Monday, June 29, 2026

बाइपोलर डिसअर्डर : खेल उज्यालो-अँध्यारोको

रातको २ बजिसकेको छ। सारा संसार निदाइरहेका बेला ३२ वर्षीय रवीन भने आफ्नो कोठामा आफ्नै तालमा छन्। फटाफट ओहोरदोहोर गरिरहेका छन्। उनको दिमागमा विचारहरू यसरी दगुरिरहेका छन्, मानौँ कुनै सुपर कम्प्युटर चल्दै छ। 

पछिल्लो तीन दिनदेखि उनी मुस्किलले दुई घण्टा सुतेका होलान्, तर उनको अनुहारमा थकानको कतै नामनिसान छैन। उनलाई अचानक लागेको छ - उनी संसारकै उत्कृष्ट लेखक हुन् र उनले आजै राति एउटा यस्तो उपन्यास लेख्नुपर्छ, जसले साहित्यको दुनियाँ बदलिदिनेछ। 

टेबलमा डायरी-कलम छ। बेला-बेला कुर्सीमा बस्छन्। धमाधम शब्दहरू केर्छन्। डायरी हेर्छन्, अनौठो उत्साहमा हाँस्छन् र अनलाइनमा गएर आफ्नो क्रेडिट कार्डबाट महँगा-महँगा सामानहरू अर्डर पनि गरिरहेका छन्। उनलाई आफ्नो क्षमतामा अचम्मको आत्मविश्वास (Overconfidence) छ।

तर, ठ्याक्कै दुई हप्तापछि... रवीनको कोठाको परिदृश्य पूरै बदलिन्छ।

त्यही कोठा छ, तर दिउँसोको उज्यालोमा पनि पर्दाहरू कसिएका छन्। रवीन ओछ्यानबाट उठ्न समेत सकिरहेका छैनन्। उनलाई न भोक लागेको छ, न त कसैसँग बोल्न मन छ। अस्ति भर्खरै दिमागमा आएका ती 'महान विचारहरू' अहिले उनलाई वाहियात र अर्थहीन लागिरहेका छन्। उनको आत्मविश्वास गायब भइसकेको छ र त्यसको ठाउँमा एउटा गहिरो अपराधबोध, शून्यता र अत्यधिक निराशाले डेरा जमाएको छ। उनलाई लाग्दै छ, 'म यो संसारकै सबैभन्दा असफल मान्छे हुँ, मेरो कुनै भविष्य छैन।' ओछ्यानबाट उठेर बाथरुमसम्म जाने तागत पनि नभएजस्तो अनुभव गरिरहेका छन्।

रवीनले भोगिरहेको यो अवस्था एकादेशको कथा होइन। एउटा गम्भीर मानसिक स्वास्थ्य अवस्थाको जीवन्त उदाहरण हो, जसलाई मनोविज्ञानमा 'बाइपोलर डिसअर्डर' (Bipolar Disorder) भनिन्छ।

माथिको प्रसंगमा रवीनले जुन दुईवटा चरम अवस्था भोगे, ती नै बाइपोलर डिसअर्डरका दुईवटा मुख्य खम्बाहरू हुन्। एउटा खम्बा हो - म्यानिया (Mania), जहाँ व्यक्ति अत्यधिक ऊर्जावान्, उत्साहित र अति-सक्रिय हुन्छ। अर्को  हो, डिप्रेसन (Depression), जहाँ व्यक्ति चरम निराशा, उदासी र ऊर्जाहीनताको खाडलमा जाकिन्छ।

हामी सबैको मुड कहिले राम्रो त कहिले नराम्रो हुन्छ, त्यो सामान्य हो। तर बाइपोलर डिसअर्डर भएका व्यक्तिहरूमा यो मुडको उतारचढाव (Mood Swings) यति तीव्र र अनियन्त्रित हुन्छ कि यसले उनीहरूको दैनिक कार्यक्षमता, सामाजिक सम्बन्ध र निर्णय लिने क्षमतालाई नै अस्तव्यस्त पारिदिन्छ। यो एउटा यस्तो चक्र हो, जहाँ व्यक्ति कहिले आकाशमा उडिरहेको महसुस गर्छ त कहिले जमिनमुनि भासिएको।

यो मनोविकारलाई पहिलोपटक कसले बुझ्यो ?

मानव इतिहासमा मुडको यस्तो तीव्र उतारचढावलाई धेरै पहिलेदेखि नै नियालिएको थियो। प्राचीन ग्रिक चिकित्सक हिप्पोक्रेट्सले पनि 'मेलाङ्कोलिया' (उदासी) र 'म्यानिया' को चर्चा गरेका थिए। तर, यसलाई एउटा छुट्टै र व्यवस्थित मानसिक रोगका रूपमा पहिचान गर्ने श्रेय आधुनिक मनोरोग विज्ञानका जनक मानिने जर्मन मनोचिकित्सक इमिल क्रेपिलिनलाई जान्छ।

सन् १८९९ मा क्रेपिलिनले यसलाई 'म्यानिक-डिप्रेसिभ इन्सानिटी' (Manic-Depressive Insanity) को नाम दिएका थिए। उनले नै पहिलोपटक अवलोकन गरे कि यो समस्या भएका बिरामीहरूमा म्यानिया र डिप्रेसनका चरणहरू एउटा निश्चित अन्तरालमा दोहोरिने गर्छन् र यी दुवै अवस्था एउटै सिक्काका दुई पाटा हुन्। पछि सन् १९८० को दशकमा आएर चिकित्सा क्षेत्रमा यसलाई 'बाइपोलर डिसअर्डर' भन्न थालियो, जसले यसका दुईवटा विपरीत ध्रुव (Polar) हरूलाई प्रस्ट्याउँछ।

अमेरिकी मनोवैज्ञानिक के रेडफिल्ड जेमिसन स्वयं पनि बाइपोलर डिसअर्डरसँग बाँचिरहेकी क्लिनिकल मनोवैज्ञानिक हुन्। उनले भनेकी छन्, 'बाइपोलर डिसअर्डर पीडादायी हुन्छ, तर उचित उपचार, आत्मबुझाइ र सहयोगले यससँग राम्रो जीवन बाँच्न सकिन्छ।' उनको विचारमा रोगलाई लुकाउनु वा अस्वीकार गर्नु भन्दा चिन्नु र उपचारमा निरन्तर रहनु नै सबैभन्दा महत्त्वपूर्ण कदम हो।

आरोन टी बेकको संज्ञानात्मक (Cognitive) दृष्टिकोणले पनि सोचाइको ढाँचाले मूडलाई प्रभाव पार्ने बताउँछ। यद्यपि बाइपोलर डिसअर्डरमा जैविक कारण महत्त्वपूर्ण हुने भएकाले केवल सोच बदल्ने अभ्यासले मात्र पर्याप्त हुँदैन। त्यसैले औषधि र मनोपरामर्श दुवै आवश्यक पर्न सक्छन्।

सुरुवाती लक्षण र संकेतहरू

बाइपोलर डिसअर्डरको सुरुवात प्रायः किशोरावस्था वा वयस्क उमेरको प्रारम्भ (Late teens to early 20s) मा हुने गर्छ। यसका लक्षणहरू कुन 'एपिसोड' चलिरहेको छ भन्ने कुरामा भर पर्छन्।

१. म्यानिया वा हाइपोम्यानियाका सुरुवाती लक्षण (उज्यालो पक्ष)

  • कम निद्रा : थोरै सुत्दा वा कतिपय अवस्थामा नसुत्दा पनि शरीरमा ऊर्जाको कमी महसुस नहुनु।

  • तीव्र विचार र बोली : दिमागमा धेरै विचारहरू एकैपटक आउनु (Racing thoughts) र यति छिटो बोल्नु कि सुन्ने मान्छेले बुझ्न समेत गाह्रो हुनु।

  • अत्यधिक महत्त्वाकांक्षा : आफूसँग नभएको शक्ति वा क्षमता छ भन्ने भ्रम हुनु र ठुला-ठुला योजनाहरू बनाउनु।

  • जोखिमपूर्ण व्यवहार : विना सोचविचार धेरै पैसा खर्च गर्नु, व्यापारमा हतारमा ठुलो लगानी गर्नु वा असुरक्षित निर्णयहरू लिनु।

२. डिप्रेसनका सुरुवाती लक्षण (अँध्यारो पक्ष)

  • गहिरो उदासी र शून्यता : दिनभरि नै मन खिन्न हुनु र भित्रैबाट रित्तो महसुस हुनु।

  • रुचि हराउनु : असाध्यै मनपर्ने काम, खेल वा रुचिहरूमा पनि कुनै आनन्द नआउनु (Anhedonia)।

  • थकान र सुस्तता : शरीर भारी हुनु, साना-साना काम गर्न पनि धेरै मिहिनेत गर्नुपर्ने हुनु।

  • निद्रा र भोकमा गडबडी : कत्ति पनि निद्रा नलाग्नु वा दिनभरि सुतिरहनु; भोक कम लाग्नु वा धेरै खानु।

  • आत्महानिको विचार : जिन्दगी बेकार छ भन्ने लाग्नु र मनमा आत्महत्याका विचारहरू आउनु।

समस्या र चुनौतीहरू

बाइपोलर डिसअर्डर केवल एउटा व्यक्तिमा मात्र सीमित रहँदैन, यसले उसको पूरै जीवनचक्रलाई प्रभावित पार्छ।

  • व्यावसायिक र आर्थिक संकट : म्यानियाको अवस्थामा गरिने गलत आर्थिक निर्णय वा डिप्रेसनको बेला अफिस जानै नसक्ने अवस्थाले गर्दा जागिर गुम्ने वा ऋणमा डुब्ने सम्भावना उच्च हुन्छ। म्यानियाको गतिशील चरणमा बिरामीले विना योजना हतारमा ठुलो व्यापारिक लगानी गर्ने, महँगा विलासी सामानहरू किन्ने वा जुवा र सट्टाबाजीमा रकम उडाउने गर्छन्, जसले अचानक ठूलो वित्तीय भार निम्त्याउँछ। अर्कोतर्फ, डिप्रेसनको अवधिमा सिर्जना हुने चरम ऊर्जाहीनताका कारण उनीहरू हप्तौँसम्म कार्यस्थलमा अनुपस्थित हुन पुग्छन्। यसरी एकातिर फजुल खर्चको ग्राफ ह्वात्तै बढ्ने र अर्कोतिर कमाइको बाटो नै बन्द हुने हुँदा व्यक्ति र उसको पूरै परिवार गम्भीर आर्थिक संकट र ऋणको दुष्चक्रमा फस्न पुग्छ।

  • सम्बन्धहरूमा दरार : मुडको अनपेक्षित परिवर्तनका कारण परिवार, जीवनसाथी र साथीभाइसँगको सम्बन्ध बिग्रन सक्छ। मानिसहरूले प्रायः यसलाई 'ढर्रा पारेको' वा 'घमण्ड बढेको' भनी गलत बुझ्ने गर्छन्। म्यानियाको अवस्थामा व्यक्ति अत्यधिक आक्रामक हुने, अरूको कुरा काट्ने र आफ्नै ढिपी कस्ने हुनाले नजिकका मानिसहरू टाढिन खोज्छन्। त्यस्तै, डिप्रेसनको चरणमा उनीहरू अचानक सामाजिक सम्पर्कबाट पूर्ण रूपमा अलग भइदिन्छन्, जसले गर्दा आफन्त र साथीभाइले उनीहरूलाई गैरजिम्मेवार वा मतलबी ठान्न पुग्छन्। यो मनोविकारका बारेमा समाजमा पर्याप्त चेतना नहुँदा, बिरामीको व्यवहारलाई मानसिक समस्याको लक्षण नभई उसको व्यक्तिगत कमजोरी वा खराब चरित्रका रूपमा व्याख्या गरिन्छ। फलस्वरूप, वर्षौँ पुराना प्रगाढ सम्बन्धहरू पनि बिस्तारै अविश्वास र मनमुटावका कारण टुट्ने अवस्थामा पुग्छन्।

  • कुलतको सहारा: धेरैजसो बिरामीहरूले आफ्नो अशान्त दिमागलाई शान्त पार्न मदिरा वा अन्य लागुपदार्थको सहारा लिने गर्छन् (Self-medication), जसले समस्यालाई झन् भयावह बनाउँछ। म्यानियाको बेला दिमागमा आउने विचारहरूको तीव्र गतिलाई रोक्न वा डिप्रेसनको गहिरो छटपटी र शून्यताबाट केही समयका लागि उम्किन बिरामीहरूले नशालु पदार्थलाई 'औषधि' का रूपमा प्रयोग गर्न थाल्छन्। तर, यसले मस्तिष्कको रसायनलाई झन् बढी असन्तुलित बनाइदिन्छ। नतिजास्वरूप, बाइपोलरका लक्षणहरू अझ कडा र अनियन्त्रित बन्छन् भने औषधिहरूले पनि शरीरमा सही तरिकाले काम गर्न छोड्छन्। यसरी एउटा मानसिक रोगको चंगुलबाट उम्किन खोज्दा व्यक्ति अर्को घातक कुलतको चक्रव्यूहमा फस्न पुग्छ, जसले उपचार प्रक्रियालाई थप जटिल र चुनौतीपूर्ण बनाउँछ।

***

बाइपोलर डिसअर्डरबाट ग्रसित व्यक्तिलाई चिन्नु अलि चुनौतीपूर्ण हुन सक्छ, किनकि यसका लक्षणहरू सधैं एकैनासका हुँदैनन्। मानिसहरू प्रायः यसलाई मुडी स्वभाव वा 'नखरा' भनेर भ्रममा पर्छन्। तर, यदि हामीले कसैको व्यवहार, बोली र ऊर्जाको स्तरमा आउने तीव्र र अस्वाभाविक परिवर्तनलाई ध्यान दिएर हेर्‍यौं भने यसलाई सजिलै पहिचान गर्न सकिन्छ।

यस समस्याबाट ग्रसित व्यक्तिलाई मुख्यतया दुईवटा फरक रूप वा चरणमा चिन्न सकिन्छ।

१. 'म्यानिया' (उत्तेजना र अत्यधिक जोसको चरण) मा कसरी चिन्ने?

यो चरणमा व्यक्तिको ऊर्जा र व्यवहार सामान्यभन्दा धेरै माथि पुग्छ। यस्ता व्यक्तिमा निम्न परिवर्तनहरू देखिन्छन् -

  • अस्वाभाविक रूपमा धेरै बोल्ने : उनीहरू सामान्यभन्दा निकै छिटो-छिटो बोल्छन्। एउटा कुरा भुइँमा खस्न नपाउँदै अर्को कुरा सुरु गरिसक्छन् (बोलीको गति समात्न गाह्रो हुन्छ)।

  • कम सुत्ने तर थकाइ नलाग्ने : राति २–३ घण्टा मात्र सुत्दा पनि उनीहरू दिनभरि पूर्ण ऊर्जाका साथ काम गरिरहेका भेटिन्छन्। उनीहरूलाई निद्राकै आवश्यकता महसुस हुँदैन।

  • ठुला-ठुला कुरा र घमण्ड (Grandiosity) : आफूसँग असीमित शक्ति, पैसा वा ज्ञान भएको दाबी गर्ने। विना योजना नयाँ व्यवसाय सुरु गर्ने वा आफू कुनै ठूलो सेलिब्रेटी वा भगवान्‌को दूत जस्तो व्यवहार गर्ने।

  • अत्यधिक र फजुल खर्च : आफ्नो हैसियतभन्दा बाहिर गएर महँगा सामानहरू किन्ने, अरूलाई बाँड्ने वा जुवा/सट्टाबाजीमा पैसा उडाउने।

  • एकाग्रताको चरम अभाव: उनीहरू एउटै काममा धेरै बेर टिक्न सक्दैनन्। दिमागमा यति धेरै विचारहरू एकैपटक आउँछन् कि उनीहरू एउटा काम छोडेर तुरुन्तै अर्कोमा हामफाल्छन्।

२. 'डिप्रेसन' (चरम निराशा र उदासीको चरण) मा कसरी चिन्ने?

केही हप्ता वा महिनापछि त्यही व्यक्ति अचानक पूरै शान्त र ओझेलमा पर्छ। यो चरणमा निम्न लक्षणहरू देखिन्छन् -

  • संसारबाट टाढिने (Isolation): साथीभाइ, परिवार वा सामाजिक जमघटबाट टाढिने। कोठाको ढोका थुनेर एक्लै बस्ने।

  • रुचि र खुसी हराउनु: पहिले जुन कुरामा उनीहरू रमाउँथे (जस्तै: खेलकुद, संगीत, काम वा कुराकानी), ती सबै कुरा अहिले उनीहरूका लागि अर्थहीन र बोझिलो बन्छन्।

  • अत्यधिक थकान र सुस्तता: दिनभरि ओछ्यानमै पल्टिरहने। साना-साना काम (जस्तै: ब्रस गर्ने वा नुहाउने) का लागि पनि उनीहरूमा ऊर्जा हुँदैन।

  • निद्रा र खानपानमा असन्तुलन: कि त रातभरि छटपटिएर निद्रै नलाग्ने, कि त दिनभरि सुत्ने। भोक कत्ति पनि नलाग्ने वा अचानक धेरै खाने।

  • नकारात्मक कुराकानी: 'म कसैको लायक छैन,' 'म धर्तीको बोझ हुँ,' वा 'अब बाँचेर के गर्नु' जस्ता निराशावादी र आत्महानिका कुराहरू गर्ने।

पहिचानको मुख्य सूत्र : व्यवहारको विरोधाभास

बाइपोलर डिसअर्डर भएका व्यक्तिलाई चिन्ने सबैभन्दा ठूलो आधार भनेको उनीहरूको व्यक्तित्वमा आउने उल्टो परिवर्तन हो। अस्तिसम्म चौबिसै घण्टा हाँसखेल गर्ने, पार्टी गर्ने र नयाँ-नयाँ योजना सुनाउने मान्छे आज किन फोन समेत नउठाइ कोठामा थुनिएर बसेको छ ? महिनाभरी डिप्रेसनमा डुबेको मान्छे अचानक कसरी यति धेरै ऊर्जावान र हँसमुख भयो ?

यदि कसैको जीवनमा यस्तो उज्यालो र अँध्यारोको चक्र लगातार हप्ता वा महिनाको अन्तरालमा दोहोरिइरहन्छ भने त्यो सामान्य मुड स्विङ नभएर बाइपोलर डिसअर्डर हुन सक्छ। यस्तो अवस्थामा उनीहरूलाई आलोचना गर्नुको साटो आत्मीयता देखाएर मनोचिकित्सककहाँ लैजान प्रोत्साहन गर्नुपर्छ।

यो व्यावहारिक विरोधाभास सामान्य मानिसको सोचभन्दा निकै फरक र गम्भीर हुन्छ। एउटै व्यक्ति दुईवटा बिल्कुलै भिन्न ध्रुवमा बाँचे जस्तो देखिँदा परिवार र समाज पनि अलमलमा पर्छ। म्यानियाको बेला उनीहरूले गर्ने ठुला वाचा र डिप्रेसनको बेला देखिने चरम निराशाको ग्याप यति ठुलो हुन्छ कि यसले उनीहरूको वास्तविक पहिचानलाई नै छोपिदिन्छ। यो उतारचढाव कुनै बाह्य कारण वा परिस्थितिका कारण नभई मस्तिष्क भित्रको रसायनको खेल हो। त्यसैले, व्यक्तिको स्वभावमा आउने यस्तो अस्वाभाविक र नाटकीय परिवर्तनलाई समयमै चिन्न सकेमा उनीहरूलाई थप मानसिक र सामाजिक क्षति हुनबाट जोगाउन सकिन्छ।

***

निदान (Diagnosis) र व्यवस्थापनका तरिका

बाइपोलर डिसअर्डरको पहिचानका लागि कुनै रगत परीक्षण वा सिटी स्क्यान (CT Scan) जस्ता शारीरिक जाँचहरू हुँदैनन्। यसको निदान पूर्ण रूपमा बिरामीको लक्षणहरूको इतिहास र व्यवहारको अवलोकनमा आधारित हुन्छ।

यदि कसैमा यस्ता लक्षण देखिएका छन् भने मनोरोग विशेषज्ञ (Psychiatrist) वा क्लिनिकल साइकोलोजिस्ट (Clinical Psychologist) को सहयोग लिनुपर्छ। निदानका मुख्य चरणहरू निम्न छन्:

  • मनोवैज्ञानिक मूल्यांकन: डाक्टरले बिरामी र उसको परिवारसँग कुरा गरेर मुडको उतारचढावको इतिहास, पारिवारिक पृष्ठभूमि र लक्षणहरूको गम्भीरता बुझ्छन्। 
  • मुड चार्टिङ (Mood Charting): बिरामीलाई आफ्नो दैनिक निद्राको प्याटर्न, मुड र ऊर्जाको स्तर रेकर्ड गर्न लगाइन्छ, जसले रोगको चक्र बुझ्न मद्दत गर्छ।

उपचारका आधुनिक विधिहरू : यो एक दीर्घकालीन अवस्था भए पनि उचित उपचारले यसलाई पूर्ण रूपमा नियन्त्रणमा राख्न सकिन्छ।

  • दबाइ (Medications): मुडलाई स्थिर राख्न 'मुड स्टेबिलाइजर्स' (जस्तै: लिथियम) र आवश्यकता अनुसार अन्य औषधिहरू दिइन्छ।

  • साइकोथेरापी (Counselling): 'कग्निटिभ बिहेभियरल थेरापी' (CBT) मार्फत बिरामीलाई आफ्नो सोचाइको ढाँचा बदल्न र तनाव व्यवस्थापन गर्न सिकाइन्छ।

  • जीवनशैली र पारिवारिक सहयोग: नियमित सुत्ने र उठ्ने समय तालिका (Circadian Rhythm) कायम राख्नु यसमा निकै महत्त्वपूर्ण हुन्छ। साथै, परिवारको माया र सहानुभूतिले बिरामीलाई चाँडो निको हुन मद्दत गर्छ।

बाइपोलर डिसअर्डर कुनै कमजोरी वा चरित्रको दोष होइन, यो मस्तिष्कको एउटा जैविक समस्या हो। रवीन जस्ता कयौँ व्यक्तिहरू हाम्रो समाजमा छन्, जो आफ्नो भित्री आँधीबेहरीसँग लडिरहेका छन्। उनीहरूलाई आलोचना र गिल्लाको होइन, हाम्रो बुझाइ, धैर्यता र सही समयमा चिकित्सा उपचारको खाँचो छ। मानसिक स्वास्थ्यको बहसलाई खुला राखौँ, किनकि उज्यालो र अँध्यारोको यो खेलमा कसैलाई पनि एक्लो छोड्नु हुँदैन।

*** 

बाइपोलर डिसअर्डर एक मानसिक स्वास्थ्य अवस्था (Mental Health Condition) हो, जसलाई पहिले 'म्यानिक डिप्रेसन' (Manic Depression) पनि भनिन्थ्यो। यसमा व्यक्तिको मुड (मनस्थिति), ऊर्जा, र गतिविधि गर्ने स्तरमा तीव्र उतारचढाव आउने गर्छ।

प्रकार

  • बाइपोलर I (Bipolar I): यसमा कम्तीमा एउटा गम्भीर म्यानिक (Mania) एपिसोड हुन्छ। यसमा डिप्रेसनको एपिसोड हुन पनि सक्छ वा नहुन पनि सक्छ। म्यानियाको यो चरण यति तीव्र र गम्भीर हुन्छ कि व्यक्तिको दैनिक जीवन, रोजगार र सामाजिक सम्बन्धहरू पूर्ण रूपमा अस्तव्यस्त बन्छन्। कतिपय अवस्थामा बिरामीलाई आफ्नो नियन्त्रण बाहिर गएको व्यवहारका कारण अस्पताल भर्ना नै गर्नुपर्ने स्थिति आउँछ। यस प्रकारमा म्यानिक एपिसोड कम्तीमा एक हप्ता वा सोभन्दा बढी समयसम्म रहन्छ। यसमा भ्रम वा मतिभ्रम (Psychosis) जस्ता कडा मानसिक लक्षणहरू समेत देखिन सक्छन्।

  • बाइपोलर II (Bipolar II): यसमा कडा म्यानिया नभई अलि कम गम्भीर 'हाइपोम्यानिया' र कम्तीमा एउटा ठुलो 'डिप्रेसिभ' एपिसोड हुन्छ। यस प्रकारमा देखिने हाइपोम्यानियामा व्यक्ति अत्यधिक ऊर्जावान् र रचनात्मक त देखिन्छ, तर यसले म्यानियाले जस्तो दैनिक जीवनमा तत्कालै ठुलो दुर्घटना वा सामाजिक क्षति पुर्‍याइहाल्दैन। त्यसैले मानिसहरू यसलाई सामान्य रूपमै लिने गर्छन्। तर, यसको अर्को पाटो अर्थात् 'मेजर डिप्रेसिभ एपिसोड' भने निकै कष्टकर र लामो समयसम्म रहने खालको हुन्छ। बिरामीहरू लामो समय चरम निराशा, ऊर्जाहीनता र शून्यताको खाडलमा भासिन्छन्। हाइपोम्यानियाको सुखद उकालोपछि आउने डिप्रेसनको यो गहिरो ओरालोका कारण बाइपोलर II भएका व्यक्तिहरूमा आत्महानि वा आत्महत्याको जोखिम बाइपोलर I को तुलनामा समेत उच्च रहने गर्छ।

  • साइक्लोथाइमिया (Cyclothymia): यसमा मुडको उतारचढाव त हुन्छ, तर ती म्यानिया वा डिप्रेसन जत्तिको गम्भीर हुँदैनन्। यो अवस्था लामो समय (कम्तीमा २ वर्ष) सम्म रहन सक्छ। यसलाई बाइपोलर डिसअर्डरको एउटा मन्द वा मसिनो रूप (Mild form) मानिन्छ। यसमा देखिने मुडको उकालोलाई हाइपोम्यानिया र ओरालोलाई सामान्य डिप्रेसन भन्न सकिन्छ, जसका लक्षणहरू निकै हल्का हुन्छन् तर निरन्तर भइरहन्छन्। यो समस्या भएका व्यक्तिहरूको मुड कहिले निकै राम्रो त कहिले खिन्न भइरहने हुनाले समाजले उनीहरूलाई 'अस्थिर वा कतिबेला के हुन्छ थाहा नहुने' स्वभावको व्यक्तिका रूपमा बुझ्ने गर्छ। लक्षणहरू कडा नभए पनि, यो लामो समयसम्म टिकिरहने हुनाले यसले व्यक्तिको व्यक्तिगत सम्बन्ध, उत्पादकत्व र दैनिक कार्यक्षमतामा बिस्तारै तर गम्भीर असर पुर्‍याइरहेको हुन्छ। समयमै यसको व्यवस्थापन नगरेमा यो पछि गएर बाइपोलर I वा II मा परिणत हुन सक्ने जोखिम रहन्छ।

हुन्छ के कारणले ?

बाइपोलर डिसअर्डर ठ्याक्कै के कारणले हुन्छ भन्ने निश्चित छैन, तर यसमा विभिन्न कारकहरूको भूमिका हुन्छ।

  • जैविक भिन्नता (Brain Structure): मस्तिष्कको बनावट र रसायनहरू (Neurotransmitters) मा आउने असन्तुलन।

  • आनुवंशिक : परिवारमा कसैलाई यो समस्या भएमा यसको जोखिम बढ्छ।

  • वातावरणीय तनाव : अत्यधिक तनाव, गम्भीर आघात वा लागुपदार्थको सेवनले यसलाई बढाउँछ। 

उपचार (Treatment)

बाइपोलर डिसअर्डर एक दीर्घकालीन अवस्था हो, तर उचित उपचारद्वारा यसलाई पूर्ण रूपमा नियन्त्रणमा राखेर सामान्य र सफल जीवन जिउन सकिन्छ। मुडलाई सन्तुलनमा राख्न डाक्टरको सल्लाहअनुसार 'मुड स्टेबिलाइजर्स' (Mood Stabilizers) वा एन्टिडिप्रेसन्ट्स औषधिहरूको प्रयोग गरिन्छ।

अर्को विधि हो साइकोथेरापी (Psychotherapy/Counselling)। 'कग्निटिभ बिहेभियरल थेरापी' (CBT) जस्ता काउन्सिलिङले बिरामीलाई आफ्नो मुड ट्रिगरहरू पहिचान गर्न र तनाव व्यवस्थापन गर्न सघाउँछ। उपचारमा प्रभावकारी काम गर्ने विधिमा जीवनशैलीमा परिवर्तन पनि पर्छ। नियमित सुत्ने तालिका, स्वस्थ खानपान, व्यायाम, र मदिरा वा ड्रग्सबाट टाढा रहँदा मुडलाई स्थिर राख्न ठुलो मद्दत पुग्छ।

नेपालको सन्दर्भमा काठमाडौं उपत्यका भित्रका त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज), पाटन अस्पताल, मानसिक अस्पताल (लगनखेल) का साथै उपत्यका बाहिरका विभिन्न सरकारी तथा निजी मेडिकल कलेज र प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ मनोचिकित्सक तथा क्लिनिकल साइकोलोजिस्टहरू मार्फत यसको भरपर्दो निदान र उपचार सम्भव छ।

एउटा महत्त्वपूर्ण भ्रम

धेरैले बाइपोलर डिसअर्डरलाई 'मूड छिटो-छिटो फेरिने' अवस्थासँग मात्रै बराबरी गर्छन्। वास्तवमा, सामान्य भावनात्मक उतारचढाव र बाइपोलर डिसअर्डर फरक कुरा हुन्। बाइपोलरमा म्यानिया वा डिप्रेसनका एपिसोडहरू दिनौँदेखि हप्तौँ वा महिनौँसम्म रहन सक्छन् र तिनले दैनिक जीवनमा स्पष्ट असर पार्छन्। 

बाइपोलर डिसअर्डर कमजोरी, चरित्र दोष वा इच्छाशक्ति नपुग्नु होइन। यो वैज्ञानिक रूपमा पहिचान गरिएको मानसिक स्वास्थ्य अवस्था हो। सही निदान, नियमित उपचार, स्वस्थ जीवनशैली र परिवारको साथ पाएमा धेरै मानिसहरूले अध्ययन, रोजगारी, सम्बन्ध र सामाजिक जीवन सफलतापूर्वक अघि बढाउन सक्छन्। 

यदि कसैमा यस्ता लक्षणहरू देखिन्छन् भने स्व-निदान गर्नुको सट्टा योग्य मनोवैज्ञानिक वा मनोचिकित्सकसँग मूल्यांकन गराउनु सबैभन्दा उचित हुन्छ।

No comments: