धेरै अघि यही ब्लगमा मैले यही शीर्षकमा लेखेको थिएँ। त्यो बेला म बाहिरफेर हिँड्न समय निकाल्न सक्थेँ। जहाँ पुगिन्थ्यो, खिच्थे र लेख्थेँ। हिजोआज त्यसरी घुमघाम गर्न निकै नै कम गरियो, जसबाट मसँग कुनै खास ठाउँको स्थलगत जानकारी दिने सामग्री नगण्य छन्। हिजोआज सञ्चारमाध्यममा चराका विषयमा लेख्नेहरु थुप्रै देख्छु। तर, निरन्तरता भने निकै कमको छ।
आजको गन्थन के लेख्ने भन्नेमै केन्द्रित गर्न मन छ। किनभने लेख्नका लागि विषय चाहिन्छ। रुचि, समय र प्रेरणा चाहिन्छ। सबै भएपछि पनि अन्तिममा लेख्ने सीप चाहिन्छ। चराका कुरा पढ्नेका लागि संसार रोचक छ। विषय धेरै र विशेषता छुट्टाछुट्टै छन्। तपाइँलाई यसबारे कत्तिको रुचि छ?
मान्छेकै विषय यति छरपस्ट छन् की कसले भ्याउँथ्यो चराचुरुंगी र जैविक विविधताका कुरा टिप्न। लेख्नु आफैंमा एउटा कला हो। सबै यति हतारमा छन् की जो कसैले पाठकलाई आफ्ना लेखोट पुरै पढाउन सक्दैन। शीर्षक, पहिलो अनुच्छेद, हाइलाइट र फोटाभन्दा मुनि नजर पुग्ने बनाउन सीप चाहिन्छ। र, सीपको कारिगरी गर्नका लागि विषय पनि गहकिलो हुन जरुरी छ।
सञ्चारमाध्यम दिनहुँ थुप्रै विषयमा खबर पस्कन्छन्। प्रमुखता राजनीति र अपराध हुन्छ। भाषण र नेताहरुले के बोले-बोलेनन् भन्ने रहन्छ। तर, थुप्रै विषयका भीडमा जैविक विविधताका आयामहरु जे केलाए पनि सञ्चारमाध्यममा अँटाउछ अवश्य। किनभने हामी खाना खाँदा धेरैथोक मिलाएर खान्छौं। कोही भात भात र कोही दाल दाल मात्रै खाएर उठ्दैनन्। खबरका खुराकीमा पनि धेरैथोक मिलाएर दिनु उचित हो।
त्यसैले लेख्नुपर्छ। लेख्नका लागि पढ्नुपर्छ। जैविक विविधताका बारेमा लेख्न त झन् वैज्ञानिक जानकारी संग्रह गर्नै पर्छ। सन्दर्भ सामाग्रीहरु अध्ययन गर्नुपर्छ। सम्बद्ध जानकारसँग संवाद गर्नुपर्छ।
लेख्ने विचार गर्दा टाढा जानु पर्दैन। उदाहरणका लागि हाम्रा घरआँगनमा आउने भँगेरा हेरौं। तिनका आनीबानी हेरौं। विभिन्न मुद्राका फोटो खिचौं। कस्ता छन् भँगेराका भालेपोथी? भालेको टाउकोको भुत्ला खैरो खैरो छ की रातो रातो पाराको? घरभँगेरा हो की रुखभँगेरा? फरक केही देखिन्छ।
भँगेरामा तपाइँलाई झिँझो लाग्यो? ल त्यसो भए रुप्पी (सारौं/डांग्रे/कमन मैना) हेरौं। आहारा खोज्ने प्रक्रियादेखि भालेपोथी संसर्ग, गुँड, प्रजनन प्रक्रिया र बच्चा हुर्काएको अवस्थासम्म तपाइँले यदि पछ्याउन धैर्य गर्नुभो भने यही चरोका आनीबानी र विशेषतालाई पठनीय पाराले पस्किन सक्नुहुन्छ। हाम्रा वरिपरि भँगेरा मात्रै छैनन्, रुप्पी, धोबी चरा, काग, जुरेली आदि छन्।
***
काँडे भ्याकुरको बारेमा थाहा छ? यो अहिलेसम्म नेपालमा मात्रै पाइएको चराका रुपमा चिनिएको छ। काँडे भ्याकुर (Spiny Babbler) नेपालमा मात्र पाइने एक दुर्लभ र अनौठो चरा हो। यो चरा नेपालको गौरव हो, किनभने विश्वको अन्य कुनै पनि ठाउँमा यो पाइँदैन। यसको वैज्ञानिक नाम Turdoides nipalensis हो।
काँडे भ्याकुर हेर्दा साधारण देखिन्छ तर यसका केही विशेष पहिचानहरू छन्। यसको शरीरको रङ खैरो हुन्छ र घाँटीमा कालो धर्सो हुन्छ। यसको नाम 'काँडे' हुनुको कारण यसको टाउको र गर्दनमा रहेका खस्रा, तिखा र काँडाजस्ता देखिने प्वाँखहरू हुन्। यो चरा लजालु स्वभावको हुन्छ र मानिसको चहलपहलबाट टाढा बस्न रुचाउँछ। यो प्रायः झाडी र घना बुट्यान भएको ठाउँमा बस्छ।
काँडे भ्याकुर विशेष गरी नेपालको मध्यपहाडी क्षेत्रमा पाइन्छ। काठमाडौं उपत्यकाको शिवपुरी, गोदावरी, फुल्चोकी, चन्द्रागिरि र पोखरा आसपासका डाँडाहरू यसको प्रमुख वासस्थान हुन्। यो चरा झाडी र बुट्यानमा लुकेर बस्ने भएकाले यसलाई सजिलै देख्न सकिँदैन, बरु यसको आवाज सुनेर यसको उपस्थिति अनुमान गर्न सकिन्छ। यसको बोली एकदमै मधुर र भिन्न हुन्छ।
यसले प्रायः किरा, फट्याङ्ग्रा, लार्भा र साना फलफूल खाने गर्छ। काँडे भ्याकुरको प्रजनन समय चैतदेखि असारसम्म हुन्छ। यसले जमिन नजिकै झाडीको बीचमा सुकेका पात र सिन्काले गुँड बनाउँछ।
***
चराहरु हाम्रा वरपर सधैंजसो देखिने रैथाने हुन् वा फिरन्ते वा आगन्तुक, जेलाई पछ्याइन्छ, तिनका बारेमा विस्तृत जानकारी दिन सक्नु आफैंमा पठनीय सामाग्रीमै पर्छ। हामीलाई बर्डवाचरका समूह, नेचर गाइड वा चरासम्बन्धी अध्ययन-अनुसन्धान गर्नेहरुले सघाउन सक्छन्। धेरै जानकारी इन्टरनेटमा सर्च गरेर कुनै खास प्रजातिमाथि भएका अनुसन्धान तथा तिनीहरुका विषयमा प्रकाशित खबरले सन्दर्भ सामग्रीका रुपमा मद्दत मिल्न सक्छ।
पहिलो त धैर्य चाहियो, दोस्रो चाहियो सन्दर्भ सामाग्री। हेल्म फिल्ड्स गाइडको 'नेपालका चराहरु' भन्ने किताब छ। यो अग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध छ। एउटा किताब किन्नुभो भने त्यसमा नेपालमा पाइने चराका सचित्र जानकारी छ। अनि हामीले हेर्दा जाँच्न र जान्नका लागि वैज्ञानिक जानकारीहरु पनि संगृहीत छ।
होइन म त घुम्छु, सिमसारतिर जान्छु अनि फिरन्ते चराका बारेमा लेख्छु भन्नुहुन्छ भने त्यो पनि सम्भव छ।
***
फिरन्ते चराचुरुंगीका बारेमा लेख्नका लागि थुप्रै रोचक र जानकारीमूलक विषयहरू छन्। यी विषयहरूलाई विभिन्न वर्गमा बाँडेर लेख्न सकिन्छ।
१. जीवनशैली र विशेषता
बसाइँसराइको रहस्य : घुम्रे चराहरूले किन बसाइँसराइ गर्छन्? तिनीहरू कसरी हजारौं किलोमिटरको यात्रा तय गर्छन्?
अचम्मका गुँडहरू : घुम्रे चराहरूले बनाउने विभिन्न किसिमका गुँडहरू (जस्तै: तोप चराका गुँड, कालिजको गुँड आदि) र त्यसको बनावट ।
प्रजनन र स्याहार: चराहरूले कसरी फुल पार्छन्, कसरी ओथारो बस्छन् र चल्लाको कसरी स्याहार गर्छन्?
अद्वितीय क्षमताहरू : चराहरूका अनौठा क्षमताहरू (जस्तै: चिलको तीक्ष्ण नजर, बाजको तीव्र गति आदि) हुन्छन्। गिद्धले आकाशमा धेरै माथिबाट आफ्नो आहारा पत्ता लगाउँछ। कुखुराका चल्ला टिप्ने चीलको गति अद्भुत हुन्छ।
आहार र भोजनको बानी : विभिन्न प्रकारका फिरन्ते चराहरूले के खान्छन्? उनीहरूको आहारका बानी के कस्तो हुन्छ?
२. फिरन्ते चरा
दुर्लभ चराहरू : नेपालका केही दुर्लभ र संकटापन्न चराहरू (जस्तै: डाँफे, मुनाल, काँडेभ्याकुर) को बारेमा जानकारी दिन सकिन्छ।
प्रमुख अवलोकन स्थल : कोशी टप्पु, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जलगायत नेपालका अन्य प्रमुख चरा अवलोकन गर्ने ठाउँहरू ।
सहरी क्षेत्रका चराहरू : काठमाडौं उपत्यकालगायत नेपालका सहरी इलाकामा देखिने चराहरू र तिनका जीवनशैली ।
फिरन्ते चराहरूको तस्बिर यात्रा : नेपालका विभिन्न ठाउँमा खिचिएका चराहरूका तस्बिर र त्यसको कथा ।
३. संरक्षण र महत्त्व
मान्छे र चराहरूको सम्बन्ध : मानव जीवन र वातावरणमा चराहरूको महत्त्व के छ?
चराहरूले वातावरणलाई कसरी सन्तुलनमा राख्छन् ? (जस्तै: किरा नियन्त्रण, परागसेचन आदि)।
चराहरूमाथि आइपर्ने खतराहरू : जलवायु परिवर्तन, प्रदूषण, वासस्थानको विनाशले चराहरूलाई कसरी असर गरिरहेको छ?
संरक्षणका उपायहरू : हामीले व्यक्तिगत वा सामुदायिक रूपमा चराहरूको संरक्षण कसरी गर्न सक्छौं?
यीबाहेक, कुनै एक विशेष प्रजातिको घुम्रे चरा (जस्तै: डाँफे, काँडेभ्याकुर, चिल, सुगा) माथि मात्रै केन्द्रित भएर पनि विस्तृत लेख तयार गर्न सकिन्छ । लेखलाई थप रोचक बनाउन विभिन्न तस्बिर र चित्रहरू पनि समावेश गर्न सकिन्छ ।
***
आजलाई यत्ति नै
No comments:
Post a Comment