Wednesday, January 14, 2015

मकरका पाहुना

लाग्यो ट्वीटरका १४० शब्दभित्र मलाई व्यक्त गर्न इच्छा लागेका कुरा अँटाएनन्। केही लेखम् भयो। केहीबेर अघि म बजारको बाटो भएर घर फिर्दै थिएँ।

मिति हो, २०७१ पुस ३० बुधबार, बेलुकीको ९ः४५ बजे।

विराटनगर बजार क्षेत्रको मेनरोडमा रहेको सत्यनारायण मन्दिर (अतिथि सदन अगाडि) अगाडिको सडकमा धेरै मान्छे बसेका छन्। यो बजार एरियाका जस्ता नलाग्ने अनुहारका। नौला मान्छे। आगो तापेर सडकमा बसेकाहरूसँग कुरा गर्न मन लाग्यो। रोकिएँ।

उनीहरु नेपाली भाषा नजानेकाहरू थिए। मैथिलीमा कुरा गरियो। सुरूमा त ठट्टा नै गरे उनीहरूले। मैले क्यामराब्याग भिरेको थिएँ। गह्रौँ ब्याग। मेरो ब्याग देखेर कोही कम्बल बाँड्न आएको ठाने रे। उनीहरुले सीमावर्ती विहारको जोकीहाट, पलासी, बलवाबाट मकर संक्रान्तिमा विराटनगरमा माग्न आएको मलाई बताए। उनीहरूका अनुसार करिब आधा दर्जन गाउँबाट आएका थिए। एउटाबाट कम्तीमा सयजनाको संख्यामा। 

मकर संक्रान्तिका दिन विशेष छ। विभिन्न ठाउँमा खोलाखोल्सीमा गएर नुहाउने चलन छ। दानपुण्य गर्ने चलन छ। विराटनगरमा दानको चलन विशेष छ। नगरको बजारबासीले गर्ने दानको परम्परा पुरानो हो। परम्परा थामिदिएका छन् पारिबाट मगन्ते बनेर आउने भीडले। उनीहरुका अनुसार त्यो एक बिहान पाएको दानले ३/४ महिनालाई घरमा खान्कीको जोहो पुग्छ। त्यसैले धेरै वर्षदेखि आउने गरेका सुनाए। 

मसँग केही वृद्धाले कुरा गरे। कुराकानीको केहीबेरमा दानको पनि आस गरे। 'भोलि त तिमीहरूले पाइहाल्छौ। को हौ के हौ ? भन्ने जिज्ञासा भएर मात्रै कुरा गरेको' भनेर टारियो। खासमा हातगोडा सग्ला भएकालाई दान दिन हत्तपत्त मेरा हात अघि सर्दैनन्। यहाँ पनि त्यही भयो। पर्समा पैसा थिए, तर दान दिन मन लागेन।

भीडमा धेरै वृद्धवृद्धा र केटाकेटी थिए। ठुलालाई विराटनगर नौलो थिएन, केटाकेटीलाई भने बजार नौलो लागिरहेको भान हुन्थ्यो। उनीहरूले यहाँ आउनुको प्रयोजन बताएपछि मात्रै मेरो दिमागमा मकरका बिहान विराटनगर बजारको दृश्य आयो।
 
त्यो बिहान यो नगरलाई माग्नेको सहर भन्दिए हुन्छ। कारण - यहाँका काली, हनुमान, शनि र सत्यनारायण मन्दिर आसपास माग्नेलाई दान दिइन्छ। ६/७ सय जनाको हाराहारी भीडलाई सडकमै बसालेर खिचडी खुवाइन्छ। नगरको यो परम्परा हेर्दा नौलो र रमाइलो पनि छ। त्यो बिहान जता हेरे नि मगन्ते देखिन्छन्। 

त्यसो त विहारका तीर्थालु बराहक्षेत्र जान्छन्। त्यहाँ यसरी माग्न भने होइन, धर्म गर्न। बालाचतुर्दशीको मेला भर्नेमा उनीहरूको संख्या अत्यधिक हुन्छ। त्यसको अघिल्लो रात रानी भंसार नाकादेखि बसपार्कसम्म रातैभरि गाडी चल्छ। विराटनगरबाट बराहक्षेत्र तीर्थालु ओसार्नको भ्याइनभ्याइ चल्छ।
 
यता मकरको बिहानसम्म पाहुनाले सडकमा रात गुजार्छन्। त्यसका अघिपछि फेरि यो भीड देख्न फेरि माघे संक्रान्ति नै आउनु पर्छ। यो कहिलेदेखिको चलन हो ? यकिन भन्ने कोही छैन। तर, चलेको छ। शायद यो यात्रा लाभकारी छ, त्यसैले उनीहरू चिसोमा रात काट्न तयार छन्। थाहै नपाइ फरक खालको एडभेञ्चर जिन्दगीको प्रथासँग जोडिएको छ। यहाँ जिन्दगी यसरी पनि चलेकै छ। 

No comments: