Sunday, February 7, 2010

ढुंगा हानाहान-फूल साटासाट


भारतीय नेताहरुले भन्ने गरेझै नेपाल-भारतसम्बन्ध दुइ राष्ट्रको छिमेकमात्र होइन 'रोटी-बेटी' को छ । एकीकृत नेकपा माओवादीले सीमा अतिक्रमणको मुद्दामा भारतले गरेको बलमिच्याइ बुझाउन पोस्टर निकाल्यो । त्यो पोस्टरलाई विहारका सञ्चारकर्मीले समाचार बनाए । समाचार छापिएको दिन के भयो भन्ने चर्चा मैले निकै अघिको पोष्टमा गरिसकेको छु । त्यहा नखुलाएका कुरा अहिले लेख्न उपयुक्त होला ।
सीमावर्ती बजारमा हाम्रो बजारभन्दा केही सस्तोमा सबै उपभोग्य सामाग्री पाइन्छ । थोरै भएपनि पैसा जोगिन्छ । र, खरिदका लागि धेरै भेराइटी पाइन्छ भन्ने धारणा आमउपभोक्तामा छ । त्यसबाट हामी अछुतो छैनौ । विराटनगर,काकडभिटा, वीरगञ्ज, जलेश्वर, नेपालगञ्ज होस् वा महेन्द्रनगर । जहा भारतीय बजार नजिक छन् । नेपाली त्यही पुगेका छन् । गच्छेभन्दा बढि नै किनमेल गर्ने गरेको भेटिनु नौलो छैन ।
समाचार आएका बेला दिनभर विराटनगरनजिकको जोगबनी छिरीसक्नु भएन । बजार बन्द भयो । झोला र सवारी लिएर किनमेलमा कस्सिएकाहरु फिरे । ढुंगा हानाहान हुने स्थिति थियो । प्रदर्शनकारीले भारतीय सीमानाको ढाट खसालेर बाटो अवरुद्ध पारे । नेपाली ढाट पनि खसाल्न आए । तर, उनीहरुलाइ सशस्त्र प्रहरीले धपायो । उनीहरुले माओवादी अध्यक्ष प्रचण्डलाइ सकुन्जेल गाली गरे । त्यस दिनको अवस्था सम्झदा अब सीमानामा दुर्घटना होला भन्ने भय देखिन्थ्यो । त्यस्तो केही भएन । नेपाली छापाले सीमामा भएको त्यो प्रदर्शनलाइ समाचार बनाए । तर, भारतीय छापामा त्यसको समाचार देख्न पाइएन । हो, सदभाव खलबलिन नदिन सञ्चारजगतको भूमिका महत्वपूर्ण रहन्छ ।
शनिवार माघ २३ मा यहा फूल साटासाट भयो । विहारको अररियाका पूर्व विधायक सुकदेव पासवान र नेपालका सभासद मोती दुगडले गला मिलाए । भाषण गरे । उही रोटी बेटीको सम्बन्ध । भारतविरुद्ध नेपाल जादैन । नेपालविरुद्ध भारत । दुइ मित्र । अभिन्न छिमेकी । सीमानामा तनाव भइरहनु ठीक पनि होइन । सदभाव बढने काम गरेकै राम्रो ।

No comments: