Monday, January 4, 2010

फेरिएका दैनिकी र फोस्रा संकल्प


अहिले दैनिकी केही फेरिएको छ । फेरिनु रहर रहेन । आफै हुन थाल्यो । ३१ डिसेम्बर बेलुकी विराटनगरको उदघोष दैनिकको कार्यालयमा अंग्रेजी नया वर्षको स्वागतका लागि 'खान्तेपिन्ते' को कार्यक्रम थियो । सुरु हुनु केही घण्टाअघि एउटा हिन्दी दैनिकको सप्लिमेन्ट्रीमा छापिएका कुरा मलाइ उदघोषका सम्पादक मोहन भण्डारीले देखाउनुभयो । त्यसमा नयाँ वर्षमा मान्छेले के के गर्छु भन्छ , अनि गर्दैन भन्ने लेखिएको रहेछ । विहान छिटै उठछु, व्यायाम गर्छु , मन्दिर जान्छु । धुम्रपान-मध्पान गरि्दन । खराब कुरा बोल्दिन । राम्रा संगतमा बस्छु । लगायत एउटा सादा जीवन उच्च विचार भन्ने भनाइलाइ सार्थक राख्न मानिसले सुधार गर्नुपर्ने आचरणका कुरामा संकल्प लिन्छ । अनि गर्दैन भनेर लेखिएको थियो । खबर रमाइलो र मननीय थियो ।
मलाइ लाग्यो , हो म पनि त्यस्ता संकल्प गरेर अडिग रहन नसक्नेमध्येको रहेछु । त्यो दिन मैले एक महिनापछि 'पिउने' जमघटमा भाग लिएको थिएँ । मान्छेले वाचा गर्नु हुदैन । संकल्प मात्र गर्नुपर्छ । अनि हल्ला होइन । मनन गर्नुपर्छ भन्ने मलाइ लाग्छ । तर, लागेका सबै कुरामा आफुले नियन्त्रण राखिरहन सजिलो छैन । मैले सकेको छैन । विहानमा चार घण्टा घरमा बितोस । मलाइ दिनमा तीन/चार घण्टा कतै गएर कुनै नयाँ विषयमा फिचर हुने कुराका टिपोट र तस्बिर गर्न मन लाग्छ । तिनलाइ लिएर फिरेपछि अफिसमा दुइ घण्टा कम्प्युटरमा बसेर त्यसलाई छाप्न योग्य बनाएर पठाउन मन लाग्छ । अनि साझ मैले जान मन पराउने बेकरीमा एक कप कफी पिउन मन लाग्छ । अनि घर गएर टेलिभिजनमा फिल्म हेर्न मन लाग्छ ।
मन लाग्नु र त्यसलाइ दैनिकी बनाएर चल्नु फरक हुन्छ । अहिले मेरो दैनिकी विहान १० बजे घरबाट निस्किएपछि राती ११ बजे फिर्छु । यसबीचमा समाचारजन्य सामाग्रीको खोजीमा लागेपछि अफिस पुग्छु । साँझ ७ बजे निस्कन्छु । अनि घर जान अघिको समय उदघोषमा पेजको डिजाइन बनाउदै बित्छ । अबेर पुग्दा पनि निन्द्रा छिटो आउदैन । अनि आँखालाइ काम दिन मोवाइलमा गेम खेल्नु नियमित बनेको छ । विहान साँढे छ बजे उठछु । टेबुलमा पत्रिका हुन्छ । कफी हालेर एक गिलास चिया पकाएपछि पत्रिका पढछु । अनि लोकल एफएम अन गरेर नित्य करम्मा लाग्छु । घरमा रहँदा मलाइ आफुले पकाएको खाना रुचीअनुसारको बनाउन मन पर्छ । र, बनाउँछु पनि । विराटनगर आएका केही महिना मैले काठमाडौंमा रहेका छोरा-श्रीमतिलाइ नियमित फोन गर्थे । अहिले उनीहरुले गरे भने मात्र गर्छु । लाग्छ, कुरा मात्र हुन्न । काम गरे पो उनीहरुका लागि पनि हुन्छ ।
दिउसो मेल चेक गर्न बस्दा अधिकांश समय मेरो जीमेलको च्याटमा म इनभिजिबल भएर बसेको हुन्छु । पाँच वर्षअघि जस्तो च्याटमा बस्ने अभिलाषा अहिले हराएको छ । साथीहरुको ब्लग हेर्छु । सिनेमा हेर्न हल नपुगेपनि तिनको समीक्षा पढन मन लाग्छ । फेसबुकमा साथीहरुको स्ट्याटस हेरेपछि पुग्छ ।
मलाइ भविष्यको त्यस्तो चिन्तालाग्दैन । बरु प्रत्येक बिहान आजको दिन कसरी ठीकसग बित्छ भन्ने मात्र लाग्छ । आज राम्रो बित्यो भने भोली अवश्य नै सजिलो हुन्छ । अफिसमा साथीहरुले कामका विषयमा नया केही एङगल ल्याउन, मैले फुराएका विषयमा पनि आफुलाइ लागेका कुरा भनुन । अनि विषयहरु गहकिला कसरी बनाउने
भन्नेमा मन लाग्छ । यद्यपि लागेजस्तो अलि भए झै लाग्दैन ।
अहिले केही सातादेखि स्नातोत्तरका सर डा. भरतराज सुब्बा, केपी लिम्बू र फोटोपत्रकार साथी यात्रा थुलुङसँग बाहिर कतै जाने योजना छैन । यसकारण म विराटनगरबाट बाहिर निस्केको छैन । उनीहरुसँग गत मंसिरमा कोसीटप्पुको सेरोफेरो घुमेपछि अब हामी माघमा बर्दिया जाने भनेको हो । तर, मिति तय भएको छैन । त्यो समूहमा हिडदा नयाँ केही तस्बिरको खोजी गर्न मिल्छ । क्यामरा, ट्राइपोर्ट,ल्यापटप र चरा साथी हुन्छन् । अरु ध्यान रहन्न ।
१९ पुस अर्थात हिजो विहान । युवा अभियानसग सम्बद्ध भाइ विशाल राइको फोनलाइ मैले टार्न सकिन । उनीहरुले गरिखान पाउनुपर्ने अभियानका लागि चलाएको हस्ताक्षर अभियानका तस्बिर खिच्न आउनै पर्‍यो । आए । अनि फेरि त्यो चिसोमा ७ किलोमिटर परको घर गएर खाना खान जान मन लागेन । मोहन दाइको फोन आयो । मोरङ-सुनसरीको सीमा नदि केशलियाको पुल भास्सियो भन्ने सुनेको बताउनुभयो । 'खाना खुवाउने भए म आए, जाउ, मैले भने । अनि उहाँलाइ लिएर केशलियाको पुलमा पुग्दा त्यस्तो केही थिएन । फेरि फोन गरेपछि थाहा भयो । चिमडीमा चन्दा-मोहनाको पुल पो रहेछ । त्यहाबाट फेरि पश्चिम लागियो । चन्दा मोहना सिंचाइको पुल जोड्ने बाटो भास्सिएको रहेछ । फोटो गरियो । फिरियो । अफिस फिरेर तस्बिर मेल गरियो । बाटोमा खिचेको आगो ताप्दै बालकहरुको तस्बिर ब्लगमा पनि राखियो । चिसोमा करीव ४० किलोमिटर यात्रा गरेर ल्याएका समाचारजन्य तस्बिरले मेरो अखबारमा स्थान पाएनछन । आज विहान हेरे । बाटोमा सजिलै खिचेको भुराहरुले आगो तापेको तस्बिर पूर्वाञ्चल संस्करण पृष्ठमा आएछ । यो नियमितता हो । पठाएका सबै तत्काल छापिनपर्छ भन्ने पनि होइन ।
दैनिकीमा असर गर्ने कुराहरुमा अहिले मलाइ मद्यपान गर्न मन लाग्दैन । निरुदेश्य हिडन मन लाग्दैन । बाइक कुदाइरहन मन हुदैन । खाने-पिउने बेलामा मैले भारतीय ट्रकका पछाडि धेरैमा लेखेको देखिने शब्द 'सोचो क्या जायेगा' पनि भन्न मन लाग्दैन ।


No comments: