मान्छेको बनोट मांसाहारी होइन भनिन्छ । कारण, हामी पानी ल्याप ल्याप चाटेर खाँदैनौ । तनतनी पिउँछौ । तर, फलाहारी थोरै छन । घाँस खाने थोरै छन् । मान्छेको ठूलो हिस्सा मांसाहारी छ । मासू खाने भएपनि धेरैलाई काटकुट हेरिहन मन पर्दैन । पकाएर सजाएर ल्याइदिए निल्ने चलन छ ।
आज विहान सशस्त्र प्रहरीका एक डिएस्पी भोला गिरीले फोन गरे । भारतबाट अवैध भित्र्याइएका ब्रोइलर कुखुराका चल्ला नष्ट गर्ने काम रहेछ । खबर लेखिदिनुपर्ने । मेरो ब्लगमा निकै अघि कुखुरा गाडदै गरेको तस्बिर छ । तस्बिरबाहेक मैले त्यसबेलाका केही कुरा लेखेको छैन । कारण, ती खान उमेर पुगेका कुखुरा थिए । तिनलाई लाठीले हिर्काएर मारेपछि गाडियो । त्यसबेला तीन बोरा तयारी मासू पनि थियो । तस्बिर लिन पुगेको मलाई बोराबाट झिकेर भुइँमा खन्याइदा दुइ तीनवटा कुखुरा कुहिएको र तिनबाट कीरा निस्किएको देख्दा धेरै दिनसम्म चिकेन परिकार खान मन लागेन । केही दिन खाइएन । पछि फेरि कुरा पुरानो भो । दिनचर्या उस्तै ।
आज अर्थात ०६५ फागुन २८ , मार्च १२ तारिख । विराटनगर-२० स्थित बन्द भएको मोरङ सुगर मिल परिसरमा अहिले सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय छ । यहा चल्ला नष्ट गर्ने योजना रहेछ । डिएस्पी गिरीका अनुसार हिजो बेलुकी वरडंगा गाविसमा सशस्त्रको टोलीले बरामद गरेको चल्ला थिए । ३६०० वटा । नेपालमा प्रचलित मूल्य प्रहरीकै हिसाबले २ लाख २७ हजार रुपैया बराबरका । सामान्यत ब्रोइलर कुखुराका चल्ला राम्रो आम्दानीको स्रोत हो, यो व्यवसायमा लागेकाहरुका लागि । एउटा चल्ला सरदर ४५/५० दिनमा खान योग्य डेढ/दुइ किलोको हुन्छ । दाना र पाल्ने ठाउ अनुकुल भए यसले छिटो आम्दानी दिन्छ ।
हामीकहा लोडसेडिङको समय लम्बिएयता कुखुराको मासूको भाउ बढेको छ । यसको कारण हो , चल्ला उत्पादनमा आएको कमी । चल्ला कम भए कुखुरा पनि बढने कुरा भएन । अनि आपूर्ति घटेपछि सस्तो कसरी हुन्छ । नेपालका हृयाचरीले उत्पादन गरेका मात्रै चल्लाले हाम्रा पोल्ट्रीमा कुखुरा बढदैन । भारतमा बर्डफ्लु पुष्टि भएयता पंछी र पंछीजन्य पदार्थको आयातमा बन्देज छ । खुला सीमाना । सरकारले बन्देज भनेरमात्र यसको कार्यान्वयनको पक्ष सजिलो छैन । भारतमा भात खाएर नेपाल आइ दिसा बस्नेदेखि नेपालमा मदिरा लडाएर भारत पुगी जरिवानामा पर्नु नौलो होइन । कतिपयस्थानमा दसगजामै गाउघर छन् । अनि सीमानाबाट हुने ओसारपसारमा कुखुरा जाबो ठूलो कुरा कसरी होला । भएको छैन । आएको आएकै छ । बेलाबखत प्रहरी र पशु क्वारेन्टाइनले समातेर नष्ट गरेको प्रदर्शनी पनि देखाएको देखाएकै छ ।
अब फर्कौं चल्लाको प्रसङ्गमा । सशस्त्रको सीसुका परिसरमा खाडल खनियो । गएको तिहारमा यही ठाउ नजिक अरको खाडल खनिएको थियो । पटका गाडन । अहिले चल्लाका लागि । ती घण्टा लगाएर खाडल तयार भएपछि चचला राखेका टोकरी र कुटका डिब्बा गाडीबाट झिकियो । चल्ला च्याउ च्याउ गरिरहेका छन् । अनि सशस्त्रका मुखमा मुखारी लगाएर र नलगाएर दुवैखाले जवानले चल्ला खाडलमा मिल्काए । मुचुल्का गरियो । अनि खाडलमा कुट र कागज हालियो । आगो लगाइयो । आगो बलिरहदा चल्लाको आवाज नरमाइलो लागिरहयो । केही मिनेटमै आवाज कम भयो ।
३६०० मध्येका दुइ आगोबाट बाहिर फाल हाल्दै निस्कए । एउटालाई सशस्त्रका एक जवानले लातले फुटबल बनाए । त्यो फेरि आगोमै पुग्यो । अर्को निकै पर भाग्यो । मलाइ हतार थिएन । यद्यपि त्यहा बसिरहन मन भएन । म निस्कए । मोटरसाइकल स्टार्ट गर्दा गर्दै सशस्त्रका जवानहरुले बोलेको सुन्दै बाहिरिए । उनीहरु भन्दै थिए 'यो यत्रो संकटबाट जोगियो । यसलाई छाडिदिउँ । छोड दे । छोड दे । यो बाँचोस । यसलाई केही नगरौ ।' त्यो बचेको एउटालाई मारे वा छाडे । थाहा भएन ।
पंछी र पंछीजन्य पदार्थको ओसार पसारमा बन्देज सतर्कता हो । केही समयका लागि यो ठीक पनि हुनसक्छ । तर, नेपाली पैसा तिरेर यसरी ल्याइसकेपछि बरामद हुँदा मारेर , डढाएर गाडनु भन्दा तिनीहरु जोखिमयुक्त छन छैननन् परीक्षण गर्दा ठीक हुन्थ्यो होला ।
1 comment:
यो त अत्ति भो नि ! चल्ला नष्ट गर्ने भन्दै मा, त्यसरी पनि चल्ला नष्ट गर्ने हो त ???
यो त प्रहरी को दानविय व्यवहार नै भो नि, कुनै अन्य विकल्प छैनन्, ती प्रतिबन्धित आयातित चल्लाहरुलाई नष्ट गर्न ???
Post a Comment