Monday, September 5, 2016

कथा भए 'चुरौटे' का कुरा

गाउँमा नब्बे काटेको मियाँ बूढो खोज्नुभो भने सबैले मलाई देखाउँछन्,’ ताप्लेको बजारचोकमै घाम ताप्दै गरेका मन्सुर अलीले भने, ‘९६ पुगें, म जतिकै उमेरको अर्को मियाँ बूढो भेटेको छैन ।’ 
वृद्धभत्ता आउँदा लिन जान्छन्, योबाहेक नब्बे नाघेपछि उनी परिश्रम पर्ने काम गर्दैनन्। तन्नेरी बेलामा डोकामा चुरा बोकेर पहाडका गाउँगाउँ डुलियो,’ उनले भने, ‘मजस्ता धेरै पुराना चुरौटेका सन्तान अहिले यो पेसै गर्दैनन् ।तन्नेरी उमेरमा चुरा बेच्दै हिँडेका स्मृति अब उनका लागि सम्झँदाको रमाइलो सपनाजस्तो भएको छ ।
  ‘अब समय फेरियो’, उनले सुनाए, ‘अचेलका पुस्ता मिहिनेत धेरै पर्ने काम गर्दैनन्, सजिलो पेसा खोज्छन् ।पुरानो पेसाको साटो नगन्य परिवारले शृंगार सामग्रीको पसल चलाइरहेछन् । धेरै परिवारका नयाँ पुस्ता वैकल्पिक पेसामा गएको उनले बताए । मन्सुरका छोराबुहारी दिवंगत भए। तीन भाइ नाति छन् । नाति पुस्ताका कोही पनि चुरा बेच्ने काम गर्दैनन् ।

ताप्ले४ का अब्दुल रहिम मियाँका छोराबुहारी धादिङको सिम्लेमा शृंगार सामग्रीको पसल चलाउँछन् । बाउपुर्खाले गरेको पेसा सबै जातिका नयाँ पुस्तामा फेरिँदै आएको छ,’ उनले भने, ‘अब त चुरौटेका कुरा हाम्रा नाति पुस्ताका लागि रमाइलो कहानीजस्तो भएको छ।पहाड खन्दै बनाइएका सडकसँगै सवारीसाधन पुग्दै जाँदा नयाँ पुस्ताले पढ्ने, वैदेशिक रोजगारीमा जाने र स्थानीयस्तरमै काम गरे पनि पसल चलाउने वा अन्य रोजगारीका पेसा गर्न थालेको उनले बताए। ७२ वर्षीया जमुनी खातुन भन्छिन्, ‘चुरौटेका कुरा अब कथा भए। नयाँले चुरा बेचे पनि पसल खोल्छन्, डुल्दैनन्।
८२ वर्षीय नूर महमद मियाँका चार छोरी विवाहपछि ज्वाइँका घर गए। एउटा छोरा अल्पायुमै बित्यो। श्रीमतीको पनि निधनपछि उनी १२ वर्षदेखि एक्लै छन्। हाम्रो तन्नेरी बेलाको एउटा पेसा चुरा बेच्ने त हो, तर खास पेसा कृषि हो भन्छु,’ उनले भने, ‘म अझै बारी खनिखोस्री गर्छु। अनि त अहिलेसम्म ज्यान केही भएको छैन। चुरा बेचेका जमानाका कुरा अब भुरालाई सुनाउने कथा भइसके ।
ताप्लेकै ७१ वर्षीय जुम्मदिन मियाँका दुई छोरामध्ये कसैले पनि चुरा बेच्ने काम गरेनन्। डोको बोकेर आफूले त चुरा बेचेकै हो, पहिले बाटोघाटो अप्ठ्यारा थिए, घामपानी खप्दै भारी बोकेर हिँड्ने पेसामा जति आर्जन हुन्थ्यो, त्यति नै मिहिनेत पनि पथ्र्यो,’ उनले भने, ‘अहिलेका पुस्ता त्यस्तो काम गर्न चाहँदैनन् ।जेठो छोरा १४ वर्ष कतारमा काम गरेर घर फिरेको सुनाउदै उनले थपे, ‘उसले अहिले चितवनको हुग्दीखोलातिर पसल चलाएको छ, कान्छो छोरा पनि कतार गएर काम गर्न थालेको सात/आठ वर्ष भयो ।वृद्धावस्थामा आफूहरू एक्लाएक्लै परेको उनले बताए। 
मुस्लिम इत्तेहाद संगठन गोरखाका अध्यक्ष समसुद्दिन मियाँका अनुसार समयसँगै पेसा फेरिँदै आएपछि जिल्लामा अब चुरा र शृंगारका सामान बेच्नेमा गैरमुस्लिम बढी भेटिन थालेका छन्। जसरी नेपाली समाज फेरिएको छ, काम गर्न विदेश जाने लहर चलेको छ,’ उनले भने, ‘पहाडिया मुस्लिम समाज त्यो लहरभन्दा कुनै पनि रूपमा भिन्न छैन ।धर्म मान्ने तरिका फरक भए पनि रहनसहन र जीवनशैली अन्य जातजातिकै जस्तो रहेको उनले बताए । इतिहासअनुसार १७ औं शताब्दीको अन्त्यतिरबाट नेपाल पसेर स्थायी रूपमा बसोबास गरिआएका पहाडिया मुस्लिमको पेसा चुरौटेमात्रै नभएको उनले बताए । धेरैले हाम्रो इतिहास नबुझेर चुरा बेच्नेमात्रै ठान्छन् तर, हाम्रा बाउपुर्खा हतियार, गोलाबारुद बनाउन सिपालु भएका कारण राजारजौटाले बोलाएर ल्याएका थिए,’ उनले भने, ‘पहाडिया मुस्लिमको पुरानो बसाइँ खोज्दै गए बाइसेचौबिसे राजाका पालामा हतियार बनाउन आएर बसेको भेटिन्छ । पछिल्लो पेसा कृषि र व्यापार हो।
शाहवंशीय राजाका पालादेखि गोरखकाली मन्दिरमा मुस्लिमले शृंगारका सामग्री चढाउने चलन रहेको जनाउँदै धेरै पहाडिया मुस्लिम परिवारले चुराको व्यापार गरिआएको इतिहास अझै भेटिने उनले बताए । उनका अनुसार गोरखामा पहाडिया मुस्लिमको जनसंख्या चार हजार हाराहारी छ । आरुचनौटे, असराङ, ताप्ले र फिनाममा घना बस्ती छ । जिल्लामा रहेका १४ मदरसामध्ये चारवटामा छात्रावास सुविधा पनि छ। मुस्लिम समुदायका बालबालिका मदरसामा धार्मिक शिक्षा लिनेसँगै सामुदायिक विद्यालय पनि पढ्छन्।
ताप्लेस्थित महालक्ष्मी माविका प्रधानाध्यापक रहमतुल्ला मियाँका अनुसार नेपाली समाजभित्र पहाडिया मुस्लिम कुनै फरक समुदायजस्तो छैन। जसरी समाज मिलेर बसेको छ, त्यसैगरी हामी सबै एकअर्काका लागि ढुंगाको भर माटो, माटोको भर ढुंगाजस्तो छौं,’ उनले भने, ‘भूकम्प आउँदा हामी सबैले मिलेर एकअर्कालाई सघायौं। स्कुलका लागि अस्थायी टहरो पनि बनायौं।धेरै अघि बाहिरी मुलुकबाट कच्चा पदार्थ ल्याएर भट्टीमा गाल्दै चुरा बनाउने चलनबारे आफूले सुने पनि देख्न नपाएको उनले बताए। 
म ती पुराना प्रविधि खोजी गरी यहाँको संग्रहालयमा राख्न चाहन्छु,’ उनले भने, ‘समयसँगै समाजमा सबै समुदायका पुस्तापुस्ता पेसा फरक पर्दै जानु स्वाभाविक छ। तर, कुनै खास ऐतिहासिक पेसाबारे नयाँ पुस्ताले जानकारी पाउने कुरा हामीले जतन गरिदिनुपर्छ।’ 

(गोरखाको ताप्ले पुगेर फिरेपछि लेखिएको । कान्तिपुर दैनिकमा १९ भदौ २०७३ मा प्रकाशित)

No comments: