हिजो बेलुकी सञ्चारकर्मी भाइ कमल रिमाल मसँग झर्किए। 'तपाइँ डिसिजन दिन नसक्ने मान्छे' भन्दै। उनको गुनासो थियो त्यो लाटोकोसेरोलाई के गर्ने, कता लैजाने भनेर मैले भनिनँ। हो पनि। उनको व्यवहार जायज थियो। जसलाई पनि यस्तो पर्न सक्छ। भएको के थियो भने, उनले बिहान १०ः३० बजेतिर फोन गरे। डेरानजिकै 'एउटा लाटोकोसेरो अलपत्र परेको छ, कुकुर र अरू चराले आक्रमण गर्लान्। मार्लान्। के गरौं ?' भनेर। म तत्कालै उनीकहाँ पुगेँ।
उनको बसाइ विराटनगरको कोशीअञ्चल अस्पतालको कर्मचारी आवास गृहमा हो। अस्पताल भवन पछाडि। त्यो गोठे लाटोकोसेरो (बार्न अउल) थियो। शायद भर्खर भर्खर उड्न सिक्दै गरेको। त्यसलाई जिम्मा लाउने ठाउँ भएन। कोशीटप्पु वन्यजन्तु आरक्ष टाढा छ। जिल्ला वन कार्यालयमा यस्ता पक्षी जोगाउने मान्छे र साधन छैन भन्ने थाहा छ।
मेरो घरमा बिराला छन्, लैजानै भएन। पशु सेवा कार्यालयले राक्ने कुरै भएन। त्यसै छाडे बगाले भ्याकुरका हुलले थाहा पाएर च्याउँ-च्याउँ गर्न थालिसके। काग पनि आयो। खुला ठाउँ छाड्दा उनले भने झै जोखिम छ। नजिक लुकाइदिन मिल्ने झाडीबुट्यान छैनन्।
अन्नतः उनैले उपाय निकाले- 'दिउँसोभरि भान्सामा उज्यालो छेकेर राख्ने। बेलुका बाहिर निकालिदिने। जान्छ होला। नगए कोही उडुञ्जेल सुरक्षित राखिदिने मान्छे खोजेर जिम्मा दिने।' त्यही गरियो। उनैले भान्सामा राखे। साँझ बाहिर निकालेछन्। खुत्रुक-खुत्रुक उफ्रेर कता गयो गयो, हरायो। बेलुका भेट हुँदा उनी मसँग अलि झर्किए। मैले सहजतापूर्वक लिएँ। गर्ने पनि के गर्ने ?
०००
लाटोकोसेरो जोगाउनु पर्छ भनेर काम गरिरहेका मित्र राजु आचार्यलाई सम्झन्छु। उनी यो क्षेत्रमा लागिपरेको लामो समय भयो। हामीभन्दा धेरै कुरा उनलाई थाहा छ। भेटमा होस् नि च्याट कुराकानीमा, उनले वन्यजन्तु र पन्छीको उपचार केन्द्र, अस्पताल र पुनस्थापना केन्द्र चाहिन्छ भन्नेमा जोड दिन्छन्। कुरो सही छ। तर, यसका लागि कसले काम गर्ने ? वन्यजन्तुका लागि गरिने कुनै पनि काम स्वस्फूर्त हुँदैन। यहाँसम्म की कलेजमा आफ्नो कुनै खास विषयमाथिको शोधका लागि पनि बिद्यार्थी, मास्टर कसैको सानो-ठूलो अनुदान सहयोगकै खोजी गर्छन्। प्रकृति प्रदत्त जीवको सुरक्षा हाम्रो पनि त जिम्मेवारी हो। तर, मैले अहिलेसम्म स्वस्फूर्त काम गरिरा'छु भन्नेहरूलाई पनि इन्टरनेटमा ग्रान्ट दिने दाताको खोजी गरिरहेको देखेको छु।
पाइने सानोतिनो ग्रान्टका लागि पनि आफ्नो खोजीका फेहरिस्त दिन तयार बसेका छन्। व्यावसायिक भएका होलान्। नेपालीको आर्थिक अवस्थाले पनि यस्तो बानी लगाएको हो। केही खर्चिलो शोधका लागि यो आर्थिक भार आफ्नो टाउकोमा नलिने उपक्रम पनि हो। एक हिसाबले ठीक जस्तो लाग्ने। अर्कोतर्फ सोच्दा विदेशीहरू संरक्षणका काममा धेरै अघिदेखि लागेकाले साधन, सल्लाह र सहयोग दिनमा तत्काल तयार हुन्छन् भन्ने भएर पनि हो।
हिजो कमलले लाटोकोसेरोलाई कोशीटप्पुको जिम्मा लगाउने भनेर फोन पनि गरेछन्। समय नमिलेर उनीहरू आउन पाएनन् रे। अनि गएन भने उडेर नजाउञ्जेल राखिदिने मान्छे पनि तयार पारेछन्। तर, त्यो आफैं गयो, के भयो, यी सब उपाय लाउनु परेन। यदि लाउनु परेको भए केही हुन्थ्यो होला ?
यसरी अलपत्र पशुपन्छी भेटिए मलाई फोन आउँछ। यो क्षेत्रमा रूचि राख्ने हो भन्ने थाहा पाएर खबर गरे भनेर खुसी लाग्छ। साथमा दुःख पनि लाग्छ -'यस्तालाई मैले कहाँ लैजानु ? भनिदिने केही प्राणीशास्त्रका गुरू र मित्रहरूलाई हो। यस्ता धेरै घटनामा मैले प्रयास गर्दा पनि धेरैपल्ट पशुपन्छी मरेका छन्। कोसिस गरी हेर्न अझै छाडिहालेको छैन।
सरकारले जिल्ला, इलाका वन कार्यालय वा सामुदायिक वनका लागि यस्ता जीवजन्तु जोगाउने बाध्यकारी प्रावधान राखिदिए हुने हो। साधन र थोरै बजेट दिए हुने हो। त्यहाँ पनि कसले नीतिमा जोड दिने ? कुन दातालाई रिझाएर बजेट ल्याउने भन्ने तर्क चर्कै होलान् । तर, आकस्मिक भेटिने पशुपन्छी जोगाइदिनु त पर्छ नि। पृथ्वी मान्छेकै लागि मात्र होइन। प्राकृतिक चक्रमा सबै जीवका भूमिका आखिर आआफ्नै खाले छन्। लाटोकोसेरोले मुस खान्छ। मुसाले अन्न खान्छ। त्यसैले उर्वर ठाउँमा मुसा बढी पाइन्छ। जहाँ अन्न खाने जीव पाइन्छ ती ठाम पहिल्याएर पनि मान्छे बस्न उपयुक्त छन्।०००
फ्रेण्ड्स अफ नेचर (प्रकृतिका साथीहरू)मा सम्बद्ध संरक्षणकर्मीका अनुसार लाटोकोसेरोकै बारेमा कुरा गर्दा लाटोकोसेरो र हुचिल एउटै हुन्। आकारमा ठूलालाई हुचिल भनिन्छ। नेपालमा हालसम्म २१ प्रजातिका लाटोकोसेरो पाइएका छन्। रातिमात्रै सक्रिय हुने यो पक्षीले मान्छेलाई हानि गर्दैन।
०००
म विराटनगर बस्छु तर, कैलै कैले देशको कुन भागबाट कसले के भनेर फोन गर्छन् छक्कै पार्छन्। मेरा लागि गर्वको विषय पटक्कै होइन। चिन्ता पो लाग्छ। कता मनोविज्ञानको विद्यार्थी, बाटो विराएर पत्रकारितातिर आइपुगियो। प्रकृति र जीवमा रूचि लाग्छन्, जानकारी धेर छैन। तर, आइलाग्ने अवस्था पनि निरन्तरै छ। ज्यान बचाइदिन नसक्दा भने निकै दुःख लाग्छ।
म विराटनगर बस्छु तर, कैलै कैले देशको कुन भागबाट कसले के भनेर फोन गर्छन् छक्कै पार्छन्। मेरा लागि गर्वको विषय पटक्कै होइन। चिन्ता पो लाग्छ। कता मनोविज्ञानको विद्यार्थी, बाटो विराएर पत्रकारितातिर आइपुगियो। प्रकृति र जीवमा रूचि लाग्छन्, जानकारी धेर छैन। तर, आइलाग्ने अवस्था पनि निरन्तरै छ। ज्यान बचाइदिन नसक्दा भने निकै दुःख लाग्छ।
एकपटक काठमाडौंको कुनै कुरियरको अफिसबाट फोन आएको थियो। एउटा चिल आएर झ्यालमा ठोक्किएछ। त्यहाँबाट निकैबेरमा पनि नगएपछि खोजी गर्दा कसैले मेरो नम्बर दिएछ। अनि फोन गरेछन् -'लौ आएर यसको उद्धार गरिदिनुस् ।' मलाई परो अप्ठेरो !
मैले जावलाखेल चिडियाखाना फोन गरेँ। त्यहाँका पशुपन्छी उपचारक केही दिनको बिदामा रहेको, तत्काल केही गर्न नसक्ने जानकारी पाएँ। त्यसपछि पंछी संरक्षण संघ (बीसीएन) लाई फोन गरेँ। ज्योतेन्द्रज्यु ठकुरीसँग कुरा भयो, त्यो अफिसले जानकारी अध्यावधिक गर्नेबाहेक पंछि जिम्मा लिने, उपचार चलाउने नगर्दो रछ। सीप लागेन। तैपनि ठकुरीजीलाई केही उपाय लगाइदिन आग्रह गरियो। चिडियाघरमा फेरि फोन गरेर केही त गरिदिन पर्यो भनियो।
अनि सुरूमा उद्धार गर्नुस् भन्नेलाई चिडियाघर लगिदिन केही आफैं गर्नुस् भनियो। योबेला सहज बाटो अरू थिएन। तर, ती फोन गर्ने महिला डराएकी थिइन। समात्न खोज्दा चिलले झन्टने हो की ? केही अप्ठ्यारो पार्ने हो की ? त्यसलाई के थाहा मान्छेले उसलाई सुरक्षा दिन खोजेका हुन् वा मार्न ? प्रश्न जायज थिए। उपाय नास्ति !
'भरसक केहीले छोपेर समात्ने। अनि चिडियाघर लगिदिने कोसिस गर्नुस्, त्यसको कल्याण तपाइँकै हातमा रह्यो,' भनियो।
बेला बेला बेलबारीमा कछुवा भेटिन्छन्। कतै नयाँ चरा देखिएको, घाइते भेटिएको खबर आउँछन्। कहिलेकाही मान्छेका घर र बस्तीमा पसेर भीडबाट आत्तिएका जन्तुको खबर आउँछ।
०००
०००
योपल्ट यस्तै भयो । अरू भेटिँदा पनि यस्तै नै हो। तर, अवस्था सहज होस् भन्ने लागिरहन्छ। त्यो लाटोकोसेरो पक्कै गुँडमा फिेरेर जान सकेन होला। कारंण, यसका गुँड मान्छे सजिलै नपुग्ने अग्ला ठाउँमा हुन्छन्। त्यहाँबाट झरेको चल्लो यदि उड्न राम्रो जानेको छैन भने उक्लेर फेरि पुग्न सम्भव हुँदैन। त्यो पनि राम्रो उड्न सक्ने थिएन।
कुनै जीवको आहारा भयो या र कुनै झाडीमा लुकिबसेको होला। त्यसरी अलपत्र र असुरक्षित तवरले बसेका पन्छीलाई बिरालो, कुकुर, स्याल आदिले आहारा बनाउँछन्। यो चक्रीय प्रणालीमा हामीले उनीहरूलाई अहित हुने क्रियाकलाप जानेर नगरेकै राम्रो होला। भेटिए भने तिनलाई अप्ठेरोमा नपारौं। सर्प पनि बाटो छाडिदिए निस्केर जान्छ, केही गर्दैन। अहिलेलाई यति नै।
***
लाटोकोसेरोकै बारे यसअघिको लेखोट पढ्न तलको शीर्षकमा क्लिक गर्नुहोला ।
***
लाटोकोसेरोकै बारे यसअघिको लेखोट पढ्न तलको शीर्षकमा क्लिक गर्नुहोला ।

No comments:
Post a Comment