Thursday, January 28, 2010

प्रचण्डको पुत्लामा 'सु'

देखाउन नहुने अंग विरोधका नाउँमा कसैले प्रदर्शन गर्छ भने यसलाइ कुन स्तरको विरोध भन्ने । विराटनगरसँग सीमा जोडिएको भारतीय नाका जोगबनीमा गत मंगलवार माघ १२ मा यस्तो भयो । ब्लगमा लेख्न मन हुदा हुदै मैले समय जुटाउन सकिन । ढिलो भएपनि लेख्दैछु ।
प्रधान सेनापति कटवाल प्रकरणपछि सरकार छाडेको माओवादीको आन्दोलन अझै जारी छ । उ अहिले चौथो चरणको आन्दोलनमा छ । कोइराला नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको गठनपछि माओवादीको अहिलेको मुद्दा सीमा अतिक्रमणका विषयमा भारतसँग छलफल गर्नुपर्छ भन्नेमा केन्द्रित छ ।
छिमेकीहरु साँध मिचेर नाला राख्दैनन् । सधियारको जग्गा मिच्छन् । यो चलन नौलो छैन । भारतले लगातार सीमामा मिचेका समाचार नौला छैनन् । ठुलाले विभिन्न बहानामा आफुभन्दा साना आकार भएकालाइ प्रभाव र शक्तिको आडमा हेप्छ । भारतले गरेको पनि यही हो । यद्यपि नेपालका सीमानामा उ मात्र छैन उत्तरतर्फचीन पनि छ ।
भाषा-संस्कृति र आवागमनले हामी बढि भारतको नजिक छौ । भारतले नेपालमा विभिन्न परियोजनामा लगानी सहयोग गरेको छ । उसको आकार जस्तै आम्दानी छ । आकारमा नेपाल उसको विहार प्रान्त जत्रो पनि छैन । तर , छिमेक भएकाले उसले सम्मान गर्नुपर्छ भन्ने हाम्रो तर्क हो । सन् १९५० को सन्धी पुनरावलोकनको मुद्दा उठयो । थाँति रहयो । उही सन्धी खारेज हुनुपर्ने आवाज माओवादीले उठाएको छ ।
उसको आवाज नाजायज छैन । तर, राष्ट्रियताका सवालमा नेपालीका आवाज समान छैनन् । हामी मुद्दाहरुमा बाडिएका छौ । कलह छ । मुलुक परिवर्तनका लागि नयाँ संविधानको पर्खाइमा छ । अहिले माओवादीले सीमा अतिक्रमण देखाउन एउटा पोष्टर निकालेको छ । त्यसमा नेपाली नक्शाभित्र अतिक्रमणको विरोध भएको चित्र छ । सीमानालाई कालो बुटले कुल्चिएको छ । बुट भारतको हो भन्ने जनाउन सो पोष्टरमा बुटमाथि भारतीय झण्डा तिरंगाको निशान छ ।
त्यही पोष्टरलाइ आधार बनाइ भारतीइ हिन्दी अखवार आज र जागरणका स्थानीय संकरणहरुले भित्री पनामा चार कोलमको समाचार निकाले । समाचारमा माओवादीले भारतीय प्रतिकको अपमान गरेको छ भनिएको छ । त्यो समाचार पढेकाहरुलाइ राष्ट्रिय भावना उम्लियो । उनीहरु विरोधमा निस्किए ।
गत मंगलवार विहान ती पत्रिका बजारमा आएपछि जोगबनी नाकामा उनीहरुले दिनभर अवरोध गरे । प्रचण्डको पुतला बनाए । जुत्ता र झाडुले हिर्काए । अनि जलाए । पुत्ला जल्दै गर्दा केहीले त्यसमा 'सु' गरे । मुखमा आएजति र जानेजति, सकेजति फोहार गाली गरे । जीप रोकेर त्यसमाथि उभिएका प्रदर्शनकारीले माओवादी द्वन्द्वका समयमा नेपालीले पाएको दुख सम्झेर प्रचण्डलाइ सजाय दिन जोड दिए । अनि मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पठाए ।
बुधवार विरोध भएन । ती अखवारले अघिल्लो दिनको त्यो विरोधलाइ समाचारमा स्थान दिएनन् । समाजमा सदभाव विथोल्न ठूलो बहाना चाहिदैन । शायद यही बढावा दिन हुदैन भन्ने आशयले विरोधका ती समाचारले स्थान नपाएका होलान ।
नेपाली अखबार केहीले मुख र केहीले भित्र त्यो समाचार छापे ।
यो विरोधका सवालमा माओवादीको भनाइ सुन्न पाइएको छैन । उच्चस्तरका असहमतिको असर सीमामा देख्न पाइन्छ । नेताहरुले सदभावना विथोल्ने कामलाइ बढावा दिनु हुदैन । दुइ देशको सम्बन्ध उच्चस्तरमा जे होला ,
तर जनताबीचको
आवागमन र सम्भन्धमा त्यसले प्रत्यक्ष असर पार्छ । यसमा सबै सचेत भएकै बेस हुन्छ । सन्धी सम्झौता र अतिक्रमणका मुद्दा माओवादीको पेवा हुन सक्दैन । जायज कुरामा सबै दलको आवाज एउटै हुनुपर्छ । राष्ट्रिय मुद्दामा आवाज एक भएन भने त्यो हाम्रालागि हितकर हुनसक्दैन ।

1 comment:

Vishnu Pyakurel said...

तपाइको लेख सोचनिय छ । सम्बन्धित निकायहरूले बेलैमा यस तर्फ नसोचिदिने हो भने, स्थिती दिनानुदिन भयावह र विकराल बन्दै जाने छ ।
विष्णु प्याकुरेल, अरब