अहिले दैनिकी केही फेरिएको छ। फेरिनु रहर रहेन। आफैं हुन थाल्यो। ३१ डिसेम्बर बेलुकी विराटनगरको उद्घोष दैनिकको कार्यालयमा अंग्रेजी नयाँ वर्षको स्वागतका लागि 'खान्तेपिन्ते'को कार्यक्रम थियो।
सुरु हुनु केही घण्टाअघि एउटा हिन्दी दैनिकको सप्लिमेन्ट्रीमा छापिएका कुरा मलाई उद्घोषका सम्पादक मोहन भण्डारीले देखाउनुभयो। त्यसमा 'नयाँ वर्षमा मान्छेले के-के गर्छु भन्छ, अनि गर्दैन' भन्ने लेखिएको रहेछ।
बिहान छिटै उठछु, व्यायाम गर्छु, मन्दिर जान्छु। धुम्रपान-मद्यपान गर्दिन। खराब कुरा बोल्दिन। राम्रा संगतमा बस्छु। लगायत एउटा सादा जीवन उच्च विचार भन्ने भनाइलाई सार्थक राख्न मानिसले सुधार गर्नुपर्ने आचरणका कुरामा संकल्प लिन्छ। अनि गर्दैन भनेर लेखिएको थियो। खबर रमाइलो र मननीय थियो।
मलाई लाग्यो, हो म पनि त्यस्ता संकल्प गरेर अडिग रहन नसक्नेमध्येको रहेछु। त्यो दिन मैले एक महिनापछि 'पिउने' जमघटमा भाग लिएको थिएँ। मान्छेले वाचा गर्नु हुँदैन। संकल्प मात्र गर्नुपर्छ। अनि हल्ला होइन। मनन गर्नुपर्छ भन्ने मलाई लाग्छ। तर, लागेका सबै कुरामा आफूले नियन्त्रण राखिरहन सजिलो छैन। मैले सकेको छैन। बिहानमा चार घण्टा घरमा बितोस्। मलाई दिनमा तीन/चार घण्टा कतै गएर कुनै नयाँ विषयमा फिचर हुने कुराका टिपोट र तस्बिर गर्न मन लाग्छ। तिनलाइ लिएर फिरेपछि अफिसमा दुई घण्टा कम्प्युटरमा बसेर त्यसलाई छाप्नयोग्य बनाएर पठाउन मन लाग्छ। अनि साँझ मैले जान मन पराउने बेकरीमा एक कप कफी पिउन मन लाग्छ। अनि घर गएर टेलिभिजनमा फिल्म हेर्न मन लाग्छ।
मन लाग्नु र त्यसलाई दैनिकी बनाएर चल्नु फरक हुन्छ। अहिले मेरो दैनिकी बिहान १० बजे घरबाट निस्किएपछि राती ११ बजे फिर्छु। यसबीचमा समाचारजन्य सामाग्रीको खोजीमा लागेपछि अफिस पुग्छु। साँझ ७ बजे निस्कन्छु। अनि घर जान अघिको समय उद्घोषमा पेजको डिजाइन बनाउदै बित्छ। अबेर पुग्दा पनि निन्द्रा छिटो आउँदैन। अनि आँखालाई काम दिन मोबाइलमा गेम खेल्नु नियमित बनेको छ।
बिहान साढे ६ बजे उठछु। टेबुलमा पत्रिका हुन्छ। कफी हालेर एक गिलास चिया पकाएपछि पत्रिका पढछु। अनि लोकल एफएम अन गरेर नित्यकर्ममा लाग्छु । घरमा रहँदा मलाई खाना आफैं रुचिअनुसारको बनाउन मन पर्छ। र, बनाउँछु पनि। विराटनगर आएका केही महिना मैले काठमाडौंमा रहेका छोरा-श्रीमतीलाई नियमित फोन गर्थेँ। अहिले उनीहरुले गरे भने मात्र गर्छु। लाग्छ, कुरा मात्र हुन्न। काम गरे पो उनीहरुका लागि पनि हुन्छ।
म काम गर्छु भनेर काठमाडौं गएको थिएँ। वर्षदिन नबित्दै फेरि विराटनगर सरुवा भएर आएँ। परिवार उतै डेरामा छन्। म यता घरमा आमाबुबासँग छु। फर्केर आएपछि एउटा कुरा मलाई थाहा छ - 'समाचारका लागि केन्द्रले के खोज्छ, सोच्छ र छाप्छ।'
दिउँसो मेल चेक गर्न बस्दा अधिकांश समय मेरो जीमेलको च्याटमा म इनभिजिबल भएर बसेको हुन्छु। पाँच वर्षअघि जस्तो च्याटमा बस्ने अभिलाषा अहिले हराएको छ। साथीहरुको ब्लग हेर्छु। सिनेमा हेर्न हल नपुगे पनि तिनको समीक्षा पढ्न मन लाग्छ। फेसबुकमा साथीहरुको स्ट्याटस हेरेपछि पुग्छ।
मलाई भविष्यको त्यस्तो चिन्ता लाग्दैन, बरु प्रत्येक बिहान आजको दिन कसरी ठीकसँग बित्छ भन्ने मात्र लाग्छ। आज राम्रो बित्यो भने भोलि अवश्य नै सजिलो हुन्छ। अफिसमा साथीहरुले कामका विषयमा नयाँ केही एंगल ल्याउन, मैले फुराएका विषयमा पनि आफूलाई लागेका कुरा भनुन। अनि विषयहरु गहकिला कसरी बनाउने
भन्नेमा मन लाग्छ। यद्यपि लागेजस्तो अलि भए झैँ लाग्दैन।
अहिले केही सातादेखि डिग्री कलेजका गुरुहरु डा. भरतराज सुब्बा, केपी लिम्बू र फोटोपत्रकार साथी यात्रा थुलुङसँग बाहिर कतै जाने योजना छैन। यसकारण म विराटनगरबाट बाहिर निस्केको छैन। उनीहरुसँग गत मंसिरमा कोसीटप्पुको सेरोफेरो घुमेपछि अब हामी माघमा बर्दिया जाने भनेको हो। तर, मिति तय भएको छैन। त्यो समूहमा हिँड्दा नयाँ केही तस्बिरको खोजी गर्न मिल्छ। क्यामरा, ट्राइपोर्ट, ल्यापटप र चरा साथी हुन्छन्। अरु ध्यान रहन्न।

१९ पुस अर्थात हिजो बिहान। युवा अभियानसँग सम्बद्ध भाइ विशाल राईको फोनलाइ मैले टार्न सकिन। उनीहरुले 'गरिखान' पाउनुपर्ने अभियानका लागि चलाएको हस्ताक्षर अभियानका तस्बिर खिच्न आउनै पर्यो। आएँ। अनि फेरि त्यो चिसोमा ७ किलोमिटर परको घर गएर खाना खान जान मन लागेन। मोहन दाइको फोन आयो। मोरङ-सुनसरीको सीमा नदि केशलियाको पुल भास्सियो भन्ने सुनेको बताउनुभयो। 'खाना खुवाउने भए म आएँ, जाउँ,' मैले भने। अनि उहाँलाइ लिएर केशलियाको पुलमा पुग्दा त्यस्तो केही थिएन। फेरि फोन गरेपछि थाहा भयो। चिमडीमा चन्दा-मोहनाको पुल पो रहेछ।
त्यहाँबाट फेरि पश्चिम लागियो। चन्दा मोहना सिंचाइको पुल जोड्ने बाटो भास्सिएको रहेछ। फोटो गरियो। फिरियो। अफिस फिरेर तस्बिर मेल गरियो। बाटोमा खिचेको आगो ताप्दै बालकहरुको तस्बिर ब्लगमा पनि राखियो। चिसोमा करिब ४० किलोमिटर यात्रा गरेर ल्याएका समाचारजन्य तस्बिरले मेरो अखबारमा स्थान पाएनछन्। आज बिहान हेरेँ। बाटोमा सजिलै खिचेको भुराहरुले आगो तापेको तस्बिर पूर्वाञ्चल संस्करण पृष्ठमा आएछ। यो नियमितता हो। पठाएका सबै तत्काल छापिनपर्छ भन्ने पनि होइन।
दैनिकीमा असर गर्ने कुराहरुमा अहिले मलाई मद्यपान गर्न मन लाग्दैन। निरुद्देश्य हिडन मन लाग्दैन। बाइक कुदाइरहन मन हुँदैन। खाने-पिउने बेलामा मैले भारतीय ट्रकका पछाडि धेरैमा लेखेको देखिने शब्द 'सोचो क्या जायेगा' पनि भन्न मन लाग्दैन।
No comments:
Post a Comment