Monday, January 26, 2015

त्यो आफ्नै बाटो गयो होला

हिजो बेलुकी सञ्चारकर्मी भाइ कमल रिमाल मसँग झर्किए । 'तपाइ डिसिजन दिन नसकने मान्छे' भन्दै । उनको गुनासो थियो त्यो लाटोकोसेरोलाई के गर्ने, कता लैजाने भनेर मैले भनिनँ । हो पनि । उनको व्यवहार जायज थियो । जसलाई पनि यस्तो पर्न सक्छ । भएको के थियो भने, उनले बिहान १०ः३० बजेतिर फोन गरे ।  डेरानजिकै 'एउटा लाटोकोसेरो अलपत्र परेको छ, कुकुर र अरू चराले आक्रमण गर्लान् । मार्लान् । के गरौं ?' भनेर । म तत्कालै उनीकहाँ पुगेँ ।  
उनको बसाइँ विराटनगरको कोशीअञ्चल अस्पतालको कर्मचारी आवास गृहमा हो । अस्पताल भवन पछाडि । त्यो गोठे लाटोकोसेरो (Barn Owl) थियो । शायद भर्खर भर्खर उड्न सिक्दै गरेको । त्यसलाई जिम्मा लाउने ठाउँ भएन । कोशीटप्पु वन्यजन्तु आरक्ष टाढा छ । जिल्ला वन कार्यालयमा यस्ता पंक्षी जोगाउने मान्छे र साधन छैन भन्ने थाहा छ । मेरो घरमा बिराला छन्, लैजानै भएन । पशु सेवा कार्यालयले राक्ने कुरै भएन । त्यसै छाडे बगाले भ्याकुर (jungle babbler) का हुलले थाहा पाएर च्याउँ च्याउँ गर्न थालिसके । काग पनि आयो । खुला ठाउँ छाड्दा उनले भने झै जोखिम छ । नजिक लुकाइदिन मिल्ने झाडीबुट्यान छैनन् ।
अन्नतः उनैले उपाय निकाले- 'दिउँसोभरि भान्सामा बत्ती निभाएर राख्ने । बेलुका बाहिर निकालिदिने । जान्छ होला । नगए कोही उडुञ्जेल सुरक्षित राखिदिने मान्छे खोजेर जिम्मा दिने ।' त्यही गरियो । उनैले भान्सामा राखे । साँझ बाहिर निकालेछन् । खुत्रुक खुत्रुक उफ्रेर कता गयो गयो, हरायो । बेलुका भेट हुँदा उनी मसँग अलि झर्किए । मैले सहजतापूर्वक लिएँ । गर्ने पनि के गर्ने ?
०००
लाटोकोसेरो जोगाउनु पर्छ भनेर काम गरिरहेका मित्र राजु आचार्यलाई सम्झन्छु । उनी यो क्षेत्रमा लागिपरेको लामो समय भयो । हामीभन्दा धेरै कुरा उनलाई थाहा छ ।  भेटमा होस् नि च्याट कुराकानीमा, उनले वन्यजन्तु र पंछीको उपचार केन्द्र, अस्पताल र पुनस्थापना केन्द्र चाहिन्छ भन्नेमा जोड दिन्छन् । कुरो सही छ । तर, यसका लागि कसले काम गर्ने ? वन्यजन्तुका लागि गरिने कुनै पनि काम स्वस्फूर्त हुँदैन । यहाँसम्म की कलेजमा आफ्नो कुनै खास विषयमाथिको शोधका लागि पनि बिद्यार्थी, मास्टर कसैको सानो-ठूलो अनुदान सहयोगकै खोजी गर्छन् । प्रकृति प्रदत्त जीवको सुरक्षा हाम्रो पनि त जिम्मेवारी हो । तर, मैले अहिलेसम्म स्वस्फूर्त काम गरिरा'छु भन्नेहरूलाई पनि इन्टरनेटमा ग्रान्ट दिने दाताको खोजी गरिरहेको देखेको छु । पाइने सानोतिनो ग्रान्टका लागि पनि आफ्नो खोजीका फेहरिस्त दिन तयार बसेका छन् । व्यवसायिक भएका होलान् । नेपालीको आर्थिक अवस्थाले पनि यस्तो बानी लगाएको हो । केही खर्चिलो शोधका लागि यो आर्थिक भार आफ्नो टाउकोमा नलिने उपक्रम पनि हो । एक हिसाबले ठीक जस्तो लाग्ने । अर्कोतर्फ सोच्दा विदेशीहरू संरक्षणका काममा धेरै अघिदेखि लागेकाले साधन, सल्लाह र सहयोग दिनमा तत्काल तयार हुन्छन् भन्ने भएर पनि हो । 
हिजो कमलले लाटोकोसेरोलाई कोशीटप्पुको जिम्मा लगाउने भनेर फोन पनि गरेछन् । समय नमिलेर उनीहरू आउन पाएनन् रे । अनि गएन भने उडेर नजाउञ्जेल राखिदिने मान्छे पनि तयार पारेछन् । तर, त्यो आफै गयो, के भयो, यी सब उपाय लाउनु परेन । यदि लाउनु परेको भए केही हुन्थ्यो होला । यसरी अलपत्र पशुपंछी भेटिए मलाई फोन आउँछ । यो क्षेत्रमा रूचि राख्ने हो भन्ने थाहा पाएर खबर गरे भनेर खुसी लाग्छ । साथमा दुःख पनि लाग्छ -'यस्तालाई मैले कहाँ लैजानु ? भनिदिने केही प्राणीशास्त्रका गुरू र मित्रहरूलाई हो । यस्ता धेरै घटनामा मैले प्रयास गर्दा पनि धेरैपल्ट पशुपंछी मरेका छन् । कोशिश गरि हेर्न अझै छाडिहालेको छैन । 
सरकारले जिल्ला, इलाका वन कार्यालय वा सामुदायिक वनका लागि यस्ता जीवजन्तु जोगाउने बाध्यकारी प्रावधान राखिदिए हुने हो । साधन र थोरै बजेट दिए हुने हो । त्यहाँ पनि कसले नीतिमा जोड दिने ? कुन दातालाई रिझाएर बजेट ल्याउने भन्ने तर्क चर्कै होलान् । तर, आकस्मिक भेटिने पशुपंछी जोगाइदिनु त पर्छ नि । पृथ्वी मान्छेकै लागि मात्र होइन । प्राकृतिक चक्रमा सबै जीवका भुमिका आखिर आआफ्नै खाले छन् । लाटोकोसेरोले मुस खान्छ । मुसाले अन्न खान्छ । त्यसैले उर्वर ठाउँमा मुसा बढि पाइन्छ । जहाँ अन्न खाने जीव पाइन्छ ती ठाम पहिल्याएर पनि मान्छे बस्न उपयुक्त छन् ।
०००
फ्रेण्ड्स अफ नेचर (प्रकृतिका सातीहरू) मा सम्बद्ध संरक्षणकर्मीका अनुसार लाटोकोसेरोकै बारेमा कुरा गर्दा लाटोकोसेरो र हुचिल एउटै हुन् । आकारमा ठूलालाई हुचिल भनिन्छ ।  नेपालमा हालसम्म २१ प्रजातिका लाटोकोसेरो पाइएका छन् । रातिमात्रै सक्रिय हुने यो पंक्षीले मान्छेलाई हानि गर्दैन ।
०००
म विराटनगर बस्छु तर, कैलै कैले देशको कुन भागबाट कसले के भनेर फोन गर्छन् छक्कै पार्छन् । मेरा लागि गर्वको विषय पटक्कै होइन । चिन्ता पो लाग्छ । कता मनोविज्ञानको बिद्यार्थी, बाटो विराएर पत्रकारितातिर आइपुगियो । प्रकृति र जीवमा रूचि लाग्छन् , जानकारी धेर छैन । तर, आइलाग्ने अवस्था पनि निरन्तरै छ । ज्यान बचाइदिन नसक्दा भने निकै दुःख लाग्छ ।
एकपटक काठमाडौंको कुनै कुरियरको अफिसबाट फोन आएको थियो । एउटा चिल आएर झ्यालमा ठोक्किएछ । त्यहाँबाट निकैबेरमा पनि नगएपछि खोजी गर्दा कसैले मेरो नम्बर दिएछ । अनि फोन गरेछन् -'लौ आएर यसको उद्धार गरिदिनुस् ।' मलाइ परो अप्ठेरो ! मैले जावलाखेल चिडियाखाना फोन गरेँ । त्यहाँका पशुपंछी उपचारक केही दिनको विदामा रहेको, तत्काल केही गर्न नसक्ने जानकारी पाएँ । त्यसपछि पंछी संरक्षण संघ (BCN) लाई फोन गरेँ । ज्योतेन्द्र ठकुरीसँग कुरा भयो , त्यो अफिसले जानकारी अध्यावधिक गर्नेबाहेक पंछि जिम्मा लिने, उपचार चलाउने नगर्दो रछ । सीप लागेन । तैपनि ठकुरीजीलाई केही उपाय लगाइदिन आग्रह गरियो । चिडियाघरमा फेरि फोन गरेर केही त गरिदिन पर्‌‍यो भनियो । अनि सुरूमा उद्धार गर्नुस् भन्नेलाई चिडियाघर लगिदिन केही आफैं गर्नुस् भनियो । योबेला सहज बाटो अरू थिएन । तर, ती फोन गर्ने महिला डराएकी थिइन । समात्न खोज्दा चिलले झन्टने हो की ? केही अप्ठ्यारो पार्ने हो की ? त्यसलाई के थाहा मान्छेले उसलाई सुरक्षा दिन खोजेका हुन् वा मार्न ? प्रश्न जायज थिए । उपाय नास्ति ! भरसक केहीले छोपेर समात्ने । अनि चिडियाघर लगिदिने कोशिश गर्नुस् । त्यसको कल्याण तपाइँकै हातमा रह्यो भनियो ।
बेला बेला बेलबारीमा कछुवा भेटिन्छन् । कतै नयाँ चरा देखिएको, घाइते भेटिएको खबर आउँछन् । कहिलेकाही मान्छेका घर र बस्तीमा पसेर भीडबाट आत्तिएका जन्तुको खबर आउँछ ।
००० 
योपल्ट यस्तै भयो । अरू भेटिँदा पनि यस्तै नै हो । तर, अवस्था सहज होस् भन्ने लागिरहन्छ । त्यो लाटोकोसेरो पक्कै गुँडमा फिेरेर जान सकेन होला । कारंण, यसका गुँड मान्चै सजिलै नपुग्ने अग्ला ठाउँमा हुन्छन् । त्यहाँबाट झरेको चल्लो यदि उड्न राम्रो जानेको छैन भने उक्लेर फेरि पुग्न सम्भव हुँदैन । त्यो पनि राम्रो उड्न सक्ने थिएन । कुनै पशुको आहारा भयो या र कुनै झाडीमा लुकिबसेको होला । त्यसरी अलपत्र र असुरक्षित तवरले बसेका पंछीलाई बिरालो, कुकुर, स्याल आदिले आहारा बनाउँछन् । यो चक्रीय प्रणालीमा हामीले उनीहरूलाई अहित हुने क्रियाकलाप जानेर नगरेकै राम्रो होला ।  भेटिए भने तिनलाई अप्ठेरोमा नपारौं । सर्प पनि बाटो छाडिदिए निस्केर जान्छ, केही गर्दैन । अहिलेलाई यति नै ।


लाटोकोसेरोकै बारे यसअघिको लेखोट पढ्न तलको शिर्षकमा क्लिक गर्नुहोला ।

एउटा सुन्दर निशाचर


No comments: