Monday, February 1, 2010

'सु' गरेपछिको विवादले तनाव

अचम्म लागेन ? लाग्छ। लाग्नै पर्छ। जाबो 'सु' गर्दा केको विवाद भन्नुहोला ? तर, विवाद भयो। आज यो विवादको दोस्रो दिन हो विराटनगरमा। दुई जना पक्राउ पनि परेका छन्। पक्राउ पर्नेले चाहिँ 'सु 'गरेका होइनन्। उनीहरुको 'सु' निकाल्न दबाब परेपछि प्रहरीले समातेको हो।

यहाँको सरोचियामा मधेसी जनअधिकार फोरम मधेसको पार्टी कार्यालय छ। पार्टीका नामका पछाडि 'मधेस' भएको भनेको फोरमको पहिलो चीरा हो। यसलाइ भाग्यनाथ गुप्ताले नेतृत्व गर्छन्। त्यहाँ गत शनिबार बेलुकी करिब ८ बजे तोडफोड भएछ। तोडफोड मात्र भएन बदमासहरुले आगजनी पनि गरेछन्। 

कारण पहिल्याउँदा जे सुनियो, त्यो अचम्मको विषय छ। कसैले सर्वसाधारणका घरअघि 'सु' गरेछ। रिसाएकाहरु खोज्दै गए। पार्टी कार्यालय पुगे।

आक्रोसको सिकार त्यो कार्यालय भएछ। आइतबार यहाँको स्थानीय अखबार 'उदघोष दैनिक'को समाचारको शीर्षक थियो - मुत्रत्यागको विवादमा तोडफोड।' 

ती फटाहाको खोजी सुरु भयो। सबै पार्टीले जानेको कुरा प्रदर्शन र बन्द हो। पहिलो प्रयास त्यही भयो। कार्यकर्ता सडकमा आए। केहीबेर सवारी आवागमन र बजार प्रभावित भयो। अनि घटनाबारे सो अखबर पढेकाहरुलाई जवाफ दिँदादिँदै दिक्क भएका नेताहरुले भाषणमा मजाले पहिले त्यस्तो शीर्षक राखेकामा पत्रिकालाइ सरापे। अनि तोडफोडमा संलग्नलाई छिटो समातेर कारवाही नचलाए ठूलो आन्दोलनको चेतावनी दिए।

चेतावनी आएपछिमात्र सक्रिय हुने हाम्रो प्रहरीको बानी। सक्रिय भयो। उसले समातेका युवा एमालेको युथफोर्सका कार्यकर्ता परेछन्। साह्रै सोझा। कहिलेकाही ठेक्काको टेण्डरका बेला बाटोमा भेटिने। आफ्नो गरिखाने। विद्यार्थीका आन्दोलनमा बलिया शक्ति मानिएका।

आज युथ फोर्स अर्थात युवा संघको पालो। उसले बजार बन्द गराएन। तर, प्रहरी अघि यस्तो नारा लगायो - 'झुठो मुद्दा फिर्ता गर। नयाँ संविधान छिटो बना।' प्रहरीका अनुसार पार्टी कार्यालयमा तोडफोड गर्नेको नामसहित किटानी जाहेरी परेकाले समातेको हो। जे होला होला। हेर्दै जाउँ। अब 'सु' गर्दा कहाँ गरिँदैछ सबैले ध्यान दिनै पर्छ। अन्यथा यस्तै नहोला भन्न सकिन्न।

No comments: