Saturday, March 20, 2010

कोइरालाका सम्झना

                                                       पटक-पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको गएराती राजधानीमा निधन भयो । शनिवार । विराटनगरको बजार बन्द रहने दिन । तर दौडधुप अस्पताल रोडस्थित कोइराला निवासको रहयो । उनलाइ विराटनगर ल्याइएन । तर, विराटनगर उनका लागि अभिन्न छ । 
                   पत्रकारिता सुरुआतका दिनदेखि कोइरालाको राम्रो तस्बिरको ध्याउन्ती उनको निधनसँगै सकिएको छ । उनलाई राजनीतिमा शिखर पुरुष भनिन्छ । उनका काम र सक्रियताले यो उपमा ठीक होला । धेरैले देश विगार्नमा उनले छोरीलाइ गरेको माया बढि भयो पनि भन्छन् । निवासमा रहेका कामदार नियाउरा देखिए । केही आजै राजधानी हान्निए । कुरा गर्ने अवस्था थिएन । मेरो अनुभवको पाटो तस्बिरसँग जोडिएको छ । आज त्यही विषयमा मात्र चर्चा गरौ ।
०६० देखि सजिलोसँग उनका तस्बिर खिच्न मिलेको हो । समय धेरै भएको छैन । उनी राजधानीबाट जब विराटनगरस्थित निवास आउँथे । निवास पस्ने वितिकै पत्रकार माझ बस्थे । अनि केही यस्तो बोल्थे , जो आउने विहान छापा माध्यमहरुमा प्रमुखतासाथ छापिने समाचार बन्थ्यो । धेरैपटक उनले बोलका कुराले विवादको रुप लिन्थ्यो । अनि प्रमुखतासाथ छापिने समाचारका लागि भाव भएको तस्बिरको माग हुन्थ्यो । कोइराला विराटनगर आएका बखत कुनै समय यस्तो थियो । सम्पादकको फोन रिसिभ गर्नुपर्थ्यो । तस्बिर राम्रो हुनुपर्छ । अलि परिश्रम गरेर छाप्न लायक तस्बिर लिन आग्रह र आदेश हुन्थ्यो ।
                              कोइराला निवास कोशी अञ्चल अस्पतालको अगाडि छ । तले घर । काठका ढाचासँग पक्की कोठा जोडिएका । माथिल्लो तलाको बरण्डामा उनी आएका बखत हुने जमघटले धेरैपटक राम्रो तस्बिरका लागि स्थिति असहज हुन्थ्यो । कारण, उनी सञ्चारकर्मीसँग खुलेर बोल्थे । त्यसको मजा कार्यकर्ताले लिन्थे । अनि पत्रकारको भीडमा कार्यकर्ताको बग्रेल्ती उपस्थितिले समस्या पारेको हुन्थ्यो । उनले विराटनगरका पत्रकारलाई माया गर्थे । काठमाडौंमा सुरक्षा र आफन्तको अवरोध छलेर उनको तस्बिर लिन र कुरा गर्न सहज हुँदैन । तर विराटनगरमा जो कोही नजिक आएर सवाल जवाफ गर्न सक्थे । प्रधानमन्त्री भएका बखत पनि हामीलाइ लाग्थ्यो उनी प्रधानमन्त्री हुन र ! यदि हुन भने सुरक्षा किन यति फितलो ? जो केही नगिच जान पाएको छ । सवाल जवाफ गर्न पाएको छ ।
उनले कुरा गर्थे । करीव १५ मिनेट कुरा गरेपछि उनी भन्थे । अब आजलाइ यति नै । चिया खाउँ । अनि चिया-चमेना चल्थ्यो । चियाका बेला पनि पत्रकारले कुरा धुत्न छाडदैनथे । उनलाइ क्यामेराको फ्ल्यास मन पर्दैन भनेर धेरैपटक नगिचका कार्यकर्ताको अनुरोध आउँथ्यो तस्बिर लिदा फ्ल्यास नबाल्न । तर हामी मान्दैनथ्यौ । किनभने हामीसँग टिल्ट गर्ने फ्ल्यास थिएन । अफिसलाई राम्रा तस्बिर चाहिने तर, समान भने आफैले जोहो गर्नुपर्ने हुँदा महँगा क्यामेरा हाम्रो क्षमतामा पर्दैनथ्यो । जे होस बुढाको तस्बिर मजाले खिचिन्थ्यो । स्वादिलो पाराले प्रमुखता दिएर पत्रिकाले छाप्थ्यो । उनकी भाउजु नोना जीवित छँदा उनी चियासँगै चुरोट पिउँथे । त्यसबेला उनले तस्बिर नलिन कडा आदेश गर्थे । पछि उनले चुरोट छाडे । भाउजुको निधनका बेला विराटनगर आउँदा उनी रोएको पनि देख्न पाइयो ।  
                उनी विराटनगर आएपछि यहाँका सञ्चारकर्मीका लागि ठूलो पर्व आएको भान हुन्थ्यो । कारण पहिलो पेजमा बाइलाइन समाचार र तस्बिर आउँछ भनेर । त्यही हुन्थ्यो पनि । उनलाइ केही विवाद र तरंग ल्याउने कुरा गर्नुपरे ठाउँ गृहनगर हुन्थ्यो । उनी रहेनन् । आज उनलाइ सम्झदा मलाइ व्यक्तिगत रुपमा कुनै अफसोच छैन । आज भेटेकामध्ये पुराना कांग्रेस कार्यकर्ता पिताम्बर दाहालको भनाइ उपयुक्त लागेको छ । देशले प्रभावशाली नेता गुमाएकै हो । उनले जे गरे । तिनका केही गल्ति पनि होलान । तर, अब कांग्रेसमा यस्तो प्रभावशाली र एकात्मक नेता छैनन् । बहुमतीय प्रणालीबाट अब कांग्रेस जानुपर्छ । अनि कोइरालाले भनेर व्यवहारमा लागु भयो/भएन । तर, मुलुक सहमति , सहकार्य र एकतामा चल्नुपर्छ । उनको आत्माले शान्ति पाओस । आज यति नै ।  

No comments: