दुहवी भन्ने ठाउँ विराटनगरबाट १० किलोमिटर उत्तरमा छ । बजार आइपुग्नअघि सुनसरी र मोरङ जिल्लाको साँध छुटाउने बुढी खोला माथि एउटा पुल छ । छापाहरुमा समाचार पढन पाइयो । गिद्धको बथान आयो । संख्या दिनहुँ थपिएको छ । यो पुलबाट करीव दुइ किलोमिटर पश्चिम एउटा कारखाना चल्न थालेको छ । यसले मासू प्रशोधन गर्छ । राँगो र भैसीको मासू । यहाँ पाहुना लाग्न
गिद्ध आइपुगेछन् ।
चराको विषय मेरा लागि रुचीकरको श्रेणीमा पहिलोमा पर्छ । गिद्धको विस्तृत चर्चा म पछि छुट्टै गर्छु । समाचार पढेपछि मैले आफुलाइ रोक्न सकिन । पुगें । गिद्धका तस्बिर खिचियो । त्यो कारखाना पुग्न पशुपति विस्कुटको
कारखानाबाट अलिकति दक्षिण बुढी खोलाको डिल भएर जानुपर्ने रहेछ ।
जाँदा ध्यान भएन । फिर्दा धुलो उडाएर चार/पाँच जना महिला केही खोजीरहेका थिए । बाइक रोकेँ । राम्ररी हेदा थाहा भयो । खोला किनारमा कुनै धान मिलले ढुटो फालेको रहेछ । त्यो ढुटो निफनेर महिलाहरु धान र चामल खोज्दै रहेछन । मैले क्यामरा झिके । महिलाहरु कराए । फोटो नखिच भने । मैले सम्झाए । खिचेर केही हुँदैन । अनि केही बेरमा उनीहरुले माने । अनि केही तस्बिर खिचे ।
ढुटोको पहाड खोस्रदै यसरी खानेकुरा खोज्नेहरु मुसहर महिला रहेछन । उनीले भने 'हामी धेरै गरिब छौ, ढुटोमा चामल भेटिन्छ । अपराध त होइन नि यसरी खोज्नु ?' प्रश्नले केही असजिलो बनायो । मैले भोकविरुद्धका अभियानको भाषण सम्झे । अरुको केही नबिगारी आफ्नो काम गर्नुलाइ अपराध नमानिने मैले बताए । तस्बिर खिचेँ । अनि केही बेर उभिएर उनीहरुलाइ हेरिरहे । बैंस सिध्दिएका ती महिलाहरु ढुटोमा जीवन खोजिरहेका रहेछन् ।
तस्बिरले अखबारमा स्थान पाएन । केही छैन । मैले नै त्यो तस्बिरको मर्म बुझाउन नसकेको हुनुपर्छ । तर, म आज ब्लगमा तस्बिर, मलाइ लागेका भावनासँगै शेयर गर्दैछु ।
No comments:
Post a Comment