Wednesday, January 2, 2019

सगरमाथा आरोहण सहज भएको होइन

  • डेनियल मजुर

हिमशिखर आरोहण मैले १७ वर्षको उमेरदेखि नै थालेको हुँ । लक्ष्य संसारको सर्वोच्च शिखरमा पाइला टेक्नु थियो । सगरमाथाको आरोहण अघि नै मैले त्यस क्षेत्रको विकासका लागि सहयोग जुटाउन सहयोग संकलनको काम गरेको थिएँ । 
सर्वोच्च शिखर आरोहणका लागि सन् १९९१ मा नेपाल आउँदा म ३० वर्षको थिएँ । अहिले ५८ को भएँ । सगरमाथा आरोहणका लागि त्यसबेला हामी अमेरिकी र रसियन टोली एक साथ उक्लिएका थियौं । मेरा साथी थिए रसियाका अनातोली बौक्रिभ । उनलाई सम्झन्छु- उनी अनुभवी आरोही थिए । आरोहण दलमा हामी तीन अमेरिकी र सात सोभियत (त्यसबेलाको रसिया) सदस्य थियौं । ३० वटा याक र २१ भरियासहित चार दिनको पदयात्रापछि आधार शिविर पुगेका थियौं । तीन साताको कठीन आरोहणलाई हाम्रो दलका सेर्पाहरूले सहजीकरण गरेका थिए । त्यो दलमा रहेका जाङबु सेर्पासँग अझै म आरोहण दल पठाउन सहकार्य गरिरहेको छु

सर्वोच्च शिखरमा मैले १२ पटक आरोहण गरिसकेँ । टिम लिडर भएर । उद्धार दलको संयोजक भएर । पहिलोपटक आएको बेला सम्झँदा नेपाल धेरै परिवर्तन भएको पाउँछु । हिमाली र पहाडी क्षेत्रमा शिक्षा र विकासले गति लिएको छ । नेपालीको जीवन शैलीमा धेरै फेरबदल भएको छ । तर, पाहुनालाई आतिथ्य गर्ने मायालु संस्कार उस्तै छ । आरोहणमा जानेका लागि अनुभवी सेर्पाहरू उस्तै सहयोगी छन् । उनीहरूका अनुभवले आरोहण यात्रालाई नेपालमा सधैं सहज बनाएको छ । 
सगरमाथा आरोहण हरेक आरोहीको सपना हुन्छ । हिमाल पग्लिरहेका छन् । जोखिम झन बढेका छन् । धेरै जनाले वर्षेनी आरोहण गरिरहेका छन् । तर, सगरमाथाको आरोहण कहिल्यै सजिलो छैन । बाटो नेभेटेर आरोही जोखिममा पर्छन् । ज्यान पनि गुमाउँछन् । सन् २००६ का मइमा मैले आरोहणका क्रममा अष्ट्रेलियन लिंकन हललाई बचाउन पाएको थिएँ । उनले ज्यान जोगिने आस मारिसकेका थिए । उनको टोली छुटेको थियो । उनको ज्यान जोगाउन सकेको घटना सगरमाथा आरोहणका बारेमा चासो राख्ने संसारभरका सबैका लागि खुसीको थियो । मलाइ त्यसयता शिखर चढ्न जानेहरूका लागि चाहिने उद्धार दलको महत्व अझ बढेको अनुभव हुन्छ । 
आरोहण कहिल्यै सजिलो थिएन र हुँदैन पनि । प्रकृतिसँग जोरी खोज्ने मान्छेको रहरको यो एक प्रकारको दुस्साहस नै हो । यस्तो दुस्साहसलाई सफल बनाउन बाटो देखाएर, बनाएर आरोहण सजिलो पारिदिने सेर्पाले हुन् । सर्वोच्च शिखर चढ्न धेरैवटा रुट छन् । कतिपय रुट धेरै जोखिमका छन् । अनुभवी र समस्याका बेला छिटो निर्णय लिनसक्ने गाइड साथ भएमात्रै आरोहण सफल हुनसक्छ । म वर्षेनी ९/१० वटा आरोहण दललाई नेपाल पठाउँछु । सोलुखुम्बु र ओखलढुंगाका विभिन्न क्षेत्रमा समुदायलाई शिक्षा र विकासमा सघाउने कोष संकलनमा सहयोगीको काम गर्छु । सगरमाथाको पहिलो आरोहणसँगै मेरो नेपाल नाता अटुट छ । 

कुराकानीमा आधारीत
पोखराको रातोपैरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा २०७५ मंसिर तेस्रो साता पाँचौं पर्वतीय महोत्सव/ग्रेट हिमालय फेस्टिवल थियो । औपचारिक समारोहपछि अमेरिकी आरोही डेनियल मजुरसँग छोटो भेटघाट भयो । हामी केही सञ्चारकर्मीले उभिएरै कुराकानी गरेका थियौं । पाहुना खानाका लागि हतारिएका थिए ।हामीलाई पनि त्यहाँबाट अन्तै कतै जानु थियो । माथिको लेखोट तिनै मजुरका कुरा हुन् । महोत्सवमा उनी सर एडमण्ड हिलरी लेगेसी अवार्ड-२०१८ बाट पुरस्कृत भए ।
विदेशीका नाम लेखाइ र उच्चारण बडो गाह्रो कुरा हो । उनीहरूले भनेका नाम, ठाउँ र खास कुनै विषयवस्तुमा हामीले आवश्यकताअनुसार तिनैलाई अंग्रेजीमा कसरी लेख्ने, लेटर भन्नुस् भन्ने सोधेर टिपियो भने पछि सजिलो हुन्छ । तिनका मद्दतले इन्टरनेटमा भेटिने जानकारी पनि लिन सकिन्छ । उनीसँग पनि त्यसै गरियो ।
कुराकानीपछि अफिस फिरेर टिपेका कुराको सत्यता जान्न गुगल गरियो । उनीसँग सम्बन्धित थुप्रैं लिंक रहेछन् । सगरमाथा आरोहणका विषयमा हामी नेपालीमा लेखेका जति कुरा खोजेर पनि पाउन गाह्रो छ, तिनै अंग्रेजीमा बग्रेल्ती भेटिने रहेछ । उनले भनेको लिंकन हलको जीवनी, तिनको उद्धारमा आधारीत वृत्तचित्र पनि युट्युवमा हेर्न मिल्ने रहेछ । उनका बारेमा जानकारी संग्रहीत साइटहरू हेरेपछि लाग्यो- धेरै कुरा गर्न सकिने रहेछ । छोटो कुराकानीमै पनि उनले मुल कुरा बताएकै थिए । संक्षिप्त वार्ता भएकाले माथिको लेखोटमा धेरै कुरा छैनन् । तर, उनले जति भने, त्यति पठनीय नै होला भन्ने लागेर लेखियो । माथिको लेखोट कान्तिपुरको २०७५ मंसिर २७ को अंकमा पनि प्रकाशित भयो । तर, यहाँ सुरुमा अखबारलाई पठाउँदाको मुल कपी नै संग्रह गरिएको छ । 
-भीम 

No comments: