
बिहानै फोन आयो 'मलाई चिन्नु हुन्न होला। झट्ट आउनुपर्यो।' सञ्चारकर्मीका लागि यस्ता फोन नौला होइनन्। हरेकलाई लाग्छ उसका अघि भएका समस्या या घटना सबैभन्दा ठूला छन्। सञ्चारमाध्यमका लागि ती सेलेबल समाचार बन्न सक्छन्। यही अपेक्षाले गरिएका फोन कहिलेकाहीँ काम लाग्ने हुन्छ।
हिजो बिहानको कुरा हो। मेरो घर भएको ठाउँबाट करिब ४ किलोमिटर पश्चिम विराटनगर-१६ दरहियामा डाँकाले चौपाया लुटेछन्। गोली चलाएछन्। त्यो गाउँ पूर्व क्षेत्रीय प्रहरी कार्यालय र तालिम केन्द्रभन्दा करिब ५ सय मिटरमात्र पश्चिममा छ। शनिबार मध्यरात भएको घटनापछि एकजना गाउँले घाइते रहेछन्।
म त्यहाँ पुगेँ। डाकाले महेश यादव भन्नेको दुईवटा गोरु र एउटा भैंसी लगेछन्। गोलीले महेशका दाजु उदीचन घाइते भएका रहेछन्। उनको दायाँ पाखुरामा गोली लागेको रहेछ। चोरी होला भन्ने डरले गुहालीमा सुतेका उनी गोरु फुकाएको आवाजले ब्युँझेछन्। हल्ला नगर्न दिएको चेतावनी नमान्दा लुटेरा समूहले गोली चलाएको रहेछ।
दरहियाबाट दक्षिण बाटो नछोडी गयो भने इण्डिया पुगिन्छ। खुला सीमाना हुनु जति फाइदा छ, यसमा सुरक्षा व्यवस्था उपयुक्त नहुँदा यस्ता लुटपाटका घटनाको त्रास पनि उत्तिकै छ। दुई राउण्ड गोली चलाएपछि भएको हल्लापछि डाँकाले धेरैजनाको मालवस्तु लैजान पाएनन्। तर, उनीहरुले फेरि आउने चेतावनी दिइगएको गाउँलेले बताए।
सडक, फोन र बिजुली भएको यो गाउँ। गाउलेले बताए - इलाका प्रहरी रानीलाई घटना भइरहँदा फोन गरियो। १०८ नम्बर फोन उठेन। अनि १०० डायल गरेर जिल्ला प्रहरीलाई भनेपछिमात्र घटनाको ४५ मिनेटपछि पुलिस आए।
१०८ किन उठेन भन्दै आक्रोशितलाई मैले बताउनु पर्यो। त्यो एरियाको टेलिफोनको तार चोरी भएको एक हप्ता भयो। मेरो घरमा पनि ल्याण्डलाइन फोनमा त्यही कारण डायलटोन छैन। धन्य मोबाइल। बेला बेला सम्पर्क टुट्तै पनि सम्पर्क हुन्छ।
विराटनगरको मिल्सएरिया क्षेत्र डेढ दसकअघिसम्म जस्तो थियो। अहिले त्यस्तो छैन। यहाँका १५ मध्ये १२ कारखाना बन्द छन्। मुलुककै जेठो उद्योग विराटनगर जुटमिल कहिल्यै पुनः नखुल्नेगरी बन्द भएको छ। कारखाना बन्द भएपछि यस क्षेत्रमा कामको खोजी गर्नेहरु पलायन भएका छन्। त्यसैले दरहिया पनि पछि परेको छ। गाउँलेका भनाइमा बितेका १५ वर्षमा यो गाउँले यस्ता १३० वटा घटना भोगेको छ। जसमध्ये गतवर्ष नराम्रो घटना थियो। डाँकाले लोग्नेलाई बाँधेर श्रीमतीलाई उनकै अघि बलात्कार गरेका थिए।
सीमानासँग जोडिएका नेपाली बस्तीमा सरकारले सुरक्षा व्यवस्था सुदृढ पार्नु आवश्यक छ। दरहियाजस्तै धेरै गाउँको खबर आउँदैन। गाउँले सहन्छन् व्यवहार चलाउँछन्। मुलुक यसरी नै चलेको छ।
No comments:
Post a Comment