दुहवी भन्ने ठाउँ विराटनगरबाट १० किलोमिटर उत्तरमा छ। बजार आइपुग्नअघि सुनसरी र मोरङ जिल्लाको साँध छुटाउने बुढी खोलामाथि एउटा पुल छ। छापाहरुमा समाचार पढन पाइयो - गिद्धको बथान आयो। संख्या दिनहुँ थपिएको छ।
बुढीखोला पुलबाट एकाध किलोमिटर करिब पश्चिम एउटा मासु प्रशोधन कारखाना चल्न थालेको छ। विदेश निर्यात गर्न यसले मासु प्रशोधन गर्छ। राँगो र भैसीको मासु। यहाँ पाहुना लाग्न गिद्धका बथान आइपुगेछन्।
चराको विषय मेरा लागि रुचिकरको श्रेणीमा पहिलोमा पर्छ। गिद्धको विस्तृत चर्चा म पछि छुट्टै गर्छु। समाचार पढेपछि मैले आफूलाई रोक्न सकिनँ। पुगेँ। कारखाना सञ्चालकमध्येका एक जनाले गिद्धलाई आहारा राखिदिने रहेछन्। कारखानाले मासु प्रशोधन गरेर फालिने हाडखोरमा पनि केही केही भाग मासु मिल्किने रहेछ। त्यो मिल्किने भागको मासु गिद्धलाई दिन काम लागेको रहेछ।
गिद्धका तस्बिर खिचियो। यही बहानामा कारखाना पनि हेरियो। हामी पुग्दा त्यो चलेको भने थिएन। स्लटर हाउस, प्रोसेसिङ र डीप फ्रजिङ युनिटहरु हेरियो। त्यो कारखाना पुग्न चौधरी ग्रुपको पशुपति बिस्कुट कारखानाबाट अलिकति दक्षिण बुढी खोलाको डिल भएर जानुपर्ने रहेछ।
जाँदा ध्यान भएन। फिर्दा धुलो उडाएर चार/पाँच जना महिला केही खोजिरहेका थिए। बाइक रोकेँ। राम्ररी हेर्दा थाहा भयो - खोला किनारमा कुनै धान मिलले ढुटो फालेको रहेछ। त्यो ढुटो निफनेर महिलाहरु धान र चामल खोज्दै थिए। मैले क्यामरा झिकेँ। महिलाहरु कराए - 'फोटो नखिच।' मैले सम्झाएँ- 'खिचेर केही हुँदैन।' अनि केही बेरमा उनीहरुले माने। अनि केही तस्बिर खिचेँ।
राइस मिलले तह लगाउने ठाउँ नपाएर ठुटो मिल्काएको लख काटियो। साथमा लाग्यो, यो ढुटो नयाँ धानको पक्कै थिएन। नयाँ भएको भए कारखानाले फाल्दैनथ्यो। पुरानो, बेच्न नसकेको फालेको हुनुपर्छ।
ढुटोको पहाड खोस्रँदै यसरी खानेकुरा खोज्नेहरु मुसहर महिला रहेछन्। उनीले भने, 'हामी धेरै गरिब छौँ, ढुटोमा चामल भेटिन्छ। अपराध त होइन नि यसरी खोज्नु ?' प्रश्नले केही असजिलो बनायो। मैले भोकविरुद्धका अभियानको भाषण सम्झेँ। उत्तरमा अरुको केही नबिगारी आफ्नो काम गर्नुलाई अपराध नमानिने प्रष्टीकरण मैले दिएँ। सवालजवाफ लम्बिएन।
तस्बिर खिचेँ। अनि केहीबेर उभिएर उनीहरुलाई हेरिरहेँ। बैंस सिद्धिएका ती महिलाहरु ढुटोमा जीवन खोजिरहेका थिए। फर्केर आएपछि ती विवरण राखेर अखबारमा पठाएँ। फोटाले अखबारमा स्थान पाएन। केही छैन। मैले नै त्यो तस्बिरको मर्म बुझाउन नसकेको हुनुपर्छ। तर, म आज ब्लगमा तस्बिर, मलाई लागेका भावनासँगै शेयर गर्दैछु।

No comments:
Post a Comment