Saturday, May 9, 2009

सरकार गठनमा अन्यौल


प्रधानमन्त्री पदबाट माओवादी अध्यक्षको राजीनामा पछि नया सरकार गठनका लागि राष्ट्रपतिले गरेको आह्वान अनुसारको समयसीमा आज सकिएको छ । दलहरु स्पष्ट छैनन् । सरकार बनाउने पहल पर्याप्त देखिएको छैन । संविधानसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीको बहुमत छैन । मधेसी जनअधिकार फोरमको हातमा चाबी छ । उ जता जान्छु भन्छ त्यतै सरकार गठन हुन सक्छ ।
असजिलो स्थितिमा बाहिरिन बाध्य पारेका कारण माओवादीले कसैको पनि सरकार बन्न दिने छाट देखिदैन । दलहरु माओवादी इतरको सरकार बनाउन सक्ने हिम्मत भएकाहरु छैनन । माओवादीले सत्ता पाएन भने उसले सडक तताउने निश्चित छ । अस्ति भएका छलफलमा कांग्रेसले एमालेको नेतृत्वको सरकार बन्नुपर्छ भनेपनि दलहरुले माओवादीलाइ पनि समेटन आग्रह गरे ।
संवधिानसभामा सर्वाधिक सदस्य संख्या भएका नाताले अरुको नेतृत्वको सरकार माओवादीलाइ मन्जुर हुने स्थिति छैन । अनि अन्य दलहरुले बनाउने सरकारका लागि माओवादी तयार पनि देखिएको छैन । राजीनामा घोषणा गर्न माओवादी अध्यक्ष प्रचण्डले देशवासीलाइ सम्बोधनपछि आफुहरुकै नेतृत्वका पुनः सरकार बन्ने बताएका थिए ।
लालसा अहिले फोरमलाइ छ । जता गएपनि निर्णायक मत भएका हिसाबले अहिले मधेसी नेताहरु सरकारको नेतृत्व पाउनुपर्ने बताइरहेका छन । तर उनीहरुको नेतृत्वका सरकारमा जाने चाहना ठुला दलको छैन । सरकार चलाउदाका सेवा सुविधा बारे राम्ररी उपभोक्ता बनिसकेका नेताहरुमा लालसा कम भएको छैन । सरकार बनाउने पहलमा एमालेभित्रपनि स्पष्ट मत छैन ।
राष्ट्रपतिले दिएको समयसीमामा दलहरुले सरकार बनाउन सकेनन भने मात्र माओवादीको पहल सुरु हुने स्थिति छ । यसर्थ माओवादी मौका परि्खरहेको छ । २०४६ सालपछि पटक पटक सरकारमा सामेल दलहरुले देस बनाएका हुन वा बिगारेका हुन , जनताले बुझेका छन् । पछिल्लोपटक माओवादीले पनि आफनो पार्टी, सम्बद्ध हागाबिगा र लडाकुका सेवा सुविधामा दिएको ध्यान स्पष्ट नै छ । जुन जोगी आएपनि जनताका लागि कान चिरेकाको उक्ति चरितार्थ हुने स्थिति छ ।
मुलुकलाइ नया संविधान चाहिएको हो भने सबै दलहरु गम्भिर हुनुपर्छ । जाने बेला खाली हात जाने भएपनि नेताहरुले पद, सेवा सुविधाको मोह त्यागेनन् । नेपालको कल्याण हुने स्थिति छैन । तापनि कल्याण होस ।

No comments: