जीमेलको इनबक्समा बेलुकी ८-९ बजेका बीच दिनहुँ एउटा मेल थपिन्छ । सेन्डर- रीजनल ट्राफिक पुलिस, सब्जेक्ट - ट्राफिक विवरण । कैले कैले जिल्लाका साथीहरूले पठाएका दुर्घटनाका तीन/चारवटा घटनाका समाचार कम्पाइल गरेर पत्रिकालाई मेल पठाइसकिएको हुन्छ, ट्राफिकको विवरणमा त्यसको उल्लेख हुँदैन ।
नछुटाइ पठाइने विवरण हो- आज कति चालक, यातायात व्यवसायी कार्वाहीमा परे । जरिवानाबाट कति राजस्व असुली भयो । मापसे कार्वाहीमा कतिजना परे, कति जरिवाना उठ्यो । यी मेल समाचारकै लागि साह्रै धेर स्रोतका रूपमा काम लाग्दैन । तैपनि साथीहरूलाई खोज्न सुझाव दिनेबेला कैले कैले यिनले विषय फुराउँछन् ।
एकपटक हो, नेपालगञ्जबाट विराटनगर आउँदा । एउटै ड्राइभरले १८ घण्टा बस हाँकेर ल्याउने देखेर सडक जोखिम भान भएको थियो । म साथीहरूका साथ बर्दियाबाट फिरेर नेपालगञ्जहुँदै विराटनगर आउने यात्रामा थिएँ । बाटामा सीट छाडेर क्याविनमा गइ बसियो । चालकसँग कुरा भयो । २२/२५ उमेरका हँदा हुन् । उनले भनेका थिए 'के गर्नु आठ दिनमा एकपल्ट पालो आउँछ । अनि २/२ जनाले कुदाउनुभन्दा एउटैले कुदायो । पैसा हो पैसा । पेटले यो जोखिम उठाउन बाध्य पारेको छ ।'
त्यो बस दिउँसो २ बजे नेपालगञ्ज बसपार्कबाट निस्केको थियो, बिहान ८/९ बजे विराटनगर पुग्नका लागि । हेटौडा आइपु्ग्ने बेला मैले साथीहरूलाई भने - 'एउटै गुरूजीले लग्ने रछन् । मान्छेको ज्यान हो, थाक्छ । के होला नहोला । उत्रिएर आज हेटौडा बसौं । विहान अर्कै गाडीमा जाउँला ।' साथीहरू सहमत भएनन् । समूह छाडेर म एक्लै उत्रने कुरा पनि निको थिएन ।
त्यति लामो बाटो ननिदाइ आइयो । बाटामा २/४ दुर्घटना पनि हेरियो । हामी सकुशल आइपुगेपछि गाडी छाडेर जानेबेला ती चालकलाई धन्यवाद दिएँ । हिजोआज पनि बसपार्क जाँदा सोध्छु, त्यो लामो रूटको तरिका उही नै रहेछ । फेरिएको छैन । चालक मेशिन होइन । मान्छे हो । मान्छेलाई भोक लाग्छ, प्यास लाग्छ, थाक्छ । ज्यानले निदाउनु पर्छ । ज्यानले आराम नपाइ लगातार काम गर्न सक्दैन । यदि गर्छ भने त्यो सोझै जोखिम मोल्नु हो । तर, स्थिति फेरिएको होइन । हेर्ने कोही छैन । राजधानी जाउआउ गर्ने अहिले कतिपय नाइट बसमा त्यस्तै रछ ।
बाइकमा दुइजना अलि लामो बाटो हिडियो भने केहीबेर कुदाएपछि म साथीलाई भन्छु ' ल अब हेटौंडा आयो । गुरूजी चेन्ज ।' तर, लामो दूरिका बसको बिग्रिएको बानी सोधिखोजी गरे अब त्यसरी भन्ने अवस्था पनि रहेन । हानीकहाँ नियम-कानूनका जति कुरा गरे पनि सुधार्नु पर्ने पहिलो र जरूरी कुरो बिग्रिएका बानी हुन् । क्षमताभन्दा बढि यात्रु नबोक्ने, खास स्थानहरूमा सीमित गति, सडकका लेन प्रष्ट हुनुपर्ने, छाडा र घरपालुवा पशु सडकमा छाड्न नहुने, चालक-सहचालकको स्वास्थ्य, खान्कीमा ध्यान र निश्चित दूरिपछि चालक फेरिनुपर्ने आदि धेरै यस्ता मसिना कुरा छन्, जसलाई ध्यानमै राखिन्न । ध्यान भएपनि बेवास्ता गरिन्छ ।
एक दिन ट्राफिकको मेलमा सप्तरीको शम्भुनाथमा लामो दूरीका बस रोकेर चालकलाई मुख धुन लगाई फ्रेस बनाइ पठाइयो भन्ने लेखिएको थियो । नौलो र उदाहरणीय लाग्यो, मैले ट्विटमा हालेको थिएँ । धेरैले फेव गरेका थिए ।
दुर्घटना सजिला सडकमा नहुने होइनन् । तर, हामीले जोखिम बोकेर गरिरहने यात्रामा सधैं अप्ठ्यारा छन् । जोखिम घटाउन पर्छ । यसका लागि जिम्मवार निकायले कडाइ गरे कसैले विरोध नगर्ला । जसले विरोध गर्छन् ती एक्लै पर्छन् । सुरक्षित यात्राको लागि जोखिम हुने मसिना त्रुटी पनि सुधारिनु पर्छ ।
हिजो मकवानपुरको वासामाडीमा भएको बस दुर्घटनाको खबर आजका अखबारभरि छन् । १० जनाको ज्यान गएछ । पढ्दा नि नरमाइलो लागेको छ । अस्ति अोखलढुंगामा जीप दुर्घटना हुँदाको खबर त्यस्तै थियो । त्यो गाडीको रूट पर्मिट र बीमा पनि रैनछ ।
जिम्मेवारी सम्हाल्नुपर्ने राज्य उदासीन हुँदा जनताले पत्याउन छाड्छन् । मनोमानी बढ्छ । जनताको आधारभूत अधिकारसँग गाँसिएका कतिपय सवालमै राज्य उदार बन्न सकेको छैन । यो बानी हटोस् । भयमुक्त भएर यात्रा गर्न पाइयोस् ।
No comments:
Post a Comment