Friday, November 28, 2014

गढीमाइ, बलिप्रथा र हामी

सप्तरीको कंकालिनीमा दशैंको महानवमीमा राँगो-पाडो बलि दिइन्छ । त्यो मन्दिर मेरा लागि डेढ घण्टाकै मोटरसाइकल यात्राको दूरिमा छ । काटेको, रगतपच्छे र बिभत्स तस्बिर पत्रिकामा छापिन्नन् । त्यसैले खिच्न जाने कुरो पनि भएन ।
तर, एकपल्ट मन लाग्यो । घरमा दशैं लागेको छ । अफिस विदा भए पनि जाने सुनेर श्रीमतिजीले साथै जान मन गरिन् । २ वर्षअघि हो । गइयो । खिचियो । चार सय हाराहारी बलि हुने थियो । ३०/३५ भएपछि नै त्यहाँ बसिरहन मन भएन । हिडियो । गएको दशैंमा फेरि त्यहाँ जान मन भयो । यसपटक मैले सुनसरीका फोटोपत्रकार साथीहरू यात्रा थुलुङलाई बोलाएँ । इटहरीबाट हाम्रो यात्रामा बिसप ताम्राकार पनि थपिए । बिसप पनि राम्रो फोटोग्राफीमा कुशल छन् । 
कंकालिनी मन्दिर कोसी ब्यारेजबाट केही पश्चिममा छ । यहाँ तराइवासी र भारतीयकै भीड लाग्छ । भीड थियो । हामीले गाडी प्रहरी कार्यालय हातामा पार्किङ गरि खिच्न गयौं । पुगेलगत्तै बलि सुरू भयो । ४०/४२ वटा पुगेपछि त्यो दिन पनि धेर बसिएन । हामीमध्येका धेरै यस्ता हुने- रगत हेरिरहँदा टाउको दुखेजस्तो लाग्ने । बलिका तरिका । छिनालेपछि लडेकाको टाउको र जीउ तह लाइएको हेरियो । खिचियो । हिडियो ।
*** 
सप्तरीको भारदहभन्दा धेरै बलि बाराको गढिमाइमा हुने सुन्दै-पढ्दै आएको हो ।  बेलायतमा गढीमाइमा हुने बलिको विरोध भएपछि यसपटक धेरैका ध्यान त्यतातिर छ । अझ भारतको अदालतले गढीमाइमा हुने बलिलाई नै लक्ष्य गरि त्यतातिर पशु लान नदिनु भनेपछि पनि ध्यान सोझिएको हो । गढीमाइ र कंलालिनीमा दिइने बलिको हिसाब फरक छ । तरिका लगभग उस्तै हुन् ।
तराइवासीमा भाकल गर्ने चलन । र, त्यो मनोकांक्षा पुरा भएको मानिए बलि दिएर भारा तिरेको ठान्ने संस्कार । जाति र समुदाय बिशेषका चलनका आफ्ना विविधता छन् । जसरी कसैको मौलिक भाषा, भेष र धर्मलाई सम्मान गरिनुपर्छ भन्ने मान्यता हो, त्यसैगरि गढिमाइ आउने जमातका चलन पनि बुझ्न बाकी छन् । एकोहोरो विरोधले उनीहरूका आस्थामाथि चोट पारिनु हुँदैन । 
 काठमाडौंबाट फोटोपत्रकार भाइ लक्ष्मीप्रसाद ङाखुसीले अस्ति फोनमा भनेका थिए 'खिच्न पाइन्छ/पाइँदैन थाहा छैन दाइ । तर, खिच्नै भनेर गढिमाइतिर लागियो ।' आज त्यहाँ बलि सुरू भयो भन्ने खबर सञ्चारमाध्यममा छन् । ङाखुसी जसरी पुगेका साथीहरूले सुरक्षित काम गर्न पाउन् भन्ने लागेको छ । उताका खबर आसलाग्दा पढ्न मिलेको छैन । खबर पढ्दा लाग्दैछ- आफ्नो चलन मान्न पनि लुकी लुकी काम गर्नुपर्ने अवस्था पारिएको छ ।
यस्ता मन्दिरमा गरिने राँगा-पाडा बलिप्रथा अलि अनौठो छ । अनौठो यस अर्थमा- बलि दिन ल्याउनेले त्यो पशु ढालेपछि लैजाँदैनन् । त्यसको रगत छर्छन् । कुल र भैरव पुज्छन् । ढलेका टाउका र जीउ मन्दिर व्यवस्थापन समितिले लिलाम गर्छन् । खरिदेको भीड लागेको हुन्छ । कंकालिनीमा महानवमीमा गरिने बलि ५ सयवटा हाराहारी पुग्ने रहेछ । गढीमाइमा ४ हजार नाघ्छ भन्छन् खबरी साइटहरू ।
बलि दिइएका पशु त्यतिकै मन्दिर परिसरमा त नसड्दा हुन् । खरिदे त्यहाँ पनि पुग्ने होलान् । विभिन्न सहर पुग्ने मासू बिक्री हुँदो हो । कतै त्यसै नफालिए गिद्धजस्ता पंछी र स्यालजस्ता जनावरले पनि आहारा कताबाट पाउँछन् होला । 
आस्थामा अचम्मको नशा हुन्छ । समाज अझै पनि बिरालो बाटो काट्नुलाई साइत बिग्रने मान्छ । बलि हट्न समय त लाग्छ नै । मलाइ लाग्छ, समयले कुनै दिन यो हटाउँछ । बल गरेर लगाइने रोकमाथि अरू तत्वले खेल्न पाउँछन् ।
डार्बिनको बाँच्नका लागि संघर्षकै सिद्धान्त हेर्दा पनि सबै प्राणी बलियाले निर्धाको सिकार गरेका छन् । प्रकृतिले आश्रित हुन सिकाएको छ । बाघ बचाउनु पर्छ भन्नेमा कसैको पनि दुइ मत हुँदैन । तर, उसले घाँस खाँदैन । खाने मासू हो । मासूका लागि कुनै पनि प्राणी मारिनु हिंसा होइन र ? तर, प्रकृतिप्रदत्त पारस्थितिक चक्र यस्तै छ । एउटामाथि अर्को निर्भर छ ।  
धान फलेको खेतमा मुसा लाग्छ । मुसाले धान खान्छ । आफ्नो सन्तान बृद्धि गर्छ । तर, त्यसको संख्या धेरै हुन नदिन प्रकृतिको चक्र छ । मुसालाई सर्प, गरूड, लाटिकोसेरोलगायतले सिकार गर्छन् । जाति र संस्कार विशेष मान्छे पनि मुसाको सिकारमा पछि पर्दैन । यो चलनले मुसाको वंश पुरै निर्मुल हुन्न तर, संख्या अत्यधिक हुन नदिन नियन्त्रणको काम गरेको छ । 
मान्छे सर्वश्रेष्ठ प्राणी भएकाले अरूलाई कज्याएर राख्छ । पशु पाल्छ । आफ्नो मन लागी गर्छ । उसले पाल्ने वा जंगलकै पनि कुखुरा, बाख्रा, गाइ, भैसीको सिकार कसैले नगर्ने हो भने तिनका संख्या कति हुन्थे होलान् ! मान्छेले ती सबैको संख्या नियन्त्रणकै लागि पनि संस्कृतिमा विधि बनाएको छ । हामीले देखेको अब पुराना केही संस्कार फेरिएको समयमा सटिक नलाग्न सक्छ/हुन्छन् । सुधारको बाटो खोजेको राम्रो । केही संस्कार भलै उनीहरूलाई आरिस लाग्दा होलान् तैपनि हामी दातृले दिसा गरेपछि, खाना खानअघि हात धुन पर्छ भनेर सिकाउने युगमै छौ । 
छठका बेला नदि, जनाशय, घाट सफा पारिनु पूजाको लागि पवित्रस्थल चाहिने भएर मात्र होइन । सफा हुनु मान्छेकै जीवनका लागि बढि महत्व राख्ने बैज्ञानिकता लुकेको पक्ष हो । मान्छेहरू दिवंगतको आत्माले सुख पाउन, मुक्ति मिलोस् भनेर पिण्ड दिन्छन् । पिण्ड भनिने अन्नको डल्लो खोलानालामा बगाउनु भनेको जलचरलाई आहारा दिनु हो । आहारा पाएर ती जीव बढ्छन् । अन्ततः तिनलाई निल्नेहरूमा प्राणी धेरै छन् । बढ्नै पाएनन् भने मान्छेले नि उनीहरूबाट पाउने लाभको बाटो गुमाउँछ । प्रकृति र पर्यावरण संतुलित राख्न धार्मिक संस्कारमा धेरै बिधि यस्ता छन् जसले सुदुर परिणाम बिचारेका छन् । बुझ्दा भलै हामी झट्ट त्यहाँसम्म पुग्न सजिलो छैन । 
धार्मिक आस्थामाथि चोट दिइनु हुन्न । अझ परबाट अरू कोही फरक आस्थाकाहरूले अर्कालाई होच्याउने त गर्नै हुन्न । सुधार भित्रैबाट खोजियो भने त्यसले विवाद ल्याउँदैन । म गढीमाइमा हुने बलिको विरोधको पक्षमा छैन । तर, यसलाई एकोहोरो विरोधभन्दा व्यवस्थित बनाउन जोड दिइनुपर्छ भन्छु । संस्कृति जाति, समुदाय र स्थान विशेषको विशेषता पनि हो । मान्छेका संस्कारहरू सरेर संसार देशजस्तो हुन थाल्यो भन्दैमा बलले तुरून्तै केही फेरिदैन । फेर्ने हो भने सुधारका लागि योजनाबद्ध अभियान हुनुपर्छ । 
मासू कारखानाभित्र पसेर हेर्दा मलाई गढीमाइको बलि दिने तरिकाभन्दा धेरै भिन्न लाग्दैन । फरक यति छ, त्यहाँ रगत बाहिर छताछुल्ल पारिँदैन । मार्ने तरिका त बलि दिनेले च्वाट्ट काटेभन्दा क्रुर नै छ । अहिलेलाई बलिमा बरू स्वस्थ पशु, निश्चित संख्या, बाहिर बिभत्स नदेखिने व्यवस्थापन जरूरी छ । पुरै छेकबार लगाएर त्यहाँ स्लटर हाउस खोल्न खोज्दा प्रत्युत्पादक हुन्छ ।
त्यसै पनि पश्चिमाको बोलीमा लोली मिलाउँदा फाइदा बुझेकाको जमात बढ्दो छ । के विश्व बजारमा बिक्री हुन्छ र, हाम्रो गोजी बलियो हुन्छ भन्ने बुझेकाहरू बग्रेल्ती भएका छन् । हामी उताका कुसंस्कार र क्रुर चलनबारे सोध्न सक्ने भएनौ । आफ्ना घरका भित्ता फोरेर सधैं बहादुरी देखाएकै हौ/छौ । चेत फिर्नु पर्छ । 
गढीमाइमा हुने बलिको विरोधले बिस्तारै संसारको ध्यान तानेको छ । यसलाई व्यवस्थित कसरी पार्ने भन्नेतर्फ अब सोच्ने बेला भएकै हो । नगर क्षेत्रमा बढेका भुस्याहा कुकुर कुनैबेला नगरपालिकाले विष खुवाएर मार्ने गरेको थियो । विरोध भयो । लामो समयपछि बल्ल बन्ध्याकरणको विकल्प कतै कतै अवलम्बन गरिएको देख्न पाइएको छ । बिरोध गर्नेहरूले पनि धर्मसंस्कृतिमाथि धावा बोल्नेगरि उठ्नुभन्दा सही विकल्प सुझाउनु पर्छ । नकि पश्चिमाले विरोध गरे, उनीहरूको आवाजमा बल दिउँ भनौ ।  अहिलेलाई यति नै ।     


No comments: