सुनसरीको दुहवी गाविस-१ प्रस्टोकीमा २५ दिनदेखि आउन थालेका गिद्धको संख्या दिनहुँ बढेको छ । चौपायाको दुखाइ निवारकका रुपमा उपयोग गरिने डाइक्लोफेनेक भन्ने औषधि हानिकारक छ । पहिले ठूला सिमलका रुख नासिए, यसले गिद्धको वासस्थान विनास भयो । अनि त्यो ओखती उपयोग गरिएपनि मरेका चौपायाको सिनो खाएर गिद्ध मासिए भन्ने समाचार चार वर्षदेखि नेपाली छापामा बारम्बार आएका छन् ।
दुरदर्शिता नभएका नेताका कारण बिग्रिएको मुलुकमा मान्छेले नै खान नपाएर हराउने बेला भएको छ । वर्षेनी बढेका श्रम शक्तिका लागि रोजगारीको प्रबन्ध छैन । साना ठुला सबै गुटलाई नेता तयार गर्दै फुर्सद छैन । सबैलाइ नेता हुनु परेको छ । देश बनाउने कुरा गरेर आफु बनिने बाटो खोज्नेहरु बग्रेल्ती बढेका बेला चरो जोगाउने कुरा धेरैका लागि असान्दर्भिक लाग्ला । तर, गिद्धका विषयमा धेरै समाचार आए । अन्तत : गिद्ध जोगाउने अयिभान सुरु भयो । दातृ खोजिए । गिद्ध रेस्टुरेन्टका परियोजना ल्याइएका छन् ।
यसरी परियोजना ल्याउनु नराम्रो होइन । तर, दुहबीमा देखिएका गिद्ध उनीहरुको संरक्षणका लागि सहयोगीको भरमा चलाउन थालिएको कुनै यस्तो रेस्टुराले ममचा खान बोलाएर आएको होइन रहेछ । यहा मासू प्रसोधन कारखाना खुलेको रहेछ । त्यसले भैसीको मासू प्रशोधन गरि चीन पठाउन थालेको रहेछ । भैसीको हाड मिल्काउदा त्यसमा छुट्टयाउन नसकेका मासू सुरु सुरुमा कागको आहारा भयो । एउटा भैसीको हाडमा कारखानाले नचाहेपनि करीव चार किलो मासू बाहिर मिल्किने रहेछ । पछि गिद्ध आउन थालेछन् ।
कारखानाले उत्पादन सुरुआतमा पठाउन नपाएर डिप फ्रीजमा राखेको मासू झिक्दै दिन दिनै गिद्धका लागि पस्किदिन थालेछ । देख्ता राम्रो नलाग्ने र गन्ध पनि नमिठो आउने यो ठूलो चरोको जमात यहा खुसी छ । उसले फ्रीजबाट झिक्नेबितिकैको मासू खाँदैन । त्यसलाइ केहीबेर बाहिर राखेपछि चिसो हटछ । गन्ध आउन थाल्छ । अनि खाने रहेछ । कारखानाका सञ्चालकसग कुरा भयो । उनले त्यो कारखानामा चार दर्जनलाइ रोजगारी दिएका रहेछन । उनले नेपालबाट मासू निर्यातका सम्भावना बताए । अनि गिद्धको संरक्षण चाहनेहरुका लागि कुनै परियोजना ल्याइए कारखानाले सघाउने बताए । उनको भनाइमा कारखानाले संरक्षण गरेर सक्दैन । कुरा जायज पनि हो । तर, नजानिदो पाराले संरक्षणमा सघाउ पुर्याउन सक्ने रहेछ ।
वातावरणीय संतुलनका लागि भुमिका खेल्ने गिद्धलाइ जोगाउने अभियान मैले नजिकबाट देख्न पाएको छैन । दुहवीमा आएका गिद्ध युराशियन ग्रिफन रहेछन । यिनीहरु समुद्र सतहको ९१५ मिटर आसपास बस्न मन पराउछन । यद्यपि यिनलाइ ३०५० मिटरसम्मको उचाइमा भेटन सकिन्छ । मानिस त बसाइ सरेर यत्रतत्र पुग्छन भने यिनलाइ पनि अतिक्रमणले वास सार्न बाध्य नपार्ने होइन ।
युराशियन ग्रिफनलाइ नेपालीमा खैरो गिद्ध भनिन्छ । नेपालमा हालसम्म आठ प्रजातिका गिद्ध देखिएको हेल्म फिल्ड्स गाइड्सको नेपालका चराहरु भन्ने पुस्तकमा छ । लाम्बर गायर भनिने हाडफोर, इजिप्सियन भल्चर भनिने सेतो, ह्वाइटरम्प्ट भनिने डंगर,स्लेन्डरबिल्ड भनिने सानो खैरो, हिमालय ग्रिफन भनिने हिमाली, युराशियन भनिने खैरो, सिनेरस भनिने राजगिद्ध र रेड हेडेड भनिने सुन गिद्ध । अहिले कोसी टप्पुको सिमल टापुमा गिद्धका ३२ वटा गुँड छन् । केही महिनाअघि त्यसको गणना भएको थियो । तर दुहवीमा देखिएका गिद्धको बथानले निकै लामो यात्रा गरि यहाँ आएको हुनुपर्छ । कारण, यहाँ आएकाको संख्या ६० भन्दा बढि छ । र, यिनमा धेरै वयस्क छन् ।
1 comment:
good one Bhim, keep it up
Post a Comment