बबरमहलमा आर्ट ग्यालरीबाट निस्केर माइतीघरतर्फ लागौं वा नयाँ बानेश्वर, सवारीचालकले ट्राफिक बत्तीको संकेत हेक्का राख्नै पर्छ। यो बाटो मैले धेरैजसो आउजाउ गर्दै रहेको हो। त्यसैले बत्ती रातो, पहेँलो, नीलो के छ भन्ने नहेरी अघि बढिन्न। पहेँलो बल्यो, नीलो बल्यो मैले मोसा अघि बढाएँ।
जिल्ला अदालत अगाडि सडकमा अर्को ट्राफिक लाइटले पर्खिरहेको थियो।
साँझको करिब ५ बजेको थियो। दुइटा अरु दुई पांग्रेसँगै अघि बढियो, स्पीड करिब २५/३० किमि प्रति घण्टाको थियो। टायरले जेब्राक्रस छोयो, माथि पहेँलो बत्ती पिलिक्क गरेको देखियो।
रातो बल्न अघि पहेँलो सवारी रोक्ने संकेत हो। तर, मलाई लाग्यो रोकौं भने पछाडिबाट आइरहेका सवारीले मलाई ठोक्छन्। म अघि बढेँ। आर्क ब्रिज नपुग्दै सडकमा दायाँबायाँ दुई ट्राफिक प्रहरी थिए। दुवैले मोटरसाइकल रोक्न संकेत गरे।
मसँगै एउटा स्कुटर र एउटा मोटरसाइकल रोकियो। उनीहरु मभन्दा केही अगाडि पुगेर रोकिएका थिए।
म - के भयो किन रोक्न लाउनुभएको ?
ट्राफिक - तपाइँ रातो बत्तीमा आउनुभयो।
म - म रातो बत्तीमा आएको छैन।
ट्राफिक - तपाइँ रातो बत्तीमै आउनुभएको हो। मैले देखेको।
यति भनेर ती ट्राफिक केही अगाडि रोकिएको स्कुटरतर्फ गए। म रोकिएर हेरिरहेँ। उनले केहीबेर स्कुटर चालक महिलासँग वार्तालाप गरे। अनि उनलाई जान दिए। मनजिक रोकिएका अर्का मोसा चालकलाई अर्का ट्राफिक प्रहरीले केरकार गरिरहेका थिए। मानौं, हामीहरु मान्छे मारेर भागेकाहरु हौं।
स्कुटरलाई पठाएर बाटो काट्ने एउटा हुललाई वारिपारि गराएपछि अघिका तिनै प्रहरी मेरा अगाडि प्रकट भए।
- खै तपाइँको लाइसेन्स ल्याउनुस्।
- किन दिने लाइसेन्स?
- तपाइँ रातो बत्तीमा आउनुभएको हो।
- होइन म रातो बत्तीमा आएकै छैन। म जेब्रामा आइपुग्दा पहेँलो बलेको थियो। म पहेँलोमा क्रस भएको हो, रातोमा होइन।
- तपाइँलाई जरिवाना लाग्छ।
- पहेँलो बत्तीमा पनि लाग्छ?
- लाग्छ, तपाइँलाई ट्राफिक नियम थाहा छैन? पहेँलो भनेको रोक्नुपर्ने संकेत हो।
***
एक पटक मिनभवनतिरबाट आएर नयाँ बानेश्वरमा मलाई बिजुलीबजारतिर जानुपर्ने थियो। मैले मोड्ने ठाउँमा आइपुग्दा पुग्दै रातो बत्ती बल्यो। हतारिएर आएको मैले झ्याप्प ब्रेक लगाएर रोकिँए। मेरो पछाडि एउटा नयाँ स्कुटर तीव्र गतिमा आइरहेको रहेछ।
मैले अचानक रोकेपछि त्यो स्कुटर मेरो मोसाको लेगगार्डमा जोडसँग ठोक्कियो।
त्यसको अगाडिको भागमा क्षति भयो। प्लाष्टिकका कभरहरु फुटेर सडकमा छरियो। पँहेलो रङको स्कुटर थियो, नयाँ। शायद भर्खरै मात्रै किनेको हुनुपर्छ।
स्कुटरमा दुई जना सवार थिए। चालक टेम्परमा आए। उत्रिएर मसँग 'किन बाइक रोकेको? यसको क्षतिपूर्ति तपाइँले गर्नुपर्छ' भने। मैले 'हेर्नुस् अगाडि रातो बत्ती बलेको देखिदेखि म कसरी अगाडि जानु? तपाइँले विस्तारै आउनुपर्थ्यो' भनेँ। उनी निकै झोँक्किए।
रातो बत्ती बलेकाले रोकिएर रहनुको विकल्प थिएन। उनले भने 'म केही जान्दिन यो टुटफुटको जिम्मा तपाइँले लिनुपर्छ।' मैले भने 'मेरो गल्ती नै छैन कसरी यसको जिम्मा म लिन्छु?' उनी झगडा गर्ने मुडमा थिए। अलिकति तनाव भयो। के गर्ने होला भनेर मैले चोकका ट्राफिक प्रहरीतर्फ हेरेँ।
ती ट्राफिक बीटबाट प्रहरी हाम्रो नजिक आए र भने 'मैले देखिरहेको थिएँ।' उनले स्कुटरचालकलाई भने 'तपाइँ बत्ती देख्नुहुन्छ?' अनि उनले मलाई भने 'तपाइँको गल्ती छैन। जानुस्।' अचानक हरियो बल्यो, स्कुटर चालकलाई वास्तै नगरी म अघि बढेँ। उनी मेरो पछि-पछि थिए। तर, अगाडि गइरहँदा कता गए भनेर मैले चासो दिइँन।
***
पहिलो पटक जरिवानामा पर्दा मलाई रातभर निन्द्रा लागेको थिएन। श्रीमती र म कालिमाटी गएका थियौं। कालीमाटी तरकारी बजार जानु थियो। टेकुबाट कालीमाटी जाँदा बाटोमा दायाँ पर्छ तरकारीको थोक बजार। तर, यताबाट जाने सवारीले दायाँ मोड्न नपाइने रहेछ।
म मोसामा सरासर गएँ। ट्राफिक प्रहरी गेटैमा उभिएर हेरिरहेका थिए। दायाँ मोडेँ। भित्र पसेँ। मोसा बिस्तारै थियो। म केही अगाडि बढेपछि ती प्रहरी कराए- 'रोक्नुस् रोक्नुस्।' मैले रोकेँ। उनी दौड्दै आए। चिट झिके, अनि भने
- लाइसेन्स ल्याउनुस्।
- किन र ?
- तपाइँले ट्राफिक नियम उल्लंघन गर्नुभो।
- लौ ! कसरी ?
- यहाँ दायाँ मोड्न पाइँदैन। तपाइँ दायाँ मोडेर आउनुभयो।
- ओहो लौ थाहा थिएन। अनि यता मोड्न पाइँदैन भन्ने बोर्ड कहाँ छ? कतै संकेत देखिन्न, कसरी थाहा पाउनु?
- ल हिँड्नुस्। बोर्ड म देखाउँछु।
मोटरसाइकल रोकेँ। उनको पछि लागेँ। बाटामा गेटभन्दा केही पर बोर्ड रहेछ - दायाँ मोड्न निषेध।
गल्ती गरिएकै हो। अब गाह्रो भयो। मैले जरिवानाबाट उम्किने प्रयास गरेँ।
- हेर्नुस् बोर्ड त्यहाँ छ, उताबाट आउनेले देख्तैन। तपाइँ गेटमा हुन्हुन्थ्यो, यता आउन पाइँदैन भन्ने संकेत गरिदिनुभएको भए मलाई जरिवाना तिर्न केको सोख !
- त्यो म जान्दिन। लाइसेन्स दिनुस्।
- एक पटक हो। पहिलोपटक हो, जानाजान होइन, छाड्दिनुस्।
- हुँदैन। हामीले छाड्न मिल्दैन। हामीले छाडेर तपाइँहरुले गुन मान्ने हो र ! मलाई थाहा छ तपाईहरु त राम्रो काम गरे पनि पुलिसलाई गाली नै गर्नुहुन्छ नि।
मैले लाइसेन्स दिनै परो। दिएँ। उनका कुरा सुनेँ। उनी पहिल्यै नछाड्ने नियतका साथ तयार सुनिएपछि गलफती गर्नुको अर्थ थिएन। बढी सवालजवाफ गरेर बढी जरिवाना गर्न पनि सक्छन्। म उनलाई सुनिरहेँ। उनले चिट काटे। जीवनमा पहिलोपटक कुनै ठूलो दुर्घटना गरेको जस्तो लाग्यो। २०८१ भदौको शनिबारको दिन थियो त्यो।
उनले चिट थमाएपछि भने - 'जरिवाना बुझाएर लाइसेन्स लानुहोला।' मैले दिने जवाफको उनलाई प्रतीक्षा थिएन। बाटो लागे। उनको कम्मरको ब्यागमा मजस्ता थुप्रैको लाइसेन्स थिए। शायद यस्तै परेको होला भन्ठाने।
म जरिवानामा परेको थिइँन। त्यसैले लाइसेन्स फिर्ता लिन जानुपर्ने ठाउँ थाहा थिएन। भोलिपल्ट बग्गीखाना पुगेँ। त्यहाँ चिट देखाउँदा 'यहाँ होइन, कालीमाटी जानुस्' भनियो। गएँ। जरिवानाको रकम डिजिटल वालेटबाट तिर्नुपर्ने रहेछ। तिरेँ। लाइसेन्स र फिर्ता आयो तर, मोबाइलको नागरिक एपमा लिंक गरेको ड्राइभिङ लाइसेन्स सेक्सनमा 'भ्वाइलेसन रेकर्ड'मा सधैंका लागि लिखित रहिरह्यो- मानौं मैले मोसा दायाँ मोडेको होइन दुर्घटना गरेको हुँ, मान्छे मारेको हुँ।
यो रेकर्डको पाटो बडो जटिल छ। यसबारे पछि कुनै बेला चर्चा गरम्ला।
***
मैले त्यो नयाँ बानेश्वर चोकको करिब तीन/चार महिना अघिको घटना सम्झिएको थिएँ बबरमहलको पहेँलो बत्तीमा जेब्राक्रस गर्दा। यहाँ त फेरि झमेला हुने भयो।
लाइसेन्स निकालेँ, दिएँ। त्यो लिएर ट्राफिक प्रहरी मलाइ छाडेर केही पर गए। अर्का साथीसँग साउती गर्न थाले।
म अघि बढिँन, रोकिएर उनीहरुलाई हेरिरहेँ। मलाई रोक्ने जवान करिब ५.४ फुटका गहुँगोरा थिए। पातलो ज्यान, फुर्तिला देखिन्थे। सडकमा यस्ता बेला कतिपय ठाउँ प्रहरीको संवाद शैलीले रीस उठाउँछ। तर, उनको बोली नरम नै थियो। ती ट्राफिकले मोबाइलले मेरो लाइसेन्सको फोटो खिचे। अनि नजिक आए।
-तपाइँ कसरी भन्नसक्नुहुन्छ म रातो बत्तीमा आएको हो भनेर?
-हेर्नुस् मैले यहाँबाट हेर्दा त्यस्तै देखेँ। रातो बलेको थियो।
-तपाइँले भनेर म मान्दिन। पुष्टि गर्नुस् । म भन्दैछु पहेँलोमा आएँ भनेर, तपाइँ कसरी मेरो गल्ती भन्नुहुन्छ। झ्याप्प रोक्दा पछाडिको गाडीले मलाई ठोकेको भए के हुन्थ्यो?
- त्यसो भए त म पनि कन्फर्म भइँन। अब सीसीटीभी हेरेर गल्ती कन्फर्म गर्नुपर्छ।
- तपाइँको सीसीटीभी मनिटरिङ शाखामा सोध्नुस्। उताबाट मेरो गल्ती हो भन्ने पुष्टि हुन्छ भने मात्रै तपाइँले जरिवाना गर्न मिल्छ। त्यसै दुःख दिन मिल्दैन।
उनी अलि पर गए। फोनमा कसैसँग कुरा गरे। अनि फेरि मकहाँ आएर भने - 'सीसीटीभी युनिटले दुइटा बाइक र एउटा स्कुटर रारो बत्तीमा क्रस गरेको भन्यो। तर, तपाइँको बाइकको नम्बर कन्फर्म भएन।'
- त्यसो भए म कसरी मानौं मैले गल्ती गरेको हो?
- तपाइँले अब सीसीटीभी शाखामा गएर गल्ती हो/होइन कन्फर्म गर्नुपर्छ। मैले त्यसै छाड्न मिल्दैन।
- के गर्नु त मैले?
- मैले तपाइँको लाइसेन्सको फोटो खिचेर राखेको छु। गल्ती फुटेज हेरेरै कन्फर्म गर्नुपर्छ। भोलि बग्गीखाना जानुस्। २१ नम्बरमा जानुस्।
यति भनेर उनले लाइसेन्स फिर्ता दिए। म कोठा आएँ। कस्तो झमेलामा परियो भनेर त्यो रात राम्रो निन्द्रा परेन। पहेँलो बत्ती बलेको एकैछिनमा रातो बल्छ, न गल्ती नै भएछ भन्ने लागिरह्यो।
***
भोलिपल्ट बिहान ११ बजेतिर बग्गीखाना पुगेँ।
२१ नम्बर कोठा रहेछ ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई परामर्शको कक्षा दिने। त्यसको ढोका लागेको थियो। भित्र कक्षा चल्दै थियो। बाहिर हेल्प डेस्कमा आएँ, आफू आउनुको कारण बताएँ। हेल्प डेस्कका प्रहरीले ४ नम्बर कोठामा जान सुझाए। त्यहाँ गएँ।
त्यो कोठा रहेछ सीसीटीभी मनिटरिङको। कम्प्युटरको मनिटरमा विभिन्न स्थानका सीसीटीभीका दृश्य चलिरहेका थिए। तर, त्यहाँ ३/४ जना केटाकेटी खेलिरहेका थिए। उनीहरु स्कुल ड्रेसमै थिए। स्कुल छिटो छुट्टी भएकाले आमा या बाबाको अफिस आएका होलान् भन्ने भनुमान गर्न गाह्रो परेन।
मैले खाली कुर्सी देखाएर एउटा बाबुलाई संकेत गरेँ - 'यहाँको ड्युटीवाल खोइ ?' उनले बाहिर गएको संकेत गरे। कोठामा रहेको खाली कुर्सीमा गएर बसेँ। उनीहरु आआफ्नै धुनमा थिए। केही बेरमा एकजना महिला प्रहरी आउनुभयो। बच्चाहरुलाई घर जाओ भनेर सम्झाउनुभयो। उनीहरुले आआफ्ना किताबका ब्याग समेटे। बाहिर निस्किए।
अनि उहाँले मलाई सोध्नुभयो - तपाइँको के काम थियो?
मैले हिजो आफूले पहेँलो बत्तीमा जेब्रा क्रस गरेको, ट्राफिक प्रहरीले 'रातोमा आउनुभएको हो' भनेको र यहाँ जान सुझाएको बताएँ। उहाँले भन्नुभयो - 'यहाँ तपाइँको काम छैन। ६ नम्बरमा जानुस्।' म उठेँ, त्यही हेल्प डेस्क गएर '६ नम्बर कता पर्छ?' भनेर सोधेँ। उत्तर पाएपछि उतै लागेँ।
त्यो रहेछ जरिवानाको रकम तिर्ने ठाउँ। लाम लागियो। केहीबेरमा पालो आयो, झ्याल भित्रबाट महिला ट्राफिक प्रहरीले सोधिन्- खै तपाइँको लाइसेन्स ल्याउनुस्।
मैले दिएँ। अनि आउनुको कारण पहेँलो बत्ती, जेब्रा क्रस र ट्राफिक प्रहरीको रातो बत्तीको दाबीको कहानी फेरि सुनाएँ। उनले लाइसेन्सको नम्बर हेर्दै कम्प्युटरको मनिटरमा हेरिन्, मलाई लाइसेन्स फिर्ता गरिन्।
- यो लिनुस्। लाइसेन्स लिनुस्
- मैले जरिवाना तिर्नु नै पर्ने हो? कति हो?
- पर्दैन। छैन। तपाईले तिर्नु पर्दैन।
- किन नि? मलाई त यहीँ पठाएका हुन्।
- छैन। तपाइँलाई जरिवाना काटेको छैन।
- ए ! अब म के गर्नु ?
- घर जानुस्।
जरिवाना तिर्नुपर्ने ठाउँमा पुगेर पनि तिर्नु नपर्दा एक प्रकारले खुसी लाग्यो। अनाहकमा दुःख दिएकोमा ती ट्राफिक जवान सम्झेर रीस पनि उठ्यो। कता कसलाई के भन्ने ? पार्किङमा गए, मोसा स्टार्ट गरेँ, घर फर्किएँ। हिजोआज म त्यो ठाउँमा आइपुग्दा सतर्क हुन्छु। परै पहेँलो बत्ती बलिहाले रोकिन्छु। आखिर त्यो रोकिनुपर्ने संकेत हो।
***
आफ्ना कुरा
यो २०८२ असार २३ को नोट हो। मैले लेखेर ब्लगको ड्राफ्टमा जतन गरेको रहेछु। ट्राफिक प्रहरीको बग्गीखाना अफिसबाट फर्केको शायद एक सातापछि लेखेको हो। कोठाका नम्बरमा म केही कन्फ्युज भएकाले पब्लिस गरेको थिइँन।
यो समाचार होइन, त्यसैले कोठाका नम्बरहरु फरक परे पनि खास गाह्रो नपर्ला ठानेर सात महिनापछि पब्लिस गर्दैछु। यो कसैलाई देखाउन, होच्याउन, उडाउन लेखिएको होइन। यो एउटा हल्काफुल्का दैनिकी लेखन मात्रै हो। पढ्दा रमाइलो लागोस्, त्यस्तो त मलाई पनि परेको हो नि जस्तो लागोस् भनेर हो।
घटना भएकै हो, म बग्गीखाना गएकै हो। ती दिन सडकमा ट्राफिक प्रहरी सक्रिय थिए। काठमाडौंका कतिपय ठाउँमा लेन हेर्ने, बत्ती हेर्ने र उल्लंघनमा जरिवानाको चिट थमाउन ट्राफिक फुर्तिलो थियो।
गत भदौ २४ को घटनापछि धेरै ठाउँमा लाग्छ- 'ट्राफिक प्रहरीको सातो गएको छ।' काठमाडौंमा निकै कम ठाउँ यस्ता छन्, जहाँ ट्राफिक हतार हतार चिट काट्छन्। धेरै ठाउँ सवारीचालकले जथाभावी गर्दा पनि सडकमा ट्राफिक संयमित देखिन्छन्। हत्तपत्त चिट काटेको देखिँदैन। चालकहरुले नियम मिचेर जरिवानामा पर्नु ठिक होइन। सबैले आफैंले हेक्का राखेर नियम पालन गर्नुपर्छ।
***
*(चित्र गुगल जेमिनीले बनाइदिएको हो)

No comments:
Post a Comment