Sunday, February 7, 2010

ढुंगा हानाहान-फूल साटासाट

भारतीय नेताहरुले भन्ने गरेझैँ नेपाल-भारतसम्बन्ध दुई राष्ट्रको छिमेकमात्र होइन 'रोटी-बेटी' को छ। एकीकृत नेकपा माओवादीले सीमा अतिक्रमणको मुद्दामा भारतले गरेको बलमिच्याइ बुझाउन पोस्टर निकाल्यो। 

त्यो पोस्टरलाई विहारका सञ्चारकर्मीले समाचार बनाए। समाचार छापिएको दिन के भयो भन्ने चर्चा मैले निकै अघिको पोष्टमा गरिसकेको छु। त्यहाँ नखुलाएका कुरा अहिले लेख्न उपयुक्त होला।

सीमावर्ती बजारमा हाम्रो बजारभन्दा केही सस्तोमा सबै उपभोग्य सामाग्री पाइन्छ। थोरै भएपनि पैसा जोगिन्छ। र, खरिदका लागि धेरै भेराइटी पाइन्छ भन्ने धारणा आमउपभोक्तामा छ। त्यसबाट हामी अछुतो छैनौ। विराटनगर,काँकडभिट्टा, वीरगञ्ज, जलेश्वर, नेपालगञ्ज होस् वा महेन्द्रनगर। जहाँ भारतीय बजार नजिक छन्, नेपाली त्यही पुगेका छन्। गच्छेभन्दा बढी नै किनमेल गर्ने गरेको भेटिनु नौलो छैन।

समाचार आएका बेला दिनभर विराटनगरनजिकको जोगबनी छिरीसक्नु भएन। बजार बन्द भयो। झोला र सवारी लिएर किनमेलमा कस्सिएकाहरु फिरे। ढुंगा हानाहान हुने स्थिति थियो। 

प्रदर्शनकारीले भारतीय सीमानाको ढाट खसालेर बाटो अवरुद्ध पारे। नेपाली ढाट पनि खसाल्न आए। तर, उनीहरुलाइ सशस्त्र प्रहरीले धपायो। उनीहरुले माओवादी अध्यक्ष प्रचण्डलाई सकुन्जेल गाली गरे। त्यस दिनको अवस्था सम्झँदा अब सीमानामा दुर्घटना होला भन्ने भय देखिन्थ्यो। 

तर त्यस्तो भएन। नेपाली छापाले सीमामा भएको त्यो प्रदर्शनलाइ समाचार बनाए। तर, भारतीय छापामा त्यसको समाचार देख्न पाइएन। हो, सदभाव खलबलिन नदिन सञ्चारजगतको भूमिका महत्त्वपूर्ण रहन्छ।

शनिबार माघ २३ मा यहाँ फूल साटासाट भयो। विहारको अररियाका पूर्व विधायक सुकदेव पासवान र नेपालका सभासद मोती दुगडले गला मिलाए। भाषण गरे। उही रोटीबेटीको सम्बन्ध, भारतविरुद्ध नेपाल जाँदैन। नेपालविरुद्ध भारत। दुई मित्र। अभिन्न छिमेकी। सीमानामा तनाव भइरहनु ठीक पनि होइन। सद्भाव बढने काम गरेकै राम्रो।

No comments: