर्छ। उदाहरणका लागि, साथीको कमजोरीलाई बारम्बार उडाउने बानीले अन्ततः सम्बन्ध बिगार्न सक्छ। यो सिद्धान्त भन्छ - 'हामी प्रायः त्यतिबेला हाँस्छौँ, जब अरूलाई आफूभन्दा तल देख्ने मौका पाउँछौँ।'
दोस्रो, रीलिफ थ्यौरी भन्छ - हास्यले तनाव घटाउने माध्यमका रूपमा काम गर्छ। यो सिद्धान्तमा भनिएको छ - 'हाँसो भनेको दबिएको तनावको निस्कने सहज बाटो हो। मन हलुका बनाउने प्राकृतिक माध्यम हो।' कठिन परिस्थिति वा दबाबबीच गरिएको हल्का ठट्टाले मानसिक राहत दिन सक्छ। तर यही ठट्टा यदि गलत समय वा संवेदनशील विषयमा भयो भने उल्टै तनाव बढाउन सक्छ।
तेस्रो, इन्कंग्रिटी थ्यौरी भन्छ - 'हामी त्यतिबेला हाँस्छौँ, जब अपेक्षा र वास्तविकता अचानक ठोक्किन्छन्।' यो सिद्धान्त अनुसार हास्य तब उत्पन्न हुन्छ जब अपेक्षा र वास्तविकताबीच अन्तर देखिन्छ। यस्तो प्रकारको ठट्टा सामान्यतया सुरक्षित मानिन्छ, किनकि यसले कसैलाई लक्षित गरेर चोट पुर्याउँदैन। उदाहरणका लागि, शब्द खेल वा अप्रत्याशित मोड भएका मजाकहरू।
व्यवहारिक रूपमा हेर्दा, मनोवैज्ञानिकहरूले 'सम्बन्ध जोड्ने हास्य' (एफिलिएटिभ ह्युमर) र आक्रामक हास्य (एग्रेसिभ ह्युमर) छुट्याएका छन्। पहिलो प्रकारले मित्रता बलियो बनाउँछ भने दोस्रोले अरूलाई हेप्ने, गिज्याउने वा अपमान गर्ने जोखिम बढाउँछ।
एफिलिएटिभ ह्युमर भनेको सबैलाई समेट्ने, हल्का र सकारात्मक खालको ठट्टा हो। यसले समूहमा सहजता ल्याउँछ, दूरी घटाउँछ र आपसी विश्वास बढाउँछ। उदाहरणका लागि, साथीहरूसँग दैनिक जीवनका सामान्य कुरामा गरिएको रमाइलो मजाक वा आफूलाई समेत समेटेर गरिएको आत्म-हास्य (सेल्फ-डिप्रेक्टिङ ह्युमर) यसमा पर्छ। यस्तो हास्यले कसैलाई चोट पुर्याउँदैन, बरु सँगै हाँस्ने वातावरण बनाउँछ।
यसको विपरीत, एग्रेसिभ ह्युमर अरूलाई लक्षित गरेर गरिने ठट्टा हो, जसमा गिज्याउने, हेप्ने, व्यंग्य गर्ने वा अपमान गर्ने तत्व हुन्छ। यस्तो व्यवहार सुरुमा रमाइलो जस्तो लागे पनि दीर्घकालमा सम्बन्ध बिगार्न सक्छ। बारम्बार कसैको कमजोरीलाई उडाउने वा सार्वजनिक रूपमा मजाक बनाउने बानीले आत्मसम्मानमा चोट पुर्याउँछ र भावनात्मक दूरी बढाउँछ।
मनोवैज्ञानिक रूपमा, एफिलिएटिभ ह्युमर स्वस्थ सामाजिक सीपको संकेत मानिन्छ भने एग्रेसिभ ह्युमर कहिलेकाहीँ असुरक्षा, शक्ति देखाउने चाहना वा सहानुभूतिको कमीसँग सम्बन्धित हुन सक्छ। त्यसैले, हास्य प्रयोग गर्दा 'सबै हाँस्छन् कि कसैलाई चोट पुग्छ ?' भन्ने कुराले यसको सही सीमा निर्धारण गर्छ।
लगातार आक्रामक ठट्टा गर्ने प्रवृत्ति कहिलेकाहीँ गहिरो असुरक्षा वा व्यक्तित्व सम्बन्धी समस्यासँग पनि जोडिन सक्छ, जस्तै नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरमा देखिने अरूप्रति सहानुभूतिको कमी। प्रयोगात्मक अध्ययनहरूले देखाउँछन् कि 'सँगै हाँस्ने अनुभव' (शेयर्ड लगर)ले विश्वास र निकटता बढाउँछ। तर अर्थात् कसैमाथि हाँस्नु (लगिङ एड समवन)ले दूरी बढाउँछ। यही भिन्नता ख्याल–ठट्टाको सीमा निर्धारण गर्ने आधार हो।
ख्याल–ठट्टा गर्ने सरल मापदण्ड हुन सक्छ, के यो ठट्टाले सबैलाई हँसाउँछ, कि कसैलाई चुप गराउँछ ? यदि कसैको आत्मसम्मानमा चोट पुग्छ भने त्यो ठट्टा होइन, आक्रमण हो।
यसैले, ख्याल–ठट्टा सम्बन्ध जोड्ने, तनाव घटाउने र खुसी बाँड्ने हदसम्म राम्रो हो। तर अरूलाई सानो देखाउने, बारम्बार लक्षित गर्ने वा अपमान गर्ने स्तरमा पुग्दा यसले सामाजिक र मानसिक दुबै हिसाबले नकारात्मक असर पार्छ। सन्तुलन, संवेदनशीलता र सहानुभूति नै यसको सही सीमा निर्धारण गर्ने मुख्य आधार हुन्।
ख्यालठट्टा गर्दा यति हेक्का राखौं -

No comments:
Post a Comment