Monday, September 5, 2016

माया प्रेमका अघि नलुक्ने रोग

सेतो छडी, घाँटीमा सिठ्ठी, हातमा डटपेनका प्याकेट। यहाँका बजारको चौरस्तामा भेटिने २४ वर्षीय विष्णु नेपालीले भेटेको सजिलो काम डटपेन बिक्री गर्ने हो । उनको अवस्था देखेर कतिले झट्ट किन्छन्, कतिलाई उनले आग्रह गरे पनि भो अहिले चाहिँदैनभन्छन् । 
कास्कीको चापाकोट ३ का विष्णु जब स्नातक तह पढ्न पृथ्वी नारायण क्याम्पस भर्ना भए । उनको भेट बागलुङको तित्याङकी डिलमाया नेपालीसँग भयो । दुवै मायाप्रीतिमा बाँधिए । मागी विवाह गरे । दुवैले एकअर्कालाई लुकाएका कमजोरीले अहिले जीवनको गाडी संकटको घडीबाट गुज्रिरहेको छ । डिलमायाको घाँटीको हाड खिएको छ । लगातारको उपचारले पनि उनलाई सञ्चो भएन । बेलाबेला बेहोस हुने समस्या लिएर अस्पताल पुगेका विष्णुलाई चिकित्सकले डिप्रेसनभनेर औषधि दिए । त्यसको सेवन दैनिक टुटाउन मिल्दैन                                               

दृष्टिविहीन यी दम्पतीलाई अहिले बिहानबेलुकाको छाक टार्न समस्या छ । कुन स्रोतबाट उपचार खर्च जुटाउने भन्ने पिरोलो त्यसैमा थपिएको छ । पोखराको अर्चलबोटमा डेरा गरी बस्छन् । गिर्खा देखिएपछि डिलमायाको ६ वर्षअघि स्तनको शल्यक्रिया भएको थियो । त्यसयता बेलाबेला छिटोछिटो मुटु ढुकढुक गर्छ । घाँटीको समस्याले टाउको राम्ररी उठाउन सक्दिनन्। तीन महिनादेखि उनको महिनावारी बन्द भएको छ । सुरुमा गर्भ रहेको कारण त्यसो भएको अडकल काटे । पिसाब जाँचले होइनभन्ने रिपोर्ट दिएको छ । दुवै आत्तिएका छन्। मेरो त जसोतसो चल्दैछ डिलमायाको उपचार गराउन हाम्रो हैसियतले भ्याएन,’ विष्णु भन्छन्, ‘हामीले बिहेअघि दुवैका कमजोरी एकअर्कालाई भनेका थिएनौं । तर, अबचाहिँ एकअर्काको रोगसँग परिचित भएपछि निद्रा पर्न छाडेको छ चिकित्सकले राजधानीको राम्रो उपचार केन्द्रमा डिलमायाको घाँटीको हाडको उपचार गराउन लैजान सुझाव दिएका छन् । अल्पकालीन औषधि चलिरहेको छ । विपन्न परिवारका यी दुवैले खान्कीभन्दा औषधिमा धेरै खर्चनु परिरहेको छ । 
विष्णु जन्मजात दृष्टिविहीन होइनन् तीन वर्षको छँदा टाइफाइडले सिकिस्त भएका थिए। त्यसै बेलादेखि दुवै आँखाको ज्योति घट्दै गयो। पूरै देख्न छाडेपछि उनले उपचार गराएर पुन: हेर्न पाउने आश गरेका थिए । तर, ज्योति फर्किएन। यतिबेला डिलमाया विष्णुसँगै डटपेन बेची हिँड्न नसक्ने भएकी छन् । म डिलमायाको उपचार गराउन चाहन्छु,’ बुधबार विष्णुले भने, ‘तर, डटपेन बेचाइले काठमाडौं जान र उनको उपचार सम्भव छैन ।

(१९ भदौ २०७३ मा कान्तिपुर दैनिकमा प्रकाशित)

No comments: