एकताका लाग्थ्यो,
ब्लगमा ती कुरा लेख्छु, जो खबरी कुराभन्दा भिन्न
हुनेछन् । तर त्यो क्रमलाई निरन्तरता दिन सकिएन । आज फेरि यौटा लेख पढेर दिक्क लागेका
बेला केही लेख्न मन लाग्यो ।
गत बिहीबार बेलुकी हामीले घर-घरबाटै अखबारका
लागि काम गरेका थियौं । मैले काम गर्ने अखबारको शुक्रबारको अंकमा सूचना थियो- 'कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल
र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् ।
त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आँकलन गर्नेछौं र हालको स्थितिमा अलिकति
सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन् ।'
यति लेखेपछि म केमा काम गर्छु भनिरहन पक्कै
पर्दैन । हाम्रा सञ्चारमाध्यम हेर्दा लाग्छ, 'महान महान हस्ती' का मात्रै छटपटी पस्कनका लागि हो, जो हामी गरिरहेकै छौं । त्यसैले
नितान्त आफ्ना कुरा ब्लगतिर जतन गरियो ।
सामान्यतयाः हाम्रो बानी के छ भने जसलाई पर्खन्छौं, उसले ढिला गरे छटपटी हुन्छ । बारम्बार घडी हेर्छौं, मोबाइल
थिच्छौं, फोन-म्यासेज गर्छौं । समय कटाउन साह्रै गाह्रो हुन्छ
। जब उ आइपुग्छ, हामी त्यो दिक्दारी सबै बिर्सन्छौं । आवेशमा
आउनेहरूका लागि प्रवचनहरूमा सुन्न पाइने राम्रो कुरा के छ भने 'तपाइँलाई रिस उठ्यो भने म किन रिसाएको हुँ ? रिसाउनु
कतिको जायज हो ? नरिसाउँदा हुन्थेन र ! भनेर सोच्नू ।'
सोच नै एकाग्र हुन नसकेका बेला यस्ता कुरा दिमागमा ल्याउनै सकिँदैन ।
ल्याउन प्रयास गर्दा पनि सजिलो पक्कै होइन । यदि सोचियो भने रिसको तापक्रम घट्छ । मान्छे
सामान्य मनस्थितिमा फिर्छ । सम्भावित दुर्घटना टार्न सकिन्छ ।
क्लिनिक र अस्पताल पस्नेबित्तिकै देखिने टेलिभिजन
सेट यसको एउटा प्रयास हो । आवेशमा आएको कसैको समय बाटामा केहीबेर ध्यानाकृष्ट गर्ने
हरू कुरामा गए आफ्नो पुरानो तापक्रमबाट चिसिन्छ । प्रतीक्षाको केहीबेर बिरामी र तिनका कुरुवामा दुखाइ र आवेगको मात्रा घटेको महसुस गराएपछि मात्रै उपचारका प्रक्रिया थालिन्छन् । वरिपरि त्यस्ता धेरैथोक छन्, जसले हाम्रो आवेशको शिकार हुनबाट जोगिन मन भुलाइदिने वस्तु राखिएका छन् ।
लकडाउन अनुभवका गन्थन लेख्ने धृष्टता त्यही
उपक्रम हो भनेर बुझौं । खुल्ला आएपछि अहिले कस्तो अनुभव गरिँदै भनेर बिर्सिहालिन्छ
। सम्झना गरियो भने पनि अनुभवको तापक्रम नियन्त्रित आवस्थामै पुगेको हुनेछ ।
यतिबेला म ब्लग लेख्दै गर्दा युट्युबमा 'श्रीमद
भगवद गीता सार | संपूर्ण
गीता' सुन्दैछु
। यति प्रष्ट भए हुन्छ यो कोही पाठक लक्षित लेखाइ होइन । आफूलाई लागेको दिक्क पोख्न
समय बिताउने मेलो हो ।
०००
गत मंगलबारदेखिका तीन दिनको हाम्रो काम गराइ
सहज पक्कै थिएन । किनभने, पत्रिकाको डेस्कमा चरणबद्ध र समुहमा काम नगरे
सिलसिला मिलाउन गाह्रो पर्छ । समाचार सम्पादन गर्ने, प्रुफबाट
आएपछि तिनलाई निस्चित पेजमा सबमिट गर्ने, जिम्मेवारी तोकिएको
पेजका लागि समाचार र फोटा ठिक्क पार्ने, पालो परेका
डिजाइनरसँग मिलेर पेज तयार पार्ने । सल्लाहमा त्यसमा पुनः आवश्यक सम्पादन गर्ने । अरूले
बनाएका पेज पनि हेरेर त्रुटी वा सुधारका सल्लाह दिने । डेस्क, प्रुफ र डिजाइनर गरेर २०/२२ जनाले गरिरहेको कामलाई एक्लाएक्लै घर घरबाट अनलाइन
भएर काम गर्नु सहज नहुने रहेछ । तैपनि त्यो सिलसिला तीन दिन चल्यो ।
यतिबेला साथीहरू फोन कुराकानीमा भन्छन्- 'अरूले बन्द गरेका छैनन्, हाम्रोमात्रै किन बन्द ?'
बन्द गर्नु हुन्थ्यो/हुँदैनथ्यो भन्ने बहसमा मजस्ता डेस्कमा काम गर्नेभन्दा
वितरण र प्रेसका साथीहरूले मज्जाले बताउन सक्लान् । व्यवस्थापनले उनीहरूसँग पक्कै कुरा
गरेर हाललाई प्रकाशन स्थगनको निर्णय गरेको हुनुपर्छ भन्ने मेरो बुझाइ छ ।
जेबाट जसरी पनि संक्रमण हुन सक्छ भन्ने पुष्टि
नै भइसकेपछि वितरक पनि त मान्छे हुन्, उनीहरूका पनि
घरपरिवार छ, जोखिमको अवस्थामा अरूले घर घरबाट काम गरेर तल्लो
तहमा काम गर्ने कर्मचारीको ज्यानको सुरक्षाप्रति गैरजिम्मेवार बन्न पक्कै मिल्दैन ।
अहिलेका लागि जे होस् स्थितिमा सुधार आउनेछ, हाम्रो दिनचर्या
पूर्ववत् नियमिततामा फिर्नेछ भनेर पर्खनुको विकल्प रहेन ।
त्यसो त कोरोनाको त्रास बढ्दै जाँदा फागुन
दोस्रो सातादेखि नै बाहिरभन्दा अफिसमै धेरै सतर्कता थियो । लिफ्टको ढोकैमा ज्यानको
तापक्रम जाँच, तलापिच्छे सेनिटाइजर, ट्वाइलेटमा साबुन-पानीको व्यवस्था । सधैं ३०/३५ जना भेला हुने ग्रुप मिटिङ
क्यान्सिल गरेर थोरै बस्ने, काम गर्नेहरूले दुरी मेन्टेन गर्ने,
हात धोइरहने र रिपोर्टिङमा काम गर्नेले 'भर्चुअल'
माध्यमबाट आफ्ना विषय बताउने अभ्यास अफिसमा सुरू भइसकेको थियो ।
०००
चैत ६ मा म घर पुगेको थिएँ । मोरङको सुन्दर
हरैंचा नपा-३ लोचनी । गत बैशाखमा मैले पोखरा छाड्दा आफ्नो दसक पुरानो दुइपांग्रे वाहनलाई
काठमाडौं ल्याउन उचित मानिँन । भाइलाई 'बेचिदिनू'
भने । 'स्प्लेन्डर प्लस' दिवा सेवाको बसको छतमा चढेर भाइकहाँ विराट चोक पुगेको थियो । म सपरिवार संघीय
राजधानी खाल्डोमा आएँ ।
फागुन दोस्रो साता भाइले फोन गरेको थियो- 'तेरो बाइक बिक्री भयो, नामसारी गरिदिन आइज । सकभर छिटो
आउनू ।' सवारीसाधन जसको नामको ब्लुबुक होस्, चलाए हुन्छ । सवारीधनीलाई समस्या त्यसबेला पर्छ, जब त्यो
कुनै दुर्घटनामा पर्छ । अझ त्यो सवारीसाधन 'लाइसेन्स'
नभएकाले हाँके र दुर्घटनामा पर्यो भने सवारीधनी नै पक्राउ परेका घटना
देख्न-सुन्न मिलेकै हो । यसैले म घर नगइ नहुने भयो । साथीहरूको आलोपालो बिदा मिलानका
क्रममा मैले 'होली' मा जाने मूड बनाए पनि
जान पाइएन । अलि पछि जानुपर्ने भयो ।
२०७६ चैत ७ शुक्रबारका दिन इटहरीको हलगडास्थित
यातायात कार्यालयमा 'को४प २१६९' का सवारीधनी
फेरिए । करिब तीन घण्टा लाग्यो नामसारीको प्रक्रिया पूरा गर्न । काठमाडौं छाड्दा अफिस
र बाटामा देखेजस्ता मास्कधारी इटहरीमा कमै थिए । देख्न मिलेको कोरोना सतर्कताको कुरा-
गोरखा डिपार्टमेन्टल स्टोरले प्रदेशद्धार बाहिर धारा र साबुनको व्यवस्था गरेको थियो
। भित्र पस्नुअघि साबुन-पानीले हात धुनुपर्ने ।
०००
बिहीबार मेरो साप्ताहिक बिदा परेको थियो ।
शुक्रबारदेखि मंगलबारसम्मका ५ दिनको बिदा लेखेर हिँडेको थिएँ । शुक्रबारै अफिसबाट खबर
आयो- 'चैत १० सोमबारदेखि सरकारले लामो दुरीका सबै सवारी
बन्द गर्दैछ ।' हामी जोडी नै घर गएका थियौं । दसैं-दसैंमा मात्रै
घर टेक्ने जेठा छोराबुहारी समय निकालेर बीचमा आएकामा आमाबुवा खुसी हुनुभएको थियो।
मातापिताको बासभन्दा ९/१० किमि पर्तिर विराटचोकमा
भाइको बसोबास छ । भाइका छोराछोरी पनि ठूलोबा-ठूलीआमा केही दिन बस्छन् भनेर खुसी थिए
। लामो दुरीको यातायात बन्द भए त यतै फसिन्छ, अब के गर्ने ?
हामीलाई फिर्न हतार भयो । मुल काम मोसा नामसारी थियो, त्यो भइसकेको थियो । अरू भेटघाट, खानपान र किनमेल अरू
सहज हुँदाका अवस्थामा पनि गरे भइजाने हुन् ।
लेटाङबाट काठमाडौं जाने माइक्रोमा आइतबार बिहान
फिर्ने टुंगो गरियो । बिहान ३ बजे नै हिड्ने टुंगो भयो । आइतबार बिहान साढे ४ बजे माइक्रोले
इटहरीसम्म ल्याउँदा यात्रु ६ जना, गाडी स्टाफ तीनजना मात्रै
काठमाडौं पुग्ने टुंगो भयो । बाटामा निकै कम गाडी काठमाडौं जाने भेटिए, जति देखिन्थे, उनीहरूमा पनि फाट्टफुट्टमात्रै यात्रु
थिए ।
छरिएर बसेका परिवारका सदस्य कोरोनाको त्रासका
बीच घरमा भेला भइरहेका थिए । हामीलाई भने कर्म क्षेत्र जानै परेको थियो । आइयो । सोमबार
नियमित ड्युटी भ्याउन अफिस पुगियो । काम गरियो । अनि भोलिबाट हुने 'लकडाउन' मा घरैबाट काम गर्ने मनस्थिति लिएर गुँड आइयो
।
०००
आफू बसेको डेराबाट निस्केर पल बाटो नटेकेको, मोटरसाइकल गेटबाट बाहिर ननिकालेको आज आज आठौं दिन हो । बिहान ८ बजे उठ्नु,
नित्य कर्म सकेर एकपटक मोटरसाइकलसम्म पुग्नु, केहीबेर
स्टार्ट गरेर घ्यार्र-घ्यार्र पार्नु, अनि भान्सा पसेर चिया पिउनु,
ल्यापटप खोलेर बस्नु, अफिसका जिम्मेवारीमा परेका
काम गर्नु, खाना खानु, टिभी हेर्नु र बेला
बेला छतमा उक्लेर वरिपरि नियाल्नु गर्दै दिन बितेका छन् ।
लकडाउनले राजनीतिक परिवर्तनका बेला 'नेतालाई घरैमा बन्द' भनिएका समाचारमा आखिर कस्तो हुँदो
होला भन्ने अनुभव गराएको छ । स्थितिले कोठा, चोटा, सुत्ने कोठा, भान्सा र बाथरूमबाहेक बाहिर जान नपाउनुका
सकस केके हुँदा हुन् भन्ने कल्पनालाई 'यस्तो हो' भन्ने बुझाएको छ ।
हाम्रा लागि यो सकसमा पनि सन्तोष मान्ने कुरा
के छ भने टेलिभिजन हेर्न पाइएको छ, एकैपटक 'युजर' धेरै 'एक्टिभ' भएर सेवा प्रदायकका सर्भर डाउन भए पनि इन्टरनेट चलाउन पाइएको छ । भलै यो इन्टरनेटले
'डायलअप' को जमाना किन नसम्झाओस्,
चलेको छ । रिङ गरेपिच्छे 'कोभिड-१९' बाट बच्न 'यसो गरौं उसो गरौं' भनेर
झर्को लाग्दो सन्देश बोले पनि मोबाइलले काम गरिरहेको छ ।
सामान थोरबहुत महंगै भए पनि तेस्रो-चौथो दिनदेखि
डेरा नजिक डोरीको घेरा हालेर पनि किराना पसल खुलेका छन् । शायद जेलको बसाइँ यस्तै हुँदो
हो । हाम्रोभन्दा जेलको बसाइ कष्टकर हुनुपर्छ । किनभने त्यहाँ आधारभूत सुविधा थोरै
हुन्छन् । सरसफाइ सजिलो हुन्न । मन लगेका कुरा किनेर खान्छु भने पनि सजिलो हुँदैन ।
०००
सामाजिक सञ्जालमा यतिबेला अर्ति-उपदेशदेखि
मान्छे यो प्राइभेट-लिमिटेड बसाइमा केके गरिरहेका छन्, त्यो देखिन्छ । कतिपयले यो अवस्थालाई सिर्जनाकर्ममा उपयोगी भनिरहेका छन् ।
उदेक उदेक छ । एक सातामा पनि बन्दी जीवनमा अभ्यस्त हुन गाह्रो परिरहेको छ ।
स्कुले बेलामा मलाइ लाग्थ्यो, संसारमा धैर्यवान कोही हुन् भने एक नम्बरमा पसले र नाइ हुनुपर्छ । म देख्थेँ-बिहान
पसल खोलेर सरसफाइ गरेर ग्राहक कुरिरहेका उनीहरू बेलुकी अबेरसम्म त्यही पसलको चौघेरामै
हुन्थे/हुन्छन् । त्यस्तो दिनचर्यामा मान्छे कसरी अभ्यस्त हुँदो होला ? बडा जिज्ञासा हुन्थ्यो । किन उनीहरूलाई बाहिर जान मन नलागेको होला ।
अहिले लाग्छ, उनीहरूलाई हातमुख जोर्ने उपक्रमले बाध्य पारेको रहेछ । त्यसैले उनीहरू त्यसरी
बस्न सकेका हुन् । मलाइ पछिसम्म लागेको के हो भने आफू पनि त्यसरी तिनै पसले जसरी बस्न
सक्छु । लाग्नु र सक्नु फरक कुरा हो । कल्पना र भोगाइ फरक पर्छन् भन्ने यो अहिलेको
बन्दाबन्दीले नै अनुभव गराइरहेको छ । छोराले १२ पूरा गरूञ्जेलका दुई वर्ष म आफ्नो 'बाइलाइन' को माया गर्दिन, नेपथ्यमा
रहेर काम गर्छु भनेरै पोखराको चार वर्षे बसाइलाई बिट मार्दै काठमाडौं आइयो । करिब १०
महिना बित्यो, मेरो रुटिन जे गर्छु भनेको थिएँ, त्यसबाट बिचलित छैन ।
मेमोरीकार्ड र ब्याट्री छुट्याएर क्यामेरा
थन्क्याएको छु । अरूले लेखेकै हेर्दैछु । क्षमतालाई 'अन्डर इस्टिमेट' गर्नेहरूलाई पनि वास्ता नगरी जिम्मेवारीमा
पारिएका काम गरिएको छ । केही यस्ता साथीहरू भेटिएका थिए, जो लामो
समय काठमाडौंमा काम गरेर घर फिरेका थिए । उनीहरूको 'समाचार सम्पादन'
र 'पेज सेटिङ' को खुबी अति
मन परेको हो । उनीहरू किन फिरेछन् भन्ने चाहिँ यतिबेला काठमाडौंको बसाइले मलाइ राम्रैसँग
बुझाएको छ ।
दैनिक जिम्मेवारी, पारिश्रमिक, स्तर निर्धारण, डेराको
बसाइँ । थुप्रै आयाम छन् काम गराइका जसले आशा जगाउने र निराश पनि पार्ने रहेछ । अरू
जिल्लामा बसेर काम गर्नु र काठमाडौंको रुटिनमा एउटै मुल फरक हो, काठमाडौं जे चाहन्छ त्यो पस्कन्छ, अरूले त्यो ग्रहण गर्नैपर्छ
भन्ने मान्यता हावी छ ।
०००
लकडाउन हट्ला र हामी पुनः नियमिततामा फिर्नेछौं
भनेर यतिबेला पर्खनुको विकल्प छैन । किनभने लकडाउन काठमाडौं मात्रै होइन, पुरै देश हो र देशमात्रै होइन संसारका थुप्रै मुलुकले यस्तो अवस्था व्यहोरिरहेका
छन् । प्रतीक्षाको यो दिन बिताइमा मननीय कुरा थुप्रै देखिरहेको छु ।
बच्चाहरू ठूला भएर एक्लाएक्लै बस्न रमाउने
भएछन् । मोबाइलबाहेक अर्थोक नचाहिने भएछ । बाबुले घरबाटै अफिसका काम गर्नुपर्दा कम्प्युटर
खोलेर एउटा कुना समात्ने, आमाका आफ्नै काम । घरमा थुप्रैजना
भए पनि शून्य । आमाका घरभित्रका आफ्ना नियमित कामलाई लकडाउनले फरक पारेको छैन । भात-भान्सा,
सरसफाइ आदि सधैं एकनास चल्दो रहेछ ।
बेला बेला आमालाई फोन गर्छु । भन्नुहुन्छ 'तिमीहरूलाई यतै बस्न भन्नुपर्ने रहेछ । नातिलाई पनि यतै बोलाउन पाएको भए यो
डरलाग्दो स्थितिमा परिवारका सबै सँगै भइन्थ्यो, हतार छ भनेर गइहाल्यौं
।' कोरोनासँग डराएर यसरी देश बन्दाबन्दी होला भन्ने कसलाई थाहा
थियो र !
यो सरकारले कुनै राजनीतिक कारणले गरेको भए
चर्को विरोध हुन्थ्यो । तर यो अवस्था सबैको ज्यानको जोखिमसँग जोडिएको छ । यतिबेला हामी
घर घरमा छौं, सोचनीय कुरा चाहिँ के छ भने प्रहरी,
सशस्त्र र सेना सडकमा छन् । भाइरसले सुरक्षाकर्मी र सर्वसाधारणमा विभेद
गर्दैन । कर्तव्यका लागि काम गरिरहेकाहरूका परिवारमा कति चिन्ता होला ? के सोच्दा होलान् ? उनीहरू आफैं पनि यो जोखिममा कसरी
मन बुझाइरहेका होलान् ?
No comments:
Post a Comment