Saturday, May 9, 2009

राजीनामा क्षेप्यास्त्र



प्रधानमन्त्री पदबाट गरेको राजीनामा क्षेप्यास्त्र भएको काम चलाउ सरकारका प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । राज्यद्वारा वेपत्ता योद्धा परिवार समाजको राजधानीको बसन्तपुरमा शनिवार आयोजित प्रथम राष्ट्रिय सम्मेलन उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामा अघिल्ला वक्ताले सैनिक सर्वोच्चता चाहनेहरुका लागि प्रचण्डको राजीनामा बम भएको भनाइ राखेको जवाफमा उनले यस्तो बताएका हुन् । मुलुकमा नागरिक सर्वोच्चताका कुरा पुजीवादीको नारा भएपनि क्रान्तिकारीले सो नारा अघि बढाएपछि सबै झस्केको भन्दै उनले राजीनामा सैनिकतन्त्र हावी हुन नदिनका लागि भएको बताए । मुलुकको कुनै पनि निर्णय विदेशीको इशारामा हुनु दुखद भएको भन्दै उनले कटवाललाइ कारवाही हुन नदिन दलहरु लागि पर्नु नागरिक हकको विरोधी भएको आरोप लगाए ।
सभामा निकै सुरुमा निकै भावुक देखिएका प्रचण्ड भाषण गर्ने क्रममा निकै आक्रोशमा आएका देखिन्थे । सभामा सुरुमा जनयुद्धका क्रममा वेपत्ता पारिएकाहरुको स्थिति माओवादी सरकारमा गएपछि पनि सार्वजनिक हुन नदिनु सेनाले नटेरेको भनाइ वक्ताहरुले राखेका थिए । सभा करीव तीन घण्टा चलेको थियो । सभामा माओवादी सभासद खीमलाल देवकोटाले माओवादी बाहेकको सरकार बनाउन अन्य दललाइ चुनौति दिदै क्रान्तिकारी पार्टीलाइ नसमेटी सरकार गठन हुन नसक्ने बताएका थिए । सभामा माओवादीका विभिन्न भ्रातृ संगठनका नेताहरुले बोलेका थिए ।
सबैजसो वक्ताले राष्ट्रपतिको कदमको आलोचना गरे । तर प्रचण्डले राष्ट्रपतिको नाम लिएनन् । बरु दलहरुलाइ घुमाउरो पारामा घरको विषयमा बाहिरकाहरुको इशारामा चल्ने गरेको आरोप लगाए । वेपत्ताहरुको कथामा आधारीत गीत 'नरुनु है चमेली दिदी' मा नृत्य प्रस्तुत गरिदा प्रचण्ड भावुक बनेका थिए ।

No comments: