Saturday, January 17, 2015

फिस्टुला जिन्दगी

ब्लगमा यो फीचर अपलोड गर्दागर्दै के भनौं भने आज मेरो मेल बक्समा डा. अरुणा उप्रेतीको इमेल रहेछ । 'यो विषय आफूले पनि लेख्न चाहिरहेको भएपनि तपाइले छिटो लेख्नु भएछ । खुसी लाग्यो । यस्तो अप्ठ्यारोमा परेका महिलालाई सहयोग गर्नुहोला' भनेर । मलाई खुसी लाग्यो । उत्तर पनि पठाएँ । नेपाली छापामा हामी डा. उप्रेतीका लेख पढन पाइरहन्छौ । स्वास्थ्यका बारेमा पत्रकारले लेक्न सजिलो छैन । कारण, यो पर्‍यो प्राविधिक विषय । र, यो कसरी लेखियो भन्ने थोरै कुरा भन्छु ।
 मैले नूर इमेजेजको टोलीसँगको यात्राका कुरा यही ब्लगमा केहीअघि गरेको थिएँ । यो त्यही यात्राकै बेला खिचेका टिपेका मान्छेका कथा व्यथा हुन् । विदेशीले अडियो। भिडियो र फोटोमा लगेका मान्छेका कथा हामीले पनि बुझनु पर्छ भन्ने डा. मोहनजीका कुरा उचित लागेको हो । खासमा फिस्टुलाको उपचार राजधानीको पाटन र धरानको विपी प्रतिष्ठानमा सहज छ । यी दुवै सरकारी अस्पताल हुन् । उपचारमा लाग्ने खर्च छुट दिएर थालिएको सेवा लामो अवधि चल्छ भन्ने ग्यारेन्टी भएको कुरा होइन । तर, यो सुविधा जबसम्म छ, तबसम्म विरामीले थाहा पाएर पुग्नु/पुर्‍याइनु पर्छ । सेवा पाउनु पर्छ । यस्ता कथा नियोजित/प्रायोजित हुने गरेकाले प्रकाशित हुन गाह्रो छ । अझ मोफसलबाट लेखिएका यस्ता सामाग्रीमाथि डेस्कले धेरै प्रश्न गर्छ । नियमित समाचार सामाग्रीका रुपमा पठाइयो भने सोधिन्छ -'कुनै फेलोसीप पाएर लेखेको हो ? किन कुन संस्थाका लागि लेखेको ?' भाग्यमानी सम्झन पर्छ, मैले यस्ता प्रश्नको सामना गर्न परेन । कारण कोसेली संयोजक साथी यज्ञशजीलाई विषयबारे लेख्न थाल्नअघि नै बताएको थिएँ । यो कुनै संस्था वा कसैको फेलोसीपका लागि लेखिएको होइन । मबाट वातावरण, चरा र वन्यजीवनमा आधारीत सामाग्री आउनु पर्छ भनेर हौस्याउने उहाँले 'हुन्छ लेख्नुस्' भनेपछि पनि केही समय लगाएर लेखियो । 
फिस्टुलासँग स्वार्थ केही छैन । तर, यो रोगले च्यापेपछि कष्ट खेपेकाहरू भेटेपछि लाग्छ- 'यो कसैलाई नहोस् ।' करीब एक साताको यात्रा,  भेटिएका दुःखी तर, संघर्षपूर्ण जीवन बाँचेका महिलाका कुरा समेट्न मन लागेको हो । यसमा केही पर्तिनिधि पात्रकामात्रै कथा समेटिएका छन् । लागेको छ, यी केही पात्रले यो रोगले दुःख दिँदा पाइने कष्टसँग जुध्दै जिन्दगीको गाडी डोर्‍याउनेहरूको प्रतिनिधित्व गर्नेछ । अझै हामीले यस्ता कुरा खोज्नै सकेका छैनौ । महिला वालबालिकाको स्वास्थ्य, शिक्षा र समाजिक सरोकारका विषयमा धेरैथोक खोज्नै पर्छ । यो क्रम जारी रहनेछ । 
तल २०७१ माघ ३ शनिवार कान्तिपुर कोसेलीको मध्यपृष्ठमा प्रकाशित 'फिस्टुला जिन्दगी' छ । अनलाइनमा राखिएको सामाग्री कपी गर्दा फन्टको साइज र स्पेसिङ मिलाउन सकिएन । त्यसैले मैले सुरूमा कोसेलीलाई पठाएको मुलकपीबाट राखेको छु । प्रकाशित हुँदा यसमा केही हरफहरू काँटछाट गरि सम्पादन भएका छन् । अप्रासंगिक, वा एउटै कुरा दोहोरिएको, वा अनावश्यक लागेर हुन सक्छ । मिलाएर बुझम् ।  


अब मुल कथा

खहरे खोला डीलैडिल उत्तर लागेपछि पुगिने सानो झुपडीका दुइ कोठा । एउटा बैठक र सुत्ने, अर्को सानो भान्सा । मुलढोकाबाट पस्दै भीत्ताभरि फोटैफोटा छन् । भित्तेचित्रका भाव जिन्दगी हँसिलो-रसिलो छ । धरान-१३ अमरबस्तीकी बिना कठायत मनभरि आँधी बोकेर बाँचेकी होलिन् भन्ने भान पटक्कै हुन दिँदैन ।
'पाँचपल्ट अपरेसन भयो । अझै निको भइसकेको छैन', उनले भनिन् 'आसैआसमा बसेकी छु । होला नहोला । खै के भन्नु ?' ४६ वर्षीया बुढाथोकी फिस्टुला रोगी हुन् । चिकित्सकहरूका अनुसार दिसा-पिसाब आफ्नो मर्जीले नअडिने रोग नै फिस्टुला हो । मुत्रनली, थैलीमा प्वाल परे वा चुँडिए यस्तो हुन्छ । 
२६ वर्षदेखि रोगसँगै जिन्दगीको गाडी डोर्‍याएकी उनका लागि अब सबथोक सामान्य छ । आस छ,  उति भरोसा छैन । पहिलो, दोस्रोपटकमा मान्छेका बिमार बिसेक हुन सकेन भने सामान्यतः यस्तो लाग्नु स्वभाविक पनि छ । 
अमरबस्तीकी यी दरिली एक्ली महिलासँग मेरो भेट संयोगले गराएको थियो । उनी जसरी रोगसँग संघर्ष गरेर बाँचेकाको कथा खोज्न आएको अन्तर्राष्ट्रिय फोटो एजेन्सी नूर इमेजेजको टोली । त्यो टोलीले बाटो देखाउन साथ लिएपछि यो मौका मिल्यो । यो यात्रामा भेट्नै पर्नेमध्येकी बिना पहिलो पात्र थिइन । उनीसँगको भेटघाट पोट्रेट फोटो खिच्ने असिम रफिकी र भिडियो खिच्ने पेप बोनेटसँगै मेरा लागि पनि नौलो थियो । हुन त हरेक मान्छेसँग कथा छन् । भोगाइलाई व्यक्त गर्ने तरिका भाषामा उस्तै-उस्तै लाग्छन् तर, आफन्तभन्दा पर, एक्लै उभिएकी महिलाले त्यसबेला चर्चा पाउँछन् । जब उनको काम समाजमा अलि नौलो र उदाहरणीय हुन्छ । हाम्रो पात्रसँग नाम चल्ने केही थियो भने अढाइ दसकदेखि रोग च्यापेर गरिरहेको जिन्दगीको यात्रा । हामी अब उनका कुरा सुन्छौं । 
बिनाले पूर्वी पहाडको खोटाङ, निर्मलीडाँडा गाविसमा रहँदाताकाको समय सम्झना गरिन् । नातामा दिदी पर्नेको निधन भयो । भिनाजुले मागेपछि बिनाको २० वर्षको उमेरमा विवाह भयो । 'मलाई जेठमा बिहे गर्‍यो, भदौमा फेरि मेरो बडाबाकी छोरी सौता हाल्यो', उनले भनिन् 'चैतमा मेरो बच्चा हुने थियो ।' अतित खोतल्दा आँखाका डिलहरू रसाएर आए । त्यो दिन उनी घाँस-दाउरा लिन जंगल गएकी थिइन । असह्य हुनेगरि पेट दुख्यो । घाँस लिएर घर फिरेपछि फत्त्र्याक फत्त्र्याक परिन् । 'बच्चा कसरी हुन्छ भन्ने थाहा थिएन । स्वास्थ्यचौकी टाढा । घरका मान्छे अबुझ', उनले भनिन् 'तेस्रो दिन बच्चाको टाउको अलिकति निस्केको रैछ । गाउँमा गाइ ब्याउन नसके तान्दै निकाल्ने गर्ने एकजना लोग्नेमान्छेले आएर तानेर निकाली फालिदिएछ । त्यसपछि निकै दुख्यो । म निकै बिमार भएँ ।'
दिसापिसाब एकै थलोमा । जरोले इन्तु न चिन्तु । वाक्य बसेको र कम्मरमुनिका भाग नचल्ने भएका थिए । घरकाहरूले हेरेनन् । माइतीमा खबर पुग्यो । हेर्न आउने आफन्तले ज्यान माया मारे । 'यो मर्छे भनेर आफन्तहरू रोए पनि', उनले सुनाइन् 'दिदी आइन र, डोले बोलाएर माइत लगिन् ।' त्यसको आठ महिनापछि मात्रै उनले ओच्छयान छाडिन् । 'हात टेकेर, घुँडाले घस्रेर बिस्तारै हिड्न थालेँ', उनी फ्ल्यासब्याकमा पुगिन् 'त्यही वर्ष दिदीको पनि बिहे भएपछि घरमा बुवा र म एक्लै भयौ । आमा सानैमा बित्नु भएको । दाजुहरू रोजगारी खोज्न धेरै वर्षअगाडि नै हिडेका थिए ।'
ओखलढुंगाको मिशन अस्पतालमा प्रसूति बिग्रिएर पर्ने समस्याको उपचार हुने केही गाउँलेले सुने । उनलाई आएर सुनाए । सडक थिएन । एक दिन पैदल दूरिको गाउँ । तर, गाउँलेको सहयोगमा बाबु-छोरी अस्पताल पुगे । 'त्यो टेकनपुर हस्पिटलमा विदेशी डाक्टर थियो । उसले हेर्‍यो', उनले भनिन् 'ठूलो बिमार छ । पिसाब नलि चुँडिएको छ । पाटन हस्पिटल जानु भनेर लेखिदियो ।' विपन्न परिवार । हातमुख जोर्नै धौधौ । उनले उपचार पाउन सकिनन् । विस्तारै आफ्नो खुट्टाको भरमा हिडडुल गर्न थालेपछि बाबुका लागि भात पकाउँदै माइतमा बसिन् । 
दुई वर्षपछि गाउँका कसैले धरानमा उपचार लाग्ने सुनाएपछि उनी झरिन् । 'त्यहाँ इण्डियन डाक्टर थियो । उपचार खर्च २० हजार लाग्छ भन्यो । पैसा थिएन', उनले भनिन्, 'त्यसपछि मोरङको सिजुवामा दाइ थिए । त्यहाँ गएँ । दुइ वर्ष बसें । उपचार लाइदिएनन् ।' देख्ता सद्दे भए पनि दिसा-पिसाब आफ्नो बलले अडिदैनथे । दाजुले पनि उपचार नलाइदिएपछि पहाड फिरिन् । पुगेलगतै गाउँकै एकजना दिदी पर्नेले उनलाई धरान बोलाइन । उपचारको आसमा फेरि झरिन् । 'उनीहरूका लागि दाउरा लिन जंगल जाने, भात पकाइदिने, बच्चा स्याहार गर्ने १० वर्ष काम मात्रै लाए । उपचार लाएनन् । बुवा पहाडमा एक्लै परे भन्ने वहाना लगाएर तिनको घर छाड्न पर्‍यो', उनले सम्झिन् 'वडा समितिबाट उपचारका लागि सिफारिस चिठी बनाउन लगाएको पनि हो । तर, देख्ता बाहिरबाट सद्दे हेरेर त्यो कागज पढ्नेले मलाई ठग भने ।' चित्त कुँडियो । 
त्यो घर छाडिन् र, धरानमै अलिमाथि अमरबस्तीमा भदै पर्नेकहाँ शरण लिइन । त्यसपछि जिन्दगीले नयाँ मोड लियो । जोगाएको १५ सयले भाडाको घुम्तीमा सानो तरकारी पसल थालिन् । त्यहाँ आइरहने एक महिलासँग उनको राम्रो कुराकानी हुन्थ्यो । 'बैनी तिमीसँग बसेर कुरा गर्दा कस्तो कस्तो गन्हाउँछ । के समस्या छ ? भनेर त्यो दिदीले सोध्या', उनले भनिन्, 'मैले आफ्नो समस्याको कुरा बताएँ ।' राष्ट्रिय अनुसन्धानका जागिरे भिनाजुका साथी धरानको वीपी प्रतिष्ठानमा चिकित्सक भएर आएका थिए । सल्लाह मिल्यो । दुवैको सहयोगमा उनी फेरि उही अस्पताल जहाँ डेढ दसकअघि उनलाई उपचारका लागि २० हजार खर्च लाग्छ भनिएको थियो । 
उपचार सुरू गर्दै यसपटक उनले 'निको हुन सक्छ । नहुन पनि सक्छ' भन्ने चिकित्सकको दुविधापूर्ण कुरा सुन्न पाएकी थिइन । वितेको वर्षम्ममा उनले ५ पटक शल्यक्रिया सामना गरिन् । यो अवधिमा उनको ज्यान दुइपल्ट पाटन अस्पताल पुग्यो । तीनपटक धरानकै अस्पतालमा चिकित्सकले विसेक पार्ने उपाय लगाइ हेरे । 'पहिले पहिलेजस्तो छिट्टै चुहिने समस्या छैन', उनले भनिन्, 'तर, आफ्नो मर्जीले दिसापिसाब फेर्न नपाउनु, आफै चुहिनुको समाधान नभएसम्म के निको भएको मान्नु ?'
०००
त्यो दिन जस्तो 'इन्सेक्योर फील' जीवनमा अघि-पछि भएको छैन । घरबाट काठमाडौंको डेरा आएको दिन थियो त्यो । गाडीबाट कोटेश्वर उत्रँदा लुगा पुरै भिजेका थिए । एउटा लेडिज, उसका सुरूवाल भिजेका छन्, बाटामा जाँदैछे । दिसापिसाब त गन्हाउँछ नै । सोच्नुस् त ! कस्तो भो होला ? आफूलाई लाज, हीनता, केकेथोक अनुभव भइरहेको थियो । देख्नेहरूमा कसैले 'छि कस्तो फोहोरी', कसैले 'घरबाट नुहाएर आउनु पर्दैन !' सम्म भने । मेरो रहर थिएन । यो रोग लागोस् कसले भन्दो हो - त्यो दिन डेरासम्म पुग्दा मलाइ भएको अनुभव साह्रै नमिठो रह्यो । 
आफ्नो घटना सुनाएर ती हँसिली राधिका राई मौन भइन । केही गम्भिर देखिइन । केहीबेर बोलिनन् । रसाएका आँखा पुछिन् । उनका कुरा अझै केहीबेर सुन्नु थियो । फेरि बिस्तारै भन्दै गइन् । 
अभिभावकविहीन राधिका राजधानीको एउटा निजी विद्यालयमा काम गर्थिन् । पढ्थिन् । १२ वर्षमै विवाह भयो । '१२ वर्षमै ? बालविवाह ?' प्रश्नले उनी केही अलमलमा परिन् । स्वास्थ्य जाँचका लागि धरान आएको बेला उनलाई भेटिएको हो । 'लव होइन, एरेञ्ज पनि होइन । खै कसरी भयो । भइहाल्यो', थोरै हाँसिन, कुरा लुकाउन खोजेजसरी उनले भनिन् 'खासमा एकजना दिदीको हुनपर्ने । उनका साथमा जाँदाजाँदै मेरो पो भयो ।'
अहिले उमेर २१ लाग्यो । फिस्टुलाको समस्या भएको र श्रीमान विदेशिएको पाँच वर्ष। बिहेपछि श्रीमानको घर ओखलढुंगाको खिजिकाती-३ पुगिन् । केही वर्षपछि गर्भ रह्यो । सुविधा भएको स्वास्थ्य चौकी टाढा । गाउँ पनि जिल्ला सदरमुकामबाट झण्डै डेढ दिनको पैदल दूरिमा । घरमा प्रसूति सजिलो भएन । 'भित्रै बच्चा मरेछ, मलाइ रामेछापको प्रिती गाविसको हेल्थपोष्टमा लगेपछि अहेबले बच्चा झिकिदिए', उनले बताइन्, 'त्यसपछिदेखि मेरो दिसा-पिसाब अडिन छोड्यो ।' घटनाको तीन महिनापछि श्रीमान वैदेशिक रोजगारीमा मलेशिया हान्निए । तीन वर्षपछि उनी राजधानीमा आएर डेरा लिएर बस्न थालिन् । श्रीमानसँग फोनवार्ता त हुन्छ तर, यो अवधिमा उनी विदा लिएर एकपटक पनि स्वदेश आएका छैनन् । 'अब टाइम सकिन लाग्यो, फिर्नुहुन्छ', उनी केही ढुक्क देखिइन् ।
'गएको जेठमा समेतगरि तीनपल्ट अपरेसन भइसक्यो । पुरै निको भएको छैन', उनले सुनाइन् 'तर, पहिले पहिलेभन्दा केही कम छ ।' 
डेरामा आफूले कसैलाई साथी/पाहुना नलाने तीतो उनले पोखिन् - 'भर्खर बच्चा जन्मेकोजस्तो आफ्ना लागि थाङ्नाको भारी राखेर बसेकी हुन्छु । यस्तोमा साथी बनाउन, पाहुना लैजान मन लाग्दैन ।' आफ्नो मर्जीले मलमुत्र नअडिने भएपछि पाहुना वा भेट्न आउनेले थाङ्ना देखेर के भन्लान् भन्ने लागिरहने उनले बताइन । 'आफूलाई यस्तो समस्या आएपछि मैले चिनेजानेका दिदीबैनीलाई कम उमेरमा बिहे गर्न हुन्न । बच्चा गर्भमा बसेपछि डाक्टर देखाइरहन पर्छ भन्छु', उनले भनिन्, 'आफ्नो ज्यानलाई समस्या हुने कुरा थाहा नपाएर हुने रहेछ । थाहा हुन्थ्यो भने यस्तो टेन्सनलाई कसले निम्तो दिन्थ्यो ?'
०००
'हो, सौता र म मिलेर बसेका छौं । बुढाको बिहे गराइदिनुको विकल्प मसँग थिएन', सप्तरीको जोगिनिया-१ की रञ्जनादेवी मेहताले भनिन् 'अबको आस छोरा भइदिए हुन्थ्यो भन्ने छ ।' कोसीब्यारेज वारिको भारदह चोकबाट सप्तरी सदरमुकाम पूर्व-पश्चिम राजमार्ग छाडेर जाने हो भने अर्को बाटो छ । दक्षिण लाग्ने त्यो बाटोमा कोसी किनारको पुरानो बजार हनुमाननगरभन्दा एक किलोमिटर वर रहेछ रञ्जनाको घर । 
उनलाई भेट्ने ठेगाना श्रीमान जोगिन्दर मेहताको परिचय दिएर घर खोज्नुपर्ने थियो । एउटै टोलमा यो नाम थरका तीनजना रहेछन् भन्ने त्यहीँ पुगेपछि मात्रै थाहा भयो । बाटो देखाउनेले पहिलो, दोस्रोकहाँ पुर्‍याए । 'हामीले खोजेको जोगिन्दरको घर यो होइन' भनेपछिमात्रै अन्तिममा खोजेको घर भेटियो । रञ्जना घरैमा थिइन । 
'छोरी ११ वर्षकी भइ । ऊपछिको एउटा बच्चा खेर गयो', उनले सुनाइन, 'त्यसपछिको बच्चा पनि पेटैमा मरेछ । कोसीको बाँध भत्किएको बेला थियो । डेलिभरीका लागि श्रीमानले मलाइ बिरगञ्ज अस्पताल पुर्‍याए ।' अपरेसन गरेर पेटको बच्चा झिक्न केही दिन ढिला भएको थियो । त्यसपछि उनलाई फिस्टुलाको समस्या भयो । चिकित्सकले 'अब आमा नबन्नु । मर्छेस्' भनेकाले श्रीमानको एउटा छोराको रहर पुरा नहुने अवस्था आयो । उनले भनिन् 'मैले नै बुढालाई अर्को ल्याउ । मिलेर बस्छौ । छोरा होला । तिम्रो इच्छा पुरा हुन्छ भनेकी हुँ ।' उनको कुरा गराइ भावशुन्य थियो । 
जोगिन्दर बुटबलमा काम गर्छन् । बेला बेला घर आउँछन् । फिस्टुलाको विरामी भएदेखि उनलाई छोरीले पनि सघाउन थालेकी छन् । सौताको व्यवहार राम्रै रहेको बताइन् । धरानमा शल्यक्रियापछि उनलाई केही विसेक भएको अनुभव छ । भन्छिन् 'निको त भयो तर, कहिलेकाही तल्लो पेट बेस्सरी दुख्छ ।'
उनकै छिमेकी रीतादेवी चौधरीलाई त्यस्तो समस्या रहेको बाल्यकालदेखि नै हो । चार छोरी, दुइ छोरा छन् । 'मैले होस सम्हालेदेखि नै दिसापिसाब नअडिने समस्या थियो', उनले भनिन् 'बुवाआमाले धेरैतिर उपचारका लागि लैजानुभयो । निको भएन ।' समस्या रहँदै पनि विवाह भयो । सन्तान पनि हुँदै गए । ४० वर्षीय भएपछि मात्रै उनले ग्रामीण मातृशिशु कार्यकर्ताबाट उपचारका लागि धरानमा सम्भव रहेको थाहा पाइन् । दुइपटकको अपरेसनपछि दैनिकी सामान्यतर्फ फिरेको छ । 
'स्कुलमा, बाहिरफेर होस् वा घरमा, एउटै डर रहने', उनले भनिन् 'कतिखेर दिसापिसाब चुहिन्छ । अरुले थाहा पाए के भन्लान् । साह्रै कष्टले उमेर काटियो ।' चौधरीकै उपचार सुरू भएको थाहा पाएर रञ्जनालाई पनि जोगेन्दरले धरान लगेका थिए । 
यी दुइको घरनजिकै माइती भएकी धनीकुमारी मुखियाको सप्तरी, कमलपुर-७ मा विवाह भएको हो । २२ वर्षको उमेरमा चारपल्ट गर्भवती भइन् । सबै राजविराजको सगरमाथा अञ्चल अस्पतालमा अपरेसन गरेर झिकिएका थिए । तर, दुइ खेर गए । पहिलो र दोस्रोपटक अपरेसन गर्दै डाक्टरले 'अब गर्भवती नहुनु । ज्यानलाई खतरा हुन्छ' भनेका थिए । 'हामी अनपढ गरिब, उसमाथि परिवारमा छोराको चाहना । म गर्भवती हुन्छु हुन्न भन्ने निर्णयको अडानमा कसरी बस्न सक्नु ?', उनले सुनाइन् 'दोस्रोकै पालिदेखि समस्या आयो । के रोग भएको भन्ने थाहा थिएन ।' धनीकुमारीका श्रीमान जयनारायण ज्यालादारी कामका लागि भारतको पञ्जाब गइरहन्छन् । वर्षका केही महिनामात्रै घर आउँछन् । हामीले उनीसँग भेट गर्दा माइती आएको संयोग थियो । 
कोसीको पश्चिमी तटबन्धमा केही घण्टाका लागि भाडामा ल्याएको थ्रेसरमा उनका बुवा कुसुमलाल र दाजुभाइ धान दाउनी गरिरहेका थिए । उनी बोझा ल्याउन र धान समेट्न सघाइरहेकी थिइन् । उनका अहिले ६ र ४ वर्षका छोरी छन् । फिस्टुलाको अपरेसनपछि उनी काम गर्न सक्ने भएकी बुवा कुसुमलालले बताए । 'हाम्रो समाज अझै छोरीलाई गर्भधारण गर्न सक्ने भएपछिमात्रै विहेदान गरिदिन पर्छ भनेर बुझने भएकै छैन', उनले भने, 'रोगका कुरा जान्दिन । तर, बालखैमा बिहे गरिदिँदा समस्या आउने कुरा डाक्टरबाटै सुनेँ ।' छोरी विरामी परेपछि धेरै तनाव भएपनि अहिले निकोहुँदै जाँदा घर गरेर खान्छे भन्नेमा आफू ढुक्क भएको उनले सुनाए । 
०००
'पेट दुख्छ मात्रै भनेर आएकी थिइन । मलाई शंका लाग्यो यो फिस्टुला केस हो कि भनेर' सिरहाको कर्जन्हास्थित फूलकुमारी अस्पतालका डा. शिवशंकर साहले भने, 'मैले धरान फोन गरेँ । र, उतै पठाइदिए“ । मैले हेरेकोमा यो पहिलो केस थियो ।' उनले धनुषा रघुनाथपुर-२ को किरतपुरबाट विवाह भएर आएकी २० वर्षीया सुनीतादेवी महतोका बारेमा बताइरहेका थिए । 'महिला र प्रजनन् स्वास्थ्यका बारेमा निकै कम सचेत छन् यताका गाउँले', उनले भने, 'त्यसैले महिलाकै धेरै खालका केस आइरहन्छ ।'
कर्जन्हा र किरतपुरबीच कमला नदि छ । पानी घटेकाबेला यी गाउँका मान्छे वर्षा केही महिना ओहरदोहर गर्छन् । उनी माइती गएकी थिइन । कमला नदिमा पानी निकै थियो । उनलाई भेट्न पुलपारी भएर करीव २२ किलोमिटर कच्ची बाटो यात्रा गर्नुपर्ने भयो । हामी किरतपुरतिर लाग्यौं । करीव दुइ किलोमिटर वरदेखि गाडी अघि बढ्न सकेन । बाटामा ठूल्ठूला खाल्डा थिए । चोकमा सुनीताकी आमा चोकमा प्याजी-भुजा बेच्न बसेकी थिइन । अपांग बाबु शिवा महतो अर्काको खेतमा काम गरेर र्फकदै थिए । बाटाको गाइड बनेका उनले भने 'ठूलीछोरी । छिटै बिहे गरिदियौं । जनकपुर लानुपर्दा पर्दा चार गाउँ डुलेर चन्दा खोजेर लगेका थियौं ।' 
ढल्न लागेको फुसको घर । पाँच भाइबैनीकी जेठी सुनीता नौला मान्छे देखेर अकमकाइन । नेपाली भाषा बोल्न र बुझन नसक्ने उनका लागि संवाद मैथिलीमै मात्र हुन सक्यो । 'मेरो पहिलो बच्चा । पेटमै मरेछ । जनकपुरको हस्पिटलमा पेट चिरेर झिकेको', उनले बताइन, 'त्योबेलादेखि समस्या भयो ।' दम्पतिमात्रै भएको घर । जनबनी गर्न नगए चुलो नबल्ने स्थिति । 'मैले धेरै दुःख खेपें', उनले भनिन् 'धरानमा अपरेसनको २४ दिनसम्म अस्पताल बसेर आएपछि अहिले केही विसेक भएको छ ।' उनलाई अब सन्तान हुने हुन् वा हैनन् भन्ने डर रहेछ । उनले भनिन् 'के कारण त्यस्तो भयो भन्ने मलाइ अझै थाहा छैन । यति लाग्थ्यो निको नहुने रोगले भेट्यो । बाँच्दिन होला भन्थें । बाँचे ।' 
०००
'हाम्रो ध्यान मातृ मृत्यु दर घटाउने हो भने फिस्टुलाको समस्यामाथि गम्भिररूपमा ध्यान जानैपर्ने देख्छु' धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती रोग विभागका संयोजक एसोसिएट प्रोफेसर डा. मोहनचन्द्र रेग्मीले भने 'धेरैपछि अब आएर बल्ल यो समस्या निदानका लागि काम सुरू भएको छ ।' पाठेघर खस्ने समस्याबारे अहिले धेरै जानकारी बढेको भएपनि फिस्टुलाबारे प्रचार निकै कम रहेको उनले बताए ।
सानै उमेरमा गर्भवती हुनु, बेथा लागेको लामो समयपछिमात्रै अस्पताल लगिनु र असुरक्षित प्रसूतिलगायत फिस्टुलाको समस्या आउने विभिन्न कारण हुने गरेको उनले बताए । 'अरू कारणहरू पनि छन् तर, देखिएका धेरै केसमा बेथा लागेको लामो समय भयो, रक्तसंचार नभएर मलमुत्रको थैली प्वाल पर्छ अनि त्यहाँबाट दिसा र पिसाव बग्ने गर्छ', उनले भने, 'थाहा पाएर छिटै उपचार खोजी गर्ने निकै कम छन् । धेरैले लामो समयपछिमात्रै उपचारमा आइपुगेको बताउँछन् ।'
उनका अनुसार फिस्टुलाको उपचार चार वर्षदेखि पूर्व क्षेत्रमा धरानमै मात्र गरिँदै आउँदा यसका जटिलता निवारणका तरिका र उपचारको सरल पद्धतमिाथि खोजी पनि गरिएको छ । 'शिक्षा, विकास र अरुथोकजस्तै यो स्वास्थ्योपचारको सेवा पनि दातृको सहयोगमा सुरू भएको यथार्थ छ', उनले सुनाए, 'सरकारले चाहेर गर्न नसक्ने होइन । तर, कहिले यस्ता सेवालाई प्राथमिकतामा पार्ने, नीतिमा पुनरावलोकनका लागि दावेदारी गरेर आवश्यकता कसले बुझाइदिने ? अहिले हामीले भन्ने रोग लुकाएर घरमा नबसौं, उपचार खोजौं ।'
प्रतिष्ठानमा वर्षेनी यस्ता पाँच सय हाराहारी विरामी उपचारका लागि आइपुग्ने गरेका छन् । करीव एक महिना भर्ना भएर गरिनुपर्ने उपचार विरामीले बिना कुनै शुल्क पाउने व्यवस्था छ । संयुक्त राष्ट्रिय संघीय जनसंख्या कोषले यो उपचार सेवालाई सघाउने दक्षिण एशियाली मुलुकमा नेपाल पनि छ । ५० हजार रूपैयाँ हाराहारी लाग्ने खर्च लाग्नेमा विरामीले सितैं सेवा लिन पाउने व्यवस्था छ । 
प्रतिष्ठानमा डा. रेग्मीको छुट्टै टोली यसैका लागि काम गरिरहेको छ । दुइ डाक्टर र केही नर्सिङ स्टाफले यसका लागि विशेष तालिम लिएका छन् । नर्सिङ अफिसर सुजन लामाले भनिन् 'म त्यस्ता विरामीसँग कुरा गर्छु र, थाहा हुन्छ फिस्टुला भएपछि धेरैले परिवारको तिरस्कार भोगेका हुन्छन् ।' उनका अनुसार अझै पनि बच्चा जन्माउने उमेर भएपछिमात्रै गर्भधारण गर्ने, गर्भ रहेपछि नियमित जाँच गराउने कुरा प्रचार हुनु आवश्यक छ । डा. तरूण प्रधानले भने 'अन द जब ट्रेनिङको दौरान ५० वटा जति केस हेरियो । उपचार सम्भव छ । तर, धेरै परिवारमा यस्तो दिसापिसाब आफै चुहिने समस्या के हो ? उपचारका लागि कहाँ जाने भन्ने जानकारी पुगेकै छैन ।' विशेषतः लाजका कारण लुकाउने गरेकाले महिलाले भित्रभित्रै सास्ती खेपेर बस्ने गरेको केस स्टडीबाट थाहा भएको उनले बताए ।

(२०७१ माघ ३ शनिबार प्रकाशित )

ईकान्तिपुरमा पढ्न मन लागे तलको लिंकमा जानु होला  
http://goo.gl/OGX9DK      

No comments: