पोखरा उपत्यका हेर्न लागि पाँच दसकअघि नै भ्यु टावर निर्माण गरिएको डाँडा पोखरेली पर्यटकीय क्षेत्रका पथप्रदर्शककै उपेक्षामा परेको छ ।
पोखरा घुम्न आइपुग्ने पर्यटकलाई गुराँस देखाउनु पर्दा पथ प्रदर्शक काँडे र लुम्ले पुर्याउँछन् । धेरैलाई महानगरभित्रै पनि गुराँस फुल्ने ठाउँका बारेमा जानकारी छैन । गुराँस फुल्ने वन भएको काहूँ डाँडा मुख्य बजार क्षेत्रबाट टाढा पनि छैन ।
पोखराका फाँटहरूमा खेती गरेर डाँडामा बसोबास उपयुक्त छ भन्ने स्व. मेजर वीरसिंह गुरूङको भनाइलाई योजनाकारहरूले पच्छ्याएको भए यतिबेला महानगरको स्वरुप नै बेग्लै हुन्थ्यो । अहिले डाँडामा फाट्टफुट्ट बस्ती छन्, महानगरको अन्न उत्पादनका लागि उर्वर मानिएका क्षेत्रमा बस्ती विकास तीव्रतर भइरहेको छ । धान खेती हुने फाँटहरू धेरैमा घर बनेका छन्, कतिपय प्लटिङपछि घडेरीमा परिणत भएर बाँझो बसेका छन् ।
विस २०२६ सालमै भ्यु टावर निर्माण भइसकेको काहूँडाँडालाई अहिले पनि पोखरा मन पराउने घुमन्तेहरू धेरैले राम्ररी चिनिसकेका छैनन् । न त पर्यटक डुलाउनेहरूले यो ठाउँ जान कसैलाई सिफरिस गर्छन् । 'लेकसाइडले पोखराभित्रै पर्यटकीय क्षेत्र कहाँ कहाँ छन् भनेर घुम्ने ठाउँ सिफारिस गर्दा काहुँ डाँडा कहिल्यै प्राथमिकतामा परेन,' पोखरा-११ का वडाध्यक्ष मोहन बास्तोला भन्छन्, 'तर, यो यस्तो डाँडा हो जहाँबाट मौसम खुलेका बेला पोखराका सबै ३३ वटै वडाका कुनै न कुनै भाग देख्न सकिन्छ ।' सडक पूर्वाधार निर्माणको काम भइसकेकाले अब काहूँ डाँडालाई घुमघामको थलो बनाउन स्थानीय लागिपरेको उनले बताए ।
१४ सय ४४ मिटर उचाइमा अवस्थित काहूँ डाँडामा तत्कालिन अञ्चलाधीस नन्दबहादुर मल्ल र मेजर गुरूङको सक्रियतामा भ्यु टावर निर्माण गरिएको थियो । उक्त भ्युटावर पोखराको मुख्य बजार क्षेत्रबाट प्रष्ट देखिन्छ । साबिक काहूँ गाविसमा पर्ने डा“डा पूर्वमा धरान-धनकुटा मार्गको भेडेटार जस्तै छ । टावर, खेल मैदान, पुराना मन्दिर र समुदायिक वन रहेको क्षेत्रमा एकपटक पुगेकाहरू बारम्बार जान मन पराउँछन् । यहाँ रेडियो र टेलिभिजनका टावरहरू छन् । चैत-बैशाखमा गुराँस फुल्छ । बजार क्षेत्रबाट ५ किमीकै दूरीमा रहेपनि रमणीय क्षेत्रलाई पर्यटकीय क्षेत्र विकासको योजना अघि बढाउनेहरूले उक्त डाँडालाई प्राथमिकतामा नपार्दा स्थानीय दुखी छन् । 'यहाँबाट माछापुच्छ्रे, धौलागिरि र अन्नपूर्ण हिमश्रृंखलाहरू प्रष्ट देखिन्छन् तर, फेवाताल प्रष्ट हेर्न अर्को डाँडाले छेल्छ,' स्थानीय दीपकप्रकाश आचार्य भन्छन्, 'अब समय पहिलेको जस्तो रहेन । होमस्टे सुरु भयो । होटल रेस्टुरेन्ट खुल्ने क्रम बढ्यो । आउजाउ सजिलो छ ।' पोखराबाट ४० किमीको दूरीमा रहेको कास्कीको पर्यटकीय गुरूङ गाउँ सिक्लेस जानुपर्दा काहूँखोलाबाट गाडी पाइन्छ । पोखराका अधिकांश सवारीचालकलाई 'काहूँडाँडा जाउँ' भन्दा उनीहरूले डाँडा नपुर्याइ काहूँखोला चोक लगिदिने गरेका छन् । 'त्यसैले हामीले स्थानीयस्तरमै डाँडा चिनाउन मिहिनेत गर्नुपरेको छ,' उनले भने, 'डाँडा चिनाउन हामी त बल गर्र्छौ तर, स्थानीय तह र प्रदेश सरकारले पनि सघाउनुपर्छ भन्ने लाग्छ ।' आफ्नो ठाउँ चिनाउन काहूँडाँडाका बासिन्दाले २०६२ र २०६५ मा काहूँ धरहरा महोत्सव गरेका थिए । दुवै महोत्सव आर्थिक हिसाबले नाफाको रहेन । 'त्योबेला पूर्वाधारको समस्या थियो,' आचार्यले भने, 'बाटो राम्रो थिएन । हिलो धूलो थियो, अप्ठ्यारो थियो ।' अब डाँडामा सडक पूर्वाधारका सबै सुविधा पुगिसकेका छन् । काहूँ क्षेत्रको कृषिमा आधारीत दैनिकी पोखराको बजार क्षेत्रभन्दा छुट्टै रहेको उनले बताए ।
त्यसो त वडास्तरका जनप्रतिनिधिहरूले डाँडामा नयाँ अत्याधुनिक भ्युटावर निर्माण गर्न गुरुयोजना तयार पारिसकेका छन् । 'हामीले त्यसको मोडेल हाम्रो प्रदेशका पर्यटन मन्त्रीलाई सुनाइसकेका छौं,' वडाध्यक्ष बास्तोलाले भने, 'प्रदेश सरकारले प्रदेश राजधानीमा भ्युटावर बनाउनुपर्छ भनिरहेका बेला हाम्रो मोडल उपयुक्त हुनसक्छ भनेर योजना बनाएका हौं ।' डाँडामा सजिलै पुग्न सकिने कालोपत्रे सडक बनिसकेको र गुराँस पनि हेर्न पाइने क्षेत्र भएकाले योजनालाई प्रदेश सरकारले अघि बढाउनेमा आफूहरू आशावादी रहेको उनले बताए ।
पोखरामा फूलवारी र रानीपौवाबाट पुग्न सकिने काहूँडाँडामा यसपटक स्थानीय जनकल्याण क्लव र फूलवारी क्लवको अगुवाइमा मंसिर २८ देखि डेढ साता महोत्सव हुने भएको छ । 'हाम्रो महोत्सव नाफामुखी नभइ यो क्षेत्र चिनाउने प्रयास हो,' महोत्सव संयोजक दामोदर आचार्य भन्छन्, 'हामीले हाम्रा स्थानीय उत्पादन र डाँडाबाट केके देखिन्छन्, त्यसको प्रचार गर्छौं ।' आफ्नो गाउँठाउँ प्रचारका लागि गर्न लागेको महोत्सवले पर्यटकीय क्षेत्र विकासका योजना बनाउनेहरूको ध्यानाकर्षण गर्ने उनले बताए ।
(२१ मंसिर २०७५ मा कान्तिपुरको गण्डकी प्रदेश संस्करण पृष्ठमा प्रकाशित)
No comments:
Post a Comment