लामा सफरमा निस्कदा धेरै परिवार आफुलाई चाहिने खान्की बोकेर हिडेका देखिनु नौलो छैन । यसका कारण छन् - आफुले लगेका खानेकुरा सफा र सन्तुलित हुन्छ । अनि बाटोमा खर्चको बचत पनि हुन्छ । यस विपरीत हतारका यात्रु धेरैले खाना बोकेर हिड्दैनन् । बाटामा होटल र पसल थापेकाहरु को आउला र खाइदेला भनेर कुरिरहेका हुन्छन् । किन खाना बोकिरहने भन्ने सोचाइ हुनुले पनि यस्तो भएको होला । मलाइ पनि त्यस्तै लाग्छ ।
गत बिहीवार काठमाडौंबाट विराटनगर फर्कदा रात्री वसको यात्रानुभव निकै पछि फेरि नजिकबाट गर्न पाइयो । यात्रा गर्दा मेरो नियमितता समयमा टिकट लिने, सवारीको सीट र चढने ठाउ निश्चित गर्ने भन्ने छ । तर, यो यात्रामा त्यस्तो हुन पाएन । साथीहरुले कलंकी गएर चढे आधाभन्दा सस्तो भाडा तिरेर जान सकिन्छ भन्ने साथीहरुको सल्लाहमा यसपटकको यात्रा भयो । हो रहेछ, अग्रिम बुकिङ गर्दा सात/आठ सय नछाडने बसका टिकट काउन्टरको नियमलाई कलंकीले मात खुवाउने रहेछ । यहा 'बार्गेनिङ' गर्न सक्नेहरु तीन सयमात्र तिरेर पनि यात्रा गर्न सक्ने रहेछन् ।
अग्रिम बुकिङ भएका टिकट बाहेक बचेका सीटलाई गाडीलाइनका रैथानेहरुले जतिमा भएपनि गुडाउन सक्ने क्षमता राख्ने रहेछन् । शायद हवाइजहाजले पनि यही चलनलाई अपनाएको होला । बिक्री हुने टिकटमा दह्रो रकम लिने, जोगिएका भए त्यसलाइ अलि कम रकम लिएर पनि खाली जान नदिने । क्या मज्जा ।
साढे चार सयबाट घटाउन सकिएन । सीट पाइयो । गाडी गुडयो । उसले रोक्ने ठाउहरु कस्ता हुन्छन् भन्ने अभ्यस्त यात्रुका लागि नौला थिएनन् । यद्यपि बसको लामो सफर निकै समयपछि फेरि जुरेको थियो । काठमाडौंबाट छुटने र त्यहा पुग्ने यात्रु बसले पुरानो बानी छाडेनन् छाडेनन् , बाटाका होटल पनि उस्तै रहेछन् ।
झण्डै १५ घण्टाको यात्रामा बस १४ ठाउँ अडियो । रातीको खानाका करीव १० बजे लागि चितवनको रामनगरमा रोकियो । हामीले होटलको खाना खाएनौ । धेरै यात्रु उस्तै थिए । बाहिर बसेर चाउचाउ उमाल्न लगाएर खाने । हामीसँग रहेका संजीव कालाखेती भाइले खाना खाए । १२५ मा मासू-भात । हात चुठेर आएपछि उनले खानामाथि शंका गरे । खाइसकेपछि गरेको शंकाले विसञ्चो गरछ । उनलाई खाएपछि शंका नगर्न सल्लाह दिइयो ।
करीब आधा दर्जन खानाका होटल खुला देखिएका रामनगर वर्षौ पहिले देखेजस्तै रहेछ । खानाको मेलो अघि घुमेर हेर्दा होटलले घर बनाएपनि खानाको गुणस्तर र सफाइमा ध्यान खासै पुर्याएको देखिएन । यात्रुले बुझेको कुरा के हो भने बस जहाँ रोकिन्छ, त्यहाँ चालक र बस कर्मचारीले ज्वाइलाई जस्तो सम्मान पाउछन् । भनेजस्तो खाना पाउछन् । हुन त बदलिदो समयमा यो मार्केटिङकै नियम हो । यात्रु चाहि सिकार गर्न भेटिएको जन्तुजस्तो मानिन्छ । चलन फेरिएको रहेनछ । यात्रुहरुका अनुसार राजमार्गमा हाम्रो यात्रा पछिल्ला केही महिना दिउसोभन्दा राती रमाइलो छ । कारण, बन्द हड्ताल र अवरोध झेल्ने समस्या रात्री यात्रामा केही कम हुन्छ । तर, यात्रुका लागि उपयुक्त खान्कीको व्यवस्था गरे आफ्नै होटल खोज्दै उनीहरु आउलान भन्ने सञ्चालकले अझै बुझेका रहेनछन् ।
कोसीब्यारेज आइपुग्नुअघि करीब साढे पाच बजे बस बुढोको पेडा पसल अघि रोकिएको रहेछ । सप्तरीको बरमझियाको त्यो सानो पसलमा पेडसगै चिया-नास्ता पनि थियो । रातभरको थकानमा परेका यात्रुले ठूलो भाडोमा उमालेको 'होलसेल' चियामा चित्त बुझाए । गाडी स्टाफका लागि सानो भाडोमा बेग्लै चिया बनाइने रहेछ । दसकअघिका यात्राभन्दा यो यात्रामा पनि अनुभव फरक भएन । सुध्रेको छैन बाटाको खाना र होटलवालाको बानी ।
2 comments:
यो यस्तै छ र यसरी नै चल्दै आइरहेको छ । दिनहुँ हजारौँ यात्रिहरु लुटिन्छन्, यिनिहरु बाट !
बाइरोडको बाटोको यात्रा संस्मरण दिनुभएछ । एक सय पच्चीस तिरेर होटेलमा खाना खानु भन्दा त बरू बोकेरै हिँडेको राम्रो हुने रहेछ ।
Post a Comment