
बालीमा कीरा लागिरहनुको कारणबारे उनको भनाइ अलि फरक छन् । 'हामीकहाँ सानो-सानो टुक्रामा खेती गर्ने चलन बढ्यो । कीराले एउटापछि उस्तै लाग्ने अरु बालीमा र्सर्ने मौका पाएका छन्', उनले भने, 'कुनै एउटा याममा हुने बाली ठूलो क्षेत्रफलमा भए कीरा सबैमा फैलिएर सक्दैन । उसको पनि जीवनचक्र छ ।' शत्रु नास पार्ने चक्करमा मित्रजीव नास भइरहँदा खेतीमा विषादिको प्रयोग अत्यास लाग्दो भएको उनको तर्क मुसासम्म आइपुग्छ । भन्छन् 'खेतमा लाग्ने मुसा अब पहिलेजस्तो छैन । धेरै बाठो भएको छ ।' पानी टिलपिल पारिएको खेतमा पौडन्छ । हरिया बाला पनि काटेर नास पार्छ । तीखा दाँत र तिक्ष्ण बुद्धि भएको यो स्तनधारी जीव बैज्ञानिक प्रयोगका लागि रोजाइको पहिलो श्रेणीमा पर्छ ।
किसानले खेतमा हाल्न थालेका विषादिले कीरा-फट्याङ्ग्रामात्रै होइन, मुसालाई पनि तह लगाएको छ । यसको सोझो असर यी जीवलाई आहारा बनाउने पंछीमाथि परेको छ । यिनै पंछीमध्ये अन्न बालीको शत्रु मुसालाई सिकार गरेर बाँच्ने किसानको साथी मानिने लाटोकोसेरो अहिले संकटमा छ ।
०००
आज अमलटारीमा मेरो नयाँ नामले बोलाइयो 'उल्लु सर ।' सामाजिक सञ्जालमा राजु आचार्यको यो स्टाटस बडो रमाइलो थियो । डेढ दसकदेखि जैविक विविधता संरक्षण सरोकारका मुद्दामा काम गर्दै आएका उनी फ्रेण्ड्स अफ नेचरमा आबद्ध छन् । लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि कार्यक्रम चलाउँछन् । महोत्सव गर्न थालेको तीन वर्ष बित्यो । धादिङ, चितवनहुँदै नवलपरासीको अग्यौलीमा तेस्रो महोत्सवको टुंगो लागेकाले गत वर्षमलाइ पनि त्यता सामेल हुने निम्तो आएको थियो । मैले सामाजिक सञ्जालमा आचार्यका पोस्ट हेरिरहेको थिएँ ।
एउटा टोलीले गाउँ पस्नेबित्तिकै स्कुलको सूची बनायो । र, एक सातासम्म गाउँ चहार्दै, शिक्षकहरूलाई आग्रह गरेर एउटा कक्षा लिदै गयो । एक दर्जन स्कुल पुगेर विद्यार्थीलाई बताउने कुरा थियो - 'लाटोकोसेरो र हुचीललाई जोगाउनु पर्छ । यिनले मुसा खान्छन् । अन्न जोगाउन किसानलाई सघाउँछन् ।' गत फागुन तेस्रो साता बाघखोरमा पुगेको टोलीका संयोजक यिनै उल्लु सर थिए ।
उनलाई चार वर्षघि इ-मेलबाट चिनेको हो । सन् २०११ मार्चमा उनी अमेरिकाको मिनेसोटामा पुरस्कृत भएको खबर अनलाइनमा पढ्न मिल्यो । त्यहाँ आयोजित विश्व लाटोकोसेरो सम्मेलनमा उनलाई 'स्पेशल एचीभमेन्ट अवार्ड' दिइएको थियो । एशियाली मुलुकबाट यस्तो पुरस्कार पाउने उनी पहिलो हुन् भनेर समाचारमा उल्लेख थियो । काम गरेको दुइ दशक पुगेकाहरूलाई दिइने अवार्ड उनले लाटोकोसेरोमा ध्यान एकाग्र गर्न थालेको तीन वर्ष पाएका थिए । फेसबुकको प्रोफाइलमा पनि उनले अनुहारमा लाटोकोसेरोको टाटु बनाएको फोटो राखेका थिए । त्यसपछि लाग्यो 'लाटोकोसेरोबारे जानकारी बढाउन उनी मेरा लागि स्रोत व्यक्ति हुन सक्छन् ।'
दुइ वर्षघि उनी काठमाडौंमा भेटिए । पहाडी जिल्लामा अध्ययनको योजना बनाइरहेका थिए । मनाङ र मुस्ताङमा लाटोकोसेरोको खोजी गरेका समयका कथा उनले सुनाए । रातीमात्रै सक्रिय हुने चराका कुरा धेरैलाई जान्न मन लाग्छ । गाउँघरमा राती यसले कराएको सुने साना नानीहरु डराउँछन् । अनौठो आवाज निकाल्ने यो निशाचरका धेरै कुरा अनौठा छन् । चरामध्ये यसका मात्रै आँखा मान्छे जसरी अघिल्तिर फर्किएको हुन्छ । 'जोगाउनका लागि प्रभावकारी शैक्षिक कार्यक्रम चाहिन्छ भन्ने लाग्छ', आचार्य भन्छन् 'चोरीसिकारले, अवैध ओसारपसार र वासस्थान विनासले लाटोकोसेरोको संख्या निरन्तर घट्दो छ ।' यिनै उल्लु सर यसपटक यो फागुनको तेस्रो साता गोरखाको बारपाकमा हुनेछन् । तरिका उही स्कुल-स्कुल पस्ने, गाउँलेसँग कुरा गर्ने । रोशन भण्डारी र मनोज शाक्य कुची र रंग बोकेर पुग्नेछन् । र, इच्छुकका अनुहारमा लाटोकोसेरोको चित्र कोर्ने उपक्रमलाई जारी राख्ने काममा लाग्ने क्रम सुरू हुनेछ ।
'खासमा हामी थोरै बजेटबाट कार्यक्रम चलाउनुपर्ने अवस्थामा छौं', आचार्यले भने, 'त्यसैले यस्तो गाउँठाउँ खोज्छौं, जहाँ होमस्टे भर्खर सुरू भएको होस् ।' यस्तो खोजी गर्दा कार्यक्रम आयोजनाले आफ्नो गाउँको प्रचार चाहने स्थानीयले बराबरको योगदान गर्ने उनले सुनाए । 'हामीले आफ्ना कुरा भन्न पाउँछौ । कार्यक्रममा पुग्नेले त्यो ठाउँका बारेमा पनि बुझ्न पाउँछन्', उनले भने, 'यो तरिका खर्चको मितव्ययिताका हिसाबले पनि सजिलो हुने रहेछ ।'
०००
इन्टरनेटका सर्च इञ्जिनले देखाउँछ - संकटमा परेको भनिने यो निशाचरका संसारभर करीव दुइ सय प्रजाति पाइएका छन् । नेपालमा २१ प्रजाति पाइने हालसम्मको अनुसन्धानबाट खुलेको छ । हामीले हाप्सिलो भन्ने यूरासियन इगल अउल सबैभन्दा ठूलो र एल्फ सानो आकारका हनु् । हाप्सिलो नेपालमा पनि पाइन्छ । रातमा मात्रै सक्रिय हुने यी सिकारी पंछी मुसामात्रै खाने नभइ साना स्तनधारी, सरिसृप, चरा, माछा, भ्यागुता, चिप्लेकिरा, माकुरा र विभिन्न प्रकारका किरा-फट्याङ्ग्रा पनि खान्छन् ।
नवलपरासीको थारु गाउँ अग्यौलीको बाघखोरका ८० वर्षीय शिवराम थनेत भन्छन् 'थारू भाषामा हामी लाटोकोसेरोलाई उरुवा भन्छौ ।' उनले आफू सानोछँदा सुनेको कथा सुनाए । गाउँमा एकजना सिकिस्त विरामी थिए । उसको उपचार झारपात जडिबुटी खुवाएर गरिने भयो । नजिकै रुखमा बसेको धोबी चरा भनिने ओरिएन्टल म्यानपाइ-रबिनले भन्यो 'पिसेर ख्वाउ पिसेर ख्वाउ ।' लाटोकोसेरोले भन्यो 'मसिनो गरि पिँध ।' लोककथामा सुनिएको भएकाले लाटोकोसेरो जोगाउनु पर्ने चरो हो भन्ने थनेतलाई लाग्छ । भन्छन् 'त्यो उरुवालाई हामी केही गर्दैनौ । अरू चरा मारेर खानेले पनि यो चाहि मार्दैनन् ।' पूर्व-पश्चिम राजमार्गमा नारायणघाटबाट बुटबलतर्फयात्रा गर्दा ३६ मिलोमिटरमा डण्डा आइपुग्छ । त्यहाँबाट ८ किलामिटर दक्षिण गएपछि बाघखोर गाउँ आउँछ । यो गाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ ।
चितवन राष्ट्रिय निकुञ्ज ९ सय ३२ किलोमिटरमा फैलिएको छ । निकुञ्ज जोडिने चितवन, नवलपरासी, पर्सा मकवानपुरका गाविसका भुभाग समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति बनाइएको छ । मध्यवर्ती क्षेत्रका ३७ गाविसमध्ये नारायणी नदि पारी नवलपरासीका कुमारवर्ती, कोल्हुवा र अग्यौली पर्छन् । यी गाउँ गुन्द्रही ढकना सामुदायिक वनका उपभोक्ताहरूको हो । अग्यौलीको बाघखोर टोलका २० घरमा होमस्टे सञ्चालनमा छ । बाघ, गैडा र चरा हेर्न जाने पर्यटकले सोझै सौराहा जाँदा धेरै कुरा थाहा पाएपछि नयाँ ठाउँ खोज्छन् । चितवन राष्ट्रिय निकुञ्जका पशुपंछीलाई नारायणी पारीबाट हेर्न अग्यौली पुगे हुन्छ । यो क्षेत्रबाट पनि जंगल सफारी सुगम छ ।
०००
संसारभर र्सवाधिक बिक्रीमा रेकर्ड बनाएको बेलायती लेखिका जेके रोलिङको 'ह्यारी पोट्टर' माथि चलचित्र पनि बनेर आयो । सन् २०१० नोभेम्बर पहिलो साता भारतका तत्कालीन पर्यावरण मन्त्री जयराम रमेशले यो चलचित्रमाथि लगाएको आरोप त्यहाँका सञ्चारमाध्यममा चर्चाको विषय बन्यो । लाटोकोसेरोमाथि बढेको संकटका विषयमा 'ट्राफिक' नामक संरक्षणकर्मीको संस्थाले तयार पारेको रिर्पोट सार्वजनिक गर्दै उनले भनेका थिए 'भारतमा ह्यारी पोट्टरले विचित्रको चलन भित्र्यायो । बच्चाहरूलाई उपहार दिने निहुँमा लाटोकोसेरो समात्न, मार्न थालिएको छ । यो चिन्ताको विषय हो ।' रिपोर्ट अबरार अहमदले तयार पारेका थिए । सञ्चारमाध्यमहरूका अनुसार उनको साथीको छोराको जन्मदिन परेको थियो । साथीले छोरालाई उपहार दिनका लागि 'एउटा उल्लु ल्याउनु' भनेर पार्टी नाम नै 'ह्यारी पोट्टर' दिएका थिए । त्यसपछि अहमदले खोजे, शहरमा यो चलनले तीव्रता पाएको अवस्थालाई ।
मन्त्रीको भनाइमाथि पुस्तक प्रकाशन संस्थाले कुनै टिप्पणी गर्न मानेन । तर, उक्त कृति र चलचित्रमा मुख्य बालकलाकारको साथीका रूपमा 'हेडबिग' नामले लाटोकोसेरोलाई देखाइएको छ । यसलाई पढेर/हेरेर लाटोकोसेरो समातेर दिने चलन बढेको त्यसबेला बीबीसीले उल्लेख गरेको थियो ।
हिन्दु जनविश्वासअनुसार लाटोकोसेरोलाई लक्ष्मीको वाहन मानिन्छ । सञ्चारमाध्यमहरूका अनुसार भारतका केही भागमा लाटोकोसेरोलाई औंसीको रातमा बलि दिए तान्त्रिक विद्या सफल हुने अन्धविश्वास पनि छ । त्यसैले पनि लाटोकोसेरो समातेर बेच्ने चलन भित्रभित्रै चलिआएको छ । भारतमा ३० प्रजाति पाइनेमध्ये आधालाई किनबेचमा पल्केकाहरू समात्छन् । अहमदले आफ्नो रिर्पोटमा भनेका थिए 'लाटोकोसेरोको संरक्षण कानुन बनाएर गरिनुपर्छ । यो पंछी पर्यावरणीय चक्रका लागि त्यति नै महत्व राख्छ, जति हामी बाघ बाँच्नुपर्छ भन्छौ ।'
०००
उच्चशिक्षा अध्ययनका लागि राजधानी आएकी लमजुङ, धनपोखराकी सबिता गुरूङलाई शोधका लागि यस्तो विषय छनोटको मन थियो, जो गाउँ फर्किएर गर्न सकियोस् । 'तर, मैले बार्न अउल-गोठे लाटोकोसेरो) छाने“, जसको खोजी गर्न गाउँ जाँदा अलि खर्चिलो हुने देखियो', उनले भनिन् 'म अहिले काठमाडौं भ्यालीमै त्यसको वासस्थान खोज्ने र देखिएका ठाउँको गतिविधि नोट गरिरहेकी छु ।' उनका अनुसार लाटोकोसेरोमध्येको सुन्दर मानिने गोठे राजधानीका केही पुराना भवन र टुँडालहरूमा देखिएका छन् । जहाँ मुसा बाहिर निस्केर गतिविधि कम गर्छन्, ती ठाउँ लाटोकोसेरो पनि कमै पाइन्छन् ।

'जसरी जसरी अन्न उब्जनी हुने क्षेत्र घट्छ, त्यसरी नै लाटोकोसेरोमात्रै होइन अरू पशुपंछी पनि घट्छन्', उनले बताइन, 'भ्यालीको सन्दर्भ करीब करीब घट्दो अवस्थाको हो ।' आहारा र वासमा बाधा हुँदा लाटोकोसेरोको बसाइँ पनि काठमाडौंमा पातलिएको उनले बताइन ।
०००
लाटोकोसेरोका विषयमा समाजमा अनेक अंधविश्वास पनि छन् । अझै पनि संसारका कतिपय संस्कारमा यो घरको छतमा बसे संकट आउने संकेत हुने मानिन्छ । तर, यसका फाइदा बारे जान्नु जरुरी छ । भाले-पोथी र चल्ला भएको लाटोकोसेरोको एउटा परिवारले चार महिनामा ३ हजार मुसा खान्छन् । धान खाएर मुसाले किसानलाई हैरान पार्छ । यसलाई सिकार बनाएर लाटोकोसेरोले अन्न जोगाउन सघाउँछ । धेरैजसो लाटोकोसेरो एउटै साथीसँग आफ्नो जीवन बिताउँछन् । एउटादेखि सातवटासम्म फुल पार्ने यिनले बढीमा ४० दिनमा चल्ला कोरल्छन् । लाटोकोसेरोको समूहलाई संसद भनिन्छ । आफ्नो टाउको २७० डिग्रीमा घुमाउन सक्तछन् । बर्ड कन्जरभेसन नेपालका अनुसार नेपालमा हालसम्म ८६७ प्रजातिका चरा पाइएको रेकर्ड छ । यो संख्या संसारभर पाइने चराकाका प्रजातिमध्ये ८ प्रतिशत हो । हामीकहाँ पाइने लाटोकोसेरोका केही प्रजाति संकटमा छन् । तराइदेखि हिमाली भेगसम्म पनि विभिन्न हावापानीमा बस्ने लाटोकोसेरोका प्रजाति पाइन्छन् ।
एकपटक पूर्वी नेपालको तेह्रथुम जिल्लामा बसमा लैजान लागेको अवस्थामा तीनवटा लाटोकोसेरो बरामद भयो । प्रहरीले केही दिन राखेपछि ती लाटोकोसेरोलाई साँझको समय जंगलमा छाडिदिए । मान्छेको बस्तीका आसपास बस्न रुचाउने भएपनि धेरै लाटोकोसेरोको प्रजाति मानवीय सर्म्पर्कबाट दूरि राखेर बाँच्न मन पराउँछन् ।
( २०७१ फाल्गुन ९ मा कान्तिपुर कोसेलीमा प्रकाशित)
No comments:
Post a Comment